हार्नेकाे भोट संख्या ५ देखि ३०,००० सम्म

सोमबार, ०३ पुष २०७४, ०१ : ११ खिलक बुढाथोकी
हार्नेकाे भोट संख्या ५ देखि ३०,००० सम्म

मंसिर १० र २१ गते देशैभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भयो । अहिले सोही निर्वाचनको नतिजा आउनेक्रम अन्तिम चरणमा छ । चुनावी मैदानमा उत्रिएपछि जितहार हुनु स्वभाविक हो । मैदानमा उत्रिएपछि जित र हार हुन्छ नै । विजय र पराजयबीच जब झिनो मत हुन्छ, त्यो अंक विजित र पराजित दुवैका लागि सम्झन योग्य हुन्छ । यस्तै अवस्था मतान्तर धेरै हुनेका हकमा पनि लागू हुन्छ ।
झिनो मतले पराजय भोग्नु भने ठूलो पीडा हुने पराजितहरु बताउँछन् ।  
छक्कले छक्याए
हुम्लामा सबै गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भए । लामाले प्रतिधिनिसभामा ८ हजार ४ सय ९१ मत ल्याएर  विजयी भए । लामाका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मंगलबहादुर शाही थिए । उनले  ८ हजार ४ सय ४४ मत ल्याए । उनीहरुबीच ४७ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार भई विजयी भएका लामा वाम गठबन्धनका बागी भएर उठेका हुन् । पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उठेर विजय हासिल गरेका हुन् ।
५ मतले पछाडि
तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा वाम गठनबन्धनकी नेतृ आशा कोइराला विजयी भइन् । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् । जबकि उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका युवा नेता प्रदिप पौडेलले १६ हजार ६ सय ४१ मत प्राप्त गरेका थिए । यो कोइरालाले पाएको भन्दा ५ मत कम हो ।
काठमाडौं क्षेत्र नम्बर १ को  प्रदेशसभा (ख)मा एमालेका गणेशप्रसाद दुलाल विजयी भए । दुलालले ४२४२ मत पाएका थिए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४२२३ मत ल्याएका थिए । मात्र १९ मतको अन्तरले दुलाल संसद् छिर्ने भए ।
त्यसैगरी काठमाडौं क्षेत्र नं. ६ मा प्रदेशसभा कमा एमाले नेता वसन्त मानन्धर विजयी भए । उनले ८८०० मत ल्याए । जबकि उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय मालीले मानन्धरभन्दा ३४ मत कम ल्याएर हार्नु पर्ये ।
बाबुले हराउनेले छोरालाई ६७ मतले हराए
काठमाडौे क्षेत्र नं. ३ प्रदेशसभा (ख)मा नेकपा एमालेका नेता रामेश्वर फुयाल विजय भए । यसअघि नेपाली कांग्रेसका नेता चक्रबहादुर ठकुरीलाई झिनो मतले हराउँदै सांसद बनेका फुयाँलले यस पटक उनै ठकुरीका छोरा विमल ठकुरीलाई हराए । रामेश्वरले विमललाई ६७ मतको झिनो अन्तरले हराएका हुन् । रामेश्वरले १०८८६ मत प्राप्त गरेका थिए भने विमलले १०८१९ मत पाएका थिए । फुयाँल २०६४ को चुनावमा चक्रबहादुरबाट पराजित थिए भने २०७० मा फुयाँलले चक्रबहादुरलाई पराजित गरे । अहिले प्रदेशसभामा चक्रबहादुरका छोरा विमललाई पराजित गरेका हुन् ।
झिनो मतले खड्काको ‘ह्याट्रिक’
उदयपुर–१ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का विजयी भए । उनले वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ मञ्जु चौधरीलाई ५ सय ४७ मतको अन्तरले हराएका हुन् ।
खड्काले ३३ हजार १ सय ४२ मत पाएका थिए । चौधरीले ३२ हजार ५ सय ९५ मत पाएकी थिइन् । खड्काको यो जित ‘ह्याट्रिक’ हो । यसअघि ०६४ र ०७० को दुवै संविधानसभा चुनावमा उनी विजयी भएर मन्त्रीसमेत भइसकेका हुन् ।
०७० को दोस्रो संविधानसभा चुनावमा अहिले १ नं. क्षेत्रमा गाभिएको अघिल्लो २ नम्बर क्षेत्रबाट कांग्रेसकी प्रमिला राई मात्र २३ मतको अन्तरले एमालेकी मञ्जुकुमारी चौधरीले पराजित गरेकी थिइन् ।  
‘क्लिनस्विप’बाट जोगियो
सिन्धुपाल्चोक प्रदेशसभा सदस्य निर्वाचनका चारमध्ये तीन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कांग्रेसले एक क्षेत्र जितेपछि लोकतान्त्रिक गठबन्धन ‘क्लिनस्विप’ हुनबाट जोगिएको छ ।
क्षेत्र नं. २ प्रदेशसभा (ख) कांग्रेसका निमा लामा झिनो मतान्तरले विजयी भए । उनले माओवादी केन्द्रका दावा तामाङलाई हराए । लामाले १८९०५ मत पाउँदा तामाङले १८७०८ भोट ल्याएका थिए । जम्मा १९७ मतान्तरले हारेका दावा प्रदेश सांसद हुनबाट रोकिए ।
‘क्लिनस्विप’बाट कांग्रेसलाई जोगाउने अर्का व्यक्ति विन्दुकुमार थापा पनि हुन् । तीन वटा क्षेत्र रहेको कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभा कतै पनि कांग्रेसको विजय हुन सकेन् । तथापि कास्की क्षेत्र नं. २ प्रदेशसभा(ख)मा भने कांग्रेसबाट थापा विजय भए । उनी पनि झिनो मतान्तरबाट विजयी भएका हुन् । पराजय भोग्ने वाम गठबन्धनका राजकाजी गुरुङको भन्दा उनले ८०२ मत बढी ल्याएका थिए । थापाले १०७२५ मत पाएका थिए भने गुरुङले ९९२४ मत पाएका थिए ।
तेस्रो पटक हार
काठमाडौं क्षेत्र नं. ४ मा २०६४ सालको चुनावमा एमालेबाट नेता निर्मल कुइँकेल उम्मेदवार थिए । पहिलो संविधानसभामा सुप्रभा घिमिरेसँग पराजित भए । २०७० मा भएको दोस्रो संविधानसभा उनै निर्मललाई कांग्रेस नेता गगन थापाले पराजित गराए ।
दुई पटक हार भोगेपछि यसपटक उनी क्षेत्र नं. ४ प्रदेशसभा (क) मा उम्मेदवार बने । संयोग, उनी यसपटक पनि कांग्रेससँगै पराजित भए । कांग्रेसका नरोत्तम वैद्यले ८७१९ मत पाएका थिए भने कुइँकेलले ७७९४ मत पाएका थिए । जम्मा ९२५ मतले कुइँकेल पछि परे ।

८१८ ले राष्ट्रिय भएन
काठमाडौं क्षेत्र नं. १ को यस पटक निकै चर्चा भयो । यस क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह र विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र चुनावी मैदानमा थिए । सिंहले भने १०९३६ मत ल्याएर विजय हासिल गरे भने मिश्रले १०११८ मत ल्याई सम्मानजनक हार स्वीकारे । सिंह र मिश्रबीच ८१८ को मतान्तर मात्र रह्यो । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउनुपर्छ । मिश्रको हारसँगै विवेकशील साझा पार्टीले समानुपातिकमा ३ प्रतिशत ल्याएर राष्ट्रिय पार्टी बन्ने मौका गुमेको छ । विवेकशीलले अन्य ठाउँमा जित हासिल गरेको छैन । समानुपातिकको भने मत गणना जारी छ ।
तीस हजार बढी
दोलखामा वाम गठबन्धन प्रतिनिधिसभाका एमाले नेता पार्वत गुरुङ सबैभन्दा बढी मतान्तर ल्याएर विजय हुने नेतामा गनिएका छन् । उनले प्रतिस्पर्धीलाई ३०६४४ बढी मतले पछि पारेर विजयी भए । गुरुङले ५५४५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मात्रै मत पाए । जुन गुरुङले पाएको मतको आधा पनि होइन । गुरुङ २०७० को चुनावमा साविकको दोलखा १ बाट निर्वाचित भएका थिए । त्यसबेला भने मतान्तर थोरै थियो ।
प्रदेशमा पनि दोब्बर बढी
गुरुङले विजयी हासिल गरेको क्षेत्रको प्रदेशसभा (क)मा पनि वाम गठबन्धनमा उम्मेदवार दोब्बर बढी मतले विजयी भए । गठबन्धनबाट माओवादीका विशाल खड्का चुनावी मैदानमा थिए । उनले २८३५० मत ल्याए । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वर्मा लामाले १२९५६ मत ल्याए । जुन आधाभन्दा कम हो ।
प्रदेश सभा (ख) मा एमालेका पशुपति चौलागाई २३०५८ मतले विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी केशव चौलागाईले १०८८० मत ल्याएका थिए ।
दोब्बर मतले विजयी
दोब्बरभन्दा बढी मतान्तरले विजयी हुनेमा एमाले अध्यक्ष केपी ओली पनि हुन् । उनले झापा–५ बाट २८ हजार ८ सय ४२ मतको अन्तरसहित विजयी भए । उनले ५७ हजार १ सय ३९ मत ल्याएका थिए । उनी अहिलेसम्मकै बढी ल्याएर जित्नेमा पर्छन् । उनले कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन् । अधिकारीले २८२९७ मत ल्याएका थिए ।
दोब्बर मत ल्याएर जित्नेमा वाम गठबन्धनमा धेरै छन् । धादिङ–१ मा एमालेका भूमि त्रिपाठी पनि सोही लाइनमा देखिन्छन् । उनले कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५४ मत बढी ल्याएर हराए । त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याउँदा अर्यालले २१ हजार ९ सय ६८ मात्र पाए ।
राजपाका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी–३ बाट दोब्बर बढी मत ल्याए । ठाकुरले २५७८५ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार चौधरीले ८४४७ मत ल्याए । यो मत चौधरीको भन्दा १७३३८ ले बढी हो ।
वाम गठबन्धनमा दोब्बर बढी मत ल्याएर जित्नेको संख्या धेरै छ । वाम गठबन्धनबाट रुकुमबाट विजय हुने कमला रोका, वर्षमान पुन, काठमाडौं क्षेत्र नं. २ बाट विजय हुने वाम नेता तथा पूर्वाप्रधानमन्त्री माधवकुमार नेपाल लगायत दर्जनौं छन् । पूर्वप्रधानमन्त्री नेपालले २७३६६ मतसहित विजय भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस नेता दीपक कुइँकेल १४९०३ मतसहित पराजित भए ।  
कांग्रेसमा फराकिलो मत ल्याउने कम
नेपाली कांग्रेसमा फराकिलो मतान्तरसहित विजयी उम्मेदवारको संख्या कम छ । कांग्रेसबाट देवेन्द्रराज कँडेल सबैभन्दा बढी मतान्तरका साथ विजय भएका हुन् । कांग्रेस नेता देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम २ बाट विजयी भएका हुन् । नेता कँडेल नवलपरासी पश्चिम–२ बाट ३४१३० मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका माओवादी उम्मेदवार घनश्याम यादवले २३८९८ मत पाए । कांग्रेसमा फराकिलो मतान्तरले जित्ने शेरबहादुर देउवा पनि हुन् । उनले डडेल्धुराबाट ६९१५ मतान्तरसहित विजयी भए ।

Leave A Comment