बाहुनी प्रेम

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ५३ शुक्रवार
बाहुनी प्रेम

– नीरा शर्मा
जब पहिलो पटक महसुस गरेँ
बतासले ल्याएको उसको प्रेमको स्पर्श
मनको सल्लेरीमा जोडजोडले बग्यो ऊ

ठीक त्यसै बेलादेखि
बा–आमाको अनुहारबाट
अस्ताएको थियो घाम
दाई भाउजूको शिरको ताज पनि
बाँसको टुप्पोझैं नुहेको थियो
र सानो भाइ मेरो अघिपछि उफ्रिदै कराउँथ्यो
‘दिदी, ऊ त अछुत हो अरे’

मैले कहिल्यै जात, धर्म र वर्ग सोधिनँ,
बरु उसले बालेको प्रेमको दियोमा
अनवरत तेल थपिरहेँ
आँखाले धून नसुनेजस्तो
प्रेमले पनि त कहाँ सुन्दो रै’छ र जातको कुरा

साँच्ची कसरी बिर्सिन्छ हँ मान्छे
यो सृष्टि प्रशव पीडामा छटपटिएको बेला
पर क्षितिजमा उभिएर
घाम जन्मिएको खबर सुनाउने कटुवाल उही थियो भनेर

उसको प्रेमको न्यानोले म तातिरहँदा  
कहालिँदै चिसिन्छ यो समाज
उसैले सिलाएको लुगाले शरीरको लाज ढाकिरहँदा
घरिघरि उध्रिन्छ बाहुन् संस्कारको मन
र च्यातिन्छन् विचारका खोलहरु
जब उसले मलाई जूनसँग दाँजेर हेर्छ
तब किन अध्याँरिन्छ अनुहार मान्छेहरुको ?
कसरी देख्छ यो समाजले उसको दृष्टि अछुत ?
जो मेरो आँखामा उज्यालो दिइरहन्छ
कसरी हुन्छ उसको प्रेम अँधेरो ?

उस्तै देख्छु म
हामीभित्र बग्ने प्रेम नहरको रङ
जो एकनाश बगिरहन्छ
हाम्रो दिलको खेत गरामा
जहाँ गुलाब फुलाउँछ ऊ
र मुस्कुराउँदै मेरो चुल्ठोमा टाँसीदिन्छ
तर यो समाज
किन देख्छ उसलाई कुजात ?
किन चलाउँदैन उसले छोएको पानी ?
किन मडारिन्छ अछुतको सोच बोकेको बादल
मान्छेका आँखाभरि ?

बरु यदि यो समाजलाई भाँड्दै
जात कुजात सुसाइरहन्छ बतास भने
त्यही बतास अछुत हुनुपर्छ
एकोहोरो अछुतको लू भिराएर
जिब्रो तताइरहन्छ घाम भने
यो घाम तानाशाही हुनुपर्छ
मैले रातको सन्नाटालाई छातीमा टाँसेर
उसलाई अंकमाल गरेँ भनेर
यी सज्जनहरुको दिमागमा
जूनले अश्लीलता पोखिदिन्छ भने
यो जून वेश्या हुनुपर्छ

यतिखेर
अछुतको ढुकढुकी बोकेर धड्किरहने
मेरै बाहुनी मुटु चिरेर हेर्न मन छ
र चिच्याएर सोध्न मन छ
मलाई छोई बग्ने बतासलाई
तताइरहने घामलाई
र मेरो आकाशको जूनलाई
कसरी अछुत बन्यो मेरो प्रेम ?

मेरो घरको दैलो टेक्न नपाएको अछुत
मेरै बाहुनी मनको राजधानीमा एकछत्र राज गरिरहेछ
म यो अछुतलाई
बेहद प्रेम गर्छु र गरिरहन्छु
यो कुसंस्कारको आयु रहेसम्म
अनन्त अविछिन्न
अमर प्रेम गरिरहन्छु ।

बाटो बिराएको कविको प्रतिबद्धता

शब्द र भावको मन्थनपछि
मेरो कोमल मनको ठेकीबाट  
निस्किनु पर्ने हो
नरम नरम नौनीका डल्लाजस्ता कविता
मेरो अन्तस्करणबाट
मगमगाउनु पर्ने हो
फूलको सुवास बोकेका अत्तरजस्ता कविता
तर खै कहाँ बिग्रियो
मदानी र ठेकीको तालमेल
र मथिंदै पग्लियो महीसँगै नौनीजस्तै कविता
कहाँ चिप्लियो मन र मस्तिष्कको घुलमिल
उड्दै गयो बताससँगै सुवासित कविता

मैले बुझेको कविताले
आक्रोश मात्र ओकल्दैनथ्यो
कुन्ठा मात्र पोख्दैनथ्यो
लाग्थ्यो – कविता त ‘एक फूल हो’ बगैंचाको
‘एक सुन्दर अभिव्यक्ति हो’ आत्माको ।

तर खै !
कसरी कवितालाई असन्तुलित मनोदसाको घोषणा पत्र बनाउँदैछु
‘प्रेमले कोरिनु पर्छ कविताका अक्षर, शब्द र हरफहरु’
यो किन बिर्सिरहेछु ?

किन–
कविताकै बर्कोमा आफूलाई लुकाएर
निर्मम प्रहार गरिरहेछु कवितामाथि ?
लेख्न छोडेर कविताजस्तै कविता
लेखिरहेछु केबल नारा ?
लगाउन छोडेर कविताकै मल्हम
थोपरिरहेछु जिन्दगीका च¥याउने घाउहरु ?

मध्यरातमा उठेर मैले
यस्ता सन्नाटाका कविता मात्र नलेख्नु पर्ने !
बरु पिल्पिलाइरहेका जुनकीरीहरुलाई पछ्याउँदै पछ्याउँदै
चम्चममाइरहेका ताराहरुलाई हेर्दैहेर्दै
लेख्नु पर्ने हो अँधेरोका विरुद्धमा
एउटा उज्यालो कविता ।

मेरो कविता किन ग्रसित छ
गालीहरू, अर्ति उपदेशहरू
र आग्रह पूर्वाग्रहका भाषणहरूले?
आफ्नै उचाईका दम्भहरूले ?

किन लेख्न सकिरहेको छैन अचेल
सुमधुर सङ्गीत र सुन्दर छहराजस्तै
सबको मन हर्ने हृदयको कविता ?
अब मेरो कलमले सल्काएको आगोमा
कोही पोलिने छैन
मैले ओकलेको कुण्ठाले
कोही मैलिने छैन
बस् भोलिबाट नै मैले
नूतन कविता लेख्नुछ
आमाको अनुहारजस्तै सौम्य
बाबाको सपनाजस्तै कञ्चन
मोतीजस्तै सुकिला कविता
प्रकृतिजस्तै सुन्दर कविता
प्रेमिल हृदयजस्तै सुकुमार कविता ।

 

Leave A Comment