स्टिल उद्योगमा १५ अर्ब लगानी

शुक्रबार, ०७ पुष २०७४, ११ : ०१ दिलीप पौडेल
स्टिल उद्योगमा १५ अर्ब लगानी

मुलुकमा विकास निर्माणले तिव्रता पाएसँगै निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ । उद्योगीहरुले सिमेन्ट, रड लगायतका उद्योगमा धमाधम लगानी थपिरहेका  छन् । राजनीतिक स्थिरतासँगै मुलुकमा सडक, सिँचाइ, विद्युत आयोजना, विमानस्थल निर्माण अघि बढेपछि स्टिलको माग बढेपछि उक्त उद्योगमा लगानीकर्ता आकर्षित भएका हुन् । पछिल्लो पटक शारडा समूहले एक अर्ब पाँच करोड रुपैयाँको लगानीमा सुनसरीको दुहबी नगरमा प्रिमियर स्टिल उद्योग सञ्चालन गर्दैछ । राठी गु्रपसँगको साझेदारीमा सञ्चालन गर्न लागिएको उद्योगले दैनिक पाँच सय टन फलामे डण्डी उत्पादन गर्ने जनाएको छ ।

नेपालमा स्टिल उद्योगमा करिब १५ अर्ब रुपैयाँ लगानी पुगेको नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका पूर्व अध्यक्ष धु्रवकुमार थापाले बताए । ‘न्यूनतम ५० करोडदेखि एक सय करोड रुपैयाँभन्दा बढी लगानीमा १६ स्टिल उद्योग सञ्चालनमा छन्,’ थापाले भने, ‘१० लाख टन बढी रड उत्पादन हुन्छ ।’ स्टिल उद्योगमा लगानी आउनेक्रम पनि जारी रहेको जनाउँदै उनले भने, ‘गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिएका छौं ।’

अहिले वार्षिक १० लाख टनभन्दा धेरै रड उत्पादन भैरहेको उनले बताए । प्रविधिमा आएको परिवर्तन र बढ्दो प्रतिस्पर्धासँगै उद्योगीले नयाँ लगानी थपेर उत्पादन बढाइरहेका छन् । उद्योगी ‘ब्रान्ड’ स्थापित गर्न लागिपरेका छन् । स्टिल उद्योगले बजारमा मागे जति रड दिन सक्षम रहेको थापाको दाबी छ । ‘स्टिलमा हामी आत्मनिर्भर भएका छौं,’ थापाले भने, ‘बढ्दो मागसँगै नयाँ उद्योग पनि आउने क्रममा छन् ।’ बजारमा प्रतिस्पर्धा बढेकाले गुणस्तर र मूल्यमा समेत चिन्ता नगर्न उद्योगीको सुझाव छ । भूकम्पपछि प्रयोगकर्ता सचेत भएर गुणस्तरमा पनि ध्यान दिएकाले उत्पादकले पनि मापदण्डअनुसार गुणस्तरीय सामान उत्पादन गरिरहेको बताए ।

सबैतिर निर्माण बढिरहेकाले बजारको समस्या नभएको उद्योगी बताउँछन् । अहिले रडको माग उच्च भए पनि माग सजिलै धानेको दाबी गर्छन् । उपत्यकामा मात्रै एकै कम्पनीले करिब ५० हजार टनसम्म सप्लाई गर्ने गरेको उद्योगी बताउँछन् । लोडसेडिङ हट्दा अहिले उद्योग सञ्चालनमा सजिलो भएको छ । लोडसेडिङ हटेपछि उद्योगीहरु पनि उत्साहित छन् । दैनिक १८÷२० घण्टा बिजुली पाउँदा रड उत्पादनमा निकै सजिलो भएको अम्बे स्टिलका प्रबन्ध निर्देशक शंकर न्यौपानेले बताए । ‘उद्योगीको सुखद् पक्ष अहिले बिजुली पाएका छौं,’ न्यौपानेले भने, ‘गुणस्तरीय सामान उत्पादन भएकाले प्रयोगकर्ता पनि सन्तुष्ट छन् ।’ अम्बेले गुणस्तरलाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए । ‘कच्चा पदार्थ ल्याए पनि डण्डी भारबाट ल्याउनुपर्ने अवस्था छैन,’ उनले भने, ‘ठूला–ठूला परियोजना निर्माण भैरहेकाले बजार पनि बढ्दैछ ।’
भूकम्पले भत्काएका आठ लाख घरसहित हजारौं सरकारी संरचना निर्माणको क्रम जारी छ । आम्दानी वृद्धि हुनासाथ सुविधासम्पन्न घर बनाउने क्रम बढेकाले पनि अवसर थपिएको छ ।

पुनर्निर्माणसँगै बढ्दो सहरीकरणले पक्की घर बनाउने क्रम बढेपछि स्टिलको माग वृद्धि भएको छ । उद्योगले पनि अत्याधुनिक प्रविधि भिœयाएर गुणस्तरीय सामान उत्पादन गरेको बताउँछन् । गुणस्तरीय रड उत्पादन गरेकाले आफ्नो उद्योगको बिक्री दोस्रो स्थानमा रहेको लक्ष्मी स्टिलका ब्रान्ड म्यानेजर गोपाल सारडाले बताए । ‘नेपाल र आइएसओ गुणस्तर चिह्न पाएका छौं,’ सारडाले भने, ‘हाम्रो उत्पादन ग्यारेन्टी छ ।’ लक्ष्मी स्टिलले वार्षिक एक लाख ३० हजार टन स्टिल उत्पादन गर्दै आएको छ । स्टिलको ग्यारेन्टी भएको बताए ।  

हरेक वस्तुको आयात विदेशबाट भए पनि रड (स्टिल) मा नेपाल आत्मनिर्भर रहेको उद्योगीको दाबी छ । ठूला आयोजना, घर, भवन, पुल लगायत संरचनाको डिजाइन राम्रो भए पनि प्रयोग गरिएका सामग्री कमसल भए जुनसुकै बेला दुर्घटना हुन सक्ने भएकाले यसमा ध्यान दिनुपर्ने विज्ञको सुझाव छ । उत्पादन बढेपछि बजारमा अस्वस्थ्य प्रतिस्पर्धा पनि बढेको छ । गुणस्तरको विषयमा प्रश्न उठेपछि सरकारले यहाँ उत्पादन तथा बिक्री–वितरण हुने फलामे छडको मापदण्ड तोकेकोे छ । नेपाल गुणस्तर परिषद्को सिफारिसअनुसार तय भएको मापदण्डमा फलामे छडको बलियोपन, लचकता, कच्चा पदार्थको प्रयोग लगायतमा मापदण्ड तय गरेको हो । रडको रासायनिक गुणअन्तर्गत फलामे छडमा प्रयोग हुने रसायन, रसायनको मिश्रण, तापक्रम, बलियोपन, लचकताका आधारमा मापदण्ड तय भएको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘डन्डीको गुणस्तर हेरेर मात्र थाहा हुँदैन,’ पुडासैनीले भने, ‘हरेक उद्योगले गुणस्तर चिह्न लिएर उत्पादन गरे पनि ग्रेड विभाजन गरेका छौं ।’ अहिले ४ सय १५, ५ सय, ५ सय ५०, ६ सय गे्रडका स्लिट रड बजारमा रहेको उनले बताए । ‘ग्रेडअनुसार मूल्य रहेको हुन्छ,’ उनले भने, ‘धेरै ग्रेडको बलियो हुन्छ भन्ने मान्यता छ ।’ उद्योगीले पनि कम्पनीको ब्रान्ड हेरेर मात्र किन्न सुझाए ।

Leave A Comment