इटहरीमा घुम्नै पर्ने ठाउँ

बिहिबार, ०७ मङि्सर २०७४, ०२ : ५९ शुक्रवार
इटहरीमा घुम्नै पर्ने ठाउँ

‘नजिकको तीर्थ हेला’ भन्ने नेपालीमा कथन छ । यही कथनसँग मिल्दो गरि हरेक मानिस आफू बसेको स्थानभन्दा टाढा टाढा घुम्न रुचाउँछन् ।  व्यस्त समयबाट अलिकति फुर्सद निकालेर रमाउन मानिसहरु आफुले मन पराएको ठाउँ घुम्न जाने गर्छन् । ‘सुनेर जानकारी हुन्छ, देखेर विश्वास गरिन्छ र गरेर सिकिन्छ’ भन्ने धारण अनुसार हरेक मानिसले ज्ञान सिक्ने एउटा प्रक्रिया भ्रमण पनि हो । अझ विद्यार्थीका लागि भ्रमण ज्ञान आर्जनका लागि भ्रमण महत्वपूर्ण हुन्छ । जसले गर्दा विद्यार्थी शैक्षिक भ्रमण गर्न प्रतिक्षामा हुने गर्छन् । पूर्वकै केन्द्रमा पर्ने इटहरी आउँदा घुम्नै पर्ने ठाउँहरु छन् । ती ठाउँहरु घुम्न नभुलौं ।
तालतलैया : तालतलैया मनोरम पर्यटकीय ठाउँहरुमध्येमा पर्छ । इटहरीको चौरास्त चोकदेखि सात सय मिटर पूर्वबाट उत्तर पाँच किलोमिटर पार गरेपछि पुगिने तालतलैयामा विदेशी र स्वदेशी कलाकारले निर्माण गरेका ढुंगाका आकर्षक मूर्ति भेटिन्छन् ।
ढुंगाका मूर्तिबाहेक तालतलैया आफैमा एक प्राकृतिक मनोरम ठाउँ हो । यहाँ चिडिया घर, वन भोज स्थलका मनोरम स्थल छन् । यहाँ पिङ, चर्खेपिङ, बालबालिकाका लागि खेल स्थान निर्माण गर्नुका साथै जंगली जनावर समेत राखिएको छ । यहाँ भएका मृग, बाह्रसिंगे, अस्ट्रिज, अजिंगर, चरीबाघ, विभिन्न प्रजातीका मुसा, स्याल ,मयुर, बादरलगायतलाई हेर्नका लागि विशेषगरि शैक्षिक संस्था विदा र शनिबारका दिन विद्यार्थीको जमघट हुने गर्छ ।
मेचीकाली पोखरी : नदीहरु, तालतलैया, झरनाहरुलगायतका दृश्यावलोकन गर्न सकिने थुप्रै स्थलहरु छन् । यस्तै ठाउँहरुमध्ये इटहरी उपमहानगरपालिका परिसरमै मेचीकाली पोखरी छ । पोखरीको बीचमा आकर्षक मन्दिर छ । उपमहानगरपालिका पुग्ने सेवाग्राही त मेचीकाली पोखरीसँगै पोखरीदेखि आकर्षित हुने नै भए । यसलाई टाढा टाढाबाट योजना बनाएरै हेर्न आउने पनि हुन्छन् ।
गोरखा डिपार्टमेन्ट: पूर्वका शहरमा खुलेका डिपार्टमेन्टमध्ये गोरखा डिपार्टमेन्ट इटहरी पनि घुम्नै पर्ने ठाउँमा पर्छ । यहाँ भारतको केही स्थानका तथा नेपालका झापा, सप्तरी, धरान, विराटनगरसँगै वरपरका गाउँ–गाउँबाट सामान खरीद गर्न आउने गरेका छन् । यहाँ सबैभन्दा बढी खाद्यान्न सामग्री बिक्री हुने गरेको प्रोपाइटर बलराम आचार्यले बताए । डेढ दसकअघि खुलेको यो डिपार्टमेन्टर स्टोरको सिको गर्दै इटहरीमा सनराइज डिपार्टमेन्ट, भूपू गोरखा, पान्डालगायतका डिपार्टमेन्ट स्टोर छन् । तरहरामा पनि दुईवटा डिपार्टमेन्ट खुलेका छन् ।
बुढीगंगा जमूना मुक्तिघाट : धार्मिक, पर्यावरणीय, ऐतिहासिक, कृषि, स्वास्थ्य, शिक्षालय, वन, घरेलु उद्योग आदि क्षेत्रमा डुल्दा राम्रो हुन्छ । घुम्दा महत्वपूर्ण स्थलहरुको भ्रमणले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुने गर्छ । इटहरीकै बुढीगंगा जमुना मुक्तिघाट घुम्दा धार्मिक पर्यटकीय स्थलको विकास हुनेछ । सुनसरी–मोरङको सीमा छुट्याउने बुढी खोला नदीको पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरतर्फको तटीय क्षेत्रमा पाँच बर्षको छोटो अवधिमा व्यवस्थित आर्यघाट निर्माण भएको हो ।
इटहरी मल : इटहरीमा २५ करोड रुपैयाँको लगानीमा राजधानी बाहिर पहिलोपटक ‘इटहरी मल’ पनि अर्को आकर्षणको केन्द्र हो । सात तल्लाको इटहरी मल आइ सिनेमा रहेको छ। मुभिज इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक युवा व्यवसायी रेवतीरमण दुलालको एकल लगानीमा इटहरी मल निर्माण पूरा फिल्म प्रदर्शन दुई बर्ष अघि देखि नै गर्न थालिएको हो ।
ओसियन पार्क : सर्वाधिक राम्रो वाटर किङ्डम सुविधा भएको ओसियन पार्क इटहरीमै  छ। यहाँ स्वीमिङ् गर्नका निम्ति पूर्वका विभिन्न स्थानबाट बाक्लो जमघट लाग्ने गरेको छ। ओसियन पार्कमा शनिबार र सार्वजनिक विदाका दिन त झनै सहभागीको चाप थामि नसक्ने गरि हुने गर्छ ।
चिन्चन चौतारी : घुम्दा आनन्द दिने ठाउँसँगै फरक खाले कलात्मक सजि सजावटले भरिएको चिन्तन चौतारी होटल छ । यो होटलमा शहरभित्र पृथक खाले होटल भएको महसुस हुन्छ । किन किन यसमा संस्कृति, परम्परा र रहनसहन झल्कने कटेजसँगै कलात्मक दृश्यले सजिएको  छ। होटल राप्रपा नेपाल प्रजातान्त्रिकका वरिष्ठ नेता तथा पूर्व सांसद रामकुमार सुब्बाको हो ।  राजनीति गर्नकै लागि उनले जग्गाजमीन विक्री गरेर पनि पैसा खर्चिए । २०६४ सालदेखि भने इटहरीमा एक करोडभन्दा बढीको लगानीमा  होटल खोलेर त्यसैको आम्दानीले राजनीतिमा खर्च धान्दै आएका छन् । होटल  छोरी र वुहारीले सम्हालेका छन् भने २० जनाले नियमित रोजगारी पाएका छन् ।

 होटल स्कुल प्रिमियर : यहाँ नयाँ खुलेको प्रिमियर होटल स्कुल पनि हो । प्रिमियर स्कुलले स्वेदश तथा विदेशमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न र डिप्लोमा तहको किचन म्यानेजमेन्ट तथा जेनेरल होटल म्यानेजमेन्टको तालिम दिन्छ । साथै, खानपान र बसोबासका लागि अलगै रेष्टुरेन्ट छ । यो रेष्टुरेन्ट पनि इटहरीमा अलगै खालको छ ।
पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र : कृषि क्षेत्रका लागि पूर्वाञ्चल क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि इटहरीकै तरहरामा छ। तरहरा विभिन्न खाले अनुसन्धान गरेर ज्ञान आर्जन गर्ने  केन्द्र हो । कृषि अनुसन्धान केन्द्र नेपालको कृषि अध्ययन गर्ने विद्यार्थीका लागि विशेष स्रोत केन्द्रको रुपमा मानिन्छ ।
स्किल क्याम्पस इटहरी : स्वदेश तथा विदेशमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नेसँगै प्राविधिक सीपमूलक होटल म्यानेजमेन्टको कक्षा सञ्चालनका लागि इटहरीमै स्किल क्याम्पस पनि छ । यो कलेजमा एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्टमा दुई बर्षे, डिप्लोमा इन होटल म्यानेजमेन्ट १५ महिने, डिप्लोमा इन कलिनरी आर्टस (कुक) एक बर्षेसँगै कफि मेकिङ्, हाउँस किपिङ्जस्ता तालिम हुने गरेको छ ।

Leave A Comment