यस्तो पो नेपाली उत्पादन !

सोमबार, ०३ पुष २०७४, ०१ : २९ शुक्रवार
यस्तो पो नेपाली उत्पादन !

घिमिरे ‘मैदेली’

उत्पादनमा नेपाली कुनै हालतमा पनि कम छैनन् । साँच्चिनै भन्ने हो भने नेपालीले भन्दा ठूलो र धेरै यस्तो उत्पादन विश्वका कुनै मुलुकका जनताले पनि गर्न सकेका छैनन् । हेर्नोस् त हाम्रो विशुद्ध नेपाली ट्रेडमार्कको उत्पादनलाई विश्वका कति मुलुकले मागिरहेका छन् ? भ्याएसम्म र धानेसम्मको उत्पादन गरेर पठाइरहेका छौँ हामीले । हाम्रो पुख्र्यौली इतिहासदेखि नै हेर्नोस् त, हामी यो उत्पादनमा कमी भयौँ भनेर कहिले कुन मुलुकसित सापटी माग्नु परेको छ ? विगतका तथ्याङ्क हेर्दै ल्याउनोस् कुनैवर्ष पनि हाम्रो यो उत्पादन घटेको छैन । बरु सरकार यो उत्पादन अलि घटाऊ भन्छ । हामी सरकारको आदेश, उपदेशलाई पनि नमानी रातले नपुगे दिनमा पनि यो उत्पादन बढाइरहेका छौँ ।
यो हाम्रा लागि अत्यन्तै सरल, सहज सानन्दित उत्पादन हो । यस मानेमा कसैले नेपाल यस्तो उत्पादनमा गरिब मुलुक हो भन्यो भने सिधै हामीमाथि अपमान गरेको ठाने हुन्छ । यो उत्पादनमा बाल, वृद्धलाई सामेल र श्रमिक बनाएका छैनौं । तर यो उत्पादन नितान्त समावेशी छ । महिला पुरुषमा कुनै भेदभाव नभएको समान अधिकार र समान वर्चस्व भएको उत्पादन यसलाई मान्नै पर्छ                                                                  ।
नेताहरू राजनीतिमा, कुनै अवसरमा महिलालाई ३३ प्रतिशत हक अधिकार दिने भन्छन् । तर यो उत्पादनमा महिला र पुरुषको समान अधिकार छ र बराबर हक छ । यो हो समावेशी र समानताको हक भनेको । यस्तो उत्पादन हुँदाहुँदै पनि नेपालमा सबै उत्पादित वस्तु परमुलुकबाट मात्र आएको छ भन्न मिल्छ ? आफैँले गरेको कर्मलाई अर्काले गरिदिएको भन्दा कुन उत्पादकलाई चित्त बुझ्छ ? लाज नमानिकन गरेको उत्पादनलाई मैले गरेँ  किन नभन्ने ? अझ कोही कामुक, कायर, काँतर, कुचुत्तिया, कुकर्मीहरू आफ्नो उत्पादनलाई पनि मेरो उत्पादन हो भन्न नसकेर भागी हिँडेका छन् र बाध्यतामा मात्र मेरो उत्पादन नै हो भन्न पुगेका छन् ! यसरी आफ्नो स्वत्व, पुंषत्व र अपनत्वलाई शङ्का र शङ्कटमा पारेर पनि वैधअवैध तरिकाले यो उत्पादनलाई निरन्तरता दिइरहेको देखिन्छ ।
साँच्चै भन्ने हो भने हामी त अमूल्य वस्तुको अविच्छिन्न उत्पादन गर्ने सच्चा गोर्खाली उत्पादक पो हौँ त । हाम्रो उत्पादन विश्वबजारमा आकर्षक बनेको छ । खाँटी मुलुकदेखि खाडी मुलुकसम्म पुगेको छ यो उत्पादन । हाम्रो उत्पादनलाई अमेरिकाले डिबी दिएर, भारतले बिडी दिएर, जापानले जमानी दिएर, विश्वबजारले हजार दिएर मागिरहेको छ । यो हाम्रो वंशोत्पादनको मेन पावर निम्सरो र लरतरो छैन ।
यो बनोट (उत्पादन) मा कुनै कच्चापदार्थ बाहिरबाट ल्याउनु परेको छैन । यो उत्पादनमा कुनै जातिभेद, लिङ्गभेद गरेका छैनौँ । महिलासितको सत्कार्य, सहयोग र सहभाव नगरी त्यसै यो उत्पादन भएको छैन । मानवीय सहभाव यसमा यथेष्ट पाइन्छ । यसलाई नितान्त घरेलु उत्पादन भने हुन्छ । महिला र पुरुष मिलेर अत्यन्तै स्नेहका साथ आँत, हात र साथ मिलाएर गरिने स्वरोजगारको घरेलु उत्पादन हो वंशोत्पादन ।  लिङ्गभेदविनाको यस उत्पादन जहाँ बसेर पनि छानिएका, चुनिएका, चुमिएका चुस्त जोडीले दुरुस्त ट्रेडमार्क देखिने ट्याग लगाएर गर्छन् यो उत्पादन । यस्तो राष्ट्रियस्तरको उत्पादन त्यति खर्चिलो पनि छैन । उत्पादनमा जनशक्ति त्यति धेरै पनि चाहिन्न । दुईजना मात्रको समूहका  जोडी जोडीले घर, कोठा वन पाखापखेरा वा छाप्रा महल जहाँजहाँ जेजसरी बसेर पनि गर्न सकिने उत्पादन हो यो वंशोत्पादन ।
परमुलुकले गरेको सम्पत्ति उद्योगले विश्वबजार ढाक्न सकेको छैन । हाम्रो सन्तति उद्योगले विश्वबजार ढाकेको छ । अझ हामीले यो उत्पादन बढाएर अरू मुलुकका  माग पूरा गर्न सकेका छैनौँ । वर्षेनी लाखौँका दरले बढाएर साढे तीन करोड नगाउन सफल भइसकेका छौँ । यही क्रमले हामी हाम्रा उत्पादन बढाइनै राखौँ । पछि जे पर्लापर्ला, हदै पर्ला  उत्पादकले नै भिख मागेर खानुपर्ला ! तर हामी एउटा उद्योगमा भने पनि विश्वका अगाडि उद्योगी गनिन सकौँ । हाम्रो यस्तो वंशोत्पादन उद्योग दिनरात जारी छ । जनता चेतिरहेका छन् । सरकारलाई चेतना भया ।

 

Leave A Comment