‘मण्डपमा घुम्टो ओढेर बिहे गर्ने मन छ’

सोमबार, २५ मङि्सर २०७४, ०८ : ०० अनिल यादव
‘मण्डपमा घुम्टो ओढेर बिहे गर्ने मन छ’

निर्माता छविराज ओझाको फिल्म ‘लोफर’बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री हुन्– रजनी केसी । उनी अभिनित फिल्म ‘परदेशी’ ले हलमा राम्रो व्यापार गरेको थियो । अहिले उनी एपीवान टेलिभजनबाट प्रसारण हुने ‘टेन टु फाइभ’ हास्यसिरियलमा पनि काम गरिरहेकी छिन् । एक वर्षको ग्यापपछि उनी अभिनित फिल्म ‘पटुुकी’हाल प्रर्दशनको तयारीमा छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी : 

अरु कलाकारका फिल्म नचलेपनि उनीहरुले लगालग फिल्म खेलिरहेको उदाहरण छन् तर तपाईं त ‘परदेशी’ हिट भएपछि झन सुुस्ताउनुुभयो । फिल्मको अफर नै कम आएको हो कि नखेलेको हो ?
पहिलो कुरा, अफर नआएको हैन । ‘परदेशी’पछि ‘ब्रास्लेट’ र ‘लालजोडी’खेलियो । फिल्म त टाइममै खेलिएको हुन्छ तर विविध कारणले रिलिजमा समस्या भइदिन्छ । रिलिज ढिलोहुँदा अरुलाई फिल्म नै नखेलेको जस्तो लागेको मात्र हो । दोश्रो कुरा केही समय मैले फिल्ममा काम नगरेको पनि हो । म मेरै व्यक्तिगत काममा व्यस्त भएँ । केही समय क्यामेरा बाहिर बस्दा कस्तो हुने रैछ, सक्छुु–सक्दिनँ रैछु भनेर चेक गर्नलाई पनि म फिल्मभन्दा टाढा भएकी हुँ । म अब नयाँ योजना र नयाँ ढंगसहित फिल्ममा आउने तयारीमा छु। 

अहिले त हिरोइनहरु धमाधमप्रोडक्सन हाउस खोलिरहेका छन् । तपाईं पनि त्यसकै तयारीमा हुनुुहुन्छ भन्ने सुुनेको थिएँ । कतै नयाँ योजना भनेको त्यही त होइन ?
त्यो पनि हो । आफ्नै ब्यानरबाट आफूले चाहजेस्तै फिल्म निर्माण गर्ने योजना छ । बरु थोरै फिल्म खेल्ने तर राम्रो खेल्ने मेरो चाहना हो । 

अरु कलाकार सिरियल (सानो पर्दा)हुँदै फिल्ममा डेब्यू गर्छन् तर तपाईं त फिल्म हिट भएपछि सिरियलतिर लाग्नुुभयो । ‘रजनीलाई फिल्मभन्दा सिरियल प्यारो’ भन्ने चर्चा छ नि ?

त्यस्तो त होइन तर मैले सिरियलमार्फत धेरै कुरा सिकिरहेको छु। म ‘टेन टु फाइभ’ सिरियलको कोअडिनेटर पनि हुँ । भविष्यलाई ध्यानमा राखेर नै प्रोडक्सन टिममा आबद्ध भएकी हुँ । प्रोडक्सन हाउस खोलिसकेपछि मलाई यहाँ काम गरेको अनभुवले धेरै हेल्प गर्छ । 

तपाईंले छविराज ओझाको बिग ब्यानरबाट फिल्म क्षेत्रमा प्रवेश गर्नुभएको हो तर अहिले स–सानो ब्यानरमा मात्र काम गरिरहनुभएको छ, यस्तो किन ?
मेरो अनुुभवमा ब्यानर भनेको सानो–ठूलो हुँदैन। होला, ठूलो ब्यानरमा खेल्दा धेरै नोटिस्ड भइन्छ तर हिट भइन्छ भन्ने ग्यारेन्टी हुँदैन। राम्रो ब्यानर भन्दैमा फिल्म चल्ने होइन। नर्मल ब्यानर तर राम्रो टिम भयो भने पनि फिल्म चल्न सक्छ। यदि ठूलो ब्यानरमा काम गर्नेवित्तिकै एकचौटी राम्रो हुन्थ्यो भने त अहिलेसम्म धेरै जना माथि पुग्थे नि, होइन र? अर्को कुरा यो ब्यानर उस्तो, त्यो ब्यानर उस्तो भन्दाभन्दै मेरो विचमा केही समय ग्याप पनि भयो। राम्रो ब्यानरबाट अफर आउँदा पनि मैले काम गरिनँ।

छविराजको ‘लोफर’ रिलिज भइरहेका बेला तपाईको जति चर्चा थियो, अहिले उति हुँदैन। यसमा त सहमत हुनुहुन्छ नि ?
त्यतिवेला नचाहँदा–नचाहँदै चर्चा भएको अवस्था थियो । म मान्छु,अहिले मेरो चर्चा छैन् ।खासमा मैले अघि नै भनिसकेँ, मे केही समय आफै टाढा रहन खोजेकी हुँ । व्यक्तिगत जीवनमा रमाउन चाहेकी हँ । म ‘लो प्रोफाइल’मै बस्न रुचाउँने केटी हुँ । हरेक कुराको समय आउँछ। म सधैँ मेरो चर्चा राम्रो तरिकाबाट होस् भन्ने चाहन्छु। त्यतिबेला‘छवि बा’सँग नाम जोडिएर जसरी अफेयरको हल्ला भएको थियो, त्यो मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो । 

त्यसमा अलिकति पनि सत्यता थिएन ? त्यही कारण तपाईंले फिल्म क्षेत्रै छाड्ने मनस्थिती पनि बनाउनुुभएको थियो रे ?
‘हन्ड्रेट पर्सेन्ट’ गलत थिए ।मलाई अहिले विगत कोट्याइरहन मन छैन् तर भन्नैपर्दा त्यतिबेला मलाई ति हल्लाहरुले एकदमै चित्त दुखेको थियो । तर, म कुनै एउटा कारणले हिम्मत हारेर निराश हुने केटी होइन। मलाई त छवि बाले ठूलो प्लेटफार्म दिनुभएको हो। म त उहाँलाई हिजो पनि गडफादर मान्थेँ, आज पनि मान्छु । म त्यतिबेलाकाहल्लामा अड्किएको भए म अहिले यहाँ हुँदिनथे । जब जब म साथीभाइहरुको अगाडी हुन्थे त्यतिबेला उनीहरुले‘तिम्रो बारेमा यस्तो समाचार आएछ, के हो खास कुरा’ भनेर सोध्थे, नरमाइलो लाग्थ्यो । इन्ड्रस्ट्रीमा आउनका लागि त कसै न कसैसँग नाम जोडिनुपर्दो रहेछ भन्ने खालको प्रभाव पनि पर्यो तर तिनै कुुराहरुले अहिले मलाई बलियो बनाएको पनि छ । 

यदि त्यो हल्ला गलत थियो भने त त्यसलाई तपाईंले किन प्रष्ट पार्नुुभएन ? प्रष्ट नपार्दा त फिल्मको प्रचारमा सघाएको जस्तो पनि देखिएको थियो । 

त्यतिबेला मएकदमै सानै पनि थिएँ, एकछिन त त्यस्तो हल्ला सुन्दा रमाइलो पनि लागेको थियो । अर्को कुरा म त्यो प्रोजेक्टको एकदमै सम्मान गर्थे । मैले एउटा कुरा बोल्दा अर्कै तरिकाले आउला कि भनेर डरले पनि चुप लागेकी थिएँ । तर त्यसरी मेरो नाम अरुसँग जोडिँदा मलाई निकै असर परेको थियो । अहिले सोच्दा मैले त्यो बेला जवाफ नदिएर गल्ति गरेकी भन्ने पनि लाग्छ । 

त्यो बेला तपाईंको बिहेमा पनि समस्या आएको थियो रे, हो?
अलिअलि हो । आफूलाई मन पराउनेमान्छेनै रिसाएका थिए, प्रश्न उठाएका थिए। जे होस्, त्यतिबेला समस्या भएको थियो । मैले अहिले त्यो सब बिर्सिसकेँ । 

छविराजसँग काम गरेकाहरु प्रायः उनका फिल्ममा दोहोरिने गर्छन् तर तपाईंले त ‘लोफर’पछि उहाँसँग काम गर्नुभएन । किन होला ?
पहिलो फिल्ममा काम गर्दा भएको हल्लाले नै मलाई  तर्साएको हो । म बारम्बार त्यस्तो हल्लाको सामना गर्न चाहँदिन थिएँ । त्यसैले काम गरिनँ । 

भनेपछि फेरी पनि अफरचाँही आएको थियो ?
इमान्दारसाथ भन्नुपर्दा फेरी काम गर्ने कुरा त भएकै हो तर म बारम्बार दुनियाँको अगाडी मौन बस्न चाहन्नथेँ । बारम्बार म अफवाहहरुलाई सहन गर्न सक्दिन थिएँ । त्यसैले काम नगरेकी हँ । 

अब एकछिन रिलिज हुन लागेको फिल्मको कुरा गरौं । ‘पटुकी’ कस्तो खालको फिल्म हो, तपाईंको भुमिका कस्तो छ ?
‘पटुकी’ नामले नै फिल्मको भाव बोकेको छ । नामैटिपिकल छ, कथा पनि टिपिकल नै हो ।फिल्ममानारी संवेदना छ । म डान्सर युवतीको भुमिकामा छु । फिल्म संस्कृतिसँग पनि जोडिएको छ । परिवार, समाज र संस्कारका लागि सधैं कटिबद्ध रहने युवतीको भुमिकामा छु। म रियल लाइफमा पनि निकै नाच्न रुचाउँछु, फिल्ममा पनि त्यस्तै भुमिका पाउँदा खुशी छु। 

‘लोफर’देखि ‘पटुकी’सम्मको आफ्नो यात्रालाई तपाईं अहिले कसरी समिक्षा गर्नुहुन्छ ?
यो यात्रा गरेको चार वर्ष भइसक्यो । यो यात्राका क्रममा कतै निकै खुसी पाएँ, कतै धेरै हर्ट भएँ । हिँड्दा हिँड्दै लडे तर पनि आफूलाई सम्हालेँ ।केहीले सहयोग पनि गरे । मलाई यो यात्राले पिडाहरुलाई कसरी पचाउने भनेर पनि सिकायो । बाहिर सधैँ हाँसिरहेको देख्नेहरुले‘तिमी कहिले पो रोकी छौ र ?’ भन्थे तर भित्री पीडा त आफूूसँगै हुन्थ्यो । जति पनि पिडा भएपनि म बाहिर ‘आइएम ह्याप्पी’भनेर देखाउन खोज्थेँ । कुनैबेला झण्डै डिप्रेसन भएको अवस्था पनि थियो ।यस्तो परिस्थितीलाई कसरी सामना गर्नुपर्छ भनेर मलाई यिनै समयले सिकाएको छ । मैले योविचमा सफलता पनि हासिले गरेँ, असफलता पनि । त्यसैले म निकै खुशी हुँदा पनि कहिल्यै आत्तिन्न । 

तपाईं फिल्म क्षेत्रमा सुस्त हुँदा धेरैले तपाईंले बिहे गर्न लागेको अड्कल पनि काटिरहेका छन् । मंसिर पनि लागेको छ । खास कुरो के हो, बताइदिनुस् न ?
जवान युवतीका विषयमा यसरी चासो हुनु त स्वभाविक नै हो । बेला भएपछि यसरी चर्चा हुनु कुनै ठूलो कुरा पनि होइन तर यो बिहे, जन्म र मृत्यू भनेको भाग्यको कुुरा पनि हो । मेरो पनि लेखेको रहेछ भने मंसिरमै पनि हुनसक्छ (लामो हाँसोसहित) । 

आर यूू सिरियस ?
यस

तर मंसिर त जानै लागिसक्यो ?
मंसिर गए पनि माघ छ, पुस छ ।फेरी अर्को वर्ष पनि मंसिर त आउँछ नै । 

बिहे भनेको भाग्यको मात्र कुरा होइन होला, व्यक्तिको चाहनाले पनि अर्थ राख्छ कि ?
चाहना त भइहाल्छ नि । झन मलाई त सानैदेखि बिहेको मन्डपमा बेहुलीको सारी लगाएर घुुम्टो ओढ्नेर बग्गी चढ्ने रहर छ । मलाई बिहेमा गरिने तामझाम निकै मनपर्छ । बिहे गर्नु मेरो सपना हो ।

त्यसोभए बिहेका लागि दुुलहा त पक्कै छानिसक्नुुभयो ?
म यो विषयमा बोल्न चाहन्नँ । 

हुनेवाला श्रीमान कस्तो होस् भन्ने लाग्छ ?
‘ड्यासिङ लुक्स’ र अग्लो हाइट मेरो रोजाई हैन । मेरो श्रीमान त स्वाभीमानी र समर्पित होस्, सरल र सहनशील होस् । हाइट र वेट हेर्दिन तरइमान्दार र लायककोचाँही हुनैपर्छ । 

विवाह गरेपछि धेरै नायिकाहरु फिल्म क्षेत्रबाट टाढीएका छन्, यो कुराको डर छैन् तपाईंलाई ?
म यसको अपवाद हुन चाहन्छु । मलाई डर एकरत्ति पनि छैन । म एकदमै सोचविचार गरेरै बिहे गर्छु । विवाहपछि मेरो ट्रयाक झन चेन्ज हुन्छ होला । म इमोसनल केटी हुँ । बरु आफै यो क्षेत्र छोड्न सक्छु तर श्रीमानले गर्न नदिने भन्नेचाँही नहोला । 

अन्त्यमा, तपाईंलाई यो फिल्म क्षेत्रको के कुराले चित्त दुख्छ ?
मलाई मान्छेहरुको अरुलाई होच्याउने प्रवृत्ति मनपर्दैन। हरेक मान्छेलाई सम्मान दिन जान्नुपर्छ । यहाँ कलाकार भएपछि विभिन्न मान्छेसँग काम गर्नुपर्छ तर महिला कलाकारले जोसँग काम गरे, उसको नाम उसैसँग जोडिएर आउने प्रवृत्ति देख्दा मन दुख्छ । 
 

Leave A Comment