वैदेशिक रोजगारीमा जाने महिलालाई टिप्स

मङ्गलबार, ०४ पुष २०७४, १० : ०५ शुक्रवार
वैदेशिक रोजगारीमा जाने महिलालाई टिप्स

–वैदेशिक रोजगारीमा जानु अघि परिवारसँग सरसल्लाह गर्नुपर्छ । विदेशमा जाँदा नेपालको तुलनामा कति बढी कमाइ हुन्छ र कति खर्च हुन्छ त्यसबारे लेखाजोखा गर्नुपर्छ ।
–आफूले निभाइरहेको पारिवारिक जिम्मेवारी कसले बहन गर्ने र कसरी परिवारको व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा छलफल गर्नुपर्छ ।
–वैदेशिक रोजगारीमा जाँदा सीप सिकेर मात्र जानुपर्छ । सीप सिकेर जानेले बिनासीपमा जानेले भन्दा तलब र सुविधा धेरै पाउने गर्छन् ।
–सीप तालिम लिँदा खर्च र समय लाग्ने भनेर भड्काउने, नक्कली प्रमाणपत्र बनाएर लाने र आफूले नजानेको काम जान्छु भनेर लहलहैमा जानु हुँदैन ।  सीप नसिकेमा लेबर र धेरै जोखिमपूर्ण काम गर्नुपर्ने हुनसक्छ ।
–इजाजतवाला मेनपावर कम्पनीसँग मात्र आर्थिक कारोबार गर्नुपर्छ ।
–कारोबार गर्दा रकम तिरेको रसिद वा भरपाइ साथमा राख्नु पर्छ । किनकि ठगीमा परे वा भनेको काम र तलब नपाए क्षतिपूर्ति लिन यो आवश्यक हुन्छ ।
–जुनसुकै प्रक्रियाबाट वैदेशिक रोजगारीमा गएता पनि विदेशमा काम गर्न जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति अनिवार्य लिनुपर्छ ।
–खाडी मुलुकका लागि सामान्यतया दुई वर्ष र मलेसियाका लागि तीन वर्षको करार अवधि हुन्छ । सो भन्दा बढी बस्नु परे स्वदेश फर्किएर पुनः श्रम स्वीकृति  लिएर जानुपर्ने हुन्छ । गन्तव्य मुलुकमा वैधानिक भएर वा भिसाको म्याद बढाएर बसे पनि पुनः श्रमस्वीकृति नलिएमा नेपाल सरकारका तर्फबाट गैरकानुनी ठहरिन्छ ।
–वैदेशिक रोजगारीमा जाँदा आवश्यक पर्ने कागजपत्र आफैँसँग राख्नु पर्छ ।
–नेपाल सरकारद्वारा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट अनिवार्य रूपमा आफू स्वयम् उपस्थित भई स्वास्थ्य परीक्षण गर्नुपर्छ । र, निरोगिताको प्रमाणपत्र लिनुपर्छ ।
–नेपाल सरकारले मान्यताप्राप्त बिमा कम्पनीबाट अनिवार्य रूपमा बिमा गराउनुपर्छ । बिमा गरेका भवितव्यमा परी अपांग, मृत्यु भएमा क्षतिपूर्ति पाइन्छ ।

–नेपाल सरकारको नियम अनुसार वैदेशिक रोजगारीमा जाँदा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्नुपर्छ ।

Leave A Comment