चुनावी मैदानका हेभिवेट

बिहिबार, ०७ मङि्सर २०७४, ०१ : ४९ विश्वमणि पाेखरेल
चुनावी मैदानका हेभिवेट

सिन्धुपाल्चोकमा बाहुबलीको भीडन्त
सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्ट्र्ेसन (सेडा)को कार्यकारी निर्देशकको पद छाडेर ४० वर्षअघि पंचायती राजनीतिमा हाम फालेका राप्रपा अध्यक्ष पशुपति शम्सेर जबरा र विद्यार्थी राजनीतिबाट उदाएर एमाले पार्टीका दस्तावेजहरू तयार गर्ने कोर टिमका सदस्य शेरबहादुर तामाङ सिन्धुपाल्चोक २ को चुनावी मैदानमा भिडदै छन् । ७६ वर्षीय पशुपति र ४६ वर्षका शेरबहादुरको राजनीतिक आरोह, अवरोध र प्रतिस्पर्धाका कथाहरू छन् । अधिकांश जनजातिको बसोबास रहेको यस क्षेत्रमा तामाङको बसोबास ४० प्रतिशत छ । उनीहरु यहाँका निर्णायक हुन् । स्थानीय तहको निर्वाचन परिणाममा राप्रपा, कांग्रेस, एमाले, माओवादीका मतदाताबाट उम्मेदवारले पाएको मत आँकलन गर्दा वाम गठबन्धनका उम्मेदवार तामाङको पल्ला भारी देखिन्छ तर प्रतिनिधिसभाको चुनावलाई लिएर तातेको राजनीतिले स्थानीय तहको आँकडा भत्काउने देखिदैछ । कारण, दुवै जना नेता आफ्नो जीतमा ढुक्क छैनन् । पशुपतिले आफ्नो वर्चस्वका साथ कांग्रेसको साथ पाएका छन् । पंचायतका तीन पटक राष्ट्रिय पंचायत सदस्य बनेका उनी सिन्धुपाल्चोकको तत्कालीन ३ नम्बर क्षेत्रबाट  २०४८, २०५१ र २०५६ को चुनावमा विजयी भएका थिए तर पशुपति शम्सेर दुवै संविधानसभा निर्वाचनमा भने पछाडि परे । पहिलो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार दावा लामाबाट पशुपति र शेरबहादुर दुवै पछारिएका थिए । पहिलो संविधानसभा चुनावमा शेरबहादृर पशुपतिभन्दा करिब चार हजार मतले अगाडि थिए भने दोस्रो संविधानसभा चुनावमा पशुपतिको भन्दा करिब २ हजार बढी भोट पाएर विजयी भए । दाबा अहिले २ नम्बर क्षेत्रअन्तर्गत प्रदेशसभाको २ खको उम्मेदवार छन् । अहिले तिनै शेरबहादुर जो बाम गठबन्धनका उम्मेदवारको पशुपतिसँग तीव्र प्रस्तिस्पर्धा छ । एमालेको युवा संघको राजनीतिक करिअरबाट एमालेको राजनीतिमा उदाएका तामाङ २०५६ मा भने मालेबाट उम्मेदवार बनेर पराजित भएका थिए ।
तीन क्षेत्र रहेको सिन्धुपाल्चोकमा अहिले दुइटा मात्र छन् । २ नम्बर क्षेत्रमा पुरानो ३ का सबै र २ नम्बर क्षेत्रको आधा जसो भूभाग पर्छ । उता १ नम्बर क्षेत्रमा भने पुरानो १ नम्बरको पुरै र २ नम्बरको आधाजसो भूभाग परेको छ ।
दोस्रो संधिवानसभा चुनावमा सिन्धुपाल्चोक १ बाट कांग्रेसका मोहनबहादुर बस्नेत, २ बाट माओवादीका पोलिटब्युरो सदस्य अग्नि सापकोटा र ३ बाट एमालेका शेरबहादुर निर्वाचित भएका थिए । अहिले क्षेत्र नं १ मा कांग्रेसका मोहन बहादुर र माओवादीका अग्निबीच चर्को प्रतिस्पर्धा छ । स्थानीय तह निर्वाचनको मतपरिणामले अग्निलाई उत्साहित बनाएको हुनुपर्छ तर स्थानीय तहको चुनावमा बिग्रिएको कांग्रेसको मत सम्हालिने अपेक्षा कांग्रेसको छ । दोस्रो संविधानसभा चुनावमा ३२ भोटले एमालेका अरुण नेपाल विजयी भएका थिए तर यतिबेला मोहन बस्नेतले साम, दाम, दण्ड, भेदका सबै नीति अख्तियार गरेका छन् । उता पहिलो, दोस्रो र तेस्रो  चुनावमा बाजी मारेका अग्निले पनि सबै अस्त्र प्रयोग गरेका छन्, मोहनसँगको भिडन्तमा । पहिलो संविधानसभा निर्वाचनमा करिब ३० हजार मत एमालेका सुभाष कर्माचार्यभन्दा करिब २० हजार बढी मतले विजयी अग्नि दोस्रो संधिवानसभा चुनावमा भने एमालेका सुभाषभन्दा करिव ७ सय बढी करिब १२ हजार ८ सय मत पाएर विजयी भएका हुन् । उता पहिलो संविधानसभा निर्वाचनमा त्यसबेलाको १ नम्बर क्षेत्रमा करिब ७ हजार मत पाएर तेस्रो स्थानमा रहेका बस्नेत दोस्रो संविधानसभा निर्वाचनमा १५ हजार हाराहारी मत पाएर जितेका हुन् । अहिलेको १  नम्बरमा पुरानो १ नम्बरको सबै र २ नम्बरको आधा भूभाग परेको छ । अग्निका लागि पुरानो १ नम्बरका मतदाता नयाँ हुन् भने मोहनका लागि २ नम्बरबाट आएको क्षेत्र नयाँ हो ।  दुवै नेताले पैसाको खोलो बगाएको, बलबाहुको राजनीतिलाई उच्च महत्व दिएका छन् । दुवै आशावादी छन् तर जित्ने कुरामा ढुक्क छैनन् । स्थानीय दुवै नेता खुकुरीको धारबाट हिँडिरहेका छन् ।
गोरखामा बाबुरामको परीक्षा
२०१५ सालको संसदीय निर्वाचनमा मुलुकभर कांग्रेसको पक्षमा माहोल चलेका बेला कांग्रेसका हेभिवेट नेता कृष्णप्रसाद भट्टराई र लालध्वज गुरूङ (२०१८ सालमा सहादत) लाई हराएर नेपाल राष्ट्रवादी गोरखा परिषदका विश्वनाथ सुवेदी र कोमलबहादुर कुँवरलाई विजयको माला पहि¥याउने गोरखाली (गोरखा उत्तर र गोरखा दक्षिण)ेले जनमत संग्रहमा २०३६ मा निर्दलीय व्यवस्थाको पहेलो रङ रोजे । तिनै गोरखालीले २०४६ को जनआन्दोलनपछिका तीनवटै संसदीय निर्वाचनमा कांग्रेसलाई जिताए । यता पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा माओवादीलाई विजयको माला लगाए । कहिले सत्ता राजनीति र कहिले प्रतिपक्षी राजनीति रोज्ने गोरखालीले मंसिर १० को निर्वाचनमा कसकसलाई विजयी गराउने हुन् ? माओवादीबाट अलग भएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराई कांग्रेसको आडमा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनको उम्मेदवार बनेर कुनै बेलाका सहकर्मी आपसमा आपसमा भिड्दै छन् । वाम गठबन्धनले गोरखा २ को मैदान नछोडेपछि  गठबन्धन लत्याएर कांग्रेसको काखमा पुगेका बाबुराम जो दुवै संविधान सभामा निर्वाचनमा गोरखा २ बाट अत्यधिक मतले जितेका थिए, उनी एकातिर छन् । माओवादीमा रहँदा  समवयी उपाध्यक्षको भूमिकामा रहेका नारायणकाजी बाबुरामको ‘किल्ला’मा धावा मार्न पुगेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका उम्मेदवार सुभाषचन्द ठकुरीबाट पराजित श्रेष्ठ अहिले गोरखा २ बाट एमाले माओवादीका साझा उम्मेदवार छन् । माओवादी र नयाँ शक्तिको भिडन्तका कारण अधिकांश तहमा बाजी मारेको कांग्रेस अहिले २ नम्बरबाट बाबुरामलाई जिताउने र १ नम्बरबाट आफ्नो उम्मेदबार चीनकाजी श्रेष्ठलाई प्रतिनिधिसभामा पठाउने राजनीति अख्यिार गरिरहेको छ । ठूलो प्रचारसहित नयाँ शक्ति गठन गरेर थरिथरिका प्रयोग गर्दै बाबुराम अहिले आफ्नो गृह जिल्लामा खुम्चिएका छन् । नयाँ शक्तिका स्थानीय नेता, कार्यकर्ता जसको पृष्ठभूमि बाबुरामजस्तै माओवादी हो । उनीहरूले  नयाँ शक्तिको आँखा र कांग्रेसको रूखमा मतदान गर्नुपर्ने पेचिलो अवस्था छ  । उता कांग्रेसजनले भने क्षेत्र नं. १ मा कांग्रेस आफैँ सम्हालिएर  चिनकाजीको पक्षमा मतदान गर्नुपर्ने र क्षेत्र नं. २ मा आँखालाई रोज्नुपर्ने हुन्छ । २०४६ पछिको प्रत्येक चुनावमा ठूलो मतअन्तरमा कांग्रेसलाई पछ्याउँदै आएको एमाले पहिलो र दोस्रो र दुवै संविधानसभा चुनावमा ठूलो मतान्तरका साथ तेस्रो स्थानमा रहेको थियो । अहिले एमालेका कार्यकर्ताहरू गोरखा १ मा माओवादीका हरि अधिकारी र २ मा नारायणकाजीलाई मत दिनुपर्ने स्थितिमा छन् ।
गोरखाको राजनीतिमा कांग्रेस, नयाँ शक्ति तथा  वाम गठबन्धनबीच  भिडन्त देखिदैछ । संविधानसभा निर्वाचनमा ३ वटा क्षेत्र रहेको गोरखामा अहिले २ वटा क्षेत्र मात्र छन् । पहिलो संविधानसभा निर्वाचनमा गोरखा १ बाट माओवादीका पार्वती थापा श्रेष्ठ, २ बाट खसेको मतको करिब ८२ प्रतिशत ४६ हजार मत ल्याएर बाबुराम भट्टराई र ३ नम्बरबाट माओवादीकै अमरबहादुर गुरूङ ‘तमु’ विजयी भएका थिए । पहिलो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी कांग्रेसको दाँजोमा तीनवटै क्षेत्रमा अत्यधिक (बाबुरामले ८ गुणा) मत ल्याएको माओवादीले दोस्रो संविधानसभामा तिनटै सिट कब्जा गर्न सके पनि निकै खस्किएको थियो । पहिलो संविधानसभा निर्वाचनमा गोरखा २ बाट ४६ हजार भोट ल्याउने बाबुराम दोस्रो संविधानसभा निर्वाचनमा २२ हजारमा खुम्चिएका थिए । पछिल्लो राजनीतिक समीकरण र बाबुरामको  गृह जिल्ला भएको नाताले क्षेत्र न २ मा बाबुराम बलियो रहेको चर्चा राजनीतिक वृत्तमा छ ।  क्षेत्र नं २ का चीनकाजीका सामुन्ने आफ्नै पार्टीको भोट सम्हाल्नुपर्ने चुनौती एकातिर छ भने माओवादी पृष्ठभूमिका तर अहिले नयाँ शक्तिको आवरणमा रहेका वामपन्थीको भोट लिनुपर्ने पेचिलो प्रश्न सामुन्ने छ । राजनीतिको चर्चामा रहेको गोरखा २ बाट बाबुराम निर्वाचित भएको अवस्थामा एकातिर नयाँ शक्तिको बीउ जोगिने हुन्छ भने अर्कोतर्फ नारायणकाजीको राजनीतिक उचाई छिमलिने देखिन्छ । नारायणकाजीले बाजी मारे भने बाबुरामका लागि ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भन्ने नेपाली उखान चरितार्थ हुन्छ ।  
नुवाकोटमा महत सामु वामगठबन्धनको चुनौती
नेपाली कांग्रेसका डा. रामशरण महत र अर्जुननरसिंह केसी, राप्रपाका प्रकाशचन्द्र लोहनी तथा माओवादीका पोस्टबहादुर बोगटीजस्ता केन्द्रीय नेताहरूको गृह जिल्लामा अहिले लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा छ ।  मंसिर १० मा हुने निर्वाचनमा कांग्रेसका महत र केसी, वाम गठबन्धनबाट माओवादीका हितबहादुर तामाङ र एमालेका नारायणप्रसाद खतिवडा प्रतिनिधिसभा चुनावको भिडन्तमा छन् । तीनबाट २ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा २०५१ को मध्यावधि निर्वाचनदेखि लगातार विजयको माला पहिरिएका कांग्रेसका डा. रामशरण महत यसपटक वाम गठबन्धनका उम्मेदवार माओवादीका हितबहादुर तामाङसँग भिडदै छन् । महत र तामाङ बीचको यो तेस्रो प्रतिस्पर्धा हो । नुवाकोटको २ नम्बर क्षेत्रबाट निर्वाचित हुँदै आएका महत यस पटक १ बाट उम्मेदवार छन् । पहिलो संविधानसभा निर्वाचनमा १ र ३ माओवादी तथा २ बाट महत निर्वाचित गरेका नुवाकोटेले दोस्रो संधिवानसभा निर्वाचनमा भने तीन वटै क्षेत्रबाट कांग्रेसका उम्मेदवार निर्वाचित गरेका हुन् । २०५१ र २०५६ को आम निर्वाचनमा एमालेसँग प्रतिस्पर्धा गरेका महतले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा माओवादीसँग भिडेका हुन् । पहिलो संविधानसभा चुनावमा १७ हजार ४ सय ४२ माओवादीका हितबहादुर भन्दा १०४ भोटले विजयी महत दोस्रो संविधानसभा निर्वाचनमा करिव १८ हजार ८ सय मत पाएर विजयी भएका हुन् । दोस्रो संविधानसभा चुनावमा हितबहादुरको मत करिव १५ हजारमा झरेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा माओवादी र एमालेका दुबै उम्मेदवारले पाएको मत भन्दा धेरै मत पाएका महत यस पटक तेस्रो पटक हितबहादुरसँग प्रतिस्पर्धा गर्दैछन् । एकातिर जिल्लाका दुई वटा नगरपालिकामा स्थानीय तह कब्जा गरेको एमाले र उसको माओवादीसँगको गठबन्धनको चुनौती महतलाई छ भने राप्रपा, नयाँ शक्तिले खुलेरै समर्थन गर्ने भएकलो केही भरथेग देखिन्छ ।
क्षेत्र नं. २ मा कांग्रेसका अर्जुननरसिंह केसी एमालेका नारायणप्रसाद खतिवडासँग भिड्दै छन् । पंचायतकालदेखि राष्ट्रिय राजनीतिमा छाएका केसी २०४८ र २०५१ को आम निर्वाचनमा नुवाकोट ३ बाट निर्वाचित भएका हुन् । पहिलो संविधानसभा चुनावमा माओवादी उम्मेदवार विमला सुवेदीबाट करिव ७ हजार मतले पराजित केसीले दोस्रो संधिवानसभा चुनावमा माओवादीकी तीनै विमलालाई करिव ७ हजार भोटले पछि पार्दै विजयी भएका हुन् । अहिले केसीसँग दोस्रो संविधानसभा चुनावमा कांग्रेसका बहादुरसिंह तामाङबाट पराजित एमालेका जिल्ला अध्यक्ष नारायण खतिवडा प्रतिस्पर्धामा छन् । दोस्रो संविधानसभा निर्वाचनको मतलाई आधार मान्दा नुवाकोटमा कांग्रेस, राप्रपाका मतदाता एमाले, माओवादीको तुलनामा करिब १२ हजारले बढी देखिन्छन् । वाम गठबन्धनसँगै कांग्रेसको आन्तरिक किचलो सङलिएको र स्थानीय चुनावको परिणामले हौसिएको  वाम गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिन्छ ।
रोल्पामा माओवादीलाई मैदान
माओावादी ‘जनयुद्ध’का बेला लालकिल्ला भनेर चिनिएको रोल्पामा यतिखेर प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लहर छ । माओवादी पोलिटब्युरो सदस्य वर्षमान पुन रोल्पाबाट निर्वाचित हुने कसरतमा छन् । वाम गठबन्धनका साझा उम्मेदरबार वर्षमानका प्रतिस्पर्धी निर्माण व्यवसायी अमर सिंह पुन छन् । पहिलो संविधानसभा चुनावमा जययुरी घर्तीलाई रोल्पा १ वा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई रोल्पा २ बाट चुन्ने रोल्पालीले दोस्रो संविधानसभा चुनावमा क्षेत्र १ बाट कृष्णबहादुर महरा र ओनसरी घर्तीलाई निर्वाचित गरेका थिए । दुवै संधिवानसभा चुनावमा केन्द्रीय स्तरका नेताहरू रोज्ने रोल्पालीले माओवादीलाई दिएको मतमा भने ठूलो अन्तर देखिन्छ । पुष्पकमलले करिव ३४ हजार र जयपुरीले करिब २६ हजार मत पाएका थिए २०६४ मा । २०७० को संविधानसभा चुनावमा भने महराले करिब ११ हजार र ओनसरीले करिब १५ हजार मात्र मत पाएका थिए । माओवादी क्रेज दोस्रो निर्वाचनमा आइपुग्दा निकै घटेको देखिन्छ । पहिलो संविधानसभा निर्वाचनमा करिब १५ हजार मत ल्याएर कांग्रेसका उदय शम्सेरसँगको करिब १ हजार ३ सय मतले ललितपुर १ बाट विजयी वर्षमान दोस्रो संविधानसभा चुनावमा मोरङ ९ बाट पराजित मात्र भएनन्, उनी करिब ८ हजार मतमा खुम्चिदै तेस्रो स्थानमा पुगे । यसपालि पहिलो पटक गृह जिल्लामा उत्रिएका वर्षमानका लागि वाम भोट विजयका लागि ठूलो आधार मानिए पनि आफ्नै पार्टीका नेता कृष्णबहादुर महरासँगको आन्तरिक संघर्षको प्रतिच्छाया कार्यकर्तामा कसरी पर्ने हो र एमालेका नेता कार्यकर्ताहरूले वाम गठबन्धनको केन्द्रीय आदेश कुन हदसम्म पालना गर्ने हुन् भन्ने कुरामा रोल्पाको चुनावी राजनीति चर्चामा छ । एमालेका गोकुल घर्ती आफ्नै रोल्पामा उम्मेदवारी पाउने राजनीतिमा थिए । रोल्पामा आफूले नपाएको अवस्थामा दाङ २ मा केन्द्रीय नेता शंकर पोखरेल हुनुपर्छ भन्ने घर्तीको सर्त थियो तर वाम गठबन्धनबाट रोल्पमा पुनः उदाए भने दाङ २ मा महराको उम्मेदबार बनेका छन् । एमाले र माओवादीको हिसाब किताबबाट  असन्तुष्ट पोखरेल दाङ २ ‘ख’ मा प्रदेशसभा उम्मेदवार छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै पोखरेलले आँसु झार्दै पार्टी अध्यक्षको निर्णय शिरोधार्य गरेको बताएका थिए । ओलीका प्रिय पात्र पोखरेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको आश्वासन देखाइएको छ भने रोल्पाका एमाले नेता घर्ती राष्ट्रियसभा सदस्यको आश्वासन पाएपछि मात्र औपचारिकता निर्वाह गर्दै वर्षमानको चुनावमा लागिपरेका छन् । प्रदेश ५ को क्षेत्रीय राजनीतिमा अर्थ राख्ने माओवादीका महरा र पुन, दाङलाई प्रदेश राजधानी बनाउनुपर्छ भन्ने एमालेका पोखरेल र रुपन्देहीको बुटबललाई प्रदेश राजधानी बनाउनुपर्छ भन्ने एमालेकै केन्द्रीय नेता विष्णु पौडेल बीचको गुट राजनीतिका कारण मैदानबाटै ‘सफाया’ बनाउने खेलहरूको प्रभाव आम कार्यकर्तामा कसरी र कुन रुपमा पर्ने हो, त्यसले रोल्पामा र दाङको चुनावी गणितमा फरक पार्ने देखिन्छ ।  
रुकुमको रमाइलो
प्रदेशको खाका कोर्दा रुकुमको पूर्वी भाग ५ नम्बरमा र पश्चिमी भूभाग ६ नम्बरमा राखियो । त्यसैले सिंगो जिल्ला दुईका प्रदेशमा बाँडिए । संविधानसभा चुनावहरूमा दुई निर्वाचन क्षेत्र रहेका रोल्पा, प्यूठानजस्ता पहाडी जिल्ला एक क्षेत्रमा सीमित हुँदा दुई प्रदेशमा विभाजित रुकुम  दुइटा जिल्ला बन्यो, दुइटा निर्वाचन क्षेत्र पायो । त्यसका पछाडि माओवादी स्थायी समिति सदस्य जनार्दन शर्माको हात थियो भनिन्छ । पूर्वी चितवन प्रदेश ५ मा छ भने पश्चिम रुकुम ६ नम्बर प्रदेशमा परेको छ । प्रदेश ५ मा माओवादी पार्टीका ठूला नेता भएकाले प्रदेशको राजनीतिमा हावि हुन जनार्दनले जिल्ला विभाजन गरेको राजनीतिक विश्लेषण छ । अहिले भने जनार्दन कुनै बेलाको माओवादी आधार क्षेत्र भनिने रुकुमको पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार छन् । प्रदेश राजनीतिको एक्लो खेलाडी बन्ने रणनीति अख्तियार गर्दै आएका जनार्दन चुनावी राजनीतिमा दोहोरो चुनौती झेल्दैछन् । एकातिर उनी नेपाली कांग्रेसका पुराना खेलाडी गोपालजी जङ्ग शाहसँग तेस्रो पटक चुनावी प्रतिस्पर्धामा छन् भने अर्कोतर्फ ‘जनयुद्ध’ को समयका समवयी योद्धा शरण बांठा जसले रुकुम जनसरकार प्रमुख भएर काम गरेका थिए, उनैसँग भिडदै छन् । गोपालजी जङ्ग लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन्, एमालेले रुकुमका दुवै क्षेत्रमा माओवादीलाई मैदान छोडेको छ तर शरण बाँठा जनशक्ति पार्टीका उम्मेदवार हुन् । जिल्लामा लोकप्रिय मानिने बाँठाले जनार्दनको क्याम्पमा कत्तिको धक्का दिने हुन्, त्यो आफ्नो ठाउँमा छ तर भिडन्त भने कांग्रेसका शाहसँग हुने जानकारहरू बताउँछन् । शाह र शर्माको चुनावी प्रतिस्पर्धा २०४८ देखिको हो । त्यसबेला शर्मा जनमोर्चाका उम्मेदबार थिए भने शाह कांग्रेसका । शाहले विजयी भएरर संसद् आए भने शर्मा २०५२ देखि माओवादीका लागे । २०६४ को संविधानसभामा रुकुम २ बाट करिब ३० हजार मत पाएर शर्मा विजयी भएका थिए । त्यसबेला उनले पाएको मत कांग्रेसका प्रेमप्रकाश ओली क्षेत्रीलै पाएको करिब ९ हजार मतको तुलनामा ३ गुणा बढी थियो भने एमालेका शेरबहादुर केसीले पाएको करिब ६ हजारको ५ गुणा बढी थियो । दोस्रो संविधानसभा चुनावमा भने शर्माको भिडन्त कांग्रेसका गोपालजी जङ्ग शाहसँग भयो । शर्माले करिब २२ हजार मत पाएर विजयी भए भने शाहले करिब १० हजार मत पाए । आफ्नो राजनीतिक सुरक्षाका लागि जिल्ला टुक्रा पारेको आरोप खेपिरहेका शर्माले पश्चिम रुकुमलाई बाहुन क्षेत्री बाहुल्यको भूभाग पारेका छन् भने पूर्वी रुकुम जहाँ मगरहरूको बाक्लो बसोबास पर्छ त्यहाँबाट माओवादी लडाकू कमला रोका (वाइसिएलका संस्थापक गणेशमान पुनकी पत्नी) मैदानमा छिन् । पहिलो संविधानसभा चुनावमा माओवादीका जुनकुमारी रोकालाई ठूलो मत फरकले जिताएर पठाउने रुकुमेलीले दोस्रो संविधानसभा चुनावमा गणेशमान पुनलाई रोजेका थिए । अहिले मगर बाहुल्य पूर्वी रुकुममा वाम गठबन्धनकी कमला छिन् भने कांग्रेसका हरिशंकर घर्ती छन् । कमलाका लागि अर्को चुनौती, माओवादीबाट अलग भएर अस्तित्वमा आएको नयाँशक्तिका जीतमान पुन हुन् । दुई वटा चुनावमा बलियो जनमत रहेको माओवादी आधार क्षेत्र रुकुमको आधार क्षेत्र भत्काउन कांग्रेस लागेको छँदैछ । नयाँ शक्ति पनि अहिले जनार्दनको किल्ला भत्काउन सक्रिय देखिन्छ । नयाँ शक्तिले प्राप्त गर्ने भोट रुकुमका दुवै क्षेत्रमा माओवादीको चुनौती हो । खस्कदै आकर्षण र नयाँ शक्तिको प्रहारका बीच शर्मालाई कांग्रेसका शाहसँगको भीडन्त चुनौतीपूर्ण देखिन्छ ।
प्यूठानमा पोखरेलको चर्चा
नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला पार्टी कार्यक्रममा प्यूठान गएको बेला उनीमाथि राष्ट्रिय जनमोर्चा, जो मशाल भनेर चिनिन्छ, ले आक्रमण ग¥यो । मशालको आक्रमणपछि कोइरालाले उद्घोष गरेका थिए, ‘माले, मण्डले र मशाले सबै एकै हुन् ।’ कोइरालाको यस्तो अभिव्यक्तिलाई लिएर व्यापक चर्चा भएको थियो । खासमा प्यूठान कम्युनिष्टहरूको नर्सरी भनिन्छ र त्यहाँको मशालको राजनीतिक आधारमा अहिलेसम्म कम्युनिस्टका गुरु भनिने मोहनविक्रम सिंह अर्धभूमिगत राजनीतिक आवरणमा खुला जीवन जिउँदै छन् । प्रतिनिधिसभा तथा प्रदेश सभाको आसन्न निर्वाचनमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट लोकतान्त्रिक गठबन्धनबाट पुनर्निर्माण प्राधिकरणको कार्यकारी निर्देशक पद त्यागेर डा. गोविन्द पोखरेल मैदानमा उत्रिएका छन् भने वाम गठबन्धनबाट मोहनविक्रम पत्नी दुर्गा पौडेल जो आफैँ पनि लामो समयदेखि वामपन्थी राजनीतिमा जोडिएकी पूर्व सभासद हुन्, चुनावी मैदानमा छिन् । जनमोर्चा जो माओवादी र एमालेसँग जुझारु सम्बन्ध राख्दै र बेलाबेला सैद्धान्तिक र भौतिक सघर्ष गर्दै आएको पार्टीलाई वाम गठबन्धनमा सामेल गर्नुका पछाडि ‘राजनीतिक गुरू’ मोहनविक्रमलाई अर्धभूमिगत राजनीतिबाट खुला प्रतिस्पर्धामा उतार्ने योजनाहरू थिए । यस रणनीतिका पछाडि एमालेका प्रभावशाली नेता वामेदव गौतमको सक्रियता थियो । गौतम २०७० को संविधानसभा चुनावमा प्यूठान १ को मशालको किल्ला भत्काउँदै निर्वाचित भएका थिए तर वामदेव र पुष्पकमलले सोचेजस्तो भएन । चुनावी मैदानमा दुर्गा पौडेललाई अघि सारियो । विगतका निर्वाचनहरूको कसीमा कांग्रेसका पोखरेल कमजोर ठानिन्छन् तर चुनावी राजनीतिमा होमिएका पोखरेल वामपन्थीहरूकै भोट पाएर विजयी हुने ठोकुवा गर्ने गरेका छन् । खास गरेर राजमोको किल्ला भनेर चिनिएको प्यूठानमा केही वर्ष यता उसको अवस्था खस्कँदो छ । राजमोका भोट कहिले माओवादी, कहिले एमालेमा जाने राजनीतिक चलखेलहरूका कारण कांग्रेसले यस पटक ठूलो अपेक्षा राखेको देखिन्छ । २०४८ सालको चुनावमा मशालले बहिस्कार गरेको अवस्थामा प्यूठानका दुवै क्षेत्रमा कांग्रेस छाएको थियो । मध्यावधि २०५१ मा कांग्रेस १ नम्बर क्षेत्रबाट विजयी भयो २ नम्बरबाट भने मशालका नेता नवराज सुवेदी स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भए । आम निर्वाचन २०५६ मा राजमोका हरि आचार्यले र नवराज सुबेदीले क्रमश १ र २ बाट चुनाव जिते । पहिलो सविधानसभा निर्वाचनमा दुवै क्षेत्रबाट माओवादी विजयी भयो । क्षेत्र १ बाट नारायणप्रसाद अधिकारी आए भने उनलाई टक्कर दिने राजमोका हरि आचार्य थिए । २ नम्बर क्षेत्रमा पनि माओवादीका दीपकबहादुर केसी निर्वाचित भए उनका प्रतिस्पर्धी पनि राजमोका बोमबहादुर खत्री थिए । दोस्रो संविधानसभा निर्वाचनमा स्थिति बद्लियो । बर्दियाबाट उक्लिएका वामदेव गौतमले १ नम्बरमा एमालेको खाता खोले भने २ नम्बरमा एमालेकै हिराबहादुर केसीले बाजी मारे । दुवै क्षेत्रमा दोस्रो स्थानमा राजमो, तेस्रोमा माओवादी र चौथो स्थानका कांग्रेस थियो । आसन्न चुनावमा मुख्य प्रतिस्पर्धा पौडेल र पोखरेलबीच हुनेछ । मोहनविक्रम र मोहन वैद्यजस्ता शास्त्रीय कम्युनिस्टको गृह जिल्लामा पोखरेलले योजना, विकास, भौतिक र आर्थिक विकासका योजना पस्किएका छन् । दुर्गाको उपस्थितिले बिच्किएको राजमो र माओवादीबाट विभाजित मोहन वैद्य र नयाँ शक्ति पार्टीका उम्मेदवारसमेत मैदानमा उत्रिएको अवस्थामा पौडेलका लागि चुनौती बनेको छ भने पोखरेलका लागि अवसर ।

Leave A Comment