‘जीवनै परिवर्तन गर्ने किताबचैँ पढिएको छैन’

बिहिबार, ०७ मङि्सर २०७४, ०३ : ३८ रेणु त्वानाबासु
‘जीवनै परिवर्तन गर्ने किताबचैँ पढिएको छैन’

पाँच वटा आख्यान प्रकाशन गरिसकेका राजेन्द्र पराजुली एउटा स्थापित साहित्यिक अनुहार हुन् । विकल्प यात्रा, जाडोमा भोक, सपनामा माक्र्स र शुक्रराज शास्त्रीको चस्मा कथा संग्रह तथा अनायिका उपन्यास र भ्रष्ट संवेदना कविता संग्रह उनको खातामा छन् । पराजुलीसँग शुक्रवारले गरेको पठन संवाद ।

अहिले पढ्दै गरेको पुस्तक ?
पल बिटीको ‘द सेलआउट’ र अर्चना थापाको ‘कठपुतला’ ।
जीवन परिवर्तन गरिदिएको पुस्तक ?
जीवनै परिवर्तन गरिदिने पढ्न नपाएको हो कि पुस्तक पढेर त्यस्तो महसुस चाहिँ भएको छैन है । साहित्य पढेर जीवनै परिवर्तन त होलाजस्तो पनि लाग्दैन । राम्रो पुस्तक पढेपछि पढुञ्जेल मजा आउने, दिमागलाई हल्लाउने त हुन्छ नै तर जीवनै परिवर्तन भने भएको छैन ।
काश, त्यो पुस्तक मैले लेखेको भए !
मलाई कहिलेकाहीँ कुनै कुनै साहित्य वा लेखकको लेखनी देख्दा त्यस्तो लाग्छ । मैले नै त्यो लेखेको भए हुन्थ्यो भन्ने लाग्छ । खासगरी सोसल रियालिजममा लेखिएका कैयौँ कथा वा पुस्तकहरु पढ्दा ती त मेरै देशको कथा हो, मेरै परिवेश र व्यक्तिहरु झलझली देख्छु । अनि काश, मैले त्यो लेखेको भए हुन्थ्यो जस्तो लाग्छ तर त्यो पहिल्यै लेखिसकिएको हुन्छ । खासगरी एन्टोन चेखवका कथाहरु पढ्दा त्यस्तो महसुस गराउँछन् । नेपालकै कैयौँ कथा वा लेखनी पढ्दा पनि मलाई त्यो फिल हुन्छ ।
मेरो लेखनीमा सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक वा लेखक ?
ममा भारतीय लेखकको थुप्रै प्रभाव छ । प्रेमचन्द, सहादत हसन मन्टोबाट म धेरै प्रभावित छु । सोसल रियालिजम मलाई मन पर्छ । अरु त्यस विधामा लेख्नेहरुले प्रभाव पार्ने गरेका छन् ।
सबैभन्दा कम चासोमा परेको महत्वपूर्ण पुस्तक ?
क्लासिक किताबहरु नयाँ पुस्ताले पढेको छैन, त्यो देख्दा मलाई चिन्ता लाग्छ । जनकलाल शर्माका थुप्रै पुस्तक नयाँ पुस्ताले नामै नसुनेका हुन सक्छन् । कतिपय निबन्ध त अखबारमै पनि छाप्न मिल्छ । त्यस्तै धच गोतामेका चर्चा कम भएका छन् । भाउपन्थीका पनि कथा पनि त्यस्तै देखिछन् । माधव पोखरेलका निबन्ध राम्रा हुन्छन् । मोहन शर्माका २०४० सालतिर लेखेको ‘जेमन्त’ नाटकको कुनै चर्चा हुँदैन तर त्यो ज्यादै स्तरीय र कलात्मक छ । दौलत विक्रम विष्टको ‘चपाइएका अनुहार’ पनि त्यस्तै पुस्तक हो । पाठयक्रममा नपर्ने पुराना पुस्तकको चर्चा नै हुँदैन । अहिलेका प्रकाशकहरुले रिप्रिन्ट गरेर चर्चामा ल्याइदिए हुन्थ्यो । राजेश्वर देवकोटाका पुस्तक पनि चर्चामा छैन । यिनीहरु जिम्मेवार लेखक हुन् । तिनका केही किताब त बुलन्दै राम्रा हुन्छन् । बिपी पनि राजनीतिमा नसम्झिने पात्र भएका भए उनका किताब हराउँथे होला । भवानी भिक्षु नै त्यस्ता पात्र हुन्, पोषण पाण्डे पनि त्यही वर्गका हुन् । हिजोआज त विद्यालय र कलेजमा पार्टीका कोटाबाट पर्ने साहित्यकारका पुस्तकका मात्र चर्चा हुन्छन् । यसले हाम्रो साहित्य धरोहर नष्ट हुने सम्भावना बढेर गएको छ ।
पछिल्लो एउटा पुस्तक जसले मलाई रुवायो ?
पहिला त पढेर रुने थुप्रै साहित्य थिए । मुनामदन, गौरीले मलाई धर्धरी रुवाएका थिए तर हिजोआज पढेर रोएको भने छैन । कतिपय आत्मकथा पढेर रोएको थिएँ तर पछिल्लो समय हँसाउने आत्मकथा बढी छन् । किन थाहा छ ? उनीहरुको वास्तविकता एउटा हुन्छ, लेखेको अर्को हुन्छ ।
पछिल्लो पटक पढेको एउटा पुस्तक जसले मलाई मज्जैले हँसायो ?
तरुण जे. तेजपालको ‘द केमेस्ट्री अफ डिजायर’ले बीचबीचमा हँसायो तर पूरै हँसाउने किसिमको उपन्यास भने होइन ।
पछिल्लो एउटा पुस्तक जुन पढेर मैले कपाल भुत्ल्याएँ, किन पढेछु भनेर पछुताएँ ?
त्यो त मैले नाम लिन र भन्न मिल्दैन । भनेँ भने मलाई कुटेर मार्छन् । अँहँ, भन्नै मिल्दैन । पढ्दापढ्दै मैले आफ्नै कपाल लुछेका किताब थुप्रै छन् । एक त पैसा हालेर किताब किन्नु छ, पढ्दा पनि उल्टै पछुताउनुछ । दिक्दारै लागेका कैयौँ पुस्तक छन् ।
ती पुस्तक जो मैले कहिल्यै अन्त्यसम्म पढ्न सकिनँ ?
केही किताब मन परेर आधा पुगेर छोडेका छन् तर मन नपरेर होइन । पछि फेरि पढूँला भन्ने लागेर छोडेका छन् । अहिले सम्झँदा तीमध्येको एउटा भारतीय लेखक पी. साइनाथको ‘एभ्रीबडी लभ्स अ गुड ड्राउट’ हो । यो ७५ प्रतिशत पढेर छाडेको छु । पछि पढ्छु ।
नराम्रा किताब चाहिँ म बरु पढ्नै बस्तिनँ । त्यसैले आधामै छाड्नु पर्दैन वा अन्त्यसम्मै पढ्नलाई कुर्नु पर्दैन । सुरुमा तान्यो भने किताब अघि बढ्यो, तानेन भने पढ्दिनँ ।
पढ्न नपाएर लज्जित तुल्याएको त्यो पुस्तक ?
मान्छेले पढ्छन्, कुरा गर्छन्, आफूले पढेको हुँदैन । त्यस्ता किताब थुप्रै हुन्छन्, छन् । अरुन्धती रोयको ‘मिनिस्ट्री अफ अटमोस्ट ह्यापिनेस’मा त्यस्तै भएको छ । कतिपय नोबेल पुरस्कार पाएका वा चर्चित पुरस्कार पाएका अन्य कैयौँ किताब पनि भनेका बेला पढ्न पाइँदैन । ओह्रान पामुकको ‘माइ नेम इज रेड’ पनि त्यो पुस्तक हो । त्यस बेला चाहिँ लज्जितै भइन्छ ।
मैले प्रायः उपहारमा दिइरहने पुस्तक ?
‘उलार’ । नयनराज पाण्डको यो पुस्तक मैले धेरैलाई उपहारस्वरुप दिएको छु तर त्यो धेरै वर्षअघि दिएको थिएँ । हिजोआज चाहिँ त्यस्तरी उपहार दिइएको छैन । अर्को चाहिँ महिलाहरुलाई तेहमिना दुर्रानीको ‘माई फ्युडल लर्ड’ पनि उपहारमा दिएको छु ।

Leave A Comment