जुत्ता सिलाउने आन्टी

मङ्गलबार, ०५ मङि्सर २०७४, १२ : १३ शुक्रवार
जुत्ता सिलाउने आन्टी

काम न ठूलो हुन्छ न सानो । काम न पुरुषले मात्रै गर्ने भन्ने हुन्छ न त महिलाले मात्रै गर्ने भनेर तोकिएको हुन्छ तर कुनै परिवेश यस्तो हुन्छ, जहाँ पुरुष र महिलाले गर्ने काम छुट्याइएको हुन्छ । काठमाडौं उपत्यकामा महिलाले जुत्ता सिलाउनुलाई अचम्मको आँखाले हेर्छन् । त्यसै कारण ललितपुर बस्ने विमला मिजारलाई सडक पेटीमा बसेर जुत्ता सिलाउने मन त थिएन तर उनको घरको ‘भाले’ नबासेपछि ‘पोथी’ बास्नै पर्यो ।
उनका श्रीमान् कारखानामा काम गर्छन् तर उनले काम गरेर कमाएको पैसा जाँड खानै पुग्दैन । परिवारलाई दिने त सवालै भएन । त्यसैले घर चलाउन विमला दक्षिणी ललितपुरको लेलेमा जुत्ता सिलाउने काम गर्छिन् । धादिङ घर भएकी ३५ वर्षीया विमला मिजार अहिले लेले नजिकैको सडक छेउमा बसेर अर्काको फाटेका जुत्ता, चप्पल सिलाएर बालबच्चा पाल्दै आएकी छन् ।
फाटेका जुत्ता, चप्पल सिलाउने व्यवसायमा लागे पश्चात् आफूलाई परिवार चलाउन सजिलो भएको विमलाले बताइन् । पहिलो पटक सडक छेउमा बसेर फाटेको, पुरानो, जुत्ता–चप्पल सिलाउन सुरु गर्दा मानिसहरु उनलई अचम्म मानेर हेर्थे, अलि परसम्म पुगेर पनि फर्कीफर्की हेर्थे, कोही बिनाकाम यो सिलाको कति, ऊ सिलाको कति भन्दै हाँस्ने गर्थे । कोही मानिस भने केही काम नपाएर यो काम गर्न लागेकी भन्दै विचराको नजरले हेर्थे तर लाजभन्दा ठूलो उनलाई बालबच्चाको पेट भर्नु थियो । त्यसैले अरुका नजर र विचारलाई भाउ दिनु उनका लागि महँगो हुन्थ्यो । उनको निरन्तरको मिहिनेत र परिश्रमले राम्रो आम्दानी हुन थालेपछि उनलाई अरुले हेर्ने नजरमा परिवर्तन आएको छ । ‘अहिले त धेरैले सम्मानपूर्वक व्यवहार गर्न थालेका छन्,’ उनले हँसिलो अनुहारमा सुनाइन् ।
‘छोराछोरीको पालनपोषण र पठनपाठनकै लागि लाज मानी–मानी यो काम सुरु गरेको हुँ अहिले त काम गरे कोही सानो ठूलो हुँदैन भन्ने बुझेको छु,’ विमलाले गर्वका साथ भनिन् ।
वैशाख–जेठको गर्मी होस् वा पुस, माघको ठण्डी उनको हात सधैँ ग्राहकका फाटेका जुत्ता, चप्पल टाल्नमै बित्ने गर्छ । बिहान सबेरै उठेर घरको काम सकेर बालबच्चालाई विद्यालय पठाई उनी आफ्नो दैनिक काममा आइपुग्छिन् । उनी पुग्नेबित्तिकै कोही जुत्ता सिलाउन त कोही चप्पल सिलाउन आउनेहरुको भिड लाग्ने गर्छ । उनी भन्छिन्, ‘यदि यो काम नगर्ने हो भने बालबच्चा पाल्नै गाह्रो हुन्छ । त्यसैले यो पेसा अँगालेकी हुँ र अहिले म यो पेसामा खुसी छु ।’
उनी यस पेसाबाट दिनकै कम्तीमा हजार र बढीमा पच्चिस सयसम्म कमाउँछिन् । यसबाट बच्चा पढाउन र खान लाउन पुगेको छ । अझै मिहिनेत गरेर कुनै दिन राम्रै सटर भाडामा लिएर जुत्ता सिलाउने रहरै छ उनको । उनकी छोरी पनि कहिलेकाहीं आमालाई सहयोग गर्न आउने विमला बताउँछिन् । उनले भनिन्, ‘छोराछोरी पनि अब त हुर्किसके । पढाउन पैसा झनै धेरैधेरै खर्च हुन थालेको छ । श्रीमान्को भर छैन तर पनि यही व्यवसायले हाम्रो परिवार बचाएको छ ।
हिजोआज उनलाई मानिसले बोलाउने नाममा पनि परिवर्तन आएको छ । सबैले जुत्ता सिलाउने आन्टी भनेर बोलाउँछन् । उनले भनिन्, ‘सुरुसुरुमा त मनै पर्दैनथ्यो, मेरो पनि आफ्नै नाम छ, नामले नबोलाएर किन ‘जुत्ता सिलाउने आन्टी’ नाम राख्दिनु पर्या होला भन्ने लाग्थ्यो तर अहिले भने खुसी लाग्छ ।’ उनले अझै थपिन्, ‘एक दिन मेरा बच्चा स्कुल जाँदा सबैले जुत्ता सिलाउनेका बच्चा भनिदिएछन् । बेलुका घर पुग्दा दुवै रोइरहेका थिए, स्कुलै जान्नसमेत भनेपछि सम्झाएर पठाउनुप¥यो तर अहिले उनीहरुले पनि बुझिसकेका छन् ।’
विमलाले भनिन्, ‘मेरो पनि धनी बन्ने, खुट्टा पसारेर अरुलाई जुत्ता पालिस गराउने सपना थियो नि ! एउटा राम्रो श्रीमान होस् भन्ने चाहना थियो तर त्यो पूरा हुन सकेन । मेरा छोराछोरीको मेरोजस्तो हालत नहोस् भनेर उनीहरुलाई राम्रो स्कुलमा पढाउनु छ । राम्रोसँग पढेर राम्रो गरून्, ठूला अफिसमा काम गरून् भनेरै मैले यो काम गरेकी हुँ ।’
आफ्नो कामदेखि उनी खुसी छिन् । सबैले राम्रो गरेकी छौ भन्दा हौसला पनि बढिरहेको उनको भनाइ छ ।

 

Leave A Comment