संसारकै खराब चिडियाघर

शुक्रबार, ०७ पुष २०७४, १० : ०९ शुक्रवार
संसारकै खराब चिडियाघर

चीनको दक्षिणी भूभागको गुआङसी जुआङस्थित युलिन सहरमा खुलेको गशियन जुले विशेष कार्यक्रम आयोजना गर्दै पर्यटकहरूलाई निमन्त्रणा गरेको थियो । तर त्यहाँ पुग्दा प्रचार गरेकोझैं नभई चिडियाघर देख्दा पर्यटकहरू दिक्दार भएका छन् । दक्षिणी गोलाद्र्धको पेन्गुइन हेर्न पुगेका पर्यटकहरूले फुलाउन मिल्ने बेलुनको पेन्गुइन देख्दा निराश भएका हुन् । पेन्गुइन मात्र नभई त्यहाँ रहेका सबैजसो चरा प्लास्टिक बेलुनका थिए । जम्मा १५ युआनमा आर्कटिक पेन्गुइन हेर्न पाइने भन्दै थुप्रो मात्रामा स्थानीय चिडियाघर पुगेका थिए ।

तर पेन्गुइनको ठाउँमा दर्जनभन्दा बढी प्लास्टिकका पेन्गुइन देख्दा उनीहरू निराश मात्र नभई रिसाएका पनि थिए । उक्त चिडियाघरमा वास्तविक पशुपक्षीका रूपमा कुखुरा, हाँस र कछुवा मात्र थिए । कछुवालाई भने सिसाको बाकसमा राखिएको थियो । अझ बाकसमा ‘भविष्यवेत्ता कछुवा’ भनी लेखिदिँदा पर्यटकहरूले कछुवालाई पैसा चढाएको देख्न सकिन्छ । भ्रामक विज्ञापन प्रस्तुत गर्ने चिडियाघरका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चीनभर सनसनी मच्चाइदिएको छ । चिडियाघरको दुरावस्था देखेर कतिपयले पैसासमेत फिर्ता माग्दा पैसा नपाएको भन्दै उनीहरू केही समयमै चिडियाघरबाट बाहिरिएर घर फर्केका थिए ।

Leave A Comment