हामी किन ढाँट्छौं ?

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : ५७ शुक्रवार
हामी किन ढाँट्छौं ?

डा. थोमस चमेरो
हुन त सबै किसिमका मानव समाजमा झुटो बोल्नुलाई नराम्रो मानिन्छ तर दैनिक जीवनमा सबैभन्दा बढी झुटो नै बोलिन्छ । एउटा अध्ययनअनुसार अमेरिकामा एक जना मानिसले कम्तीमा पनि दुई पटक झुटो बोल्छ । एक जना विशेषज्ञ पेरेटोले ८०/२० को सिद्धान्तअनुसार २० प्रतिशत मानिसले ८० प्रतिशत झुटो बोल्छन् अनि बाँकी ८० प्रतिशतले २० प्रतिशत ।
उसो भए अफिसमा, घरमा, समुदायमा काम गर्दा कसले कति र कस्तो झुटो बोलिरहेको छ कि छैन भन्ने कुरा चाहिँ कसरी थाहा पाउने ? यो एउटा ठूलो समस्याका रुपमा रहेको छ । झन् झुटो बोल्नेका प्रकार हुन्छन्, कस्तो प्रकारको झुटो बोलेको हो भन्ने फरक पत्ता लगाउनु पनि कम चुनौतीपूर्ण छैन । कस्तो प्रकारको झुटो बोल्ने व्यक्तिसँग तपार्इंले संगत गरिरहनु परेको छ वा काम गर्नुपर्ने अवस्था छ भने त्यहीअनुसारको व्यवहार गर्न तपाईंलाई सजिलो हुन्छ ।
अध्ययनअनुसार, झुटो बोल्नेका दुई विशेषता हुन्छन् । पहिलो, तिनीहरु नैतिक रुपमा ज्यादै कमजोर हुन्छन् । त्यसैले झुटो बोल्नु भनेको उनीहरुका लागि कुनै अनैतिक कुरा होइन । दोस्रो, झुटो बोल्नेहरु प्रायः दवावमा हुन्छन् । जस्तो कि, उनीहरुलाई चिन्ता, डर र आफ्ना कुरा अरुलाई थाहा होला कि भनेर अलि बढी नै चासो हुन्छ । यही चिन्ता, डर र चासोका कारण उनीहरु दवावमा हुन्छन् । बारम्बार ढाँट्ने बानी हुनेहरुले त आफ्नो नियन्त्रणमा सबै थोक छ भन्ने सन्तुष्टि लिन, आनन्द महसुस गर्न पनि झुट बोल्छन् । रोचक कुरा त के छ भने, बारम्बार झुट बोल्नेहरुले आफू झुटो बोल्छु भनेर अरुसँग स्वीकार गरिरहेका पनि पाइन्छन् । यदि स्वीकार गर्दा हानी हुँदैन भने अस्वीकार गर्नुको के फाइदा ?
यदि तपाईंले बारम्बार झुटो बोल्ने व्यक्तिसँग संगत गरिरहनु भएको छ भने बुझ्नुस्, तिनमा गज्जबको सामाजिक हुने क्षमता छ । तिनमा दिमागको प्रयोग गर्ने शक्ति पनि अलि बढी नै हुन्छ । उदाहरणका लागि, झुटो बोल्नका लागि तपाईंको स्मरण क्षमतालाई बढीभन्दा बढी प्रयोग गर्नुपर्ने हुन्छ । यो तपाईंको सामान्यज्ञानसँग सिधा सम्बन्धित छ । यो कुरा न्युरोसाइकोलजिकल प्रमाणले देखाइसकेको कुरा हो ।
चर्चित साहित्यकार जोनाथन स्विफ्टले पनि भनेका छन्, ‘एउटा झुटो लुकाउन कम्तीमा २० वटा अरु झुटो बोल्नु पर्छ ।’ विश्वासिलो झुटो बोल्नका लागि पनि स्पष्ट कल्पनाशीलता चाहिन्छ । सत्यलाई बङ्ग्याउन त झन् ठूलो कल्पनाशीलता चाहिन्छ । त्यसैले सिर्जनशील मानिस र नयाँ विचार उत्पन्न गर्ने मानिसहरु सबैभन्दा अविश्वासिला हुन्छन् । हालै फ्रान्सेस्का गिनो र डान एरिलेले गरेको अध्ययनमा के पाए भने, ‘सिर्जनशील व्यक्तित्व र सिर्जनशील दिमागले आफ्नो व्यवहारलाई प्रमाणित गर्नुपर्ने अवस्थामा अनैतिक व्यवहार प्रदर्शन पनि गर्न सक्छन् ।’
यसका अतिरिक्त प्रभावशाली झुटा मानिसहरुमा ‘इमोसनल इन्टेलिजेन्स’को तह अरुको भन्दा बढी हुन्छ । यो इमोसनल इन्टेलिजेन्सका माध्यमले सम्वाद प्रभावशाली बनाउने, आफ्ना दर्शकहरुको प्रतिक्रिया तत्काल बुझ्ने, आफ्ना शारीरिक हाउभाव प्रभावशाली वा विश्वासिलो नलागे तत्काल सच्याउने जस्ता कार्य गर्न सक्तछन् ।
प्रायः झुटो बोल्नेहरुले आफूले बोलेको कुरा सत्य हो कि होइन भनेर तिनलाई विश्वासिलो बनाउन विशेष कुरामा जोड दिँदैनन् । मानौं, मैले तपाईंलाई भनें– ‘तपाईंसँग काम गर्न मलाई मज्जा लागिरहेको छ ।’ अघिल्तिरको मानिसले त्यसलाई पत्याएन भने उसले पत्याएको होस् कि नहोस्तर्फ मलाई कुनै चासो हुँदैन । मात्र म लगातार आफूले भनेको पहिलो कुरालाई ध्यानमा राखेर काम गर्दा मज्जा आएको भान पारिरहेको हुन्छु ।
कामको सिलसिलामा झुटो बोल्ने मानिसहरुले समस्यामा पारिदिन सक्छन् । त्यसैले तिनको झुटो बोल्नबाट रोक्नका लागि उनीहरुले झुटो बोलेको थाहा पाउनेबित्तिकै त्यसलाई रोक्नु सबैभन्दा उत्तम उपाय हो । यसो गर्दा झुटो बोल्नेले थाहा पाउँछ, ‘मैले सोचेजस्तो बेकुप चाहिँ यो होइन रहेछ ।’
कहिलेकाहीँ मात्रै झुटो बोल्ने मानिसहरुले विविध मनोवैज्ञानिक समस्या समाधानका लागि छोटो अवधिको झुटो बोल्ने गर्छन् । यस्तो झुटा मान्छेले डरका कारण बोलिरहेका हुन्छन् । कहिलेकाहीँ झुटको अहम् तुष्टिका लागि पनि बोल्ने हुन्छन् । कहिलेकाहीँ तपाईंलाई साथीले  सोध्यो, ‘तपाईंले फलानो किताब वा फिल्म हेर्नुभयो ?’ तपाईंले तत्कालै ‘पढें÷हेरें’ भन्नुहुन्छ । यस्तो किन गर्नुहुन्छ ? ताकि तपाईं हेयको भावनाबाट बच्नुहोस् । त्यसबाट बच्नका लागि झुटमाथि झुट बोल्नुपर्ने हुन्छ र यसले तपाईंको असुरक्षाको भावनालाई अझ बढाउँछ । तपाईंको झुटो पत्ता लाग्यो भने ? भन्ने डरका कारण तपाईंले भविष्यमा अझ बढी झुटो बोल्ने सम्भावना बढाउँछ ।
असुरक्षामा आधारित झुटोले मूलतः आफ्नो हैसियत बढाओस् भन्ने चाहना राख्ने गरेको हुन्छ । आफू वरिपरिका व्यक्तिहरुसँग नजिकको सम्बन्ध गाँस्नका लागि यस्तो झुटो बोल्ने गरिन्छ । कुनै साथीहरुको भिडमा आफू मिसिनु छ भने ‘फलानो’ साथीका कुरा काटेर अर्को साथीसँग नजिक बन्नु पनि यसैमा पर्दछ ।
झुटो बोलेर नजिक हुन चाहनेहरुसँग कसरी व्यवहार गर्ने त ? तिनलाई आश्वस्त पारेर । झुटो नबोले पनि उनीहरु साथी नै हुन्छन् भनेर तिनलाई जनाउ दिन सकिन्छ । आफूलाई असुरक्षित महसुस गर्नेहरु आफैँप्रति कडा आलोचक हुन्छन् । उनीहरुको मानसिक क्षतिलाई ठाउँमा ल्याउनका लागि लामो समय र परिश्रम आवश्यक पर्छ । त्यसैले त्यस्ता मानिसलाई बुझाउनुस्, उनीहरु के हुन चाहन्छन् भन्दा पनि के हुन् भन्ने कुरालाई तपाईं महत्व दिनुहुन्छ । त्यसका लागि झुटो बोलिरहनु पर्दैन भन्ने बुझेपछि उनीहरुले क्रमशः झुटो बोल्न छाड्छन् ।
बारम्बार झुटो बोल्ने वा असुरक्षाका कारण झुटो बोल्ने दुवै किसिमका मानिसले ज्यादै सजग हुनुपर्ने कुरा के छ भने, अरुलाई झुटो बोल्नु भनेको आफैंलाई छक्याउनु हो । झुटो बोल्नु भनेको जानजान सत्यलाई बंग्याउनु हो । फ्रेडरिक नित्सेले भनेका छन्, ‘झुटो बोल्नेले सुरुमा आफूलाई झुटो बनाउँछ, अरु त कहिलेकाहीँ मात्रै झुटो बनिने हुन् ।’ दुवै किसिमका झुटा मानिस (बारम्बार झुटो बोल्ने वा असुरक्षाका कारण झुटो बोल्ने)ले झुटो बोलेर आफैँलाई धोका दिइरहेका हुन्छन् । थुप्रै मनोवैज्ञानिक अध्ययनले के देखाएका छन् भने, ‘धोकाले तपाईंलाई फाइदा त देला तर इमान्दारिताका अवस्थामा पनि तपाईं धोकेबाज नै देखिनुहुन्छ ।’
साहित्यकार जर्ज अरवेल भन्छन्, ‘यदि तपाईं कुनै कुरा गोप्य राख्न चाहनुहुन्छ भने त्यो कुरा स्वयं तपाईंलाई पनि थाहा हुनुहुँदैन ।’ झुटो बोलाइले तपाईं स्वयंलाई झुटो प्रमाणित गरिरहनु भएको हुन्छ । आफैँलाई त्यो कुरा मान्न बाध्य पारिरहनु भएको हुन्छ । यस्तो अवस्थामा प्राविधिक रुपमा उनीहरु सत्य नै हुन्छन् । उनीहरु सत्य हेर्न चाहँदैनन् वा सत्य बुझ्न असमर्थ हुन्छन् ।
यस्तो अवस्थामा कुनै साथीलाई तपाईंले झुटो प्रमाणित गर्नुअघि के कुरामा ख्याल राख्नुपर्छ भने, ऊ जानजान उसले अरुलाई भ्रमित पारिरहेको छ, झुटो बोलिरहेको छ कि उसको गलत बुझाइका कारण उसले झुटो बोलिरहेको छ ।
हामी सामाजिक प्राणी भएकाले कहिलेकाहीँ ‘सफेद झुट’ बोल्नुपर्ने हुन्छ । अर्थात्, त्यस्तो झुटो कुरा जसले अरुलाई हानी नपु¥याओस् । ‘क्या गजबको खाना पकाइछौ’, ‘यो लुगाले तिम्लाई क्या सुहायो !’ जस्ता झुटो बोल्दा फरक पर्दैन । सफल मानिसले कहिलेकाहीँ ज्यादै इमान्दार हुने नाममा तीतो सत्य बोलिहाल्नु हुँदैन ।
कसैले झुटो बोल्नेबित्तिकै हामी तत्कालै रिसाइहाल्छौं तर बेइमानीका कैयौं तह हुन्छन् भन्ने हामीले बुझ्नु पर्छ । कहिलेकाहीँ झुटले पनि कैयौंलाई प्रेरणा दिइरहेको हुन्छ, सकारात्मक परिणाम दिइरहेको हुन्छ । अनि, झुटो कुरालाई पनि विविध किसिमले प्रतिक्रिया दिन सकिन्छ । झुटो बोल्दा आफूलाई धोका भएको र आफूलाई होच्याएको महसुस हुँदा हामीले तत्काल प्रतिक्रिया व्यक्त ग¥यौं भने त्यस्ता कुराले तपाईंलाई नै घाटा पर्न सक्छ । बरु तिनलाई त्यो बेला सफलै महसुस गराएर उसलाई असफल बनाउन सक्नुहुन्छ ।
अनुवाद : अच्युत कोइराला

डा. थोमस चमेरो–प्रिमुसिक युनिभर्सिटी कलेज लण्डनका बिजनेस साइकोलजीका प्राध्यापक हुन् । उनका पुस्तक कन्फिडेन्सः ओभरकमिङ लो सेल्स–इस्टिम, इन्सेक्युरिटी एन्ड सेल्फ–डाउटका लेखक हुन् । उनी मेटाप्रोफाइलिङडटकमका सहसंस्थापक पनि हुन् ।

Leave A Comment