‘हिरो बन्छु भन्दाभन्दै निर्देशक भएँ’

सोमबार, ०३ पुष २०७४, ०२ : ३४ भोला अधिकारी
‘हिरो बन्छु भन्दाभन्दै निर्देशक भएँ’

नेपाली समाजमा चेतनामूलक एवं परिवर्तनका सन्देश फैलाउने टेलिसिरियल बनाउने कलाकारका रुपमा चर्चित नाम हो, सविन बास्तोला । नेपालकै सुन्दर ठाउँ भनेर चिनिएको पोखरामा जन्मिएका बास्तोला मध्यम वर्गीय परिवारका छोरा हुन् । उनले  पोखरामै अभिनय र कलाकारिता क्षेत्रमा संघर्ष गरे । सबिन चलचित्र क्षेत्रमा आउन निकै संघर्ष गर्नुपरेको बताउँछन् । पोखरामै रंगमञ्चबाट कलाकारिता सुरुवात गरेर गरेका उनले टेलिचलचित्रबाट कलाकार, सहायक निर्देशक हुँदै निर्देशकको काम सम्हालिसकेका छन् ।
करिब २०४० सालदेखि यस क्षेत्रमा लागेका सबिन सुरुका दिनमा पोखरामै बसेर नाट्य क्षेत्रमा लागेका थिए । तत्पश्चात् ठूलो पर्दामा देखिने चाह ह्वात्तै बढ्यो । करिब ८ वर्षपछि अर्थात् २०४८ सालमा काठमाडौँ आएर ठूलो पर्दाको चलचित्र ‘चिनो’मा काम गरे । यही फिल्मबाट उनको चलचित्रमा अभिनयको सुरुवात भयो । यो चलचित्रमा उनले ‘कुइरे’ पात्रको भूमिका निभाएका छन् । त्यतिबेला उनलाई कुहिरे भनेर धेरैले अंग्रेजीमा गफ गर्न थाल्थे रे ! ‘म नेपाली नै हो भनेर स्पष्टीकरण दिनुपथ्र्यो अनि मात्र नेपालीमा गफ गर्थे,’ उनले त्यसबेलाको स्मरण सुनाए ।
‘रुपरंग’ भन्ने नाटकबाट उनले अभिनय सुरुवात गरेका थिए । उनले त्यसपश्चात् २०५२ सालमा काठमाडौँ आएपछि टेलिश्रृंखला ‘देवी’मा कट्टेल सरको भूमिकामा अभिनय गर्न पाए । त्यतिखेर थुप्रै मानिसहरुले उनलाई त्यस भूमिकामार्फत चिने । अब दर्शकले उनलाई कुहिरे भन्न छाडे भने कट्टेल सर भनेर बोलाउन थाले । त्यतिखेर उनलाई आफू हिट भएको अनुभूत भयो । कट्टेलको भूमिकाले चर्चा पाएपछि उनले नेपाल टेलिभिजनकै सिरियलमा निर्देशन गर्ने काम पाए । उनले पहिलो निर्देशन गरेको टेलिसिरियल ‘वसन्तेको खोजी’ भन्ने हो । यो सिरियलसँगै ‘देवी’ टेलिश्रृंखलाको सहनिर्देशकसमेत बनेर काम गर्न थाले । ‘यी सब मेरो कलाकारिता र निर्देशकीय क्षेत्रमा अगाडि बढ्ने दरिलो खु्ड्किलो साबित भयो,’ उनी भन्छन्  ।
त्यस समय एउटा मात्र टेलिभिजन भएकाले अभिनय गर्न र निर्देशन गर्न पाउनु निकै गाह्रो मात्र होइन सौभाग्यकै कुरा हुन्थ्यो । बिस्तारै उनले नेपाल टेलिभिजनकै चर्चित टेलिश्रृंखलाहरु ‘थोरै भए पुगीसरी’, ‘सुनौलो संसार’, ‘किसान’, ‘भीमा’, ‘फिरन्ते’ लगायतमा अभिनयसँगै निर्देशनसमेत गरे । त्यसबखत यी शृंखला निकै लोकप्रिय थिए ।  यिनै शृंखलाबाट उनले आफूलाई सबिन बास्तोला (गिरधारी) भनेर चिनाए ।
उनी काठमाडौँ आएर लेखक तथा निर्देशक मोहन निरौलाको परिवर्तन नेपालमा आबद्ध भए । संघर्षका बेलामा उनी मोहन निरौलाको अफिसमा दिनभर काम गर्थे भने बेलुका त्यही अफिसको टेबुलमा सुत्ने गर्थे । उनले आफ्ना दुःखका दिन सम्झँदै भने, ‘कलाकार बन्न त्यतिखेर कत्रो संघर्ष गर्नुपथ्र्यो तर अहिले पैसा भए पनि कलाकार बन्ने होडबाजी छ । अहिले जोसँग पैसा छ, त्यो कलाकार भैहाल्यो । पोखराबाट म काठमाडौँमा हिरो बन्न आएको थिएँ । हिरो बन्न धेरै कसरत गरेँ तर हिरो बन्छु भन्दाभन्दै निर्देशक बनेको पत्तै भएन ।’
 उनले आफूलाई टेलिचलचित्रमा मात्र सीमित राखेनन् । उनले सहनिर्देशन गरेको फिल्म ‘पुकार’ निकै सफल फिल्म मानिन्छ । त्यस चलचित्रमा त्यतिखेरका चल्तीका कलाकार सरोज खनाल थिए । सुन्दरीजल वरिपरि फिल्मको सुटिङ थियो । सबिनले सम्झँदै भने, ‘सहनिर्देशकले सम्पूर्ण काम गर्नुपर्ने हुन्थ्यो । त्यो दिन काम गर्दागर्दै मिनरल वाटरको पानी बोक्न बिर्सेछु । त्यतिबेला मलाई सरोज खनालले यति नमीठो गाली गरे कि कुरै नगरौँ । यस्तो फिल्म गर्ने, एउटा पानी बोक्न नसक्नेले के फिल्म बनाउनु ? म हिडेँ, खेल्दिनँ यस्तो फिल्म भनेर सन्केर हिड्न ठीक परिहाले उनी । चलचित्र क्षेत्रमा त्यो समय सानो हुन पनि सारै गाह्रो । बल्ल बल्ल सरोजलाई फकाएर फिल्म खेलाइयो । अहिले सम्झँदा एउटा कथा जस्तो लाग्छ ।’    
पछिल्लो समय उनीद्वारा निर्देशित सामाजिक भेदभावविरुद्धको चलचित्र ‘सुनपानी’ निकै चर्चामा आएको थियो तर चलचित्रले व्यावसायिक रुपमा भने सफल हुन सकेन । सन्देशमूलक फिल्म निर्माण गरिएको यस फिल्मले सविनलाई व्यावसायिक सफलता नदिलाए पनि नेपाल सरकारबाट विशेष चलचित्रका रुपमा सम्मानित गरेकामा भने सन्तोष लागेको छ । चलचित्र क्षेत्रलाई नै अगाँलेका बास्तोला आफ्नो कामप्रति सन्तुष्ट रहेको बताउँछन् ।

Leave A Comment