फालाफाल रोजगारी

सोमबार, ०३ पुष २०७४, ०३ : १९ रुद्र खड्का
फालाफाल रोजगारी

नेपालमा कामै पाइँदैन भनेर गुनासो गर्नेहरुलाई लोप्य्राउने बेला आइसकेको छ । अहिले नै विदेशमा जस्तो काम गरिन्छ, त्यस्तै कामका लागि अढाई लाखभन्दा बढी कामदारको आवश्यकता चर्केर गएको छ । कतिसम्म भने नेपालमा काम गर्नेहरु नपाइएपछि विदेश (भारत होइन)बाट समेत कामदार आयात गर्न थालिएको छ । आखिरमा नेपालमा कस्ता कामदार चाहिएको छ ? किन चर्कियो कामदारको अभाव ? शुक्रवारकर्मी रुद्र खड्काको खोजी ।

त्रिपुरेश्वरस्थित भन्सार विभागमा सञ्चालन भइरहेको क्यान्टिनले २४ जना स्टाफ मागेको एक महिना बढी भइसक्यो । अहिलेसम्म त्यस क्यान्टिनले आवश्यकता अनुसारका कुक, वेटर, हेल्परजस्ता स्टाफ फेला पार्न सकेको छैन । ‘राम्रा कर्मचारी फेला पार्न सके बिहान ८ देखि दिउँसो चार बजेसम्म काम गरेबापत मासिक ८ देखि १५ हजार रुपैयाँ पारिश्रमिक दिन खोजेका छौं,’ क्यान्टिन सञ्चालिका टीकाश्वरी अवस्थी बताउँछिन् ।
यो टीकाश्वरीको खोजी मात्र होइन । यस्तो खोजीमा यतिबेला काठमाडौँका अधिकांश रोजगारदाता छन् । काठमाडौँका भित्ता तथा सडकमा ठडिएका पोलहरुमा ‘आवश्यकता’ लेखिएका पर्चा र पम्प्लेटले पनि टीकाश्वरीकै कथा दोहोर्याइरहेका छन् । अधिकांश त्यस्ता पर्चा र पम्प्लेटले लामो समयदेखि कामदार खोजिरहेको दाबी गरिरहेका छन् ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाको त यो निजी भोगाइ नै हो । राम्रो अनाज उत्पादन हुने मोरङको भौँडाहामा रहेको उनको जमिन ‘रेखदेख’का लागि कृषि मजदुर खोजेको महिनौं भइसक्यो ।
केही वर्ष अघिदेखि उनको जमिन ‘कमाउँदै’ आएका किसानले अबदेखि खेती नगर्ने बताएपछि खतिवडाले कृषि मजदुर खोजिरहेका थिए् । अनेक प्रयास गर्दा पनि उनले काम गर्ने व्यक्ति भने फेला पार्न सकेका छैनन् । खेतीपातीका लागि आवश्यक पर्ने मल, बीउ, पानीजस्ता सुविधा उपलब्ध गराउने सर्तमा कामदार खोजिरहँदा पनि नपाएपछि उनी हैरान भएका हुन् । गाउँघरमै बसेर कृषि क्षेत्रमा काम गर्ने मजदुर फेला पार्न नसके पनि सोही काम गर्नका लागि कोरिया जाने युवायुवतीको दिनहुँ व्यवस्थापन गर्नु पर्दा भने उनी आजित छन् ।
सन् २०१८ मा मुख्यगरी कृषि मजदुरी गर्न कोरिया सरकारले तोकेको १० हजार पाँच सय कोटामा पर्न भर्खरै ७५ हजार बढी युवायुवतीले कोरियन भाषा परीक्षामा प्रतिस्पर्धा गरेका थिए । सन् २००७ देखि इपिएस प्रणालीअन्तर्गत रोजगारीका लागि कोरिया जाने क्रम सुरु भएकोमा पछिल्लो पटक सबभन्दा बढीले भाषा परीक्षामा प्रतिस्पर्धा गरेका हुन् । गत वर्ष ६५ हजार बढीले सोही परीक्षामा प्रतिस्पर्धा गरेका थिए ।
‘पहिलादेखि खेती लगाउँदै आएको व्यक्तिले अब जमिन नलगाउने जानकारी दिएका छन्, नयाँ मान्छे खोज्दा कोही फेला पर्दैनन्,’ खतिवडाले भने, ‘काम गर्न सक्ने उमेरका सबै व्यक्ति वैदेशिक रोजगारीमा जान खोज्छन् । विदेशमा यहाँको  भन्दा कमसलखाले काम गर्नुपर्छ भन्नेबारे धेरैलाई हेक्का छैन ।’ नेपालको तुलनामा विदेशमा गरिने कृषि र अन्य श्रममा निकै जोखिम हुँदाहुँदै पछिल्लो समयमा अनावश्यक रूपमा विदेश मोह बढेको उनको भनाइ छ ।
खतिवडा नेपालमा रोजगारी पाइएन भन्दै वैदेशिक रोजगारीमा जानु परेको गुनासो गर्ने युवायुवतीको भनाइलाई सही मान्दैनन् । ‘अहिले नै सञ्चालनमा रहेका उद्योग धन्दा र कृषि क्षेत्रका लागि श्रमिकको अभाव भइसकेको छ,’ उनी भन्छन्, ‘साथै धेरैले लगानी गर्न नपाएर घर, जग्गा खरिद गर्न खपत गरिरहेको रकम उत्पादनमूलक क्षेत्र तथा उद्योग, कलकारखानामा लगाउने हो भने श्रम बजार झनै विस्तार हुन्छ ।’ घर, जग्गामा लगानी भएको पुँजीलाई उत्पादनमूलक क्षेत्र र उद्योगधन्दामा प्रयोग गर्न सक्ने हो भने युवायुवती विदेशिनु नपर्ने उनको ठहर छ ।
काठमाडौं, कालिकास्थानका अनुपजंग थापाले ६ महिनाअघि जन्मेको छोराको रेखदेख र घरायसी काम गर्न घरेलु कामदार खोजेको तीन महिनाभन्दा बढी भइसक्यो ।
घरेलु कामदारका लागि उनले नाम चलेका अखबारदेखि एफएम रेडियोसम्ममा विज्ञापन गरे तर उनले अहिलेसम्म घरेलु कामदार फेला पार्नु त कता हो कता उक्त विज्ञापनबारे चासो राख्ने व्यक्तिसमेत फेला नपरेको बताए । ‘बिहान दुई र बेलुका दुई घण्टा काम गरेबापत मासिक १० हजार रुपैयाँ पारिश्रमिक दिने प्रस्ताव गर्दा पनि खोजेको घरेलु कामदार महिला फेला पार्न सकेको छैन,’ उनले भने, ‘युवायुवती रोजगारी पाइएन भनेर सडकमा चर्को कुरा गर्छन् तर कामको अवसर दिँदा भने बेरोजगार भएको गुनासो गर्नेले पनि चासो नदिने प्रचलन रहेछ ।’ सोही काम गर्न कैयन महिला खाडी मुलुकमा पुगिरहेको र त्यहाँ विभिन्न समस्यामा परेका खबर सुन्दा आफूलाई अचम्म लाग्ने गरेको थापाको भनाइ छ ।
पछिल्लो समय स्वदेशमा रोजगारीका अवसर वृद्धि हुँदै गए पनि विदेश मोहले स्वदेशका रोजगारीप्रति युवायुवतीको चासो घटिरहेको पाइएको छ । विभिन्न सीपयुक्त कामका लागि स्वदेशमै रोजगारीका तमाम अवसर हुँदासमेत युवायुवतीको विदेश मोह नघट्दा अब सरकारले युवालाई स्वदेशकै कामप्रति मोह जगाउन विशेष योजना र कार्यक्रम ल्याउन आवश्यक भइसकेको उद्योगी, व्यवसायी बताउँछन् ।
काठमाडौंमा अनमोल मेडिकल सेन्टर र वेलकेयर हस्पिटल तथा रिसर्च सेन्टर सञ्चालन गरिरहेका कैलाश खड्का शिक्षित हुन् या सामान्य पढलेखेका अधिकांश युवायुवतीको चाहना वैदेशिक रोजगारी हुँदा नेपालमा उद्योग व्यवसाय चलाउन गाह्रो परिरहेको बताउँछन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षसमेत रहेका खड्काले विदेश मोहले स्वास्थ्य संस्थामा काम गर्ने डाक्टर, नर्सको अभाव भइरहेको बताए । ‘अब पनि राज्य वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सको अंक गणितमा रमाउने हो भने नेपालमा वृद्धवृद्धा र बालबालिका मात्र हुनेछन्,’ उनले भने, ‘त्यसैले राज्यले युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन आवश्यक भइसकेको छ । न कि भविष्यमा भोग्नु पर्ने जनशक्ति अभावलाई व्यवस्थापन गर्न सकियोस् ।’
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले नेपालमा आर्थिक गतिविधि बढ्दै गएकाले श्रम बजार विस्तार हुँदै गइरहेको बताउँछन् । काफ्लेको विचारमा काठमाडौंमा मात्र ३० देखि ५० हजार महिलाले घरेलु कामदारको रूपमा काम पाउन सक्ने सम्भावना छ । ‘तर, यतिखेर स्वदेशमा बस्ने भन्दा धेरै युवायुवतीलाई विदेश जान हतार छ,’ उनी भन्छन्, ‘त्यसैले स्वदेशी श्रम बजार विस्तार गर्न धेरैलाई चासो छैन ।’ घरेलु कामदारबाहेक स्वदेशमा सिकर्मी, डकर्मीदेखि प्लम्बरसम्मका जनशक्तिको अभाव रहेको काफ्लेको भनाइ छ ।
श्रम विज्ञ पछिल्लो समयमा नेपालमा विस्तार भइरहेको श्रम बजारबारे विस्तृत अध्ययन नभए पनि केन्द्रीय तथ्यांक विभागले चार÷पाँच वर्षअघि प्रकाशित गरेको एक वर्षमा स्वदेशमा ५० हजार युवायुवतीले रोजगारी पाउँछन् भन्ने विवरण अब सत्य नभएको बताउँछन् । केन्द्रीय तथ्यांक विभागका पूर्व उपमहानिर्देशक रुद्र सुवाल पर्यटन, यातायात र व्यापारको क्षेत्रमा प्रशस्तै रोजगारी रहेको बताउँछन् ।
श्रम विभागका निर्देशक रुद्रप्रसाद पौडेल नेपालमा कति श्रमिक खपत हुन्छन् भन्नेबारे गहन अध्ययन नभए पनि २०७० सालदेखि श्रमसँग सम्बन्धित विभिन्न कार्यालयमा काम गर्दाको अनुभवले नेपालको श्रम बजारमा वर्षमा सरदर साढे दुई लाख जनशक्ति खपत हुने बताउँछन् । ‘हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने युवाशक्तिमध्ये ठूलो संख्या वैदेशिक रोजगारीमा जाँदा खेतीयोग्य जमिन बाँझो हुन थालिसकेको छ भने तराईका सीमावर्ती गाउँको कृषि कर्म भारतीय मजदुरको भरमा चलिरहेको छ,’ उनले भने । भूकम्पछिको पुनर्निर्माणको काम गर्न आवश्यक सिकर्मी, डकर्मी जस्ता कामदार नपाउनुलाई पनि उनले श्रमिकको अभाव भइरहेको रूपमा लिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा यतिखेर औद्योगिक क्षेत्रका लागि मात्र कम्तीमा एक लाख २५ हजार श्रमिकको आवश्यकता रहेको बताउँछन् । पछिल्लो समयमा श्रमिक केन्द्रित उद्योगमा कामदारको समस्या वृद्धि हुँदै गइरहेको उनको भनाइ छ । पर्यटन, कृषि, यातायात, व्यापार लगायतका क्षेत्रमा श्रमिकको अभाव बढ्दै गएको धेरैले अनुभव गरे पनि नेपालमा अहिलेसम्म गहन अध्ययन नभएका कारण यकिन संख्या भेट्न भने मुस्किल छ । सरकारी निकायबाट त झन् नेपालमा कति श्रमिक चाहिन्छन् भन्नेबोरमा जानकारीसमेत पाउन सकिँदैन ।
केन्द्रीय तथ्यांक विभागले हाल वर्षमा करिब साढे चार लाख युवाशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको जनाएको छ । श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छन् । त्यत्तिकै हाराहारीमा युवायुवती वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा नयाँ र पुनः श्रम स्वीकृति गरी ६ लाख ५५ हजार युवायुवती वैदेशिक रोजगारीमा गएका थिए । जसमध्ये तीन लाख ६५ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेमध्ये करिब ९५ प्रतिशत खाडी मुलुक र मलेसिया जाने गर्छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म नयाँ श्रम स्वीकृति लिएर एक लाख १२ हजार दुई सय ९८ युवायुवतीले विदेशको बाटो तताएका छन् ।
चार महिनामा एक हजार विदेशी कामदार आए
स्वदेशमा रोजगारी नपाएको भन्दै युवायुवती विदेशिने क्रम बढेको बेला पछिल्लो चार महिनामा कामका लागि आउने विदेशीको संख्या भने बढेको छ ।
नेपालमा विदेशी कामदार
चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म भारतबाहेक तेस्रो मुलुकका एक हजार ४१ विदेशी नागरिकले श्रम स्वीकृति लिएको श्रम विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चार सय ५८ विदेशीले श्रम स्वीकृति लिएका थिए ।
नेपालमा कार्यरत भारतीय नागरिकको संख्या जोड्ने हो भने ठूलो संख्याका विदेशीले नेपालमा काम गरिरहेको हुन सक्ने विभागका अधिकारी बताउँछन् । सन् १९५० को नेपाल–भारतबीचको सन्धिले दुवै देशका नागरिकले एक अर्को देशमा काम गर्दा श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरेको छ । जसले गर्दा नेपालमा कति भारतीयले काम गर्छन् भन्नेबारे यकिन गर्न गाह्रो छ । देशका विभिन्न स्थानमा कार्यरत भारतीयको संख्या जोड्ने हो भने १० हजार भन्दा बढी हुने अधिकारीहरूको अनुमान छ ।
पछिल्लो समयमा विदेशी कामदारले श्रम स्वीकृति लिने संख्या वृद्धि भएकाले नेपालमा श्रमिकको आवश्यक बढ्दै गएको सरकारी अधिकारी बताउँछन् । यतिखेर श्रम स्वीकृति लिने धेरै विदेशीमा प्राविधिकतर्फका छन् । धेरैजसो प्राविधिक र श्रमिक हाइड्रोपावर निर्माणमा आएको बताइन्छ । श्रम स्वीकृति लिने विदेशीमा सबभन्दा बढी चिनियाँ नागरिक छन् । केही वर्षयता नेपालमा ठूल्ठूला हाइड्रोपावर, सिँचाइ, सडक, पुल जस्ता निर्माण कार्य भइरहेका छन् । ती आयोजनाका लागि काम गर्ने दक्ष जनशक्ति नहुँदा विदेशबाट त्यस्ता जनशक्ति ल्याएर आवश्यकता पूर्ति गर्ने गरिएको छ ।

‘काठमाडौंमा ३०–५० हजार घरेलु कामदार खपत हुन्छन्’    
रघुराज काफ्ले

कार्यकारी निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
नेपालबाट श्रम स्वीकृति लिएर घरेलु कामका लागि जाने मुलुक भनेका काठमाडौं जस्तै सहरमा हो । अहिलेसम्म गहन अध्ययन नभए पनि मेरो अध्ययन र अनुभवको आधारमा काठमाडौंमा मात्र ३०–५० हजार घरेलु कामदार खपत हुन सक्छन् । पति, पत्नी जागिरे भएकादेखि बालबालिका र वृद्धवृद्धाको रेखदेखका लागि घरेलु कामदार आवश्यक परेको धेरैले अनुभव गरेका पनि छन् । तर, पछिल्लो समय धेरै युवायुवतीको चाहना नै जसरी हुन्छ वैदेशिक रोजगारीमा जाने भन्ने भएकाले आन्तरिक श्रम बजारको बारेमा अध्ययन हुन सकेको छैन । अब भने स्वदेशमा कति श्रमिक खपत हुन सक्छन् भनेर अध्ययन, अनुसन्धान हुन आवश्यक भइसकेको छ । घरेलु कामदार मात्र नभई सिकर्मी, डकर्मी, पलम्बर क्षेत्रमा काम गर्ने जनशक्तिको पनि उत्तिकै आवश्यकता रहेको मेरो अनुभव र बुझाइ छ ।
‘श्रम बजार विस्तार हुने सम्भावना प्रचुर छ’
बाबुराम खतिवडा

प्रमुख, इपिएस कोरिया शाखा, वैदेशिक रोजगार विभाग    
स्वदेशमा रोजगारी पाइएन भन्नु अब बेकार कुरा जस्तो लाग्दैछ । श्रमिकको अभावमा खेतीयोग्य जमिन बाँझो भएकोदेखि उद्योगधन्दा सञ्चालन गर्न गाह्रो परेको धेरैले भोगेको, अनुभव गरेको विषय हो । फेरि देशमा आर्थिक वृद्धि भइरहेकाले रोजगारीका अवसर अझै बढ्ने सम्भावना छ । आर्थिक वृद्धिदर भइरहेकाले पनि पुँजीको वृद्धि भइरहेको छ । लगानी गर्ने क्षेत्र नपाएर धेरैले घर, जग्गामा लगानी गरेको पाइन्छ । घर, जग्गामा भइरहेको पुँजीलाई उद्योगधन्दा र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने हो भने श्रम बजारको पनि विस्तार हुन्छ । श्रम बजारको विस्तार हुनेबित्तिकै अहिलेको तुलनामा धेरै श्रमिक स्वदेशमै खपत हुन्छन् ।     
‘स्वास्थ्य संस्था नर्स, डाक्टरको अभावमा छन्’
 कैलाश खड्का

अध्यक्ष, नेपाल स्वास्थ्य व्यवसायी महासंघ
युवायुवतीमा विदेश मोह बढ्दा दक्ष हुन् या अदक्ष कामदारको स्वदेशमा अभाव भइसक्यो । मैले सञ्चालन गरेका दुई वटा स्वास्थ्य संस्था (वेलकेयर हस्पिटल एण्ड रिसर्च सेन्टर तथा अनमोल मेडिकल सेन्टर) को अनुभवको अधारमा भन्नु पर्दा स्वास्थ्य संस्थामा नर्स र डाक्टरको अभाव छ । अन्य उद्योगधन्दाले पनि कामदारको अभाव भोगिरहेको पाइन्छ ।
राज्यले ठूलो लगानी गरेको शिक्षा प्राप्त गरेका युवायुवती वैदेशिक रोजगारीमा जाँदा देशले जनशक्तिको साथै लगानी पनि गुमाइरहेको छ । त्यसैले अब राज्यले युवायुवतीलाई स्वदशमै काम गर्नुपर्छ भन्ने सोचको विकास गराउनुको साथै स्वदेशमा बस्ने नीति र कार्यक्रम सुरु गर्न आवश्यक भइसकेको छ ।

रोजगारीका लागि विदेश जानेको संख्या
०७०÷७१           ५ लाख २७ हजार
०७१÷७२          ५ लाख १२ हजार
०७२÷७३          ४ लाख १८ हजार
०७३÷७४         ६ लाख ५५ हजार
०७४ साउनदेखि कात्तिकसम्म १ लाख १२ हजार २ सय ९८
स्रोतः वैदेशिक रोजगार विभाग

कोरिया मात्र जानेको संख्या
वर्ष सन्मा     महिला     पुरुष
२००८    ८१    २७३३
२००९    ६४    १८४७
२०१०    ४२२    १९१७
२०११    १३७    ३८४६
२०१२    ३९५    ५९३७
२०१३    १८३    ४८६३
२०१४    ४४१    ५५८७
२०१५    ४०६    ५४६०
२०१६    ५७८    ७५०१
२०१७    ३५२    ६९३४
जम्मा     ३,०५९    ४६,६२५
स्रोतः इपिएस कोरिया शाखा

 

Leave A Comment