छलाङ मार्न खोज्दा वित्तीय जोखिम

सोमबार, ०३ पुष २०७४, ०४ : ३४ दिलीप पौडेल
छलाङ मार्न खोज्दा वित्तीय जोखिम

भोजपुरको सिद्धेश्वर गाउँमा जन्मिएका सन्तोष कोइराला झापा हुँदै काठमाडौं आएर बैंकिङ क्षेत्रमा करिअर बनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका कोइरालाले करिब ढेड दसकअघि बैंक अफ काठमाडौंबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका थिए । सानिमा बैंक हुँदै माछापुच्छे बैंक प्रवेश गरेका ४२ वर्षीय कोइराला अहिले सो बैंकको नायब महाप्रबन्धकको जिम्मेवारीमा छन् । माछापुच्छेका नायब महाप्रबन्धक कोइरालासँग बैंको वित्तीय अवस्था, नयाँ योजना र समग्र बैंकिङ क्षेत्रको बारेमा शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
स्कुले जीवनमा के बन्छु भन्ने थियो ?
इन्जिनियर बन्ने शोख थियो ।
कसरी बैंकिङ क्षेत्रमा आउनु भयो ?
झापाबाट प्रथम श्रेणीमा एसएससी उत्तीर्ण भएर अध्ययनका लागि काठमाडौं आएँ । आइएस्सी पढेपछि इन्जिनियर बन्न आशातित सफलता प्राप्त गर्न नसकेपछि बिकम, एमबिए अध्ययन गरें । बिकम पढ्दा–पढ्दै केही समय स्कुल र प्लस टुमा अध्ययन पनि गरेँ । एमबिए कम्प्लिट गरेपछि बैंक अफ काठमाडौंबाट बैकिङ करिअर सुरु गरें ।
माछापुच्छ्रे बैंकको वित्तीय अवस्था कस्तो छ ?
बैंकको पूँजी आठ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । वित्तीय अवस्था सवल र सुुदृढ छ । सबै वित्तीय परिसूचक पोजिटिभ छन् । राष्ट्र बैंकले तोकेका हरेक इन्डिकेटरमा हामी उत्कृष्ट छौं ।
बैंकको नेटवर्कको अवस्था कस्तो छ ?
फिदिमदेखि जोमसोमसम्म ६२ वटा शाखा विस्तार गरिएको छ । राष्ट्र बैंकले ग्रामीण शाखा खोल्नु पर्ने नीति ल्याएपछि १७ वटा ग्रामीण क्षेत्रमा र आठ वटा बिजनेस लोकेसनमा शाखा विस्तार गर्ने तयारीमा छौं । डोल्पा, जुम्ला, मुगु, भोजपुर, खोटाङ लगायतका विकट र ग्रामीण क्षेत्रमा यो बैंकको उपस्थिति हुँदैछ । हिमाल, पहाड, तराईलाई लक्षित गरेका छौं ।  
ग्रामीण क्षेत्रमा शाखा विस्तारको क्रममा कस्ता समस्या झेलिरहनु भएको छ ?
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने योजना अनुसार नै अघि बढेका हौं तर केही समस्या झेलिरहेका छौं । बैंक खोल्नका लागि न्यूनतम केही पूर्वाधार चाहिन्छ । सेक्युरिटी, भल्ट राख्ने ठाउँ, मापदण्डको घर चाहिन्छ । धेरै ठाउँमा ती पूर्वाधार नहुँदा कठिनाई छ । नेटवर्कको समस्या, कतिपय ठाउँमा बिजुली नपुगेको ठाउँ, टेलि–भिस्याटको प्रयोग गर्नुपर्ने अवस्था छ ।
तयारी बिना बैंकलाई ग्रामीण क्षेत्रमा जाऊ भनेको हो ?
सम्पूर्ण गाउँपालिकाभित्र शाखा खोल्नुपर्छ भन्ने सरकार र राष्ट्र बैंकको नीति रहेको छ । दुर्गम गाउँपालिकामा पूर्वाधारको विकास नगरी शाखा खोल्न असाध्यै कठिन छ । बैंकले आफैँ भिजिट गरेर खोल्न लागिरहेका हुन् । कतिपय विकट ठाउँमा धेरै कठिनाई पनि छ । र, नगद व्यवस्थापन कठिन छ । पैसा उठाएर कहाँ लैजाने ? यातायात नभएकाले बैंक खोल्ने सामान कसरी पुयाउने चिन्ता पनि छ । सुदूर पश्चिमका जिल्लामा केही कठिनाई भएको छ तर पनि बैंकहरु लागिरहेका छन् ।
बिजनेस प्रमोसनको बैंकको नयाँ योजना ?
शाखा विस्तार, रेमिटेन्स सुविधा, बैंकका सेवालाई डिजिटाइजेसन गर्ने लगायतका कामलाई प्राथमिकतामा छन् । नयाँ–नयाँ प्रोडक्ट ल्याउन लागिरहेका छौं । क्रेडिट कार्ड, प्रिपेड कार्ड, अनलाइन पेमेन्टसहित अहिले प्रविधिको जमानामा जुन कुराले बैंकलाई अघि बढाउन सघाउ पुग्छ, ती कुरालाई हामीले प्राथमिकता दिएका छौँ । विद्यार्थीहरु अध्ययनका लागि विदेश जाँदा यस बैंकमार्फत काम गर्न सक्छन् । अब इबैङ्किड नै हाम्रो प्राथमिकतामा हो । समयले धेरै कोल्टो फेर्यो । पुरानो पद्दतिबाट अब बैंकहरु चल्दैनन् ।
क्यासलेस बैंङ्किङ कारोबारको अवधारणा कत्तिको अघि बढिरहेको छ ?
छ । अब बैंकहरु कुनै न कुनै समयमा क्यासलेसमा नगएर सुखै छैन । अहिले मान्छेको पर्समा क्यास पैसाभन्दा कार्ड छ । नियामक निकायका पछिल्ला सर्कुलर पनि त्यतैतर्फ उन्मुख छ । अब आउने समय नै त्यही हो ।
वित्तीय सुशासनका लागि नियामक निकायको भूमिका कस्तो छ ?
पछिल्लो पाँच÷छ  वर्षदेखि सशक्त छ । विभिन्न कोणबाट हेरेर कन्ट्रोल मेकानिजम बनाएको छ । बैंक इन्डस्ट्रिज राम्रो र सस्टेनेवल हुनुपर्छ । विगतमा अस्वस्थ प्रतिस्पर्धा थियो । अहिले प्रोएक्टिभ देखिन्छ । नियामक निकायको सक्रियता बढ्नु भनेकै बैंकहरुको लागि सुखद पक्ष हो ।
 बैंङ्किङ क्षेत्रले अझै सुधार गर्नुपर्ने पक्ष के छ ?
सुशासनमा अत्यन्तै जोड दिनुपर्छ । बैंक पब्लिकको डिपोजिट जम्मा गर्ने संस्था हो । बचतसहित विदेशी मुद्रा, एलसी, स्विफ्टको पनि कुरा छ । बैंङ्किङ क्षेत्रलाई एग्रसिभ्ली अगाडि बढाउनु पर्छ । नियामक निकायले दिएका निर्देशनलाई अक्षरस पालन गर्दै सुदृढ ढंग सुशासन कायम गर्नुपर्छ । बैंकको सिनियर मेनेजमेन्ट र सञ्चालक समितिले गम्भिर भएर निर्णयमा पुग्नुपर्छ । प्राइभेट विजनेसमा जस्तो छलाङ मार्छु भन्न हुँदैन । छिटो छलाङ मार्न खोज्दा वित्तीय जोखिम हुन्छ ।
मुलुकको आर्थिक सम्वृद्धिको लागि बैंकहरुको लगानी कुन क्षेत्रमा प्राथमिकता हुनुपर्छ ?
अहिले धेरै टेड्रिङमा लगानी छ । उत्पादनमूलक औद्योगिक क्षेत्र, कृषि, हाइड्रो, उद्योग, पूर्वाधारमा लगानी गर्नुपर्छ । न्यून आम्दानी भएका व्यक्तिलाई पनि लगानी गर्नुपर्छ ।
विपन्न समुदायमा बैंकले लगानी नगरेको भन्ने गुनासो छ ?
कृषिमा करिब तीन प्रतिशत लगानी गरेका छौं । सक्षमसँग सहकार्य गरेर १४ वटा शाखामार्फत विपन्न क्षेत्रमा लगानी गरिरहेका छौं । अहिले २७ वटा ब्रान्चमार्फत दुर्गम क्षेत्रमा कृषि क्षेत्रमा ऋण लगानी छ । यो आर्थिक वर्षमा २७ करोड रुपैयाँ कृषिमा लगानी भएको छ ।
माछापुच्छेमा कारोबार गर्न किन आउने ?
कस्टमर फ्रेन्डली सर्भिस दिएका छौं । ग्राहकको सेवाप्रति सर्मपित चुस्त दुरुस्त सेवा छ । सक्षम र सबल बैंकिङ छ । सेवामा गुनासो गर्नुपर्ने अवस्था छैन । डिपोजिटको सुरक्षा नै हाम्रो प्राथमिकता हो ।
माछापुच्छेले पछिल्लो समय रेमिटेन्स कारोबारलाई उच्च प्राथमिकतामा राखेको हो ?
इन्डस्ट्रियल बैंक अफ कोरियासँग  सम्झौता गरेर कोरियाबाट पनि रेमिटेन्स ल्याउन थालेका छौं । त्यहाँ मार्केटिड पार्टनर राखेर सरल तरिकाले यहाँ पैसा पठाउने मेकानिजम तयार गरेका छौं । लोन लिन चाहने त्यहाँ काम गर्नेलाई कोरियामै कमाएको आम्दानीलाई बेस मानेर ऋण दिन्छौं । माछापुच्छे बैंकको आफ्नै एमबिएल रेमिट पनि छ । भर्खर सिफ्ट भन्ने लन्डनबेस कम्पनीसँग सम्झौता गरेर रेमिटेन्सको कारोबार सुरु गरेका छौं । त्यसले मिडलइस्ट लगायतका मुलुकमा कारोबार गर्छ । भारतमा पनि इन्डो–नेपाल रेमिटमार्फत कारोबार गर्ने तयारी छ ।

Leave A Comment