नपढी धेरै भाषा बोल्ने माया

शुक्रबार, १५ मङि्सर २०७४, ०३ : ३१ रेणु त्वानाबासु
नपढी धेरै भाषा बोल्ने माया

माया सुनुवार
भक्तपुर नगरपालिकाको गेटअगाडि एउटा पसल छ । त्यो पसल माया सुनुवारको हो । उनको पसलमा हातले बनाएका सामानहरु (हस्तकला) बेच्ने गर्छिन् । उनले यो पसल राखेको १८ वर्ष भइसक्यो ।
भक्तपुर दरबार क्षेत्र विदेशी घुम्न आउने प्रमुख स्थल भएको फाइदा मायालाई आर्थिक रुपमा मात्र भएको छैन, उनले यहीँ बसीबसी र ग्राहकहरुसँग कुरा गरीगरी तीन भाषा सिकिसकेकी छन् । मूलतः मायाले आफ्नो पसलमा हस्तकलाका सामग्री राख्ने र ती सामग्री विदेशीले खुबै रुचाउने भएका कारण उनलाई आर्थिकसँगै भाषाको फाइदा पनि पुगेको हो ।
सडकमा फिँजाएर राखिएको यस पसलबाट मायाले दिनको करिब ५ हजारसम्म कमाइगर्ने बताइन् । पहिला यो पसल उनी एक्लैले चलाउँथिइन् । अहिले भने श्रीमानको जागिर नभएकाले उनले पनि सघाउने गरेको उनले जानकारी दिइन् ।
उनले राखेको यही पसलले घरपरिवार चल्ने गरेको उनको भनाइ छ । उनका दुई जना छोरी र एक छोरा छन् । उनले छोराछोरीलाई यही पसलको आम्दानीले पढाइरहेको उनले बताइन् । उनले भनिन्, ‘मैले त पढ्न नपाएर यो काम गरेकी हुँ । पढ्न नपाएकाले राम्रो ठाउँमा जागिर पाउने कुरै भएन । त्यसैले मेरा छोराछोरीले राम्रो ठाउँमा जागिर खाऊन् ।’
खुसी हुँदै उनले भनिन्, ‘अहिले छोरीले मास्टर पास गरिन् र छोराले मास्टर गर्दैछ । मलाई यसैमा खुसी लागेको छ ।’
काभ्रेबाट काम खोज्दै आउँदा उनले भक्तपुरमा एउटा पसलमा काम पाएकी थिइन् । दिनको तीन सय रुपैयाँ पाउँथिन् । तीन वर्षसम्म पर्यटकहरुलाई सामग्री बेच्ने पसलमै काम गरेर गुजारा गरिन् । उनी भन्छिन्, ‘मलाई यो पसल राख्ने कुनै सोख होइन, यो त मेरो मजबुरी हो । त्यसैले भए पनि नभए पनि आफ्नै केही काम गरौँ भनेर गरेकी ।’
२० हजार रुपैयाँ लगानी गरेर उनले यो पसल थापेको सुनाइन् । सुरुमा आफूलाई विदेशी भाषा नआएकाले सामग्री विक्री गर्न अप्ठेरो परेको अनुभव पनि उनले सुनाइन् । त्यसपछि समय मिलाएर भाषाको तालिम लिइन् । अहिले उनलाई औपचारिक शिक्षा नलिए पनि  जापानी, चिनियाँ, स्पेनिस, इटाली, अंग्रेजी भाषा बोल्ने गरेको उनले सुनाइन् ।
उनले भनिन्, ‘हाम्रो पालामा त केटीहरुलाई पढाउने चलन थिएन । त्यसैले पढ्न पाइएन ।’ अहिले जे भएपनि आफ्ना छोराछोरीलाई पढाउनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, ‘खान लाउन जति महत्वपूर्ण छ, त्यति नै पढाइ बिना जीवन चलाउन गाह्रो हुन्छ ।’
विदेशीले सामान किन्ने भएकाले धेरैले बढी आम्दानी हुने सोच्ने गरे पनि सोचेजस्तो आम्दानी गर्न नसकेको उनी बताउँछिन् । ‘तर आफ्नो दुःख आफैँसँग,’ उनले भनिन्, ‘यो काममा सामान बिक्री भयो भने खान पाइन्छ, नत्र त भोकै बस्नुपर्ने हुन्छ ।’
उनको पसलमा हातले बुनेका धेरै थरिका सामग्री छन् । पञ्जा, मोजा, टोपी, क्याप, ब्याग, साइड ब्यागहरु उनको पसलमा छन् । यी सबै सामानहरु हस्तकलाका भएकाले पर्यटकले रुचाउने गरेको उनले बताइन् । यी सबै सामानहरु भक्तपुरकै उत्पादन भएकाले सामग्री ल्याउन त्यति धेरै दुःख नहुने गरेको उनले बताइन् ।

Leave A Comment