पुरस्कारको रकम समाजसेवामा

शुक्रबार, ०७ पुष २०७४, ११ : ०९ शुक्रवार
पुरस्कारको रकम समाजसेवामा

आफूले मेहनत र परिश्रम गरेर आर्जन गरेको उपलब्धि जो कोहीलाई पनि धेरै प्यारो हुन्छ । मेहनत गरेर प्राप्त गरेको फललाई मानिस आफंै उपभोग गर्न चाहन्छ । धरानकी २१ वर्षीया सुन्दरी एवं मोडल मेरिना तुम्सा लिम्बूले पनि निक्कै मेहनत र परिश्रमले मिस नेसनल आईकन २०१७ मा सेकेण्ड रनरअप ताजसहित नगद ५० हजार जितिन् । मोडलिङ, कोरियोग्राफी र रेडियोमा पनि सक्रिय मेरिनाको क्यारिअरमा यो ठूलो उपलब्धि हो । तर, उनले क्राउन (ताज) बाहेक जितेको नगद पुरस्कार समाज सेवामा समर्पित गर्ने घोषणा गरेकी छन् ।

धरानको छाताचोकस्थित पुरानो अस्पतालमा अपांग पुनस्र्थापना केन्द्र छ । विभिन्न व्यक्ति, संस्थाको सहयोगबाट संचालित यो केन्द्रमा हाल वृद्ध, बालबालिका गरी ३० जना आश्रित छन् । मेरिनाले ताजसँगै जितेको नगद ५० हजार यही केन्द्रलाई सहयोग गर्ने घोषणा गरेकी हुन् । केन्द्रले एक साताभित्रै आवास बनाउँदैछ । त्यही आवास निर्माणमा उनले ५० हजार बराबरको आवश्यक भौतिक सामग्री खरिद गरेर उपलब्ध गराउने भएकी हुन् । कोरियोग्राफर, मोडल, रेडियोकर्मीको रूपमा चर्चा कमाएकी मेरिनाले यो निर्णय गरेपछि निक्कै प्रशंसा पनि बटुलिरहेकी छिन् । ‘मेरो मेहनतको कमाइ हो, यो उपाधि जित्न धेरै नै परिश्रम गरेँ । माया लाग्छ, तर मलाईभन्दा धेरै केन्द्रमा आश्रित बालबालिका, वृद्धवृद्धालाई यो पैसाको जरुरत देखेर सहयोग गर्ने घोषणा गरेको हुँ,’ उनले भनिन्, ‘पानी पर्दा चुहिने घर रहेछ, यस्तो बिजोग अवस्था भएकोले मलाई सहयोग गर्ने भावना जाग्यो ।’

पुरस्कार राशिको कर कट्टा गरेर उनलाई ४२ हजार ५ सय हात लागेको थियो । उनले भने त्यसमा थप गरेर ५० हजारबराबरकै आवश्यक सामग्री गृहलाई उपलब्ध गराउने बताइन् । उनले भनिन्, ‘काम सुरु हुनेबित्तिकै म चाहिने सामान किनेर दिन्छु ।’ नेसनल आईकनमा उनी फाइनल चरणमा पुग्ने प्रदेश नं १ की एक्ली प्रतिस्पर्धी सुन्दरी थिइन् । उनको खास घर धनकुटा जिल्लाको बोधे हो । धरान झरेर संघर्ष गर्न थालेको ४ वर्ष नाघिसक्यो । उनी मोडलिङमा सक्रिय छिन् भने धरानको विजयपुर एफएममा पनि आरजे छिन् । म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।

Leave A Comment