सपना देख्न चाहिने लाइसेन्स

शुक्रबार, ०७ पुष २०७४, ०९ : ५३ शुक्रवार
सपना देख्न चाहिने लाइसेन्स

प्रकाशजंग थापा
जोसे हर्नान्डेज एक अमेरिकी इन्जिनियर तथा नासाका तात्कालीन अन्तरीक्ष यात्री हुन् । उनी एक किसान परिवारमा जन्मे पनि नासाको अन्तरीक्ष यात्रीसम्म बन्न पुगे । त्यो उचाइसम्मको यात्रा निकै चुनौतीपूर्ण थियो । १२ वर्षको हुँदासम्म अङ्ग्रेजी बोल्न जान्दैन थिए । उनको परिवार मेक्सिकोबाट बसाइँ सरेर अमेरिका आएका थिए । एक आप्रवासी जीवनशैली बाँच्नुको विकल्प थिएन । उनका आमा–बुबा शिक्षित थिएनन् । कक्षा तीनसम्म मात्र पढेका थिए । यद्यपि उनले परिवारबाट पढ्नको लागि निरन्तर सहयोग र होैसला पाए । उनी सोमबारदेखि शुक्रबार स्कुले वातावरणमा अधिकांश समय व्यतित गर्थे । हप्ताको दुई दिन शनिबार र आइतबार छुट्टी हुन्थ्यो । छुट्टीका दिन कहिल्यै खेर फ्यालेनन् । उनी आमा–बुबासँगै खेतबारीमा रमाउँथे । मौसमअनुसार फलेको फल टिप्थे र नजिकै रहेको बजारमा बच्थे । त्यो समय उनले एक भाँडो काँक्रो बेच्दा ५० सेन्ट पाउँथे । यसले उनको परिवारलाई सानै भए पनि आर्थिक सहयोग मिल्थ्यो ।
सन् १९७२, डिसेम्बर महिनाका दिन नासाले संचालन गरेको एपोलो प्रोग्राम अन्तर्गतको अन्तिम एपोलो मिसन टिभीमा प्रत्यक्ष प्रसारण गरिएको थियो । हर्नान्डेज १० वर्ष उमेरका थिए संयोग बस उनी टिभी अगाडि नै थिए । जिन केर्नान चन्द्रमामा हिँडिरहेका थिए । यस दृश्यले उनलाई रोमान्चित बनायो । उनको नजर टिभीबाट हटेन । चन्द्रमामा चालिएका प्रत्यक मानवीय चाल कैद गरिरहे । उनको मनमा केर्नानजस्तै अन्तरीक्ष यात्री बनेर चन्द्रमामा पाइला टेक्ने विचारको जन्म भयो । यसलाई जीवनको एक मात्र उद्देश्य बनाए तर उनी बच्चै थिए । कुनै ठोस योजना थिएन । एक रहर मात्र थियो । त्यसैले आफ्नो बुबासँग अन्तरीक्ष यात्री बन्ने लक्ष्य सुनाए । छोराको यति ठूलो आँट देखेर बुबा प्रफुल्ल हुँदै भने, ‘यदि तिमी आफ्नो लक्ष्यसम्म पुग्न चाहन्छौ भने यी पाँच मन्त्र कहिल्यै नभुल्नु । पहिले आफू के बन्ने भन्ने कुराको छिनोफानो गर्नु । भविष्य तिम्रै हातमा छ । सधैं मनको आवाज सुन्नु । दोस्रो तिमी आफ्नो लक्ष्यबाट कति टाढा छौ पहिल्याऊ । आफ्नो सबल पक्ष र दुर्बल पक्षको चिरफार गर्नु । सोहीअनुरुप आफूलाई तयार पार्नु । तेस्रो प्रस्ट रोड म्याप कोर्नु । यसबाट लक्ष्यसम्म पुग्न मद्दत मिल्छ । गन्तव्यहीन बाटो हिँड्नुको कुनै अर्थ छैन । चौथो शिक्षालाई प्राथमिकतामा राख्नु । शिक्षाको विकल्प सोच्न सकिँदैन । अन्त्यमा एउटा मजबुत वर्क इथिक्स निर्माण गर्नु । जुन लगाव र मिहिनेतका साथ तिमी बारीमा गोलभेडा, अंगुर र काँक्रो टिप्छौ, त्यसरी नै काममा तल्लिन हुनु ।’
हर्नान्डेजले बुबाबाट सफल हुनका लागि चाहिने सूत्र पाएपछि चैनको श्वास लिए । वायु मण्डलमा अक्सिजनको मात्रा बढेजस्तो अनुभूत गरे । उनका हड्डी हाँसे । ओछ्यानमा पल्टे र सोचे, ‘ओहो ! मेरो परिवारलाई म अन्तरीक्ष यात्री बन्न सक्ने पूर्ण विश्वास रहेछ । म उहाँहरुको विश्वास कहिल्यै डग्न दिने छैन । यो मेरो चट्टानी संकल्प भयो ।’

त्यसपछि हर्नान्डेज पढाइमा अधिक मिहिनेत गर्न थाले । बुबाको भनाइ हुबहु पालना गरे । फलस्वरुप उनले सन् १९८६ मा युनिभर्सिटी अफ क्यालिफोर्नियामा इलेक्ट्रिकल एन्ड कम्प्युटर इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरे । पहिले उनमा जोस थियो । सपना थियो । अहिले उनले डिग्री लिएर आफूलाई योग्य बनाए । कामकै सिलसिलामा सन् २००१ मा जोन्सन अन्तरिक्ष केन्द्रमा आबद्ध हुने अवसर पाए । उनले आफ्नो सपना भुलेका थिएनन् । नासा प्रवेशका लागि कयौँ पटक प्रयास गरे । उनका हरेक निवेदन रद्दीको टोकरीमा फ्याँकियो तापनि उनले हरेस खाएनन् । बुबाले दिएको सफल हुने सूत्रमा अर्को सूत्र पनि थपे । त्यो थियो– हरेश नखानु । निरन्तर प्रयास गर्नु, कहिल्यै हार नमान्नु, लक्ष प्राप्त नहुञ्जेल डटिरहनुले मानिसलाई जुनसुकै कामका लागि योग्य बनाउँदो रहेछ भन्ने उनले बुझे । अन्ततः तीन वर्षको अथक प्रयासपछि १२ औं प्रयासमा नासामा प्रवेश पाए । सन् २००४ मा एस्ट्रोनट तालिम सुरु गरेर २००६ मा कोर्स पूरा गरे । त्यसको तीन वर्षपछि सन् २००९ मा स्पेस मिसनमा भाग लिने मौका पाए । उनलाई १४ दिने मिसनमा खटाइएको थियो ।

Leave A Comment