जाग्दै पुराना संगीतकर्मी

शुक्रबार, ३१ असार २०७३, ०२ : ४९ शुक्रवार , Kathmandu
जाग्दै पुराना संगीतकर्मी

धरानका मचेन लिम्बू दुई दशकअघि सांगीतिक कार्यक्रममा गितार बजाउँथे । लामो समय संगीत क्षेत्रमा खर्चिएका उनी बिस्तारै अन्य व्यवसायतिर सक्रिय भए । अनि, सांगीतिक जीवनबाट टाढिँदै गए । तर, व्यवसायले मात्र उनको पहिलादेखिको सोख मेटिएन । तीन वर्षयता मचेन पुनः सांगीतिक क्षेत्रमा सक्रिय भएर लागेका छन् । उनी सुनाउँछन्, ‘एक पटक लागेको संगीतको नशा कहिल्यै नछुट्ने रहेछ । अब आफ्नो मात्र होइन धरानको संगीतको विकासका लागि लागेको छु ।’
धरानले धेरै संगीतकर्मी उत्पादन गरेको छ । तर, यहीँ बसेर व्यावसायिक बन्न नसक्दा कति पलायन भएर अर्कै पेशातिर लागे, कति चाहिँ भविष्य खोज्दै काठमाडौँतिर हानिए । कुनै बेला संगीतबाट मात्र जीवनयापन गर्न नसकेर सुस्ताएका संगीतकर्मीहरू भने अब धरानलाई संगीतकर्मीको शहर बनाउने अभियानसहित जाग्न थालेका छन् । मचेनजस्तै कृष्णराजा श्रेष्ठ पनि लामो समय गायनभन्दा व्यवसायतिर बढी सक्रिय भएका थिए । व्यवसायले संगीतको तिर्सना मेट्न सकेन । उनी पनि फेरि संगीतमा फर्किएका छन् ।
पूर्वमै परिचित सुन्दर साउन्ड सर्भिसका सञ्चालक सुन्दर श्रेष्ठ पनि कुनै समय गीत गाउँथे । गायनबाट व्यावसायिक बन्न नसक्दा उनले साउन्ड सर्भिस खोले । आफू गाउन छाडेर अरू गायकका गीतलाई दर्शकसामु पु¥याउने काम गरिरहेका सुन्दर पनि अहिले सक्रिय बन्न थालेका छन् । बेला मौका स्टेजमा गाउन थालेका उनी सुनाउँछन्, ‘आफ्नो सोख पूरा गर्न मात्र होइन भावी पुस्ताका संगीतकर्मीलाई राम्रो बाटो देखाउन पनि हामी सक्रिय हुनु परेको हो ।’
लामो समय संगीत कर्म गरे पनि विभिन्न कारणले निष्कृय बनेकाहरू जागेर २०७० सालमा धरान संगीत प्रतिष्ठान स्थापना गरेका छन् । प्रतिष्ठानमा मचेन, सुन्दर, कृष्णराजासहित पुराना र नयाँ संगीतकर्मी पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । लामो समय सक्रिय संगीतबाट टाढिएर शिक्षणमा लागेका नवीन राई पनि प्रतिष्ठानमा सक्रिय छन् । त्यसै गरी धेरै वर्ष धरान र काठमाडौँमा संगीत कर्म गरेका जीवन भट्टराई, संगीतबाट चिकित्सा पेशामा लागेका डा.एलिन सुन्दास, व्यवसायमा लागेका किरण श्रेष्ठ, सुवर्ण श्रेष्ठ, अजय राई, लक्ष्मण अधिकारी, पम्फा दर्नाललगायत अहिले सक्रिय छन् प्रतिष्ठानमा । गायनमा सक्रिय एपी शेर्पा, हर्षु राई, गंगा वरदान, शिव लामिछाने, राईमन राई, मेरी शाक्य, हेम सुब्बालगायत संगीतकर्मी प्रतिष्ठानको सदस्य बनेर उनीहरूको अभियानमा सहयोग गरिरहेका छन् ।
प्रतिष्ठानको वरिष्ठ सल्लाहकारसमेत रहेका वरिष्ठ गायक दीप श्रेष्ठ, प्राश्ना शाक्य, सुरेशकुमार क्षत्री आफ्नो व्यस्त समयमा पनि प्रतिष्ठानका कार्यक्रममा सहभागी हुन धरान आइपुग्छन् । राजनीति र विभिन्न संघ संस्थामा आबद्ध रमेश राई पनि अहिले प्रतिष्ठानको अभियानलाई सफल बनाउन सक्रिय भएर लागेका छन् । रमेशकै संयोजकत्वमा प्रतिष्ठानले गत विश्व संगीत दिवसमा ‘संगीतले सबै धर्म, जाति, भाषीलाई एक बनाउँछ’ भन्ने नारासहित धरानमा भव्य कार्यक्रम आयोजना ग¥यो । रमेश भन्छन्, ‘धरानले धेरै संगीतकर्मी उत्पादन ग¥यो तर त्यसको फाइदा लिन सकेन । त्यसैले धरानलाई संगीतकर्मीको शहरका रूपमा स्थापित गर्ने हाम्रो अभियान हो ।’
प्रतिष्ठानले स्थापनापछि संगीतकर्मीलाई जागरुक गराउन देउसी भैलो कार्यक्रम सञ्चालन ग¥यो भने विभिन्न जातीय तथा सामाजिक संघ संस्थाका कार्यक्रममा निःशुल्क रूपमा कार्यक्रम प्रस्तुत ग¥यो । अग्रज गायक, गीतकार, संगीतकार, रेकर्डिस्ट लगायतलाई सम्मान गरिरहेको छ । पुराना र नयाँ पुस्ताका गायक गायिकाको साथ पाएको प्रतिष्ठानले आगामी भदौदेखि संगीत विद्यालय खोलेर नयाँ पुस्तालाई गायन र वाद्यवादनको सीप सिकाउने तयारी गरिरहेको छ । अहिले प्रतिष्ठानमा ६० भन्दा बढीले सदस्यता लिएका छन् भने सयको हाराहारीमा सदस्य बन्न इच्छुकहरू आइरहेको प्रतिष्ठानका अध्यक्ष मचेन लिम्बू बताउँछन् । उनी भन्छन्, ‘पहिला संगीतकर्मीबीचै एकता थिएन । त्यसैले विकासमा पछि परियो । अहिले सबै संगठित हुँदै छन् । राम्रा प्रतिभालाई पहिचान गर्दै धरानको संगीत विकासमा लागिरहेका छौँ ।’
दुई दशकअघि धरानमा मैत्री संगीत प्रतिष्ठान नामक संस्था थियो । धेरै संगीतकर्मी त्यसमा समेटिएका थिए । तर, व्यावसायिक बन्न नसक्दा संस्था बन्द भयो । मैत्रीका तत्कालीन अध्यक्ष तथा हाल धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत सुनील नेपाल ढिलै भए पनि संगीत प्रतिष्ठान खुल्नुले धरानको संगीत विकासमा राम्रो भएको बताउँछन् । उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राई हालसम्म पर्यटन र संस्कृति शीर्षकमा मात्र बजेट छुटिने गरेको भए पनि आगामी दिनमा संगीतको विकासका लागि छुट्टै शीर्षकमा बजेटको व्यवस्था गर्न पहल गर्ने बताउँछन् । प्रतिष्ठानको अभियानमा सहयोग गर्दै आएका वरिष्ठ गायक दीप श्रेष्ठ भन्छन्, ‘अग्रजबाट सिक्ने र नयाँ पुस्तालाई सिकाउने अभियान भएकाले धरानको संगीत क्षेत्रको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसलाई सबै धरानवासीको साथ आवश्यक छ ।’

 

Leave A Comment