सन् २०१७ : सुपरहिरोको बाहुल्य

शुक्रबार, ०७ पुष २०७४, ०९ : ४६ शुक्रवार
सन् २०१७ : सुपरहिरोको बाहुल्य

नयाँ वर्ष नजिकिदै गर्दासम्म पनि हलिउडमा थरिथरिका फिल्म प्रदर्शनमा आए । कतिपय फिल्मले बक्स अफिसमा कीर्तिमान कायम गरे भने कतिपय चाइँचुइँ पनि गर्न पाएनन् । तर विधाको कुरा गर्ने हो भने यस वर्ष सुपरहिरो फिल्म निकै फाप्यो । यही वर्ष मात्रै आएका कमिकमा आधारित छ फिल्मले फिल्मी बजारलाई तरंगित बनाइदिए । धेरै सुपरहिरो फिल्म आएर दर्शकहरुलाई वाक्क पनि बनाए । तर यस्ता कुरालाई फिल्मको बक्स अफिसले बिर्सन बाध्य बनाइदियो । कलात्मक, व्यावसायिक एवं ऐतिहासिक रुपमा हेर्ने हो भने यो वर्ष लाइभ एक्सनमा आधारित सुपरहिरो फिल्मका लागि उपयोगी वर्ष साबित भयो ।
यस वर्ष आएका छ सुपरहिरो फिल्म हुन्– लोगन, गार्जियन अफ द ग्यालेक्सी दोस्रो भाग, वन्डर वुमन, स्पाइडर–म्यानः होमकमिङ, थोरः रागनारोक र जस्टिस लिग हुन् । यी आधा दर्जन फिल्मले एक वर्षमै आएका अन्य फिल्मको भन्दा बेसी रकम असुले । यी फिल्मको बक्स अफिसमा व्यापार विश्वभरि नै चार बिलियन अमेरिकी डलर छ ।
‘स्पाइडर–म्यानः होमकमिङ’ यो वर्षकै सबैभन्दा धेरै कमाउने सुपरहिरो फिल्म हो । यस फिल्मले विश्वव्यापी रुपमा आठ सय असी मिलियन डलर कमाएको थियो । यसलाई पछ्याउने फिल्म भने ‘गार्जियन अफ द ग्यालेक्सी दोस्रो भाग’ हो । यसले आठ सय त्रिसट्ठी मिलियन अमेरिकी डलर भन्दा बेसी कमायो । यसपछिको अर्को फिल्म हो ‘वन्डर वुमन’ । यसले विश्वव्यापी रुपमा आठ सय एक्काइस मिलियन डलर कमायो । ‘थोरः रागनारोक’ले भने सात सय नब्बे मिलियन डलर कमायो र यही हप्तासम्म आठ सय मिलियन पार गर्ने आँकलन गरिएको छ । त्यस्तै ‘जस्टिस लिग’ले सात सय मिलियनभन्दा बेसी कमाउन आँकलन गरिएको छ । ‘लोगन’ले भने छ सय मिलियन कमाइसकेको छ ।
छ सुपरहिरो फिल्मले छ सय मिलियन भन्दा बेसी कमाउँदा यी फिल्म व्यावसायिक रुपमा वर्षकै सफल फिल्म साबित भए । अझ योसँगै यी फिल्मले सुपरहिरो विधालाई वर्षकै सफल विधाका रुपमा प्रमाणित गरिदिए । यसमा अझ थप फिल्मका रुपमा ‘द लेगो ब्याटम्यान मुभी’लाई राख्न सकिन्छ । यस फिल्मलाई समावेश गरेमा सबैकुरा स्पष्ट र छर्लंग हुन्छ । यो फिल्मले फिल्मी अनलाइनहरुमा समेत सकारात्मक प्रतिक्रिया पाएको थियो र विश्वव्यापी तीन सय मिलियन डलरभन्दा बेसी कमायो । अंक गणितकै कुरा गर्नुपर्दा हामीहरु लाइभ एक्सन सुपरहिरोबारे कुरा गर्दैछौं । तापनि लेगो ब्याटम्यानलाई दिमागमा राख्दा अन्य फिल्मको बक्स अफिस आँकलनमा सहज हुन सक्छ । यसबाटै सुपरहिरो र यससँग सम्बन्धित फिल्मको वर्चश्वलाई बुझ्न कठिन पर्दैन ।
अर्को रोचक कुरा, फिल्म निर्माता डिसी मुभिसका लागि समेत ऐतिहासिक वर्ष भयो सन् २०१७ । दोस्रो सातामा चलिरहेको ‘जस्टिस लिग’ले मात्रै पनि डिसीलाई भारी मात्रामा रकम दिलाउन सफल भयो । यसै वर्ष मात्रै आएका डिसीका ‘वन्डर वुमन’ र ‘जस्टिस लिग’ले १.३ बिलियन डलर कमाए र त्यो रकम १.५ सम्म कमाउन सक्ने आँकलन गरिएको छ । ‘लेगो ब्याटम्यान’लाई समेत यी फिल्मसँगै राख्ने हो भने रकम झन्डै १.८ बिलियन डलर पुग्छ । डिसीको अर्को कीर्तिमान भनेको ‘वन्डर वुमन’ हो । यो फिल्म आजसम्म आएका सबै सुपरहिरो फिल्ममध्ये सबैभन्दा धेरै र छिटो कमाउने फिल्म बन्यो । ‘वन्डर वुमन’ अस्कर अवार्डको अभियानमा समेत सामेल गराइएको छ । उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकका लागि फिल्मकी निर्देशक पेटी जेन्किन्स छनोटमा परेकी छन् । फिल्म अस्कर छनोटमा प¥यो भने अस्करमा पुग्ने आजसम्मकै पहिलो सुपरहिरो फिल्म हुनेछ । ‘वन्डर वुमन’सँगै ‘लोगन’ पनि प्रतिस्पर्धामा जान सक्ने आँकलन गरिएको छ । सोही सूचीमा जान लागेको ‘लोगन’को पदचाप हेर्ने हो भने यस वर्ष अस्करमा सुपरहिरोहरुको घम्साघम्सी हुन सक्ने आँकलन गर्न सकिन्छ ।
यो वर्ष मार्भल स्टुडियोका लागि समेत सबैभन्दा फापेको वर्ष बन्यो । दस वर्षे इतिहासमा र छ वर्षको अवधिमा यस स्टुडियोले १.४ बिलियन डलर मात्रै आफ्नो पोल्टामा पार्न सफल भएको थियो । यस वर्ष भने रकम अझ बढाएर २ बिलियन डलरभन्दा बढी रकम उठाइसकेको छ ।
मार्भल स्टुडियोका केही वर्षका बक्स अफिस कलेक्सन यस्ता छन्– २०१२ मा ‘द एभेन्जर्स’ १.५ मिलियन, २०१३ मा ‘आइरन म्यान ३’ र ‘थोरः द डार्क वल्र्ड’ १.८ बिलियन र २०१४ मा ‘क्याप्टेन अमेरिकाः द विन्टर सोल्जर’ १.४ बिलियन । त्यस्तै २०१५ मा ‘गार्जियन अफ द ग्यालेक्सी’ १.९ बिलियन र २०१६ का ‘एभेन्जर्सः एज अफ अल्ट्रन’, ‘एन्ट म्यान’, ‘द क्याप्टेन अमेरिका सिभिल वार’ र ‘डक्टर स्ट्रेन्ज’को कुल कलेक्सन १.८ बिलियन । यस वर्ष भने ‘गार्जियन अफ द ग्यालेक्सी भाग २’, ‘स्पाइडरम्यानः होमकमिङ’ र ‘थोरः रागनारोक’को आक्रमक व्यापार २.५ बिलियन रह्यो ।
व्यावसायिक सफलतासँगै समीक्षात्मक रुपमा समेत यो वर्ष सुपरहिरो फिल्मका लागि सफल वर्ष रह्यो । छ फिल्ममध्ये पाँच फिल्मले सकारात्मक समीक्षा पाए । पाँच फिल्म अनलाइन फिल्म रिभ्यु वेबसाइट रोटन टमाटोमा बयासी प्रतिशतभन्दा माथि छन् । अझ चार फिल्म त बयानब्बे प्रतिशतभन्दा माथि छन् । राम्रो समीक्षा नपाएको फिल्म भने ‘जस्टिस लिग’ हो तर पनि यसले बिस्तारै उकालो चढ्दै गएको छ र अहिलेसम्म ४१ प्रतिशत पुगिसकेको छ । यति हुँदाहुँदै पनि ब्याटम्यान भर्सेस ‘सुपरम्यान’ र ‘सुसाइड स्क्वाड’को भन्दा ‘जस्टिस लिग’को अग्रता निकै माथि हो ।
व्यावसायिक सफलतासँगै समीक्षात्मक रुपमा सुपरहिरो फिल्म पछाडिको अर्को रोचक कुरा भनेकै सुपरहिरो फिल्मको प्रभाव हो । लामो समयदेखि प्रतिक्षारत दर्शकहरु एक वर्षमा आएका छ फिल्मबाटै उत्साहित भएको देख्दा सुपरहिरो फिल्मको भविष्य राम्रै रहेको यकिन गर्न सकिन्छ । आगामी वर्षहरुमा पनि यस्तै सुपरहिरो फिल्म आएमा अझ धेरै आक्रमक रुपमा छाउन सक्ने अनुमान गर्न गाह्रो पर्दैन । थरिथरिका फिल्म, उनीहरुले राखेको कीर्तिमान र गुणस्तर, स्टुडियोको सफलता आदि कुराहरु सुपरहिरो फिल्मको सफलताको स्वादलाई चखिलो बनाउने कुरा हुन् । अस्कर पुरस्कारका लागि दुई सुपरहिरो फिल्म पुग्नु अर्को सफलता हो । यस वर्षझैं आगामी वर्षमा पनि सुपरहिरोले आक्रमक सफलता पाउने हुन् हैनन त्यो अहिले नै बताउन मुस्किल छ । आगामी वर्ष ब्ल्याक प्यान्थर, एन्टम्यान एन्ड द वास्प, एभेन्जर्सः इन्फिनिटी वार, भेनम, अक्वाम्यान, द न्यु मुटान्टस्, डेडपूल २ र एक्स मेनः डार्क फिनिक्स आगामी वर्षका बहुप्रतिक्षित सुपरहिरो फिल्म हुन् । आगामी वर्ष सुपरहिरो फिल्मका लागि कस्तो होला त्यो त समयले नै बताउँछ ।

 

Leave A Comment