भ्वाइलिनवादनको प्रयोग

सोमबार, ०३ पुष २०७४, ०१ : २१ शुक्रवार
भ्वाइलिनवादनको प्रयोग

प्रकाशजंग थापा

सन् २००७ जनवरी १२ तारिकका दिन एक व्यक्ति वासिङ्टन डिसी मेट्रो स्टेसनको एक कुनामा उभिएका थिए । उनले बेसबल क्याप लगाएका थिए । उनको लबाइले स्ट्रिट पर्फमरको झल्को दिन्थ्यो । हातमा भायोलिन थियो । र, केही तयारीपछि बजाउन थाले । चिसो बिहानी थियो । अफिसको समय भएकाले मेट्रो स्टेसनमा मानिसको ठूलै भीड थियो । सबैजना हतारमा देखिन्थे । एक सेकेन्ड रोकिने कसैलाई फुर्सद थिएन । सबैलाई चाँडोभन्दा चाँडो काममा पुग्ने हतारो थियो । त्यसैले स्टेसनमा बजाइएको भायोलिनको धुन बेवास्ता गरियो । स्टेसनमा एघार सय मानिसले आवतजावत गरे पनि थोरैले मात्र सङ्गीतको स्तर चिन्न सके । यसर्थ केही क्षणका लागि रोकिए ।

भायोलिन बजाउन सुरु भएको दुई मिनेटपछि एउटी महिला नजिक देखा परिन् । उनी हतारमा थिइन् । झोलाबाट एक डलर झिकेर भुइँमा फालिन् । अनि सरासर आफ्नो बाटो लागिन् । यो पहिलो एक डलर टिप्स थियो । केही मिनेटपछि दृश्यमा एक व्यक्ति देखा परे । उनलाई सङ्गीतले निकै आकर्षित ग¥यो । उनी भित्तामा आड लागेर धुनको मज्जा लिन थाले । उनलाई सङ्गीतले लोभ्याए पनि उनी केन्द्रित हुन सकेका थिएनन् । बारम्बार घडी हेरिरहन्थे । धेरै बेरसम्म रोकिन सकेनन् । सायद उनलाई काममा हाजिर हुन ढिलाइ भएको हुनुपर्छ । त्यसकारण उनी आफ्नो गन्तव्यतिर लागे ।

भायोलिन वादकको साङ्गीतिक प्रस्तुति अलि महत्व दिएर हेर्नेमा एक तीन वर्षे उमेरका बालक मात्रै थिए । उनले भायोलिनतिर ध्यानपूर्वक हेरिरहे । सङ्गीतले प्रभाव पारेको उनको अनुहारमा झल्केको थियो । तर आमालाई के मतलब ! अबेर भएको जनाउ दिँदै बच्चालाई डोहो¥याउन थालिन् ।
भायोलिन वादकले ४५ मिनेटसम्म आफ्नो प्रस्तुति दिए । त्यतिका बेरसम्म प्रस्तुति दिँदा पनि मात्र ६ जनाले केही समय खर्चेर मनोरञ्जन लिए । बीसजना जतिले पैसा दिए पनि आफ्नै गतिमा हिँडे । लगनशीलता र ऊर्जाको उचित सम्मान हुन सकेन । जब प्रस्तुति सकियो । स्टेसनमा शून्यता छायो । नोटिस गर्ने कोही भएनन् । तारिफ गरिदिने कोही थिएनन् । भायोलिन बजाएर साङ्गीतिक वातावरण सिर्जना गर्नेलाई कसैले चिन्न सकेनन् ।
आखिर मेट्रो स्टेसनमा बसेर भायोलिन बजाउने को थिए त ? साराले ध्यान दिएर नसुने पनि निरन्तर प्रस्तुति दिने व्यक्ति अरू कोही नभएर विश्वका क्षमतावान् सङ्गीतकार मध्येका एक जोसहुवा बेल थिए । उनी अमेरिकी भायोलिन वादक हुन् । उनको कन्र्सट भनेपछि सबै मरिहत्ते गर्छन् । मेट्रो स्टेसनमा प्रस्तुति दिनु दुई दिनअगाडि उनले बोस्टन सिम्फोनी हलमा कन्सर्ट पस्केका थिए । सो हाउसफुल थियो । टिकट प्रतिसिट सय डलरमा बिक्री भएको थियो । कन्सर्टपछि उनलाई उपस्थित सबैले उठेर सम्मान गरेका थिए । बेजोडको ताली धेरै समय रोकिएन । यद्यपि मेट्रो स्टेसनको प्रस्तुतिले कुनै कभरेज पाएन । व्यक्ति उही भए तापनि कुनै चर्चाको विषय भएन । एउटा सानो भीडसम्म सिर्जना हुन सकेन । ३.५ मिलियन डलर मूल्य पर्ने स्ट्राडिभारियस भायोलिनले दिइएको प्रस्तुतिबाट जम्मा बत्तीस डलर कमाइ गर्यो ।

वासिङ्टन डिसी मेट्रो रेल स्टेसनमा गरिएको त्यो प्रस्तुति वासिङ्टन पोस्टको विशेष आग्रहमा आयोजित सामाजिक एक्सपेरिमेन्ट थियो । यसको मूल उद्देश्य मानिसको पर्सेप्सन (धारणा) टेस्ट (परीक्षा) र प्रायोरिटिज (प्राथमिकता) को अध्ययन गर्नु थियो । जसमा जोसहुवा बेलले सहयोगी भूमिका खेलेका थिए । यो एक्सपेरिमेन्टले उब्जाएको केही कुरामा मनन गरौं ।
एक यदि हामी साधारण वा परिचित ठाउँमा भयौँ र समय अनुकूल नभएको बेला के हामी सुन्दर सिर्जना देख्न सक्छाँै ? के हामीलाई एकछिन रोकिएर प्रशंसा गर्ने फुर्सद छ ? के हामी अस्वाभाविक परिस्थितिमा पनि सीप र क्षमता चिन्ने खुबी राख्छौ ? यदि हामीसँग एकछिन रोकिएर उत्कृष्ट सङ्गीतकारको उत्कृष्ट सङ्गीत सुन्ने समय छैन भने हामीले जीवनमा अहिलेसम्म कति मूल्यवान कुरा यत्तिकै छाड्यौं होला ?
‘तीस मिनेट कटेपछि मलाई बेचैनी बढेको थियो । मेरो प्रस्तुतिले भाउ नपाउँदा कतै ममा कमजोरी छन् कि ! मेरा सङ्गीत नै तल्लो स्तरका छन् कि भन्ने मनमा लागेको थियो,’ यदि सफल भायोलिन वादकलाई त आफूले भने जस्तो नहुँदा आफ्नो क्षमतामा शङ्का लाग्छ भने हामी त साधारण मान्छे । हाम्रो पनि क्षमता प्रतिको भरोसा हराउन सक्छ । आजसम्म हामीले कतिपटक आफ्नो सीप र क्षमतामा शङ्का गर्यौँ होला ? हिसाब गर्ने कि !       

 

Leave A Comment