चुनावी मैदानमा पार्टी अध्यक्ष

शुक्रबार, १५ मङि्सर २०७४, १२ : ४६ विश्वमणि पाेखरेल
चुनावी मैदानमा पार्टी अध्यक्ष

मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने प्रमुख राजनीतिक दलका पार्टी अध्यक्षहरू चुनावी मैदानमा छन् । अहिलेको राजनीतिक माहोल, विगतका चुनावहरूमा पार्टी र नेताहरूले पाएको मत र राजनीतिमा देखिएको लोकतान्त्रिक तथा वामपन्थी गठबन्धनको पृष्ठभूमिमा शुक्रबारले प्रमुख पार्टीका केन्द्रीय अध्यक्षहरूको चुनावी मैदान आँकलन गर्ने प्रयास गरेको छ । निर्वाचन क्षेत्रको राजनीति, पछिल्लो संविधानसभा निर्वाचन लगायतका आधारमा शुक्रबारले गरेको विश्लेषणमा कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुरा, एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५,  संघीय समाजवादी अध्यक्ष उपेन्द्र यादव सप्तरी २ तथा राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुर महोत्तरी ३ बाट धेरै हदसम्म चुनिने सम्भावना देखिएको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवन ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ मा चर्को प्रतिस्पर्धाको चुनौती झेलिरहेको देखिन्छ ।

पश्चिमका शेर
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका लागि डडेलधुरा नयाँ चुनावी मैदान होइन । २०४८, २०५१  र २०५६ का संसदीय चुनावहरूमा एमालेका उम्मेदवारसँग फराकिलो मतान्तरले विजयी हुँदै आएका सुदूरका ‘शेर’ शेरबहादुरको प्रतिस्पर्धा एमाओवादीसँग छ । प्रारम्भदेखि एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा यस पटक देउवाको प्रतिस्पर्धा माओवादी केन्द्रका केन्द्रीय नेता एवं वाम गठबन्धनका उम्मेदवार खगराज भट्टसँग हुँदैछ । भट्टसँगको यो उनको तेस्रो भिडन्त हो । २०६४ सालमा २० हजार ५ सय २९ खसेको मतको करिब ४० प्रतिशत पाएर विजयी भएका देउवालाई १९ हजार १ सय ६१ मत ल्याएर खगराजले चुनौती दिएका थिए । १ हजार ३ सय ६८ मतले पछि परेका खगराजपछि बढी मत पाउने एमालेका विक्रमबहादुर शाही थिए । उनले ६ हजार १ सय ७६ मत पाएका थिए ।
दोस्रो संविधानसभा चुनावमा पनि शेरबहादुरको भिडन्त एमाओवादीका भट्टसँगै भयो । पछि खगराजले देउवाको तुलनामा आधा मात्र ल्याउन सके । देउवाले २३ हजार ९२० मत ल्याएका थिए भने खगराजले १२ हजार ४ सय ९३ मै चित्त बुझाउनु परेको थियो । तेस्रो स्थानमा रहेका एमालेका ताराप्रसाद जोशीले ७ हजार १ सय ९० मत पाएका थिए । यस आधारमा भट्ट र जोशी दुवैको भोट जोड्दा पनि देउवा करिब चार हजार मतले अगाडि देखिन्छन् ।
अहिले संघीय संरचनाअनुसार हुन गइरहेको प्रतिनिधिसभा चुनावमा देउवाको प्रतिस्पर्धामा वाम गठबन्धनबाट खगराज छन् भने यसअघिको चुनावमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेश उम्मेदवार ताराप्रसाद जोशी कांग्रेसका जिल्ला सभापति कर्ण मल्लसँग प्रदेशसभा खमा भिडदै छन् । प्रदेश कमा कांग्रेसका रघरबर भट्टसँग एमालेका पठानसिंह बोहरा वामपन्थी उम्मेदवार छन् । प्रतिनिधिसभामा माओवादी र प्रदेशसभामा एमालेको भागमा विभाजन गरिएपछि वाम गठबन्धनमा एकले अर्कोलाई विश्वास गर्न नसकिरहेको अवस्था छ । माओवादीका पूर्व पोलिटब्यूरो सदस्य जगत पार्की तथा माओवादीका पूर्व जिल्ला जनक कलौनी तथा पूर्व वाइसिएल इन्जार्च सुभाष कठायतको कांग्रेस प्रवेशले वाम गठबन्धनलाई धक्का दिने देखिन्छ । उता एमालेका प्रदेशसभा उम्मेदवार बोहरालाई माओवादीले मत नहाल्ने चर्चाबीच एमालेका कार्यकर्ताले खगराजको विकल्प खोज्न सक्ने विषय राजनीतिक वृत्तमा व्याप्त छ । पहिलो संविधानसभा डडेलधुरामा खगराजलाई पछार्दै कञ्चनपुर ४ बाटसमेत एमाओवादीका हरिश ठकुल्ला (कमल क्षेत्री) लाई १ हजार ३४ मतले उछिनेका देउवा दोस्रो संविधानसभा चुनावमा डडेलधुरा तथा कैलाली ६ दुवै क्षेत्रबाट विजयी भएका हुन् । दोस्रो संविधानसभा चुनावमा डडेलधुरामा खगराजलाई ११ हजारभन्दा बढीले उछिनेका देउवाले कैलाली ६ मा एमालेका महेश्वर पाठकलाई करिब ८ हजार मतले उछिनेका थिए । देउवा यस पटक गृह जिल्ला डडेलधुराबाट मात्र उम्मेदवार छन् । ५ औँ पटक लगातार डडेलधुरबाट विजयको माला भिरेका देउवाका लागि आसन्न चुनाव विगतका चुनावको तुलनामा चुनौतीपूर्ण र प्रतिस्पर्धी देखिन्छ ।
खड्ग प्रसाद भर्सेज खगेन्द्र र सिटौला
तीसको दशकमा झापाबाट उदाएको सशस्त्र कम्युनिस्ट क्रान्तिमा वामपन्थी राजनीतिको अभियन्ता मध्येका थिए केपी शर्मा ओली । मालेका संस्थापक ओली अहिले कम्युनिस्ट सरकारको उद्घोषसहित झापाबाट छैटौँ पटक चुनावी मैदानमा छन् । २०४८ र २०५१ को चुनावमा झापाबाट विजयी ओली २०५६ को संसदीय चुनावमा भने झापाका २ क्षेत्रबाट विजयी भए पनि उनको त्यो विजयलाई राजनीतिक रुपले पराजित भएर प्राविधिक रुपमा मात्र विजयी मानिन्छ । २०५६ मा झापा २ र ६ बाट निर्वाचित ओलीले ६ नम्बर क्षेत्र छोडेका थिए । उता २ नम्बरको क्षेत्रको मतगणनामा धाँधली भएको भन्दै कांग्रेसकी गिरिराजकुमारीले निर्वाचन अदालतमा मुद्दा हालेकी थिइन् । अदालतले ‘यावत परिबन्द कारण’ भन्दै पुनः मतगणनाको मिति सार्यो र अन्त्यमा निर्वाचन अदालतको म्याद थपिएन । विवादका बीच विजयी घोषित ओली विजित भइरहे । सोही निर्वाचनमा झापा क्षेत्र नं ४ बाट कांग्रेसका चक्रप्रसाद बास्तोला विजयी घोषित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका युक्त भेटवालले पनि मतगणनामा धाँधलीको आरोप लगाई मुद्दा हालेका थिए । ओली र चक्र माथिको मुद्दालाई निस्तेज पार्ने काममा त्यसबेलाको कांग्रेस र एमालेको नेतृत्वबीच काठमाठौंमै सौदाबाजी भएको र निर्वाचन अदालत (इलाम पुनरावेदन अदालत) मा रहेका मतपत्रका बाकस बन्दका बन्द नै रहे खुलेनन्, ओली र चक्र विजितका विजित भइरहे ।
२०६४ को संविधानसभा चुनावमा झापा ७ बाट एमाओवादीका विश्वदीप लिङदेन लिम्बुबाट करिब १ हजार भोटले पराजित ओली २०७० को दोस्रो संविधानसभा भने कांग्रेसका सुरेशकुमार योङगयाभन्दा करिब ९ हजार मत बढी ल्याएर विजयी भएका हुन् । संविधानसभा चुनावका बेलाका झापामा ६ र ७ नम्बर क्षेत्र मिलेर अहिले ५ नम्बर क्षेत्र बनेको छ । वामपन्थीको बलियो आधार रहेको यस क्षेत्रमा कांग्रेसलाई राप्रपा नेपालको प्रभावशाली साथ छ । यहाँ राप्रपा नेपालको पकड दह्रो मानिन्छ । कांग्रेस नेता कृष्णप्रसाद सिटौला जो सुरुमा समानुपातिक बस्ने र झापा १ मा राप्रपा नेपालका राजेन्द्र लिङदेनलाई कांग्रेसले साथ दिने योजना थियो तर सिटौलाले भत्काए । त्यसका पछाडिको गहिरो राजनीतिको चर्चा हुन्छ कांग्रेसवृत्तमा । सिटौला मैदानमा नउत्रिएर झापा १ मा कांग्रेसले राप्रपा नेपालसँग सहकार्य गरेको थियो भने झापा ५ मा ओलीका विरुद्ध कांग्रेस र राप्रपा नेपाल एकसाथ भएर वाम गठबन्धनसँग भिड्ने स्थिति थियो । लोकतान्त्रिक मोर्चाबन्दी वामपन्थी गठबन्धनको धारिलो चुनौती हुने निश्चित थियो तर सिटौलाले आफैँले मन्जुर गरेको सहमतिमा तातो पानी खन्याए । आफू प्रत्यक्ष चुनावमा होमिने निर्णय गरे । अहिले सिटौलासँग राप्रपा नेपालका लिङ्देन दोस्रो पटक भिड्दै छन् । लिङ्देनलाई सघाउने वाम गठबन्धनको औपचारिक निर्णय छ र स्थानीय तहमा त्यस्तो निर्णय अवज्ञा गर्ने स्वरहरू बाक्ला छन् । राजनीतिक दृश्यमा ओलीलाई जिताउन सिटौलाले भूमिका खेलेको चर्चा मात्र एकातिर छ भने अर्कोतर्फ ओली र सिटौला दुवै विजय बनाउने वृहद् राजनीतिक खेल यस निर्वाचनमा खेलिदैछ । यसमा झापाका मतदाताको भूमिका गौण देखिन्छ ।
प्रचण्ड भर्सेस पाण्डे
माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आसन्न निर्वाचनमा चितवन ३ को चुनावी मैदानमा छन् । वामपन्थी गठबन्धनका उम्मेदवार प्रचण्डलाई चुनौती दिँदैछन्, राप्रपाका नेता एव लोकतान्त्रिक गठबन्धनका विक्रम पाण्डे । राजनीति र निर्माण व्यवसायमा नाम कमाएका पाण्डे यसअघि चितवन ४ बाट निर्वाचित थिए । पाण्डेसँगको प्रतिस्पर्धा खुला राजनीतिको मैदानमा पुष्पकमलका लागि अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण मानिदैछ । पहिलो संविधानसभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट निकटतम प्रतिस्पर्धीको तुलनामा अत्यधिक मत पाएर दाहाल विजयी भएका हुन् । दोस्रो संविधानसभा चुनावमा भने उनी काठमाडौँ १० मा तेस्रो स्थानमा झरे भने सिरहा ५ बाट उनलाई विजय घोषित गराउन काठमाडौंबाट एमाले शीर्ष नेतृत्वले सक्रिय र हस्तक्षेपकारी भूमिका खेल्नुपरेको राजनीतिक घटना पुरानो भएको छैन ।  
पहिलो संविधानसभा चुनावमा रोल्पा २ मा एमालेका शान्तकुमार वलीको करिब ६ हजार मतको तुलनामा करिव ३४ हजार मत ल्याएर विजयी दाहाल काठमाडौं १० बाट कांग्रेसका राजेन्द्रकुमार केसीले प्राप्त गरेको करिब १२ हजार मतको तुलनामा करिब २३ हजार भोट पाएर दाहाल दुवै क्षेत्रबाट विजयी भएका थिए । दोस्रो संविधानसभा चुनावमा भने दाहालले रोल्पा छोडे, काठमाडौँको १० का साथै सिरहाको ५ बाट उम्मेदबार भए । पहिलो संविधानसभा चुनावको माओवादी ग्ल्यामर उत्रिसकेको अवस्थामा दोस्रो संविधानसभा चुनावमा काठमाडौं १० मा उनी तेस्रो स्थानमा झरे । दाहालले करिव ८ हजार मत ल्याएका थिए । प्रचण्डको पराजयको चर्चा भैरहेको समयमा सिरहा ५ मा पटक–पटक मतगणना स्थगित मात्र भएन दाहालसँगका प्रतिस्पर्धी एमालेका लीला श्रेष्ठले कर्जनाहा र भुल्के मतदान केन्द्रहरूमा एमाओवादीले बुथ कब्जा गरेको र मतगणनाका बेला धाँधली गरेको आरोप लगाउँदै स्थगित गरेका थिए । अन्त्यमा दाहाललाई जिताउनुपर्ने निर्णयसहित एमालेका केन्द्रीय नेताहरूले काठमाडौँबाट आदेश दिए मतगणना जारी राख्न । परिणाम दाहालले १५ हजार २४४ मत ल्याएर विजयी भए भने १४ हजार ३२३ मत ल्याएका लीला पराजित घोषित भए । मत परिणामपछि लीला राजधानी झिकाइए । लीलाले पछि भन्थे,  जनताले मलाई माया गरेका हुन्, विजयी चाहिँ प्रचण्ड हुनु भएको हो ।
पहिलो संविधान चुनावमा कुल २४० सिटमध्ये आधा १२० मा  विजयी माओवादी र दुई–दुई स्थानमा विजयी दाहाल दोस्रो संविधानसभामा मुस्किलले सभासद बन्न सके । अहिले चितवन ३ को चुनावी मैदानमा रहेका दाहाललाई कस्तो अप्ठेरो छ भने चितवनका क्षेत्र नं ४ र ५  मिलेर ३ नम्बर क्षेत्र बनेको हो । दोस्रो संविधानसभा चुनावमा क्षेत्र नं ४ बाट कांग्रेसका सभापति सुशील कोइराला करिव २० हजार मत पाएर विजयी भएका हुन् । त्यस चुनावमा माओवादीका चित्रबहादुुर श्रेष्ठले करिब १० हजार र एमाले उम्मेदवार दिलकुमारी रावल थापाले करिब १० हजार मत ल्याएकी थिइन् । क्षेत्र नं ५ बाट राप्रपाका विक्रम पाण्डे १० हजार ८५८ ल्याएर विजयी भए, एमालेका दानबहादुर तामाङ्ग करिव ८ हजार र एमाओवादीका अमिक शेरचनले करिव ६ हजार मत ल्याएका थिए । यस आधारमा पुरानो ४, ५ मिलेर बनेको ३ नम्बर क्षेत्रमा कांग्रेस, राप्रपा लगायतका र वामपन्थी दलका मतदाता करिब करिब बराबर देखिन्छन् । स्थानीय तह चुनावमा कांग्रेसको सबै खालको साथ र समर्थनमा दाहाल पुत्री रेणु दाहाल भरतपुर महानगरको मेयर निर्वाचित भएको प्रकरण र दाहालले कांग्रेसलाई धोका दिएर एमालेसँग गठबन्धन गरेको राजनीतिबीच दाहालले चितवन रोजेका छन् । स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत विश्लेषण गर्दा प्रचण्ड र पाण्डेले करिब ७ देखि १० हजार मत पाउनु पर्नेछ । यो मत कहिले यता र कहिले उता चलायमान हुने गरेको छ । निर्वाचन क्षेत्र ३ मा माडी क्षेत्र र भरतपुर महानगरको ग्रामीण क्षेत्र पर्छ ।  क्षेत्र ३ मा करिब १ लाख २५ हजार मतदातामध्ये माडी क्षेत्रमा करिब २५ हजार मत छ । यहाँ कांग्रेस, एमाले, माओवादी र राप्रपाबीच लगभग बराबर बाँडिने गर्छ । यस अर्थमा आधा लोकतान्त्रिक गठबन्धन र बाँकी वाम गटबन्धनले यो मत पाउने भयो । भरतपुर महानगरको ग्रामीण क्षेत्रमा करिब १ लाख मतदाता छन् । स्थानीय तह चुनावमा भरतपुर महानगरका विभिन्न वडाहरूबाट कांग्रेसले करिब २३ हजार, एमालेले करिब २१ हजार, माओवादीले करिब १४ हजार र राप्रपाले करिब ८ हजार मत पाएका थिए । सामान्य गणितका आधारमा दाहाल वाम गठबन्धनको करिब ४ हजार भोटले अगाडि देखिन्छन् । चितवनको ३ नम्बर क्षेत्र सुकुम्बासी, जनजातिको राम्रो उपस्थिति रहेको र राजनीतिक आस्थाभन्दा अन्य कारणले प्रभावित हुने चलायमान मत रहेको क्षेत्र मानिन्छ । आफ्नो कमजोर संगठनका बाबजुद अन्य पार्टीका मत चोरेर यसअघि विजयी भएका रैथाने पाण्डेलाई यस पटक त्यस क्षेत्रको सबैभन्दा ठूलो कांग्रेसको सक्रिय समर्थन छ । रेणु प्रकरणमा नराम्ररी मुछिएका चितवनका कांग्रेसजन दाहालको एमालेसँगको गठबन्धनबाट नराम्ररी झस्किएको देखिन्छ । उता भरतपुर महानगरको चुनावमा अपमानित एमालेका कार्यकर्ता इमान्दार बनेको अवस्थामा मात्र दाहाल आशावादी हुन सक्छन् । खासमा पुष्पकमलको आगामी संसदीय राजनीति चितवन ३ का एमालेका मतदातामा निर्भर देखिन्छ ।
उपेन्द्र भर्सेज उमेश
मधेस आन्दोलनबाट राजनीतिमा उदाएका उपेन्द्र यादव अहिले मधेसी मैदानसँगै पहाड र हिमालको राजनीति गर्दैछन् । मधेसी जनाधिकार फोरम एक दसकको बीचमा विभिन्न गुट, विभाजन र एकीकरणका सिलसिलासँगै उपेन्द्रले आदिवासी जनजातिको मुद्दामा केन्द्रित अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरेका छन् । यस एकीकरणबाट बनेको संघीय–समाजवादी फोरमका अध्यक्ष यादव आसन्न प्रतिनिधिसभा चुनावमा सप्तरी २ बाट उम्मेदवार छन् र उनको प्रतिस्पर्धामा एमाओवादीका उमेश यादव छन् । यादव मोरङ्ग ५ र सुनसरी ५ बाट अत्यधिक मतले पहिलो संविधानसभामा चुनिएका थिए । चुनावमा मोरङ्ग ५ बाट कांग्रेसका अमृत अर्याललाई करिब १७ हजार मतले पराजित गरेका यादवले सुनसरी ५ बाट एमालेका मोहम्मद महफुज अन्सारीलाई करिब १४ हजार मतले हराए । दोस्रो संविधानसभा चुनावमा पनि उपेन्द्र मोरङ्ग ५ र सुनसरी ५ बाट उम्मेदवार बने र सुनसरी ५ बाट मुस्किलले विजयी भए । मोरङ्ग ५ मा कांग्रेसका अमृत अर्यालबाट करिब ३ हजारको मतले पछाडि परेका यादव सुनसरी ५ मा भने कांग्रेसका गफार अन्सारी मियालाई ३८३ मतले जितेर विजयी भए । पहिलो संविधानसभा चुनावमा सुनसरी ५ मा करिब २४ हजार मत पाउने उपेन्द्रले दोस्रो निर्वाचनमा सोही क्षेत्रबाट करिव ७ हजार मत पाए ।
यतिबेला भने उनी मोरङ्ग  र सुनसरीमा लामो समयदेखिको राजनीतिक लगानी त्यागेर सप्तरी आएका छन् । यादवहरूको घनाबस्ती र मधेसी मतदाताको अधिकता रहेको सप्तरी २ मा यादवलाई कांग्रेसले औपचारिक रुपमा समर्थन गरेको छ भने मधेसको राजनीतिमा ठूलो अर्थ राख्ने र स्थानीय तह निर्वाचनमा सप्तरीमा उल्लेख्य उपस्थिति जनाएको राष्ट्रिय जनता पार्टी ( राजपा)सँग चुनावी गठबन्धन छ । सप्तरीमा २ र ३ निर्वाचन क्षेत्रहरूका भूभाग मिलाएर बनेको २ नम्बरमा उपेन्द्रको प्रतिस्पर्धा माओवादीका उमेश यादवसँग छ र सँगसँगै राजपाका विद्रोही जयकुमार ठाकुरको उत्तिकै चुनौती छ । माओवादी उम्मेदवार उमेश दोस्रो संविधानसभा चुनावमा सप्तरी ३ बाट विजयी भएका थिए भने क्षेत्र नं २ बाट माओवादीका अशोककुमार मण्डल विजयी भएका थिए । दुवै क्षेत्रमा मधेसवादी दलहरूको वर्चस्व रहेका यी क्षेत्रमा कांग्रेस दुवै क्षेत्रमा चौथो स्थानमा थियो भने एमाले २ नम्बर क्षेत्रमा चौथो र ३ नम्बरमा तेस्रो स्थानमा थियो । दोस्रो संविधानसभा चुनावको समयमा २ र ३ नम्बर क्षेत्रमा कुल वामपन्थी भोट एमाओवादी र एमालेले ८ हजार हाराहारी थियो । अहिले ३ नम्बर क्षेत्रमा करिव ८० हजार मतदाता छन् ।
माओवादी सभासद उमेश र अशोकको भूमिकालाई लिएर मतदाताले प्रश्न उठाइरहेको अवस्थामा उपेन्द्रका लागि सप्तरी २ लाभकारी देखिन्छ । बाहिरियाको चुनौती उनले चिरिसकेका छन् भने राजपाका विद्रोही ठाकुर पनि पार्टी कारबाहीमा परेका छन् । उमेश र ठाकुर उपेन्द्रका प्रमुख चुनौती हुन् ।
महन्थ ठाकुर
महन्थ ठाकुरले ठूलो संख्यामा कांग्रेसका नेता, कार्यकर्तासहित तराई मधेस लोकतान्त्रिक पाटीं (तमलोपा) गठन गरेका थिए । राजनीतिक वृत्तमा उपेन्द्रको फोरमलाई कमजोर बनाउन तपलोपा गठन गरिएको चर्चा थियो । वामपन्थी पृष्ठभूमिका उपेन्द्र र कांग्रेसमा लामो राजनीतिक जीवन बिताएर महन्थ मधेसका मसिहा बन्ने अभियानमा लागेका हुन्, पहिलो संविधानसभा चुनावसँगै तर पार्टीको नेतृत्व लिएका महन्थ गृह जिल्ला सर्लाही ६ बाट २ सय ७२ भोटले पराजित भए । सर्लाही ६ बाट मधेसी जनाधिकार फोरमका शिव पुजन यादवले १५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए भने महन्थ १५ हजार ४ सय १६ मतमा खुम्चिए । तेस्रो स्थानमा कांग्रेसका अमरेशले ११ हजार ९७१ मत ल्याएका थिए । दोस्रो संविधानसभा चुनावमा पनि महन्थ सोही क्षेत्रबाट उम्मेदवार बने र यसपटक करिब ७ हजार मत पाएर तेस्रो स्थानमा रहे । दोस्रो संविधानसभा चुनावमा सर्लाही ६ बाट करिब १७ हजार मत पाएर कांग्रेसका अमरेशकुमार सिंह विजयी भए भने अघिल्लो पटक विजयी शिवपुजन करिव १० हजार मतका साथ दोस्रो र महन्थ तेस्रो भए ।
यस पटक गृह जिल्ला छोडेर महन्थ छिमेकी महोत्तरी जिल्लाको ३ नम्बर क्षेत्रबाट राजपा गठबन्धनको उम्मेदवार छन् । यस क्षेत्रमा कांग्रेसले दिइसकेको उम्मेदवारी फिर्ता गरेर महन्थलाई सघाउने नीति लिएको छ । मधेसवादी दलको राम्रो पकड रहेको यस क्षेत्रमा वाम गठबन्धनबाट विजय चौधरी मैदानमा छन् । तीन महिनाअघि उम्मेदवार बन्ने योजनासहित राजपामा प्रवेश गरेर चन्द्रेश्वर झाको स्वतन्त्र उम्मेदवारको पनि चुनावी चर्चा बाक्लै छ । दोस्रो संविधानसभा चुनावमा स्वतन्त्र उम्मेदवारकौ हैसियतमा त्यसबेलाको क्षेत्र नं ३ बाट निर्वाचित झा राजपाबाट अध्यक्ष ठाकुर नै मैदानमा उत्रिएपछि झाले उम्मेदवारी दिए । करिब ७९ हजार मतदाता रहेको महोत्तरी ३ मा भूमिहार र सीमान्तकृत मतदाताहरूको बसोबास छ र राजनीतिक परिदृश्यमा भूमिहारको वर्चस्व रहँदैआएको देखिन्छ । यदि सीमान्तकृत वर्गतर्फ राजनीति मोडिएको अवस्थामा वाम गठबन्धन विजयी हुनेछ भने अहिलेकै राजनीतिक माहौल रहिरहे सर्लाहीबाट पराजित हुँदै आएका ठाकुरले महात्तरीबाट विजयको माला लगाउने छन् ।
कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा गृह जिल्ला मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । थापालाई २०४६ को राजनीतिक परिवर्तनपछि मकवनापुरे मतदाताले खासै रुचाएका थिएनन् । २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाबाट निर्वाचित भएर आएपछि थापाले सत्ता राजनीतिमा राम्रो चलखेल गरे । राप्रपाभित्र पानी जहाजमा छिद्र पार्ने मुसाको संज्ञा पाएका थापा दोस्रो जनआन्दोलनपछिको परिवर्तित राजनीतिमा राजतन्त्रको वकालत र हिन्दु धर्मको नारा लिएर राजनीतिमा छाइरहेका छन् । पहिलो संविधानसभा चुनावमा मकवानपुर ३ बाट उम्मेदवार बनेर तेस्रो स्थानमा खुम्चिएका थापा दोस्रो संविधानसभामा चुनावी मैदान त्यागेर समानुपातिकमा बसे । समानुपातिककै बलमा दोस्रो संविधानसभामा २४ सांसदका नेता बनेका थापा सत्ताका राम्रा खेलाडी हुन् । केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका थापा अहिले शेरबहादुर देउवा सरकारका पनि उपप्रधानमन्त्री छन र मन्त्रीकै हैसियतमा चुनावी मैदानमा छन् ।
पहिलो संविधानसभा चुनावमा माओवादीका प्रल्हाद लामिछानेले मकवानपुर ३ बाट करिब १८ हजार मत पाएर विजयी भएका हुन् । दोस्रो स्थानमा करिब १३ हजार मतका साथ एमालेका अनन्तप्रसाद पौडेल आए । त्यस्तै तेस्रो स्थानमा करिब ७ हजार भोट ल्याएर कांग्रेसका रामचन्द्र आएका थिए भने कमल थापा ३ हजार ८५३ मत ल्याएर चौथो स्थानमा रहे ।
दोस्रो संविधान सभा चुनावमा उम्मेदवार बन्ने व्यापक प्रचार भए पनि पछि उनी समानुपातिकमा बस्न रुचाए । उनले पत्नी प्रलिता थापालाई मकवानपुर १ बाट मैदानमा उतारे । प्रलिताले करिब ५ हजार मत ल्याएर चौथो स्थान हात पारिन् । चार निर्वाचन क्षेत्र रहेको मकवानपुर अहिले दुई क्षेत्रमा खुम्चिएको छ । थापा औपचारिक रुपमा कांग्रेसको समेत समर्थनमा क्षेत्र नं १ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार छन् । उनलाई एमालेका कृष्ण दाहालले चुनौती दिएका छन् ।
कांग्रेसले औपचारिकरूपमा लोकतान्त्रिक गठबन्धनको नाममा थापालाई समर्थन गर्ने निर्णय गरेको भए पनि स्थानीय स्तरमा पार्टी निर्णयको विरोध अहिले केही मत्थर हुँदै गएको अवस्था छ । जिल्लाभरको तथ्यांकमा वामपन्थी मतदाता अधिक रहेको मकवानपुर लाल किल्ला भेदन गर्न थापालाई चुनौती छन् । दुई क्षेत्रमध्ये क्षेत्र नं १ लोकतान्त्रिक गठबन्धनको आधार तुलनात्मक रुपमा बलियो मानिन्छ । स्थानीय तह निर्वाचन परिणामका आधारमा क्षेत्र नं १ मा लोकतान्त्रिक गठबन्धनको तुलनामा वामपन्थी गठबन्धन करिब ८ हजारले बढी देखिन्छन् । तर स्थानिय जानकारहरू स्थानीय तहको मतको गणित यस निर्वाचनमा काम नलाग्ने र थापाको राष्ट्रिय राजनीतिक व्यक्तित्व नै उनलाई जिताउने औजार बन्न सक्ने बताउँछन् ।

 

Leave A Comment