चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ

शुक्रबार, १५ मङि्सर २०७४, ०१ : ०९ शुक्रवार
चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ

भारतबाट इन्जिनियरिङ पास गरेपछि तीन दशकअघि ज्यालादारी सेवाबाट नेपाल टेलिकममा जागिर सुरु गरेकी कामिनी राजभण्डारी अहिले नेपाल टेलिकमको महाप्रबन्धक छिन् । राजभण्डारीले ४४ अर्ब बढी वार्षिक कारोबार गर्ने टेलिकममा करिब ४१ सय कर्मचारीको नेतृत्व गरिरहेकी छन् । आइटीमा स्नाकोत्तर गरेकी राजभण्डारीसँग टेलिकमको सेवा विस्तार, नयाँ योजना लगायतका विषयमा शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
कसरी इन्जिनियरिङ फिल्डमा आउनु भयो ?
बुबा मेकानिकल इन्जिनियर भएकाले यो क्षेत्रमा प्रवेश गरेकी हुँ । स्कुल पढ्ने बेलामा बुबाको पदले भित्रभित्रै इम्प्रेसन परेको थियो । छोरीले पढ्ने चलन कम थियो । मैले स्कुल पढ्दाताका नै इन्जिनियर बन्नुपर्छ भन्ने भिजन बनाइसकेकी थिएँ । बुबाले विभेद नगरी शिक्षा दिएपछि यो अवस्थामा आउने अवसर पाएँ । भारतबाट इन्जिनियरिङमा पास गरेर फर्किएको एक हप्तामै नेपाल टेलिकममा काम सुरु गरेँ ।
सञ्चार सेवाको पहुँच वृद्धि गर्न के योजना बनाउनु भएको छ त ?
हामीले अहिले ताररहित सेवा विस्तारलाई प्राथमिकतामा राखेका छौं । देशभर फोरजीको कभरेज बढाउने योजना छ । त्यसका लागि टेन्डर भएर काम अघि बढेको छ । अहिले काठमाडौं र पोखरामा फोरजी सेवा केन्द्रित थियो । अब देशभरका सेवाग्राहीले फोरजी सेवा पाउने छन् । फोरजी र एलटिईको सेवा विस्तार गर्न लागिपरेका छौँ । फोरजी हाई स्पिड वायरलेस इन्टरनेट पुराना प्रविधिहरुमा भन्दा हाई स्पिड इन्टरनेट भएको र यस प्रविधिले ग्राहकहरुलाई अझ राम्रो ब्राउजिङ अनुभव प्रदान गर्दछ । यस प्रविधिमा उच्च गुणस्तरका भिडियोहरु कुनै अवरोधबिना स्ट्रिमिङ हुन्छ । अब नयाँ योजनामा सम्पूर्ण सेवाग्राहीले हाइस्पिड डाटा, भ्वाइस ओएलटी, भिडियो सेवा पाइन्छ ।  सेवामा कभरेज र क्यापासिटी बढाउन निरन्तर क्रियाशील छौं ।
दुर्गम क्षेत्रमा दूर सञ्चार सेवाको पहुँच किन कमजोर छ ?
सुगमदेखि दुर्गमसम्म सञ्चार सेवा पु¥याउन तल्लिन छौं । मुलुकका दार्चुला, जुम्ला, कालिकोट र हुम्ला जिल्लाका अति दुर्गम  १० स्थानमा एनटिस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । कुनै पनि दूरसञ्चार सेवा नपुगेका स्थानहरुमा सेवा सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएकाले सेवा सुरु गरेका हौं । ती स्थानका जनताले दूरसञ्चार सेवा उपभोग गर्न पाएका छन् । कोही वञ्चित नहोस् भनेर नै देशभरका सबै ठाउँमा कभरेज पु¥याएका छौं ।

कम्पनीले दिने सेवाको गुणस्तरीयतामा गुनासो आइरहन्छ । किन ?
नेपाल दूर सञ्चार प्राधिकरणले पनि केही महिनाअगाडि एउटा अध्ययन गरेको थियो । त्यसमा सर्भिस, कभरेज, क्वालिटी टेलिकमको राम्रो देखिएको छ । ग्राहकको गुनासो समयमै सम्बोधन नगरेको हामी (टेलिकम) माथि गुनासो छ । मागलाई पूरा गर्न सकेका छैनौं । त्यसमा सुधार गर्न कस्टुमर केयर सेन्टर पनि सञ्चालनमा ल्याएका छौं ।
इन्टरनेट कनेक्टिभिटीमा नयाँ योजना के छ ?
हामीले मध्यपहाडी राजमार्गमा फाइबर बिछ्याउन टेन्डर गरेर काम अघि बढाएका छौं । अहिलेसम्म भारततर्फबाट मात्र इन्टरनेट कनेक्टिभिटी रहेकोमा डाटा सर्भिसलाई थप व्यवस्थित गर्नका लागि चाइना टेलिकमसँग सम्झौता गरेका छौं । त्यताबाट ल्याउने डाटा सर्भिस सम्पूर्ण टेस्ट भई ओके भैसकेको छ । सफ्ट लञ्च गरेका छौँ । छिट्टै औपचारिक रुपमा सञ्चालनमा ल्याउछौं ।
टेलिकमका सेवाग्राहीलाई नयाँ स्किम केही ल्याउँदै हुनुहुन्छ ?
हाम्रो मुख्य डाटा सर्भिस हो । भ्वाइस, मल्टिमिडिया, हाइस्पिड दिने । भ्वाइसमा पनि विभिन्न प्याकेज ल्याएका छौं । जिएसएम प्रिपेड÷पोस्टपेड तथा सिडिएमए प्रिपेड/पोस्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, स्ट्रिमिङ प्याक (युट्युब/टिभी/भिडियो) लगायतका अफर रहेका छन् । यस्तै डाटा प्याकेजमा ग्राहकको मागको आधारमा विश्लेषण गरेर सुविधा दिन्छौं । केही निःशुल्क सेवा पनि दिन्छौं ।
कस्तो सेवा कहाँ निःशुल्क दिँदै हुनुहुन्छ ?
हामी राष्ट्रको सञ्चार हो । जनतालाई जसरी पनि गुणस्तरीय सेवा दिनु दायित्व हो । सामुदायिक स्कुल, कजेज, अस्पताल, एयरपोर्टमा निःशुल्क इन्टरनेट दिने योजना रहेको छ । केही ठाउँमा दिन सुरु गरेका छौं । यो देशभर नै विस्तार गर्ने तयारी छ । के कसरी कहाँ दिने भन्ने विषयमा अध्ययन भैरहेको छ ।
सफलता पाउन के चाहिँदो रहिछ ?
काम गर्दा आउने चुनौतीलाई अवसरको रुपमा लिनुपर्छ । चुनौती देखेर निरास हुनुहुँदैन । गुड लिडरसीप गुड डिसिजन महत्वपूर्ण हुन्छ । ठूलो समूहमा नेतृत्व गर्दा तटस्थ भएर काम गर्नुपर्दो रहेछ । आफ्नो स्वार्थ राख्नु हुँदैन । सामूहिक नेतृत्वले सफलता पाउन सकिन्छ । अवसरलाई सबैले क्यास गर्नुपर्छ । विवेक प्रयोग गरेर सही निर्णय गर्नुपर्छ ।

Leave A Comment