‘ठगठाग गर्ने व्यवसायमा टिक्दैन’

शुक्रबार, ०७ पुष २०७४, १० : ५८ दिलीप पौडेल
‘ठगठाग गर्ने व्यवसायमा टिक्दैन’

नेपाली विषयमा स्नाकोत्तर गरेका दोलखा चरिकोटका भोजराज न्यौपाने पत्रकारिता हुँदै व्यवसायमा आएका हुन् । अस्ट्रेलिया अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ४३ वर्षीय न्यौपानेले ग्लोबल काठमाडौं कन्सल्ट सञ्चालन गरिरहेका छन् । अस्टेलिया अध्ययन गर्न चाहने विद्यार्थीको रुचि र छनोट अनुसार भर्ना र भिसा प्रक्रियामा सहजीकरण गर्दै आएका ग्लोबल काठमाडौं कन्सल्टका प्रबन्ध निर्देशक न्यौपानेसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
यहाँको कन्सल्टेन्सीले के सेवा दिँदै आएको छ ?
अस्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुको लागि शैक्षिक परामर्श सेवा दिन्छौं । आवेदन, भर्ना र भिसा प्रक्रियामा सघाउँदै आएका छौं । घुमफिरका लागि जाने टुरिस्ट भिसा र माइग्रेसनसम्बन्धी काम पनि गर्छौं । विद्यार्थीहरुलाई आइएलटिएस, टोफेल र पिटिईका तयारी कक्षा सञ्चालन गरेका छौं । पोखरामा पनि शाखा विस्तार गर्ने तयारीमा छौं ।
कति विश्वविद्यालयसँग समन्वय गरेर विद्यार्थी पठाउनु हुन्छ ?
१७ विश्वविद्यालय र कलेजसँग एफिलिएसन लिएर काम गरिरहेका छौं । हाम्रो अफिस अस्ट्रेलियाको सिड्नीमा पनि छ । त्यसै शाखाको रुपमा काठमाडौंमा स्थापना गरिएको हो ।
कस्ता विद्यार्थीका लागि अस्टेलिया उपयुक्त गन्तव्य हो ?
सबैभन्दा राम्रो नर्सिङ, इन्जिनियरिङ र आइटी फिल्डका विद्यार्थीका लागि निकै राम्रो छ । त्यसबाहेक म्यानेजमेन्ट पढेका मिहिनेत गर्न सक्ने, आइइएलटिएस, एकेडेमिक क्वालिफिकेसनमा राम्रो प्रतिशत हासिल गरेका विद्यार्थी त्यहाँ गएर राम्रो डिग्री लिन सक्छन् । अध्ययनका अतिरिक्त कमाई पनि राम्रो गर्न सक्छन् ।
अध्ययनपछि विद्यार्थीलाई कस्ता अवसर छन् ?
नेपाली विद्यार्थीहरुको पहिलो चाहना अस्टेलिया गएपछि कसरी सेटलमेन्ट हुने भन्ने नै देखिन्छ । समग्रमा हेर्दा त्यहाँ गएका विद्यार्थी राम्रो जागिरसहित उतै सेटल भएका छन् । राज्यको लागि घाटा भए पनि प्रतिस्पर्धामा खरो उत्रिएर आफूलाई स्थापित गरेका छन् । त्यहाँ प्रतिस्ठित संस्थाहरुमा जागिर खाइरहेका छन् ।
अन्य कन्सलटेन्सीभन्दा यहाँहरुकोमा के फरक सेवा पाउँछन् ?
जिम्मेवार परामर्शदाताको रुपमा काम गरेका छौं । हामीले विद्यार्थी र अभिभावकलाई झुटा कुरा गर्दैनौं । विद्यार्थीको क्षमताअनुसार कलेज र युनिभर्सिटी छनोट गर्न सही परामर्श दिन्छौं । सत्य र तथ्यमा आधारित रहेर जे गर्न सकिन्छ त्यो मात्र बताउँछौं । विद्यार्थीसँग नियमित सम्पर्कमा रहेर पठाउने मात्र होइन कलेजमा सहयोग गर्ने र रोजगारी खोज्नसमेत सघाउँछौं । अस्टेलिया पुगेका विद्यार्थीलाई सिड्नीको अफिसबाट पनि सेवा दिन्छौं । हरेक विद्यार्थीप्रति हाम्रो अपनत्व छ ।
अस्टेलियामा अध्ययन सकाएर फर्किने विद्यार्थीको संख्या कस्तो छ ?
अहिलेसम्म त्यहाँ गएको विद्यार्थी सकभर नेपाल फर्किन चाहेको देखिँदैन । त्यहाँ सिस्टमले हुक गर्छ ।  राम्रो कमाई र अवसर भएकाले उतै आकर्षित छन् । त्यहाँ र यहाँको कमाई, जीवनशैली निकै फरक भएकाले पनि नफर्केको हुनुपर्छ । धेरै विद्यार्थी उतै बस्ने भएकाले पनि अहिले त्यहाँ जान कडाई भएको छ तर गएका सबै विद्यार्थी ग्लोबल मार्केटमा प्रतिस्पर्धा गरेर स्थापित भएका छन् । त्यो हाम्रो लागि खुसीको विषय हो ।
यो व्यवसायमा प्रतिस्पर्धा कस्तो छ ?
निकै प्रतिस्पर्धा छ । क्षमता देखाएर गर्नुपर्ने व्यवसाय हो । राम्रो गर्नु भयो भने माउथ टू माउथ विज्ञापन हुन्छ । राम्रो काम गर्नेलाई ठीक छ । यो ठगठाग गर्ने यो व्यवसायमा टिक्न सक्दैन । त्यस्ताका लागि ढोका बन्द हुन्छ ।
कहिलेदेखि यो व्यवसायमा हुनुहुन्छ ?
अस्टेलियाको सिड्नीमा छ वर्ष भयो । सिड्नी, मेलबर्न हुँदै काठमाडौंमा एक वर्षअघि स्थापना गरेका हौं ।
कति विद्यार्थी अस्टेलिया जान्छन् ?
नेपालबाट वार्षिक करिब आठ हजार विद्यार्थी गएको तथ्यांकले देखाउँछ ।
विद्यार्थीलाई सुझाव के छ ?
परामर्शका लागि आउने विद्यार्थीलाई सक्छौ भने यहीँका राम्रा विश्वविद्यालयमा अध्ययन गर्न सुझाव दिन्छौं । सक्दैनौ पढ्ने विदेशनै जाने हो भने उच्च शिक्षा सकेर नेपाल फर्क । त्यो पनि सक्दैनौ भने जुन ठाउँमा तिमी जान्छौं त्यहीँका नागरिकलाई काम लगाउने हैसियत बनाउ ।
व्यवसायमा कसरी आउनु भयो ?
मेरो पृष्ठभूमी पत्रकारिता हो । मेरा पारिवारिक आफन्तले सिड्नीमा अफिस खोले पछि म जोडिन पुगें । त्यहाँ योगेन्द्र पौडेल र दिपक क्षेत्री मिलेर त्यहाँ खोलेको ग्लोलब कन्सल्टलाई नेपालमा शाखा खोल्ने योजना अनुसार यहाँ सुरु गरेको हो ।
सफलताको लागि के चाहिन्छ ?
इमान्दारिताले सफलता दिलाउँछ । लाभका लागि धेरै लोभ गर्नु हुँदैन । सेवाको लागि निस्चित चार्ज लिए पनि व्यवस्थापन राम्रो गर्न सक्नुपर्छ ।
अन्य व्यवसायमा यहाँको आवद्धता ?
मोवाइल विजनेस पनि गर्दै आएको छु ।
स्कुले जीवनमा के गर्ने योजना थियो ?
सानो छँदा राजनीति गर्छु भन्ने थियो । अलिकति ठूलो भएपछि लेखनले तान्यो पत्रकारिता गरें । पत्रकारिता गर्दागर्दै साहित्यकार बन्छु भन्ने लाग्यो । कविता लेखें । दुई÷तीन वटा किताब प्रकाशित छ । बच्चामा परिकल्पना गरेका कुरा पूरा भए जस्तो लाग्छ । च्वाइस नगरेको व्यवसाय हो । तर, २० वर्षदेखि कुनै न कुनै व्यवसायमा जोडिँदै आएको छु । पत्रकारिताका अतिरिक्त हाडवेयर, स्टेशनरी, रेडिमेट, घडी, मोवाइल व्यापार हुँदै अहिले शैक्षिक परामर्शमा छु ।
मनपर्ने कवी ?
अहिलेका कवी मध्ये दिनश अधिकारी, तिर्थ श्रेष्ठ र श्यामल ।
कुनै विषयमा पछुतो ?
मेनजमेन्ट नपढेकोमा ।

Leave A Comment