महिलालाई वैदेशिक रोजगारीः कुन उमेरमा ठीक ?

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : २६ रुद्र खड्का
महिलालाई वैदेशिक रोजगारीः कुन उमेरमा ठीक ?

वैदेशिक रोजगारीमा जाने व्यक्तिको उमेर कति हुुनुपर्छ ? वैदेशिक रोजगार ऐन २०६४ ले  १८ वर्ष उमेर पुगेका जो कोहीले श्रम स्वीकृति प्राप्त गरी रोजगारीका लागि गन्तव्य मुलुकमा जान पाउने व्यवस्था गरेको छ ।
तर, त्यही मापदण्ड वैदेशिक रोजगारीमा जाने महिलाको हकमा खोजियो भने गलत साबित हुन्छ । सरकारी निकायको अन्योल र श्रम तथा रोजगार मन्त्रालयले बनाएको नियमका कारण १८ वर्ष पुग्नेबित्तिकै महिलाहरू आफूले चाहेको देशमा रोजगारीका लागि जान पाउँदैनन् । सरकारले महिलाको सुरक्षाको लागि नै उक्त नियम बनाइएको तर्क गर्ने गरे पनि त्यसको सान्दर्भिकता र औचित्य अझै पुष्टि हुन सकेको देखिदैन ।
अमेरिका, युरोपजस्ता मुलुकमा १८ वर्ष पुगेका महिलालाई जान दिने कानुन बनाएको सरकारले खाडी मुलुकमा घरेलु कामदारको रूपमा जान २४ वर्ष उमेरको पुगेको हुनुपर्ने प्रस्ताव गरेको छ । त्यस्तै इजरायल जान पनि हरेक महिला २५ वर्ष पुगेकै हुनुपर्ने अनिवार्य गरिएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, ओमान, कुबेत, बहराइन, लेबनान र मलेसियामा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष तोकेको छ भने इजरायलमा केयरगिभरमा जान २५ वर्ष पुगेको हुनुपर्ने नियम बनाएको छ । यद्यपि महिला घरेलु कामदारको रूपमा खाडी मुलुक जान मन्त्रालयले प्रस्ताव गरेको निर्देशिका भने कार्यान्वयनमा आउन सकेको छैन । मन्त्रालयले बनाएको निर्देशिका कार्यान्वयनमा नआउँदा महिलाहरूले घरेलु कमादारको रूपमा खाडी मुलुक जान पाएका छैनन् ।
वैदेशिक रोजगार विभागकी निर्देशक रमा भट्टराई भने महिलाका लागि केही असुरक्षित मानिएका देशमा जाँदा न्यूनतम उमेरको मापदण्ड बनाउँदा त्यसले महिलालाई सुरक्षा प्रदान गर्न सक्ने ठान्छिन् तर अधिकारवादीहरू भने सरकारको त्यस्तो निर्णय महिलामाथिको विभेद भएको गुनासो गर्छन् । ‘वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फरक–फरक मापदण्ड तोकिनुभन्दा वैदेशिक रोजगारीमा जान खोज्नेलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्नेबारे चेतना दिनु न्यायपूर्ण हुन्छ,’ वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्दै आएका व्यक्तिहरूलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको पिपुल फोरमका सल्लाहकार तथा अधिवक्ता सोम लुइँटेल भन्छन् ।
अस्पष्ट सरकारी नीतिका कारण यतिखेर कैयौं महिलाले मार खेपे पनि उनीहरूको पीडा सुनिदिने कोही छैन । इजरायलमा केयरगिभरको काम गर्न जान खोजेकी पाँचथरकी पवित्रा राईले २५ वर्ष नपुग्दा अघिल्लो वर्ष फारम भर्नबाटै वञ्चित भएको गुनासो गरिन् । ‘म को हुँ ? के काम गर्न हुन्छ र हुँदैन भन्नेबारे सबै जानकारी छ,’ बिएस्सी नर्सिङको अध्ययनसमेत सकेकी २३ वर्षीया राईले भनिन्, ‘इजरायल जान २५ वर्ष न्यूनतम उमेर तोकिएका कारण अरु दुई वर्ष बेरोजगार भएर बस्नु प¥यो । नभए स्वदेशमै कम पारिश्रमिकमा काम गर्नु प¥यो ।’
राईको विचारमा सक्षम युवायुवतीका लागि २५ वर्ष पर्खाउनु भनेको अलपत्र पार्नु जस्तै हो । उनी भन्छिन्, ‘काम गर्न सक्ने बेला २५ वर्षसम्म पर्खाउनु महिलामाथि अत्याचार हो । महिलाको क्षमतामाथि विश्वास नगर्नु हो ।’ पुरुषलाई विदेश जाँदा १८ वर्ष पुग्ने भए पनि महिलालाई उमेर मापदण्ड तोक्दा महिलालाई झनै परनिर्भर बनाउने र त्यस्तो काम सरकारी निकायले नै गरेको पाउँदा लिम्बुले निकै दुःख लागेको बताइन् ।
संविधानले १८ वर्ष पुगेका नागरिकलाई जुनसुकै मुलुकमा जानसक्ने व्यवस्था गरेको बेला श्रम तथा रोजगार मन्त्रालयले खाडीको घरेलु कामदार र इजरायलको केयरगिभरका लागि छुट्टै निर्देशिका बनाएर उमेरको मापदण्ड तोकेपछि यतिखेर नेपाली श्रम बजार विभाजित हुँदै आएको छ ।
कतिपय व्यक्ति मन्त्रालयले बनाएको विभेदकार नियमका कारण इजरायलको केयरगिभर प्रभावित भएको समेत बताउँछन् । एक वर्षभित्र इजरायलमा केयरगिभरका लागि तीन सय पठाउने दुवै देशका अधिकारीबीच सहमति भए पनि सरकारी निकायको ढिलासुस्तीले हालसम्म ७० जना हाराहारी इजरायल जान पाएका छन् ।  जिटुजी  (दुबै देशका सरकारी निकाय) प्रक्रियाबाट तीन सय जनालाई इजरायल पठाउने उक्त कार्यलाई ‘पाइलट प्रोजेक्ट’ भनिए पनि सुरुको चरणमै ढिलासुस्ती भएपछि अबको प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे अन्योल सिर्जना भएको छ ।
वैदेशिक रोजगार विभागका अधिकारी पछिल्लो समयमा इजरायलबाट केयरगिभरको माग नै आउन छाडेको बताउँछन् । विभागका निर्देशक मोहन अधिकारी इजरायलबाट माग आउनेबित्तिकै इजरायल जानका लागि ५० जना तयारी अवस्थामा राखिएको बताउँछन् । इजरायलको केयरगिभरमा ढिलासुस्ती भइरहँदा ठूलो संख्याका युवायुवतीको सोधीखोजीले हैरानी भएको विभागका कर्मचारी बताउँछन् ।
‘महिलाकै सुरक्षाको लागि उमेरमा मापदण्ड तोकिएको हो’
रमा भट्टराई

निर्देशक
वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगारीमा जाने महिलाको उमेरमा फरकफरक मापदण्ड राखिएपछि मैले त्यसबारे कुरा उठाएकी थिए । तर, पनि जसले उक्त नियम बनाएका हुन् उनीहरूका अनुसार महिलाको परिपक्वताका लागि नै फरक फरक उमेर कायम गरेको सुन्न पाइन्छ ।  इजरायलको हकमा चाहिँ महिला र पुरुषकै उमेर न्यूनतम २५ वर्ष हुनुपर्ने व्यवस्था गरिएको छ भने खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने महिलाको हकमा भने न्यूनतम २४ वर्ष उमेर कायम गरिनुको कारण सांस्कृतिक पक्ष पनि छ । खासगरी नेपालमा २४ वर्षको उमरेसम्म विवाह हुने र त्यसपछि खाडी जाँदा महिलामाथि यौन हिंसा हुँदैन कि भनेर उक्त नियम बनाइएको जस्तो लाग्छ । विवाहित महिलालाई त्यहाँ आँखा नलगाउने ठानेरै न्यूनतम उमेर २४ वर्ष कायम गरिएको हो । यसको मूल उद्देश्य महिलालाई सुरक्षित गर्नु नै हो ।
 
‘राम्रो पारिश्रमिक पाउन उमेर होइन क्षमता महत्वपूर्ण हुन्छ’
सोनु महर्जन

कीर्तिपुर
काठमाडौंको एक घरजग्गा कारोबार कम्पनीमा काम गर्दागर्दै दुबई जाने निर्णय गरेकी हुँ । स्वदेशमा निकै न्यून (मासिक १० हजार रुपैयाँ) पाउने हुँदा गुजारा चलाउन गाह्रो भयो । त्यसैले दुबई जाने निर्णय गरेकी हुँ । दुबईमा मैले गर्ने अजुमान होस्टेलको प्रशासनिक काम हो । मासिक तलब करिब७० हजार रुपैयाँ जति हुन्छ । मलाई के लाग्छ भने महिलालाई राम्रो काम र पारिश्रमिक छैन भने वैदेशिक रोजगारीमा जानु हुँदैन । र, उमेरमा पनि विभेद गर्नु हुँदैन । १८ वर्षपुगेपछि महिला र पुरुषलाई समान व्यवहार गर्नुपर्छ । उमेरको फरक फरक मापदण्डले महिलालाई खासै सुरक्षित राख्दैन । मेरा विचारमा राम्रा पारिश्रमिक पाउन उमेर भन्दा सीप र क्षमता महत्वपूर्ण हुन्छ ।

‘महिलालाई कमजोर ठानियो’
पवित्रा राई

पाँचथर
साउदीमा घरेलु कामदार तथा इजरायलमा केयरगिभरको काम गर्न जाने महिलाको हकमा श्रम तथा रोजगार मन्त्रालयले उमेरको हदबन्दी लगाएको देख्दा नमज्जा लाग्यो । संसारभरि नै १८/१९ वर्ष पुगेका युवायुवतीलाई परिपक्व भएको मानिन्छ । तर, नेपालमा भने २४/२५ वर्षसम्म रोकेर राख्नु खोज्नु महिलालाई कति कमजोर ठानिन्छ भन्ने गतिलो उदाहरण हो । यो नेपाली महिलामाथि राज्यले गरेको अन्यायपूर्ण व्यवहार हो । कुनै एक÷दुई जना महिलाको कमजोर क्षमताकै कारण सबै महिलालाई २४/२५ वर्षसम्म परिपक्व नठान्ने सरकारी सोच बुझिनसक्नु छ । कामका लागि विदेश जान २४/२५ वर्षसम्म कुराएर राख्नु कतै पनि तर्कसंगत देखिँदैन । विदेशमा यौन शोषणको तर्क गर्ने हो भने पनि २०/२२ वर्षको मात्र समस्या हुने २४/२५ वर्षपछि त्यस्तो समस्या नहुने भन्ने हुँदैन । २४/२५ वर्षको उमेर पार गर्नेबित्तिकै महिलाको यौन क्षमता कमजोर हुने पनि होइन । मेरो विचारमा १८ वर्ष नाघेका युवायुवतीले आफू अनुकूल हुने जस्ता पनि निर्णय लिन सक्छन् ।  १८–२० वर्षमा परिपक्व हुन नसकेका महिला ३५–४० वर्षमा पनि परिपक्व हुन सक्दैनन् ।
कुन वर्ष कति महिला विदेश गए ?
आर्थिक वर्ष    संख्या

२०६३/६४      २९०
२०६४/६५    ४,६८५
२०६५/६६    ८,५९४
२०६६/६७    १०,०५६
२०६७/६८    १०,४३६
२०६८/६९    २२,९५८
२०६९/७०    २७,७४२
२०७०/७१    २८,९६६
२०७१/७२    २२,०२८
२०७२/७३    १७,९४२
जम्मा    १,५३,७४८
    
स्रोत: वैदेशिक रोजगार विभाग

 

Leave A Comment