१०१ वर्षे जम्ल्याहाको जन्मदिन

बिहिबार, ०७ मङि्सर २०७४, ०१ : ५९ शुक्रवार
१०१ वर्षे जम्ल्याहाको जन्मदिन

बेलायतका सबैभन्दा पाको उमेरका जम्ल्याहा दिदी बहिनीले १०१ वर्षको उमेरमा जन्मदिन मनाएका छन् । इरेनी क्रम्प र फिलिस जोन्सले वोरचेस्टरस्थित टोरपोर्ट–अन–सेभर्नमा गत आइतबार आफ्नो जन्मदिन मनाएका हुन् । तामझम सहित जन्मदिन मनाइरहँदा फिलिसका छोरा कार्लले भने, ‘अर्को वर्ष फेरि अर्को मैनबत्ती सजाउनुपर्यो भने म आत्तिन्छु होला ।’ बगैंचामा गोडमेल गर्दा जम्ल्याहा रमाउने उनका छोरा बताउँछन् ।
आठ वर्षदेखि सँगै बस्दै आइरहेका इरेनी र फिलिस सन् १९१६ मा २५ मिनेटको अन्तरालमा जन्मेका थिए । एउटै स्कुल गएका उनीहरुले पहिलो काम पनि एकैसाथ गरेका थिए । अझ उनीहरुले आफूहरुको मध्य नाम एकअर्काको राखेका छन् । फिलिसका ५९ वर्षे छोरा कार्ल थप्छन्, ‘उहाँहरुको बेलाबेला ठाकठुक पर्दछ तर केहीबेरमै मिली हाल्नुहुन्छ । उहाँहरु एकअर्कालाई खुब माया गर्नुहुन्छ ।’
पहिलो कामका रुपमा पोरसेलिन उत्पादक अफिसमा काम गरेका थिए उनीहरु । इरेनीले किसान स्यामुयल क्रम्पसँग विवाह गरेकी थिइन् । तर स्यामुयल ९० को हाराहारीमै सन् १९९९ मै स्वर्गवास भएका थिए । यता फिलिसका पति रे जोन्स भने ९१ वर्षको उमेर सन् २००६ मा बितेका थिए । केही माइल टाढा रहेका उनीहरु पति वियोगपछि नै सँगै बस्दै आइरहेका छन् । जम्ल्याहा मध्येकी कान्छी इरेनीका कुनै सन्तान छैनन् । पतिको बिमारकै कारण उनका सन्तान नभएका हुन् । आफूहरु लामो समय बाँच्नुमा कडा परिश्रम र स्वस्थ खानाको सेवन भएको बताउँछन् उनीहरु । आफूहरु आजभोली छोरा कार्ल र बुहारीसँग मिठामिठा गफ गर्दै बस्ने बताउँछन् । इरेनी आफ्नो विगत सम्झदै भन्छिन्, ‘विवाह गर्दा म २५ वर्षकी थिएँ । त्यतिबेला म खेती किसानी नै गर्थेँ । हाम्रो धेरै चौपाया थिए । सुँगुर, भेंडा र कुखुरा हामीले पालेका थियौं । मैले आलु, गहुँ र उखु सबै लगाएकी थिएँ ।’

Leave A Comment