गुनगुनाइरहने गीत

शुक्रबार, ०७ पुष २०७४, १० : २७ भोला अधिकारी
गुनगुनाइरहने गीत

अभिनय गर्ने कलाकारहरू गीत–संगीतमा पनि उत्तिकै रुचि राख्छन् । केही अभिनेता/अभिनेत्रीले शुक्रबारसँग आफूलाई प्रिय लाग्ने एउटा गीतबारे कारणसहित बताएका छन् ।


रेखा थापा, अभिनेत्री

‘कुछ तो लोग कहेगें’
मेरो ‘अलटाइम फेभरेट’ गीत हो यो ।  किशोर कुमारले गाउनुभएको यो गीतको शब्दभित्र ठूलो यथार्थ छ । यो गीतले जोकोहीलाई छुन्छ । गीतले ‘कुरा काट्ने दुनियाँ’को कुनै पर्वाह नगरी अघि बढ्न हामीलाई प्रेरित गर्छ । गीतले भनेझैँ म पनि सधैंँ त्यसै भन्ने गर्छु, ‘कुरा काट्ने त मान्छेको कामै हो तर त्यसको पर्वाह नगरी अघि लम्कनुपर्छ । ’


ऋचा शर्मा, अभिनेत्री

‘एकै छिनमा के भयो’
सन्तोष लामाले गाएको यो गीत मलाई निकै प्रिय लाग्छ । गीतमा मैले अभिनय गरेकी छु । धेरैपल्ट सुनेर होला झन् सुनिरहन मन लाग्छ । गीतमा कालिप्रसाद बाँस्कोटाको शब्द/संगीत छ ।

बेनिसा हमाल, अभिनेत्री

‘माया के होला’
‘बेहुली’ फिल्मको यो गीत मैले बच्चा बेलादेखि नै सुनेर होला, अहिले पनि उत्तिकै कर्णप्रिय लाग्छ ।  धेरै गीतहरूमध्ये मैले गुनगुनाइरहने गीत हो यो । झन् यसमा त उदित नारायणको स्वर छ, मिठो हुने नै भयो ।

हरिवंश आचार्य, अभिनेता
‘तिमी जुन रहरले ममा फुल्न आयौ’

नारायण गोपालको यो गीत जुन दिनदेखि मैले सुनेँ, त्यस दिनदेखि नै मान्छेको जीवनसँग नजिक रहेको महसुस भयो । मेरो जीवनसँग पनि मेल खाएको हुनाले म यो गीत धेरै सुन्ने गर्छु । गीतमा एउटा भावुकता झल्केको छ ।

निश्चल बस्नेत, अभिनेता
‘कुटुमा कुटु सुपारी दाना’

मैले अभिनय गरेको फिल्म ‘दुई रुपैयाँ’को यो गीत एकदमै सरल भाषामा छ । जति सुने पनि सुनिरहुँ जस्तो लाग्छ । दर्शक श्रोताले पनि अत्यधिक माया गरेको गीत हो । जताततै बजिरहेको गीत भएकाले पनि मलाई मन परेको हो । ‘लोक प्याटर्न’को गीत त्यसै पनि मनमा बस्ने भइहाल्यो ।

एलिसा राई, मोडल

‘जिउँधनै भाँके नि’
गायिका पवित्रा सुब्बाको यो गीत मलाई मनपर्छ । विशेषगरी गीतको शब्दले छोएको हो । कम्पोजिसन र गायकी पनि अग्र्यानिक छ ।

विल्सनविक्रम राई, हास्यअभिनेता
‘तिमीले त होइन, मेरा आँखाहरूले’

नातिकाजीको संगीतमा बच्चु कैलाशले गाउनुभएको यो गीत निकै गुन्गुनाउँछु । खोइ किन हो, गीत सुनिरहन मन लाग्छ । खास कारण केही छैन । सायद गीतको शब्द, स्वर र  संगीतले नै छोएको होला ।

रजनी केसी, अभिनेत्री

‘यति चोखो, यति मिठो’
नारायण गोपालको यो गीत गुन्गुनाउन मन लागिरहन्छ । गीत प्रेमसँग जोडिएको छ । प्रेम आफँै सुन्दर हुन्छ, मिठो हुन्छ । झन् यो गीतले त प्रेमको सुन्दर आभाष गराउँछ त्यसैले मनमनै गुन्गुनाउँछु ।

Leave A Comment