ज्योतिषीको जय होस्

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ३९ शुक्रवार
ज्योतिषीको जय होस्

रामप्रसाद धिताल
–छोराको नाम तत्काल फेरिहाल्नुस्
–किन र गुरुजी ?
–तपाईँको छोराको जन्मराशि र बोलाउने नामको राशि एउटै पर्यो । त्यसैले दुई नामबीच ‘भाइब्रेट’ भई छोराको जीवन अस्थिर हुनसक्छ ।
छोराको ग्रहदशा हेराउन पुगेकी आमा र राजधानीको नामी ज्योतिषीबीचको संवाद ।
छोराको नाम रहेछ, नवराज । बाबुआमाले बोलाउने नाम राखेछन् युवराज । ‘न्वारानको नाम अनुराधा नक्षत्रको पहिलोे पाउबाट, वृश्चिक राशि’, ज्योतिषीले भने, ‘युवराजको यु ज्येष्ठा नक्षत्र अर्थात् वृश्चिक नै राशि ।’ अब यसरी दुईटै नाम एउटै राशिको हुँदा ‘भाइब्रेट हुन्छ रे ! जीवन नै उथलपुथल हुन्छ रे ! प्रगति नै गर्न सक्दैन रे !
कसैले नाम के हो बाबु भन्दा तोतेबोलीमा ‘युवलाद’ भन्छ । जन्म दर्तादेखि स्कुलको ढड्डामा समेत यही नाम कायम भइसक्यो । अझ छोराकै नाममा हजारौं रुपैयाँको सेयर कारोबारसमेत भइरहेछ । नाम फेरुँ कसरी ? नफेरौं ज्योतिषी त्यसो भन्छन् ।
मध्य पुसको महिना । चार वर्षदेखि बसेर काम गर्दै आएको कार्यालयको कुर्सीको फोम झिकियो । बस्दा बस्दा मैलो भइसकेको थियो । आफू जानुभन्दा अघि अरुले कति वर्ष प्रयोग गरे होलान् । तै पनि आरामदायी थियो । न बस्ने ठाउँमा फोम बाँकी रह्यो न ढाड अड्याउने ठाउँमा नै ।
कुर्सी आइपुग्यो, रातो रंगको ‘सन माइका’ टाँसेर । बुझ्दै जाँदा थाहा पाइयो, कुनचाहिँ ज्योतिषी महाराजले कम्पनीका मालिकलाई सल्लाह दिएछन्, ‘कर्मचारीको बस्ने कुर्सीको फोम झिकेर रातो सन माइका टाँसिदियो भने उनीहरूको कामको गति बढ्छ । कम्पनीले दिन दुगुना, रात चारगुना प्रगति गर्छ ।’
विचरा मजस्ता कर्मचारी पुसमाघ चिसो ‘माइका’मा बसेर काम गर्न बाध्य भयौं । चिसोको मार त छँदैछ, मजस्ता दुब्ला पातला, बस्ने भागमा मासु नभएकाहरू आठ÷आठ घण्टासम्म बस्नुपर्दा के हालत भयो होला ?
मालिकले यस्तो गरेको पहिलो पटक थिएन । अफिसका भित्ताहरू वर्ष वर्षमा फेरिन्थे । अघिल्लो वर्ष रातोले रंगिएको भित्ता अर्को वर्ष पहेँलो हुन्थ्यो, अर्को साल निलो । ६ महिना वा वर्ष दिनमा फेरिने ज्योतिषीहरूले सल्लाह दिन्थे, ‘हजुर यस्तो रंग लगाइबक्स्योस्, चार महिनामा कम्पनीको कायापलट हुन्छ ।’ ज्योतिषीले जे जे भन्थे मालिक त्यही  त्यही गर्थे । ज्योतिषी महाराजको भने कायापलट हुन्थ्यो । ती विभिन्न बहानामा मालिकबाट पैसा झारिरहन्थे । महाराजले भनेजस्तो नभएपछि धैर्यको सीमा नाघ्थ्यो सायद । ती फ्याँकिन्थे । अर्का आइपुग्थे । महाराज थरिथरिका हुन्थे कोही गेरुवस्त्रधारी, कोही रक्तवस्त्रधारी जुल्फीवाल, कोही दौरा सुरुवालवाला, कोही ‘मोडर्न’ पाराका ।
म सो कार्यालयमा छँदै यस्ता ज्योतिषी आइपुगे जसले कोठा सप्तरंगी पार्न लगाइदिए । मालिकको दुई हात मुसारिदिँदै भने,‘कहाँ हुन्छ ? हजुरको चिनाअनुसार त कार्यालयमा सप्तरंगी रंग पो लगाउनुपर्छ ।’ तत्काल ज्योतिषी गुरुको वचन ‘फलोअप’ भयो । एउटै कोठामा रातो, पहेँलो, हरियो, निलो, कालो, सुन्तले र सेतो रंग लगाइयो । आफू निस्केकाले थाहा भएन, कम्पनी कायापलट भयो कि भएन । ती महाराज अझै छन् कि छैनन् ।
एक आउँथे । कार्यालयको वास्तु मिलेन भन्थे । छ महिनामा अर्का आउँथे । कर्मचारीको बसाइ मिलेन भन्थे । ६ महिनापछि आउने अर्काले भन्थे, ‘प्रत्येक शुक्रबार प्रत्येक कोठामा गोकुल धुप बालेर घुमाउनु ।’ आइतबार प्रत्येक कोठामा ‘अत्तर छर्किन’ सल्लाह दिने पनि एक थिए । मंगलबार कर्मचारी कामदारलाई राता कपडा लगाएर काम लगाउनु पर्ने महाराज पनि देखियो ।
मालिक र व्यवसायका चिना पल्टाइसकेपछि ज्योतिषीहरूले दिने ‘प्रेस्किप्सन’मा फेहरिस्त हुन्थे, एक महिनासम्म यो ग्रहको उपासना गर्ने यो दान गर्ने, यसपछि यस्तो गर्ने, यस्तो नगर्ने इत्यादि । कर्मचारीका तलब विभिन्न बहानामा काटिन्थे । काम गर्नेहरू पनि अनेक निहुँमा दुःख पाइरहन्थे । मालिकहरुका हातका औठी, गलाका जन्तरहरू फेरिरहन्थे । अफिसमा महिना महिनामा पूजापाठ चल्थे । कहिले शतचण्डी त कहिले हवन, कहिले लघुरुद्री ।
मेरा एक मित्र छन् उनका हातका झण्डै दशै औंला औंठीले भरिएका छन् । भन्छन्, ज्योतिषी महाराजहरूको कृपाले ।’ समस्या परेर गयो महाराज भन्छन् मंगलको दशा रहेछ– यो लगाउनुस्, असली सुन र मुगाको औंठी । समस्या उन्नाइसको बीस नभएपछि अर्का महाराजकहाँ गयो हपार्छन्, ‘कसले भन्यो तपाईँलाई मंगलको समस्या भनेर चिनामा प्रष्टै छ, शनिको दोष छ, ल लगाउनुस्, सुनमा जडिएको यो नीलम औंठीमा ।’ जप, पाठ, होमको सिफारिस त छँदैछ । यी काम गराउन महाराजका भतिज, भाञ्जा, ज्वाइँ, जेठान र साला छँदैछन् ।
अर्कोमा गयो अर्कै समस्या । नौ वटा ग्रहका नौ वटा औंठी भिरेका छन् । कसलाई झूठो भन्ने । सबै महाराजहरू उत्तिकै । सबै महाराजहरूले दिएको औंठी लगायो सबै ग्रह शान्त हुन्छन् । छोराको नाम फेर्नुपर्ने भएकी महिला, मेरा पूर्व रोजगारदाता र मित्रहरूमा ज्योतिषी महाराजहरूप्रतिको लगाव देखेर आश्चर्यचकित छु । घरमा बरु बाबुआमाले भनेको छोरीछोराले टेर्दैनन् । श्रीमान्ले भनेको श्रीमतीले, श्रीमतीले भनेको श्रीमान्ले मान्दैनन् । विश्वास गर्दैनन् । तर ज्योतिषी महाराजको वचन काट्दैनन् । ‘ब्रह्मवाक्य’ मान्छन् । बरु आफ्नो रीतिथिति, परम्परा, ध्यान–सन्ध्या, संस्कार–संस्कृतिको परवाह छैन, ज्योतिषी महाराजको वचन भुइँमा खस्न पाएको हुन्न शिरोपर हुन्छ ।
ज्योतिषी महाराजले भनेपछि भने, भने । नगरी हुँदै हुन्छ । त्यसले परिणाम राम्रो ल्याओस् वा नराम्रो । एउटा महाराजले भनेको नमिलेर नपुगेर के भो त अर्का महाराज छँदैछन् । महाराजहरूको संख्या दिनदिन बढ्दो छ । पत्रिका पढ्नुस् । रेडियो सुन्नुस् । टेलिभिजन, अनलाइन हेर्नुस् तह–तहका महाराजहरूको विज्ञापन छापिएको हुन्छ ।
झन् चुनाव नजिकिँदै गर्दा महाराजहरूको मूल्य आकाशिएको छ । चुनाव तपाइँले नै जित्नुहुन्छ । यसरी दर्ता गराउनुहोस् । यस्तो लुगा लगाएर जानुहोस् । मतदातासँग भोट माग्दा यो दिशामा फर्किनुहोस् । चुनावसम्म यस्तो गर्नुहोस्। यस्तो नगर्नुहोस् इत्यादि । हेर्नुस् न देश चलाउनेदेखि घर चलाउनेसम्म ज्योतिषी महाराजकै सल्लाह मान्छन् । उनीहरूकौ पथमा चल्छन् । त्यसैले ज्ञात अज्ञात महाराजहरूप्रति नमन । जय होस् ज्योतिषीहरूको ।

Leave A Comment