‘माओवादीले लखेटेपछि पण्डित भएँ’

शुक्रबार, ०७ पुष २०७४, १० : ४८ भोला अधिकारी
‘माओवादीले लखेटेपछि पण्डित भएँ’

हरेक दिनजसो पशुपतिको दक्षिण ढोकाको प्रवेशद्वारमा पुजापाठका लागि धेरै पण्डित लाइनै बसेका हुन्छन् । कोही बोरा ओछ्याएर, रातो टीका बनाएर बसेका हुन्छन् भने कोही नयाँ जजमानलाई भेट्नका लागि त्यहाँ आएका हुन्छन् । लाइनै बसेका पण्डितहरुमध्ये एक हुन्, सुदर्शनप्रसाद डोढारी उपाध्याय । उनी यो ठाउँमा पुजापाठ गर्नका लागि बसेको करिबकरिब ९ वर्ष  भइसकेको छ  । यो ठाउँमा प्रायः पण्डितहरु लहरै बस्ने गरेका छन् । सुदर्शन पनि  हरेक दिन यहीँ आएर बस्ने गरेका छन्  । उनी भन्छन्, ‘हरेक दिन म यही ठाउँमा बस्दै आएको छु,  बिहान ५÷६ बजे सम्ममा यो ठाउँमा आइसकेको हुन्छु, आफ्नो पेसा यही भएपछि आउनु पनि प¥यो,’ उनले मुसुक्क मुस्कुराउँदै  भने । म यो ठाउँमा बस्नुको मुख्य कारण चाहिँ धेरैले मलाई यही ठाउँमा बस्छ भनेर चिन्नुका साथै स्थापित हुनका लागि हो ।  

सुदर्शन विगत सम्झँदै भन्छन्, ‘म यस ठाउँमा पुजाआजा  गर्न थालेको पनि करिबकरिब ९÷१० वर्ष भइसकेको छ । समय कति छिटो बितेछ पत्तै नहुने, दैनिकी यही भएकोले गर्दा होला  । यहाँ बस्ने पण्डितहरुमध्येमा उनी अलिक जान्नेजस्ता देखिन्थे ।  सबैसँग राम्रो व्यवहार गर्ने उनको बानी भएकोले पनि होला उनीसँग धेरै मान्छे जम्मा भइरहन्छन् । उनि भन्छन्, ‘म अरूले जस्तो यतिउति भन्ने गरेको छोइन । जसको इच्छाले जति दिन्छन्, उति नै लिने गरेको छु । जजमान भने धेरै थरिका आउने गरेका छन् । सबै राम्रा खालका हुन्छन् भन्ने छैन । कोही पैसा भएर पनि दिन नखोज्ने लोभी आउँछन् त कोही पैसा नभएर थोरै दिएँ भनेर मन खिन्न पार्ने आउँछन् उनको अनुभव छ । थोरै पैसा दिए भनेर नाइ भनी मन दुखाउने गरेको छैन । जसले जति दिन्छन् त्यसमै चित्त बुझाउने गरेको छु । सबै एकनासको कहाँ हुन्छन् र ? कोही गरिब त कोही धनी यस्तै छ यो संसारमा । यो ठाउँमा बसेका मध्ये सबभन्दा पुरानो भएर होला, धेरै जसो मलाई सम्झेर आउने गर्छन् । जजमान जस्ता आए पनि उनीहरुलाई खुसी बनाएर पठाउने गरेको छु उनले बताए ।

सुदर्शन यो पेसामा आफूखुसी लागेका होइनन् । उनको आफ्नै कहानी छ । उनको स्थायी ठेगाना बारा जिल्ला हरैचा गाविस वडा नं १ हो । उनी गाउँमै शिक्षण पेसामा आबद्ध थिए । एमए पास गरेका सुदर्शन स्थानीय मावि स्कुलमा गणित विषय पढाउने गर्थे ।  त्यहाँ पढाउँदै गर्दा २०६० सालको माओवादी द्वन्द्वकालले उनलाई पर्नुसम्म असर प¥यो । पढाउँदै गरेका शिक्षकमाथि माओवादीले धम्क्याउने, कहिले के भन्ने, कहिले के भन्ने गरेकाले गाउँमा बस्न सकेनन् र अन्ततः उनी शिक्षण पेसा छोडेर राजधानी आएका थिए ।  १८ वर्ष शिक्षण पेसामा खर्चिएका सुदर्शन एकाएक काठमाडौं आउन बाध्य भए ।  उनलाई काठमाडौं आउन मन त लागेको थिएन तर ज्यान जोगाउन भए पनि काठमाडौं आउनु परेको उनको भनाइ छ । सुदर्शन २ छोरा र श्रीमती लिएर काठमाडांैको बालाजुस्थित नेपालटारमा बस्दै आएका छन् । उनलाई त्यति बेला गाउँ छोड्दा नरमाइलो लागेको थियो । तर पनि बाध्यतावश २०६० सालमा काठमाडौं आए । काठमाडौं आएपछि उनलाई के काम गर्ने भन्नेमा बढो चिन्ताले सतायो र अन्ततः उनले बाबुबाजेले गर्दै आएको पण्डित (पुरोहित) पेसालाई गरिखाने भाँडो बनाए । त्यसपछि उनले यसै कामलाई निरन्तरता दिन थाले । सुदर्शन भन्छन्, ‘मैले घरमा बासँगै यो संस्कृत विषय अध्ययन गरेको हुँ ।’

अहिले मलाई काम लागेको छ । बुबासँगै कर्मकाण्ड सिकेकोले मलाई यो पेसा अँगाल्न गाह्रो परेन ।  प्रायजसो : दिनमा हजार, बाह्र सय जति कमाइ गर्दै आएका उनी यति नै कमाइ हुन्छ भन्नेमा छैनन् । तर पनि दिनमा पाँच सय, हजार कमाउने गरेको उनको भनाइ छ । यति नै हुन्छ भनेर भन्न सकिँदैन । कहिले कति हुन्छ ? कहिले कति ? यो आकासेखेती हो । यसको भरविश्वास हुँदैन । यिनले त्यही कामबाट जेठो छोरालाई  इण्डियामा सिए पढाइरहेका छन् भने कान्छो छोरालाई काठमाडौंकै  त्रिचन्द्र कलेजमा बिएस्सी पढाइरहेका छन्  । उनी भन्छन्, ‘सम्पत्ति कमाउन नसके पनि छोरालाई पढाएको छु, मेरो सम्पत्ति भनेको नै छोरालाई शिक्षा दिनु हो ।’ उनकी श्रीमती चाहिँ घरमै काम गर्ने गर्छिन् । पशुपतिमा दिउँसो ११/१२ बजेसम्म बस्छन् र त्यसपछि उनी आफ्नै निवास बालाजु फर्कने गरेका छन् ।

उनको काम यति मात्र हुँदैन । बालाजुमा उनले एउटा ज्योतिष सेवा केन्द्रसमेत खोलेका छन् । उनले दिउँसो २ बजेपछिको समय भने बालाजुमा ज्योतिष सेवाका लागि छुट्याएका छन् ।  शिक्षक जस्तो सम्मानित पेसालाई छाडी काठमाडांै आएर पशुपतिमा यसरी बस्नु आफ्नो रहर नभई बाध्यता हो । गाउँमा भएको भए यतिखेर अवकाश जीवनमा हुन्थेँ होला या उतै विद्यार्थी पढाइरहेको हुन्थेँ । मलाई द्वन्द्वकालमा माओवादीले दुःख नदिएको भए गाउँमै खेतीपाती गरेर बसेको हुन्थेँ उनले  विगत सम्झँदै भने । समयको खेल रहेछ, भाग्यमा लेखेको कुरा पुग्छ भन्थे हो रहेछ ।  अहिले यसरी बसेको छु । काठमाडांैको बाजालुमा बस्दै आएका उनी बेलाबखत गाउँतिर जाने गरेका छन् । गाउँ गएको समयमा उनी आफूले पढाउने गरेको स्कुल हेर्छन् र केही दिन बसेर काठमाडांै आउने गरेको सुनाउँछन् ।

Leave A Comment