अभावले देखाएको ‘नाटक घर’सपना

शनिबार, ०९ मङि्सर २०७४, ०३ : २८ मनोज घर्तीमगर
अभावले देखाएको ‘नाटक घर’सपना

लोक नाटकका लागि कहलिएको पोखरा । यहाँको रंगमञ्चीय इतिहास लामै छ । नाटक मञ्चन गर्दा कलाकारको एउटै गुनासो हुन्थ्यो– पोखरामा गतिलो नाटक घर भएन । अघिल्लो पुस्ता मात्रै होइन, अहिलेको पुस्ताले पनि यो समस्या मजाले भोग्यो । लगालग दुई नाटक र एउटा कविता मञ्चन गरेपछि युथ क्रियशन थिएटर पोखराका कलाकारलाई लाग्यो, पोखरामा गजबको थिएटर भए झन् नाटक कति जम्थ्यो होला ? उनीहरुले नाटक घरको सपना मात्रै देखेनन् त्यसलाई पूरा गर्न कस्सिएरै लागे । विभिन्न व्यक्ति तथा संस्थाबाट दामासाही रुपमा सहयोग संकलन गरेर पोखराको नागढुंगामा बनाउन सुरु गरिएको ‘नाटक घर’ सपना लगभग यतिबेला पूरा भएको छ ।
कथावस्तुअनुसार दर्शकलाई भरपुर मनोरञ्जन दिने गरी अभिनय गर्दा नाटकमा आवश्यक कतिपय कुराको अभाव महसुस कलाकारलाई हुने नै भयो । अभाव महसुससँगै देखिएको सपना पूरा गर्न थिएटरका सदस्य कस्सिएर लागे । महँगो सहरको रुपमा चिनिएको पोखरामा भनेजस्तो नाटकघर बनाउन करोडौं चाहिन्थ्यो । यति ठूलो रकम जुटाउने ल्याकत थिएटरसँग थिएन । तैपनि उनीहरुले हरेस खाएनन् । थिएटरका अध्यक्ष कपिल शर्मा, सचिव सौगात पोखरेल, सदस्यहरु रेम बिक, मनोज घर्तीमगरहरु कस्सिएर लागे । एक सय ६० सिट क्षमताको नाटकघर निर्माण लगभग सकिएको छ । अब यहाँको नाटक मञ्चनले तिव्रता पाउने क्रियशनको विश्वास छ । ‘नाटक मञ्चन गर्न राम्रो हल नभएकाले नाटकघर बनाउन तम्सिएका हौं’ युथ क्रिएसन थियटरका अध्यक्ष कपिल शर्मा भन्छन्,‘विभिन्न अभियान चलाएर नाटक घर निर्माण सक्दैछौं । सबैको सहयोगले नाटक घर निर्माण सकिन लागेको छ ।’ नागढुंगास्थित एक रोपनी क्षेत्रफल रहेको जमिनलाई थिएटरले वार्षिक एक लाख भाडा तिर्ने सहमति गरेको छ । नाटक घरका लागि थिएटरले लगभग आधा करोड खर्च गरेको छ ।
पोखरेली रंगकर्मीले अब नाटकघर भएन भन्ने गुनासो गर्न पाउने छैनन् किनभने एउटा मात्रै होइन, पोखरामा अर्को नाटकघर पनि पूरा भएको छ । पञ्चामृत नाट्य समूहले पोखराको गैह्रापाटनमा १६ महिनामै डेढ रोपनी क्षेत्रफलमा करिब ७० लाख रुपैयाँ खर्चेर ‘पोखरा थिएटर’ ठड्याइएको छ । युथ क्रियशनले नाटकघर बनाउन थाले लगत्तै पञ्चामृतले नाटकघर बनाउने घोषणा गरेको थियो । यो समूहले पनि नाटक मञ्चन गर्दा नाटकघरको अभाव महसुस गरेपछि आफै बनाउन कस्सिएको हो । पञ्चामृत नाट्य समूह अध्यक्ष परिवर्तनको अगुवाईमा नाटकघर निर्माण सुरु भयो । ‘पोखरा कला र साहित्यको ऊर्वरभूमि भनेर धेरैले सम्झने गर्छन्,’ अध्यक्ष परिवर्तनले भने, ‘पोखरामा थिएटर नहुनुले यहाँको प्रतिष्ठा जोगाउनै कठिन भयो । त्यही भएर हामी आफै कस्सिएका हौं ।’
कला, साहित्य र संगीतको ऊर्वरभूमि पोखरामा निर्माणपछि भित्री भाग फिनिसिङ पूरा गर्दै गरेको पोखरा थिएटरमा १ मंसिरदेखि नै अभिनय कार्यशालाका लागि फर्म कलेक्सन भइरहेको छ । ‘सुरुवातमा २० जनालाई यो कोर्स गराइनेछ,’ पोखरेली नाटकले नयाँ डिस्कोर्स ल्याउनेमा विश्वस्त अध्यक्ष परिवर्तन भन्छन्, ‘कार्यशालाबाट खारिएका कलाकारबाट क्रमशः नाटक पस्किनेछौं ।’ कार्यशालामा मण्डला थिएटर काठमाडौंका निर्देशक तथा कलाकार राजन खतिवडा, कलाकार दयाहाङ राईलगायतले अभिनय कला सिकाउने थिएटरका सञ्चाल दिल गुरुङले जानकारी दिए । पोखराको नाट्य विरासत जोगाउने गरी अग्रज र नयाँ रंगकर्मीको साझा थलोका रूपमा पोखरा थिएटरलाई विकास गर्ने सपना रहेको परिवर्तन बताउँछन् ।
पोखरामा नाटक इतिहास
पोखराको नाटक इतिहास खोतल्दा, मुलुकमा प्रजातन्त्र नभित्रिँदै पोखरामा २००६ सालमा धनशमशेरको नाटक मञ्चन गरिएको थियो । विसं. २०२७ सालमा डाँफे कला मन्दिरले पोखराको नाटकमा नयाँ क्रान्ति सुरु गरेको थियो । भूपू ब्रिटिस आर्मीका क्याप्टेन मिनबहादुर गुरुङले पोखराको बगरमा डाँफे कला मन्दिरको स्थापना गरेर नाटक मञ्चन, नेपाली लोकगीत र लोकनृत्यको प्रदर्शन गरी निकै प्रशंसनीय काम मात्र गरेरन् पोखरामा बामे सर्दै गरेको नाटकको इतिहासलाइ नयाँ बाटो देखाए । पोखरामा सबैभन्दा लामो समय टिकेको र टिकटमा नाटक देखाउने एकताका यो एक्लो संस्था थियो ।
डाँफेकै बाटो पछ्याउँदै पोखरेली युवा साँस्कृतिक परिवार, युवा नाट्य परिवार, क्षितिज नाट्य समूह, दीर्घजीवी नवप्रतिभाव नाट्य परिवार, ॐ कला मन्दिर, जमर्को प्रतिभा समूह, सृजनशील कला समूहजस्ता दर्जनौं नाट्यसम्बन्धी संस्थाहरुले पोखरामा थुप्रै नाटक मञ्चन गरे । तर त्यसका लागि उनीहरुले सधैँ नाटकघरको अभाव महसुस गरिरहे । अब त्यस्तो अभाव हुन नदिन र पोखरेली नाटकको स्वर्णिम इतिहासलाई बचाइराख्न पोखरामा नाटकघर निर्माण गरिएको युथ क्रियशन थिएटरका सचिव सौगात पोखरेल बताउँछन् । ‘तीसको दशकमा पोखरा लोक नाटकका लागि चर्चित थियो, अहिले पनि यहाँ दर्शकको कमी छैन,’ सौगात भन्छन्, ‘तर जलिहे पनि नाटक मञ्चन गर्ने गतिलो हल नहुँदा हैरानी व्यहोर्नुपर्ने, त्यसैले हामी नाटकघर निर्माणमा जुटेका हौं । अब लगभग काम सकिनै लागेको छ ।’
स्वर्णिम इतिहास बोकेको पोखरेली नाटक कैयौं वर्ष सुस्तायो । २०६९ मा यहाँका नाट्यप्रेमीले युथ क्रिएसन थिएटर स्थापनासँगै नाटकको पुनर्बहाली गरेका हुन् । ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’, ‘अर्को ओरालो’ लगायत नाटक मञ्चन गरिसकेपछि साढे ३ वर्षअघि नाटकघर निर्माण थालिएको हो । ‘हाम्रोसँगै पोखरामा दुई वटा नाटकघर तयार भएका छन्, अब यहाँ नाटक मञ्चनले तिव्रता पाउनेछ,’ सचिव सौगात भन्छन्, ‘पोखरेलीले फरकफरक स्वादका नाटकको लगातार स्वाद चाख्ने दिन धेरै टाढा छैन ।’ यी दुई नाटकघर बाहेक चल्तापूर्जा नाट्यकर्मी अनुप बरालले पनि पोखरामै थिएटर बनाउने केही समयअघि खुलासा गरिसकेका छन् ।

Leave A Comment