शम्भुका प्रिय १० सुर

सोमबार, ०३ पुष २०७४, ०२ : १५ शुक्रवार
शम्भुका प्रिय १० सुर

नेपाली लोकगीत तथा जनवादी गीतमा स्रोतामाझ चिनिएका  लोकप्रिय गायक हुन्, शम्भु राई । उनले थुप्रै गीतमा संगीत र स्वर दिनुका साथै शब्द लेखनसमेत गरेका छन् । उनले आफ्ना पाँच र अरुका पाँच प्रिय लाग्ने गीत शुक्रबारलाई यसरी बताए ।

आफ्नो पाँच
आलुदम चाना, लाइराख माया नि लैै लैै मीठो सम्झना

यो गीत मेरो आफ्नै शब्द संकलन हो भने लय पनि मेरै हो । यो गीत रेकर्ड भएर रेडियोमा जब बज्न सुरु भयो हरेक स्रोताको मुखमा झुण्डिन पुग्यो । यो लोकभाका अहिले पनि उत्तिकै लोकप्रिय छ । कतिपय कार्यक्रमहरुमा अहिले पनि मैले गाउने गरेको छु ।

चिठ्ठी तिमीलाई लेखुँ भन्छु, मनको कुरा मनमै रह्यो
मलाई पनि आनन्द लाग्ने अनि स्रोतालाई पनि मन पर्ने गीत हो यो । शंकर राजेन्द्रले लेखेको यस गीतमा संगीत र स्वर मेरो आफ्नै छ । हाम्रा पालामा र आजको समयमा पनि यो गीतको उत्तिकै भावनात्मक महत्व छ । जीवनमा कसैले चाहेको कुरा, मनका कुरा चिठ्ठीमार्फत अर्थात प्रेमीप्रेमिकाले मनका कुरा चिठ्ठीद्वारा व्यक्त गर्न नसकिएको कुरा गीतमार्फत बोलेको छु । यो मेरो जीवनमा मेल खाएको हुन सक्छ । यो मलाई एकदमै मनपर्ने गीत हो । यसको शब्द संगीत मेरो आफ्नै हो ।

चलेछ बतास सुस्तरी मनै हरर
यो दर्शक–स्रोताले अत्यन्तै मन पराइदिनु भएको गीत हो । यो आज भन्दा २६/२७ वर्ष अगाडि बजारमा ल्याएको गीत हो । जीवनमा मेल खाएको गीत नै गाउने गर्छु । यो मेरालागि सधैँ प्रिय लाग्ने गीत हो ।

तिमीले बिर्से नि लाखै छ, तिमीले सम्झे नि लाखै छ
यो गीत गणेश रसिकले लेख्नुभएको हो । संगीत पनि उहाँकै हो । यो पनि जीवनमा एकअर्कासँग राखिने सम्बन्ध अपूरो रहन्छ । ती मान्छेहरुसँग मेला हाटमा भेट हुँदा तिम्रो के छ हाल खबर भन्ने गरिएको उत्तर प्रतिउत्तर दिने खालको गीत हो । यो मलाई सधैँ मनपर्ने गीत हो । आज पनि दर्शक तथा स्रोताले उत्तिकै मन पराइदिनु भएको छ ।

झुपडीकी नारी रुन्छे तरकारीमा नून छैन
अहिले आएर भर्खरै बजार ल्याएको यो गीतलाई बलराम तिम्सिनाले रचना गर्नु भएको हो । यसमा म आफैँले संगीत र स्वर भरेको छु । यो धनी गरिबको परिवारमा नारीले भोगेको गीत हो । मन छुने शब्द भएकाले यो गीत हालै बजारमा ल्याएको छु ।
 अरुका पाँच

रेसम फिरिरी
देशी–विदेशीको जनजिब्रोमा झुण्डिएको गीत हो । केटाकेटीदेखि बूढाबूढीसम्म सबैलाई मनपर्ने गीत हो । द्वारिकालाल जोशी, सुन्दर श्रेष्ठको आवाजमा रहेको यो गीत एकदमै मन पर्छ । लोकभाकामा रहेको गीत आज पनि उत्तिकै लोकप्रिय रहेको छ । यसको शब्द संगीत दुवै उहाँहरुकै होला भन्ने लागेको छ ।
साइँली बरै चियाबारीमा
दीप श्रेष्ठ दाइका गीतहरु मलाई असाध्य मनपर्छन् । उहाँका गीतहरु राम्रा गायक तथा संगीतकारले बुझ्छन् । यो गीत मैले सानै हुँदा सुनेको हुँ । यसका गीतकार विजय श्रेष्ठ हुन् । यो गीत निकै लोकप्रिय गीत हो त्यो समय । यस गीतको संगीत दीप श्रेष्ठकै हो ।
आज र राति के देखेँ सपना मै मरी गएको
राष्ट्रकवि माधव घिमिरेले लेख्नु भएको यस गीतमा नातिकाजीको संगीत छ । यो गीतमा स्व. नारायण  गोपालको स्वरले चार चाँद लगाएको छ । खै किन हो, यो गीतले मलाई एकदमै छुन्छ । म कहिलेकाहीँ  एकान्तमा बसेका बेला बेलाबखतमा यो गीत गुन्गुनाउने गर्छु ।
पोहोर साल खुसी फाट्यो
सबै कुरा समाल्दा समाल्दै पनि भताभुङ्ग भएको कुरा गीतले बोलेको छ । विरक्तिएको बेलामा सहारा के छ त भन्ने कुरा गीतले सुनाएको छ । यो गीत कसलाई मन पर्दैन होला र ? यो गीत सुनेर बेला बखत म आफैँ भावुक हुने गर्छु । गीतका शब्द, संगीत स्वरले मेल खाएको छ । गीतलाई अरुणा लामाले गाउनु भएको छ । सुमधुर स्वरकी धनी अरुणा लामाको यो कालजयी गीत हो ।

देशले रगत मागे मलाई बलि चढाऊ
यो गोपाल योञ्जन दाइले गाउनु भएको गीत हो । गीतका शब्द र संगीत पनि गोपाल दाइकै हो । यो गीत सुन्दा कताकता आफैँमा हराएको महसुस हुने गर्छ । देशभक्तिमा ओतप्रोत भएको यो गीतले जो केहीलाई भावुक बनाउँछ । युवाहरुलाई देशभक्ति जागृत गराउन आग्रह गरेको गीत हो । म यो गीत वैंशमा खुब गाउने गर्थें ।

Leave A Comment