घटेन भर्तीको लाइन

शनिबार, ०९ मङि्सर २०७४, ०१ : ४५ मनोज घर्तीमगर
घटेन भर्तीको लाइन

घट्दो युद्ध, बढ्दो सुविधा र सुस्ताएको लाहुर–भर्तीविरोधी स्वरसँगै लाहुरे हुने चाहना बोक्नेको संख्या ह्वात्तै बढेको छ । हरेक वर्ष २० हजारभन्दा बढी नेपाली युवा बेलायती सेना तथा सिंगापुरे पुलिसका लागि हत्ते हाल्दा मुस्किलले दुई सय १० जनाको भाग्य चम्कन्छ । आठ महिना लामो प्रशिक्षण र चर्को प्रतिस्पर्धाभित्रको कथा कस्तो छ ? आखिर किन हजारौँ नेपाली लाहुरे हुन मरिहत्ते गरिरहेका छन् ? किन घट्दैन ‘भर्तीको लाइन’ ? पोखराबाट ‘मनोज घर्तीमगर’ को रिपोर्ट ।

पोखरा आसपासमा हेर्दै खाइलाग्दा युवाहरु डोको बोकेर हिँड्दैछन् भने नझुक्किनुहोला । घाँस दाउरा गर्नलाई डोको बोकेका होइनन् उनीहरुले । त्यो डोको बोक्नुको एउटै उद्देश्य हो– लाहुरे बन्नु । कोही डोको बोकेर त कोही रित्तै, पोखरा रंगशालामा लाहुरे बन्ने सपना बोकेर नेपालका पूर्वदेखि पश्चिसम्मका युवाहरु दैनिक दगुर्छन् ।

लाहुरे बन्ने सपना बोकेका त्यस्तै युवा हुन्, स्याङ्जाका १९ वर्षीय प्रवीण गुरुङ । अघिल्लो वर्ष प्रारम्भिक छनोटमा असफल भए पनि हिम्मत हारेका छैनन् । छनोट नहुँदा दुःख हैन अनुभवको रुपमा उपयोग गर्दै उनी पुनः तयारीमा जुटेका छन् । आफ्नै गाउँका तीन चार जना लाहुरेहरुको उच्चस्तरको जीवनशैली देख्दै आएका प्रवीणको सानैदेखिको सपना भन्नु नै लाहुरे बन्नु हो । एसएलसी पास गर्ने बित्तिकै छाती नपाउन पुगेका प्रवीणले त्यसै धुनमा पढाइलाई समेत अल्मल्याएका छन् । ‘बिट्रिस आर्मीमा भर्ती हुनु नै मेरो मुख्य लक्ष्य हो,’ उनी भन्छन्, ‘यस पटक भएन अर्को पटक कसो नभइएला ।’

उनी लाहुरे बन्ने धोको राख्नुका पछाडि अनगिन्ती कारण छन् । उनको परिवारमा उहिल्यै बाजेले नै लाहुरेको बिऊ रोपे । यस समुदायमा रहेको लाहुरे संस्कृतिका कारण उनका बुबा पनि लाहुरे बने र बाजे पनि । सबैले बेलायती सेनामै जागिर खाए । आफ्ना बाबुबाजेले बेलायती सेनामै जागिर खाएकोले आफूले कहिल्यै अभाव नखेपेको उनको अनुभव छ । त्यतिले मात्र उनलाई लाहुरे हुन पक्कै पनि प्रेरित गरेको हैन । दसैँको टीका लगायतका धेरै अवसरहरुमा उनका बाजे, बज्यै, अन्य मान्यजन र विशेष गरी उनका मामाले आशीर्वाद दिँदै यो वर्ष पक्का “लाहुरे बनेस्” भन्छन् रे ! अरुका मानका लागि भए पनि उनलाई लाहुरे नभई हुन्न जस्तो लागेको हो । झन् उनका दौँतरी बिट्रिस आर्मी बनेपछि त अचेल उनको सपना–जपना नै कसरी लाहुरे हुने भन्नेमा छ । प्रवीणका आमा बाबु पनि जसैगरी छोरो लाहुरे बनेको देख्न चाहन्छन् । ‘बाबाआमाको मात्र होइन मेरो सपना पनि लाहुरे बन्नु हो,’ प्रवीण भन्छन् ।

प्रवीण एउटा प्रतिनिधि पात्र हुन् । विशेषगरी आदिवासी–जनजाति समुदायका मगर, गुरुङ, राई, लिम्बु युवाले विभिन्न अवसरहरुमा ‘लाहुरे भएर, कर्णेल, जर्नेल भएर, धेरै धन कमाएस्.....’ जस्ता आशीर्वाद पाउँछन् । त्यही आशीर्वाद मनमा लिएर बेलायती सेनामा भर्ती भई अरुको भन्दा उच्च शैलीमा जीवन बिताउने मीठो सपना बोक्ने युवाहरु लाखौं छन् । बाग्लुङ पैंयुँथनथापका दिपक थापामगर पनि लाहुरे बन्ने लक्ष्य बोकेर गत वर्ष पोखराको बिट्रिस क्याम्पमा पुगे । पहिलो पटक भिड्दा ‘एरिया रिक्रुट अफिसर’ एआरओ छनोटमा अनुत्तीर्ण भएपछि उनी पोखराको एक टे«निङ सेन्टरमा प्रशिक्षण लिएर आउँदो वर्षको तयारी गरिरहेका छन् । दुई वर्षयता बेलायती सेनाको ब्रिगेड अफ गोर्खाजलाई करिअरको लक्ष्य बनाएका दीपकलाई लाहुरेको जीवनशैलीले निकै लोभ्याएको छ । ब्रिटिस आर्मीमा भर्ती नभएमा मात्र अरुतिर प्रयास गर्ने उनको सोच छ । भारतीय सैनिकका छोरा दीपक भन्छन्, ‘ब्रिटिस भएन भनेर इन्डियन र त्यो पनि नभए नेपाल आर्मी भएर पनि मेरो धोका पूरा गर्छु ।’

जेठ २७ गतेदेखि सुरु भएको बेलायती सेना र सिंगापुर पुलिसको भर्ना छनौट जारी छ । ब्रिटिस आर्मी र सिंगापुर पुलिसको अन्तिम छनोट पुसमा सकिनेछ । लाहुरे बन्नलाई पहिले सिधै फारम भर्न पाइने भए पनि अहिले सुरुमै ८ पटक भिम खिचेर, एमआरपी देखाउनुपर्ने, कागजपत्रमा बाबु र छोरोको थर दुरुस्तै हुनुपर्ने भएकाले मात्रै फारम भर्न पाइने व्यवस्थाले झण्डै २० प्रतिशत युवाको सपना त फारम भर्नै नपाएर तुहिन्छ । तर पटक–पटक प्रयास गर्नेहरु पनि थुप्रै छन् ।

त्यसैले त होला एक पटक असफल भए पनि म्याग्दीका दिलिप गौचनले हिम्मत हारेका छैनन् । छनोट नहुँदाको अनुभवको उपयोग गर्दै उनी पुनः तयारीमा जुटेका छन् । ‘दुई पटक फालिएँ, यो तेस्रो पटक हो,’ लाहुरे शैलीमा कपाल काटेका उनले भने, ‘हेरौं कहाँसम्म पुर्याउँछ भाग्यले ।’

एसएलसी उत्तीर्ण १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर समूहका युवाले बेलायती सेना र सिंगापुरे पुलिसमा भर्ती हुन पाउँछन् । त्यसका लागि प्रत्येक युवाको ५ फिट ३ इञ्च उचाई र ५० किलो वजन हुनुपर्छ । छाति नफुलाउँदा ३१ र फुलाउँदा ३३ इन्च भएको हुनुपर्छ । आवेदकहरुले पूर्व धरानस्थित पुरानो घोपा क्याम्प र पश्चिममा पोखरा ब्रिटिस क्याम्पमा फारम भर्छन् । भर्तीको लाइनमा लागेको युवाहरुको एउटै लक्ष्य छ , जसरी पनि लाहुरे बन्ने र निलो टाटेपाटे बर्दी पहिरिने । त्यही भिडमा भेटिएका अर्का युवा हुन् म्याग्दीका भरत रोकामगर । उनी म्याग्दीबाट लाहुरे बन्ने लक्ष्य बोकेर गत वर्ष पोखरा झरे । पहिलो पटक ब्रिटिस आर्मीमा भिड्दा छनौट चरणबाटै बाहिरिए । जेठमा छनौट नभए पनि लाहुरे बन्ने धोकोले उनलाई म्याग्दी फर्काएन बरु पोखरामै बस्न बाध्य बनायो । उनी लाहुरे हुन यतिबेला पोखरामै बसेर कडा अभ्यास गरिरहेका छन् । सानैमा बेलायती सेना बन्ने लक्ष्य बनाएका भरतलाई लाहुरेको जीवनशैलीले निकै लोभ्याएको छ । ‘जेठमा भर्ती हुन सकिएन, फेरि प्रयास गर्ने हो,’ लाहुरे शैलीमा कपाल काटेका भरत भन्छन्, ‘ब्रिटिस आर्मी नभई छोड्दिनँ । उमेरले साथ दिएसम्म भिड्ने हो ।’

गाउँघर छरछिमेकाबाट हरेक वर्ष तीन/चार जना भर्ती भएर बेलायत गएको देखेर लोभिने पनि थुप्रै युवा छन् । त्यति मात्र हैन, लाहुरेको सानदार जीवन र पेन्सन आएपछि पाइने विलासी जीवनको आकांक्षाले गर्दा पनि धेरै युवाहरुको मनमा लाहुरे बन्ने हुटहुटी देखिन्छ । त्यसैले त युवाहरु भर्तीका लागि चाहिने उमेर बाँकी हुँदासम्म हरेस नखाई भर्ती लागिरहन्छन् । त्यसैले त होला तीन पटकसम्म भर्ती छनौटबाट फालिएका स्याङ्जाका दानसिङ गुरुङले यो वर्ष भर्तीका लागि कडा कसरत गरे । मेहनत खेर गएन । उनी अन्तिम छनौटमा परेर यतिबेला तालिम लिएर निखारिँदैछन् । लाहुरेको जीवन सुखी हुने भएकोले आफू लाहुरे भएरै छाड्ने बताउँछन् उनी । ‘उमेर गइसक्यो, यो मौका अन्तिम पटक हो,’ दानसिंह भन्छन्, ‘त्यसैले पनि जोडतोडका साथ तयारीमा जुटेको छु ।’

विश्वयुद्धताका मगर, गुरुङ, राई, लिम्बु र क्षेत्रीलाई मात्र भर्ती लिने गरेकाले ठकुरी, बाहुन, नेवार,  अन्य समुदायका युवाहरु अरु जात लेखाएर भए पनि लाहुरे बन्थे । ८० को दशकदेखि सबै जातिकालाई खुला प्रस्पिर्धाबाट सहभागी बनाउन थालिएपछि अन्य जातिको पनि आकर्षण बढेकोले भर्ती लाग्नेहरुको संख्या उल्लेख्य छ । प्रमाण हुन् पोखराका कृष्ण अधिकारी । सानैदेखि ब्रिटिस सेना बन्ने चाहना राखेका कृष्ण नछानिएसम्म प्रयास गरिरहने पक्षमा छन् । बाहुन समुदायका अरु युवा लोक सेवाको तयारी गरिरहँदा कृष्ण भने लाहुरे बन्ने तयारीमा छन् । लाहुरेको सहर उपमा पाएको पोखरामा बाहुन परिवारमा जन्मेका कृष्ण आफ्नो टोलमा भएका लाहुरेहरुको सानदार जीवन देखेर हौसिएका छन् । उनका केही गुरुङ र मगर दौतरी त गएको वर्ष लाहुरे भइसके त्यही भएर पनि झन् कहिले लाहुरे बन्ने बन्नेहोला भन्ने लागिरहन्छरे उनलाई । ‘अरुजस्तो टुपी धसेर पढ्ने अनि लोक सेवा भिड्ने कुनै रुचि छैन,’ उनी भन्छन्, ‘मेरा साथी गुरुङ, मगर धेरै भएकाले लाहुरेतिरै ध्यान मोडियो । बाहुनको छोरो भएर पनि लाहुरे बनेर मानक बदल्ने सोचमा छु ।’
लाहुरे गाथा
पाकिस्तानको एक सहर– लाहोर । यहाँ पन्जाबी सेनाको क्याम्प थियो । नेपाल–अङ्ग्रेज युद्धमा गोर्खाली सेनाका कप्तान बलभद्र कुँवर लड्न नसकेपछि नालापानी किल्ला छाडेर भागे । उनी लाहोर पुगेर पन्जाबी सेनामा भर्ती भए । सम्भवतः पहिलो लाहुरे उनै थिए । यसरी नेपाली लाहोर जाने र लाहुरे बन्ने संस्कार सुरु भयो । लाहोर गएर सैन्य सेवामा छिर्ने युवालाई नेपालमा ‘लाहुरे’ भन्न थालियो । पछि ब्रिटेनले सन् १८१५ तिर गोर्खा भर्ती थालेपछि लाहुरे प्रथाले मलजल पायो । लाहोर जानेमा धेरैजसो मगर, गुरुङ, लिम्बू, क्षत्री, राईलगायत थिए । उनीहरुले खुकुरीको धारमाथि हिँडेर ‘लाहुरे’ पेसालाई व्यापक बनाए । फलतः गोर्खाली भर्ती अझै निरन्तर छ ।
सन् ८० को दशकसम्म लाहुरे छुट्टी आएको खबरले गाउँभरि नै हल्लीखल्ली मच्चन्थ्यो । ‘लाहुरे आएको छ रे ! कस्तो रै’छ लाहुरे ?’ सोधीखोजी चल्थ्यो । छोरो लाहुरे भएर इज्जत बढाएकोमा आमाबुबा दङ्गदास पर्थे । लाहुरेको छोरो लाहुरे भएको छ भने त परिवारको रवाफै दोब्बर हुन्थ्यो, पुर्खाको बिँडो थाम्यो भनेर । यही पुर्खाको बिँडो थाम्दै सन् २००१ मा लाहुरे भएका थिए– पोखरा रामबजारका दीर्घमान गुरुङ पनि । लाहुरेको सानसौकत, वर्कत र रवाफ देखेरै लाहुरे भएको सुनाउँछन् उनी । ‘हाम्रो समुदायमा लाहुरे नै सबथोक हो, जीवन पनि सुरक्षित छ,’ उनी भन्छन्, ‘सामान्य नेपालीले मासिक साढे २ लाख तलब खाने जागिर पाउनु मामुली कुरा हैन ।’ लाहुरे भएपछि पोखरामा बडेमानको घर जोडेको र परिवारलाई पनि सुखसुविधा दिन सकेको उनको भनाइ छ ।
बेलायतको चाकरीमा राणा प्रधानमन्त्री वीरशमशेर, चन्द्रशमशेरले भर्ती हुनैपर्ने उर्दीले यो माहोल झन् ह्वात्तै बढ्यो । हजारौँ नेपाली युवा नचाहेरै कहर र बाध्यताले अङ्ग्रेज सेनामा हुलिए । पहिलो र दोस्रो विश्वयुद्ध लगायत विभिन्न क्षेत्रीय युद्धमा थुप्रै गोर्खालीको मृत्यु भयो । तापनि लाहुरे हुनुमा गर्व गर्ने घटेनन् । लाहुरे भएकोमा यस्तै गर्व गर्ने युवा हुन्, पोखरा लामाचौरका भेषराज पुन । सन् २००७ मा छाति देखाएका उनी बेलायती सेनामा भर्ती भए । लगातार तीन वर्ष छाती फुलाएपछि उनी लाहुरे बने । ‘भर्ती नभएको भए लोफर भएर हल्लिदै हिँड्नुपथ्र्यो होला,’ उनी भन्छन्, ‘लाहुरे भएपछि पोखरामा घरघडेरी जोडें । घरपरिवार खुसी छन् ।’

छोटो कपाल । एकरङ्गी पोसाक । कालो बुट । पिठ्युँमा सुटकेस, काँधमा रेडियो । देब्रेहातमा दम दिने घडी । ओठमा मुस्कान । कसिलो ज्यान । घर फर्कंदा लाहुेरको शान नै बेग्लै । रहर, कहर या बाध्यताले विदेशी (बेलायती, सिङ्गापुर वा इन्डियन) फौजमा भर्ती भएर देशदेशावर लडाइँमा खटिँदाका पीडा भुल्न जन्मस्थल फर्कंदाको खुसी लाहुेरमा पनि कहाँ कम्ती हुनु र ! बिछट्टै उत्साह, सान र स्फूर्ति लिएर फर्केको हुन्छ ऊ । लाहुरेलाई छुट्टि आउँदा यस्तै हुलियामा देखेका ठिमुरे–३ घोर्लीखर्क पाल्पाका हुमबहादुर थापामगर सन् १९७९ बेलायती सेनामा भर्ती भए । जस्तो सोचेका थिए, त्यस्तै भयो उनलाई । १५ वर्ष ब्रिटेनको सेवा गरेका उनले राम्रै कमाए । बुटवल र काठमाडौंमा आलिशान घर जोडेका उनी लाहुरे नभएको भए यति धेरै प्रगति गर्न नसक्ने बताउँछन् । ‘नेपालको जुनसुकै जागिर खाएको भए पनि बुटवल र काठमाडौंमा घर बनाउने औकात हुन्थेन,’ हुम भन्छन्, ‘मेरा दुवाली लाहुरे भएनन् । मजति प्रगति गर्न सकेनन् । लाहुरे भएरै युरोप, एसिया धेरै घुमेँ । नत्र कहाँ यस्तो अवसर आउनु ?’

पहिलो खोजीखोजी, अहिले रोजीरोजी
लडाइँमा पाउने दुःख जति छ, त्योभन्दा कयौं गुणा मानसम्मान छ लाहुरेको । त्यसैले, थुपै्र युवक लाहुरे बन्ने सपना बोकेर हुर्कन्छन् र जवानीले पाइला टेक्दानटेक्दै छाती नपाउन ब्रिटिस क्याम्पतिर दौडन्छन् । पोखरा अर्चलबोटका १९ वर्षीय तिलक पुर्जा पोहोर भर्तीको लाइनमा देखिए । असफल भएपछि यो वर्ष पुनः छाति तन्काए उनले, फेरि पनि छनौट भएनन् । ‘बिट्रिस आर्मीमा भर्ती हुनु मेरो लक्ष्य हो,’ उनी भन्छन्, ‘भएन भने इन्डियन आर्मीमा ट्राई गर्छु ।’
लिम्घा–६ गुल्मीका सिजन थापामगर एसएलसी पास हुनेबित्तिकै भर्तीको लाइनमा लागेर छाति नपाए । पोखरामै बसेर कडा मिहिनेत साथ अभ्यास गरेर पटक पटक छाति तन्काए पनि जोर चलेन । अघिल्लो वर्ष नो रिएप्लाई लिस्टमा नाम परेपछि लाहुरे बन्न उनको धोको अधुरै रह्यो । लाहुरेको शानदार जीवन र रिटायर्ड भएपछि पाइने गतिलो पेन्सनले पनि धेरै युवा लाहुरे बन्ने आकांक्षा राख्छन् ।
लाहुरे जीवनमा फालहाल्न चाहने युवापङ्क्ति सानो छैन । बर्सेनि झण्डै १० हजारले फारम भर्छन् । तर प्रथम–द्वितीय विश्वयुद्धताका जस्तो नेपाली युवालाई सोहोरेर लैजाँदैन बेलायती, छानी–रोजी हजारौँ हजारबाट सवा सय मात्रै लैजान्छ । विश्वयुद्ध चल्दा लौरोले नापेर एकै दिनमा तीन–चार हजार भर्ती लिने बेलायतले एक दशकयता २ सय १० जना छान्न झन्डै आठ महिना लगाउँछ । सङ्ख्या थोरै हुनाले भर्तीमा ठूलो प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाको सुरुङभित्र पसेर निस्कन नेपाली युवालाई जति कठिन छ, त्यति नै सहज भएको छ, बेलायतलाई रोजी–रोजी भर्ती लिन । ‘विश्वयुद्ध चलिरहेका बेला नेपाली युवाहरुले भर्ती हुन खासै प्रतिस्पर्धा गर्नु पर्दैनथ्यो । घरघरबाटै फकाएर लगिने त्यो समयमा १४–२९ वर्ष उमेर समूहका नेपाली युवाहरु सजिलै भर्ती हुन्थे,’ भूपू ब्रिट्रिस आर्मी एवं एकमात्र जीवित भिक्टोरियाक्रस बिजेता क्याप्टेन रामबहादुर लिम्बु भन्छन्, ‘महायुुद्धका बेला खोजीखोजी फकाइफुलाई भर्ती लान्थ्यो । अचेल त मारामार केटाहरु छ,  छानिछानी लैजान्छ ।’

लडाइँ चलिरहेकाले आफ्ना छोरालाई कसैले पनि भर्ती बनाउन चहाँदैनथे विश्वयुद्धताका । सुरुका दिनमा बलियो जीउडाल देखिने युवाहरु सजिलै भर्ती हुन्थे । भर्ती परम्परा बेलायतले जारी राखिरहयो । राणाहरुले आंग्रेजलाई खुसी पार्न नेपालका गाउँ गाउँबाट सोझा युवाहरुलाइ भर्ती लाग्न उर्दी जारी गर्थे । राणाहरुले गाउँका मुख्या,जिमुवाललाई प्रत्येक गाउँका प्रत्येक घरबाट एक एक जना भर्ती लाग्नै पर्ने उर्दी जारी गर्न लगाएका थिए । उनीहरुको उर्दी अनुसार गाउँका सोझा युवाहरु पुलीसले पक्राउ गर्नुभन्दा भर्ती जानु बेस भन्दै भर्ती लाग्थे । ‘हामीलाई भर्ति लिन गल्लावाल आउँथे तर घरबाट बाबाआमाले भर्ती हुन जाने थिएनन्,’ दोस्रो विश्वयुद्धमा बेलायतका तर्फबाट बर्मामा जापानसँग लडेका एक सय वर्षका योद्धा खरविर गुरुङ भन्छन्, ‘गाउँमा गल्ला आयो भने गाउँलेले लखेट्थे, हाम्रा छोरालाइ मार्न लैजान आइस् भन्दै । गल्ला त लुकीलुकी आउँथ्यो ।’

जमाना बदलिएको छ । त्यतिबेला पो पहिलो र दोस्रो युद्ध चर्केको थियो र बेलायतले गोर्खाली सिपाहीलाई रणमैदानमा पठाउन भकाभक भर्ती गथ्र्यो । गोर्खा सैनिकहरु लडाइँमा भकाभक मर्थे र कोटा पूरा गर्न नेपाली युवालाइ भर्ती गथ्र्यो । अहिले त्यस्तो अवस्था छैन । बेलायतले कसैसँग लडाइँ गर्नुपरेको छैन त्यही भएर वर्षमा सवा दुई सय मात्रै भर्ती गर्ने गरेको छ । ‘पहिलो पो गोर्खालीलाइ मराउन भर्ती गथ्र्यो, अहिले त लडाइँ छैन किन धेरै भर्ती गर्छ अंग्रेजले ?’ बर्मा युद्धमा घाइते भएपछि बेलायतले घाइते पेन्सनमा सन् १९४३ मा फर्काइदिएका दोस्रो विश्वयुद्धका योद्धा गुरुङले भने, ‘फेरि लडाइँ भो भने भर्ती गर्न सजिलो हुन्छ भनेर अंग्रेजले अहिले पनि अलिअलि केटाहरुलाई भर्ती गरेको हो ।’

तनावले कुलतमा
हरेक वर्ष देशैभरिबाट भर्तीको तयारी गर्ने युवाहरुको संख्या १५÷२० हजारको हाराहारीमा हुन्छ । तर ती मध्ये बेलायती सेना र सिंगापुर पुलिस बनेर जानेको संख्या भने दुई सय १० को हाराहारीमा मात्रै हुने गरेको छ । तीमध्ये प्रत्येक वर्ष ८० जना सिंगापुर पुलिस र बाँकी बिट्रिस सेना हुन्छन् । ठूलो तयारीपछि पनि भर्ती हुन नपाउने युवाहरुमध्ये कतिपय मानसिक रोगी हुने गरेको समेत पाइएको छ । लाहुरे नभएको पीरमा लागू औषधको कुलतमा फस्ने युवाहरु पनि पोखरामा कम छैनन् । यसको असर देशैभरका युवाहरुमा पनि छ । लाहुरे नभएपछि अरु व्यवसाय वा वैदेशिक रोजगारीका लागि विकल्प रोज्ने युवाहरुको संख्या पनि नेपालमा निकै ठूलो रहेको पाइन्छ ।

पूर्व तयारी
लाहुरे बन्नलाई पूर्व तयारी गर्ने चटारो हुन्छ पोखरामा थुप्रै युवालाई । सामान्यतया जेठतिर लाहुरेका लागि आवेदन खुल्ला हुने भए पनि केही युवाहरु चैत बैशाखदेखि नै पूर्वतयारीमा जुटिसकेका हुन्छन् । पूर्व तयारीका लागि पूर्वदेखि पश्चिमसम्मका युवा पोखरामै बस्छन् । ब्रिटिस सेनामा भर्ती हुनका लागि हरेक वर्ष हजारौं युवाले प्रतिस्पर्धा गर्छन् । गत वर्ष २ सय १० ब्रिटिस र ८० जना सिंगापुर पुलिसको लागि देशभरबाट १५ हजारभन्दा बढी युवाहरु प्रतिस्पर्धाका निम्ति भर्ती केन्द्र पोखरा आएका थिए । तीमध्ये झन्डै १० हजारले प्रतिस्पर्धा गरेको थिए । सुरुका दिनमा गाउँघरमै गल्ला लिने, त्यसको लगत्तै धरान, काठमाडौ र बुटवलमा समेत छनौट हुने गरेकोमा अहिले पोखरामा मात्र छनौट हुन्छ । उम्मेदवारको संख्या बढ्दै जाँदा प्रस्पिर्धा पनि निकै चर्को हुने गरेको छ । यही मौकाको फाइदा उठाउँदै नेपालका विभिन्न सहरहरुमा लाहुरे बन्न प्रशिक्षण दिने तालिम केन्द्रहरु फस्टाएका छन् ।

सिंगापुर पुलिसमा २७ वर्ष सेवा गरेका यामबहादुर गुरुङले पोखरामा पूर्व तयारी प्रशिक्षण दिन लोटस टे«निङ इन्स्टिच्युट चलाइरहेका छन् । शुरुमा शारीरिक तन्दुरुस्तीका लागि मात्र खोलिएको उनको सेन्टरले २०५९ देखि तालिम दिँदै आएको छ । अहिले पोखरामा लोटसका अलावा गेट्स, एक्स आर्मी, ब्रिटिस गोर्खा ट्रेनिङ सेन्टर, गोरखा एक्सन्, रोयल, बिटिसी, सिरमोर, स्यालुट गोर्खा, जुनियर गोर्खा गरी डेढ दर्जनभन्दा बढी प्रशिक्षण केन्द्रहरु छन् । धरान र काठमाडौँमा पनि यत्तिकैको हाराहारीमा छन् । प्रायः  सबै केन्द्रहरुमा युवालाई जुडो कराँते, तेक्वान्दो, जीम, फुटबल, बास्केटबल, भलिबल, अंग्रेजी भाषा, विज्ञान, गणितको ज्ञान दिने गरिएको छ । ‘लाहुरे बन्न आवश्यक शारीरिक तयारीसँगै भाषाको ज्ञान तथा चम्चा काँटाले खानेदेखि ट्वाइलेट पेपर चलाउनेसम्म सीप सिकाइन्छ,’ यमबहादुर भन्छन् ।

यस्ता केन्द्रले ६ महिने कोर्स बनाएर १२ देखि १५ हजारसम्म रुपैयाँ मासिक शुल्क लिने गरेका छन् । आवासीय प्रशिक्षण लिनेले ६ महिनाको एक लाखदेखि एक लाख २० हजारसम्म खर्चन्छन् । हरेक वर्ष भर्तीका लागि यी सेन्टरहरुमा लाहुरे बन्न इच्छुक युवाहरुको भिड नै लाग्छ ।
तालिमका लागि लस्कर लागेका हजारौँ युवाको ताँती देख्दा पूर्व ब्रिट्रिस आर्मी नरेश गुरुङ छक्क पर्छन् । ‘हुन त त्यतिबेला युद्ध पनि चलेको थियो, भर्ती जान मान्दैनथे, पैसा पनि धेरै थिएन,’ उनी भन्छन्, ‘अहिले सबै सुविधा बढाएको छ त्यही भएर युवाहरु भर्ती हुने मन भएको होला ।’

घट्दैछ विरोध
तत्कालीन एकीकृत नेकपा माओवादीले संविधान सभाको चुनावताका आफ्नो घोषणापत्रमा बेलायती सेनामा हुने भर्ती रोक्ने उल्लेख गरेपछि लाहुरे समुदाय मात्र हैन विभिन्न पक्षबाट त्यसको कडा विरोध भयो । नेपाल भूतपूर्व सैनिक संघले त काठमाडौँमा त्यसको विरोधमा ¥याली नै निकालेर आन्दोलन गर्ने चेतावनीसमेत दियो । यसले पनि देखाउँछ लाहुरे मोह । नेपालीको सोचाइभन्दा कयौं गुणा तलब र विविध सुविधाले गर्दा कुनै समुदायको युवाको त लाहुरे बन्नु पुख्र्यौली पेसा बनेको छ । परम्परा जोगाउन र पुर्खाको बिँडो थाम्न पनि कयौं जनजाति युवा लाहुरे हुन्छन् ।

पञ्चायतकालमा विशेषगरी कम्युनिस्ट पार्टीहरुले भर्तीविरोधी सन्देश र गीतहरु गाउँ–गाउँसम्म पु¥याएका थिए । एकताका ‘दाजुभाइ नजाऊ न लाहुर, नेपालमै पाइन्छ जागीर...’ ‘जान्न म त मलाया छाउनी...’ बोलका गीतहरु निकै सुनिन्थे, अब ती इतिहास भइसके । यस्ता खाले गीतहरुको प्रचारसँगै तीन दशक अघिदेखि नै नेपालमा गोर्खा–भर्तीको विरोध सुरु भएको थियो । तर अहिले गोर्खा भर्ती विरोधका स्वरहरु बर्सेनि घट्दै गएका छन् । सुरु–सुरुमा भूपू गोर्खा सैनिक संघ गेसोमा भर्तीविरोधी चर्चाहरु हुने गर्थे तर विभेदविरुद्ध आन्दोलन चले पनि भर्तीकै विरोध भने गेसोले गरेन । अहिले माओवादीले समेत भर्तीविरोधी कुरा गर्न छाडिसकेको छ ।  ‘अहिले भर्ती बन्द गर्नुपर्छ भनेर बोल्ने हो भने त भारत र बेलायतको एजेन्डा बोलेजस्तो हुन्छ,’ इतिहासविद् एवं गोरखा भर्ती कथा व्यथा र आन्दोलन किताब लेखेका डा. सुरेन्द्र केसी. भन्छन्, ‘अहिले बेलायत र भारत दुवैलाई गोरखा भर्ती घाँडो भएको छ किनभने उतै लोकल गोरखा जन्मिसकेका छन् । तिनीहरुबाट पूर्ति गरिरहेको छ ।’ डा. केसीका अनुसार कम्युनिस्टहरु हावाको भरमा केही पनि नबुझेर राजनीतिक स्टन्टका रुपमा गोर्खा भर्तीको विरोध गर्ने गरेको दाबी गरे । अहिले उनीहरुको स्वर पनि सुकिसकेको उनको भनाइ छ ।

बेलायत सकारले एक जुलाई सन् १९९७ अघिका चार वर्ष बेलायती सेनामा सेवा गरेका व्यक्ति र उनका परिवारलाई पनि बेलायतमै आवासीय अधिकार दिने निर्णय गरिसकेको छ । सन् १९९७ पछिकाले स्वतः बेलायतमा बस्ने अधिकार पाएपछि पनि यसको विरोध हुन छाडेको सहजै अनुमान लागाउन सकिन्छ । २ सय वर्षअघिदेखि बेलायत सकारको पक्षमा वीरता, साहस र इमान्दारिताका लागि प्रसिद्धि कमाउँदै आएका गोरखा सैनिकहरुको पहिलो र दोस्रो विश्वयुद्धमा गरी अस्ट्रेलिया, क्यानडा, मलेसिया, बर्मा, जर्मन, फ्रान्स, लाओस, पर्सिया, मेसापोटामिया, सिरिया, ग्रीस, सिंगापुर, हङकङ, नर्थ अफ्रिका  लगायतका देशहरुमा लडाइँ लडिसकेका छन् ।
 

Leave A Comment