‘छिटो माथि पुगेर तल झर्न मन छैन’

मङ्गलबार, ०५ मङि्सर २०७४, १२ : ०९ अनिल यादव
‘छिटो माथि पुगेर तल झर्न मन छैन’

पाश्र्व गायनमा चम्किरहेको नाम हो– प्रविशा अधिकारी । उनले फिल्ममा रेखा थापा, नम्रता श्रेष्ठ, सुषमा कार्की लगायत थुप्रै अभिनेत्रीका लागि स्वर दिइसकेकी छन् । उनका थुप्रै गीत हिट पनि छन् तर उनको चर्चा कहीँकतै सुनिँदैन । ‘तिमी जहाँ छौ’, ‘यो पल फेरि आउला, नआउला’, ‘मायाले बाँध्यो यसरी’, ‘चलेछ बतास सुस्तरी’, ‘के साँच्चै तिमी रिसाकै हौ त’ आदि उनका रुचाइएका गीत हुन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
    
के छ हालखबर ?  
अलिअलि बिरामी छु । सञ्चो भएपछि रेकर्डिङमा व्यस्तु हुन्छु ।
 
धेरैले ‘प्रविशा त गायब भयोे’ भन्छन्, हराउनुभएको हो र ?
होइन । जहिल्यै जसले पनि किन गायब भा’को भनेर सोधिरहनु भएको हुन्छ । म अहिलेसम्म स्क्रिनमा आएकी छैन, भिडियोमा देखिएकी छैन त्यसैले गायब भएको ठान्छन् तर म यहीँ छु, काम गरिरहेकै छु ।

तपाईंका गीत हिट छन्, स्वर धेरैले सुनेका छन् तर तपाईं त छायामै हुनुहुन्छ नि, होइन ?
म उपयुक्त समय पर्खिरहेकी थिएँ । अब भने आफूलाई चिनाउने प्रयासमा छु । आफ्नो गीतमा आफैँ खेल्ने तयारीमा छु । मैले पहिल्यैदेखि नै आफूलाई चिनाउन हतार नगरेकै हो । देखिनेगरी पछि नै आउँला भन्ने प्लानमा थिएँ ।  


यहाँ त मान्छेहरु छिटो–छिटो चर्चा कमाउन खोज्छन्, तपाईंलाई किन हतार नभएको ?
आ–आफ्नो सोचको कुरा हो । मैले गाउन थालेको १० वर्ष भइसक्यो तर  मलाई मलाई कुनै हतार छैन । गीत चल्दा म आफू चलेको महसुस गर्छु । पब्लिक गाडीमा हिँडिरहेका बेला आफ्नो गीत बजेको सुन्दा खुब खुसी लाग्छ तर ‘मेरो गीत’ भनेर चिनाउँदिनँ । मान्छेहरुको मोबाइलमा मेरो गीत बजेको सुन्दा आफू सफल भएको महसुस हुन्छ । यस बीचमा मैले आफ्नो गायनलाई पनि पहिलेभन्दा पुरै निखारिसकेँ, निकै सुधार गरेँ । अझै गर्दैछु । म खासमा अहिलकोे मेरो सामान्य जीवनलाई पूरै इन्जोय गरिरहेकी छु । पब्लिकले धेरै चिन्यो भने पनि एक किसिमको अप्ठेरो हुन्छ । म आनन्दको जिन्दगीको बाँच्न चाहन्छु । म आफ्नो मनकी रानी हुँ । अरुका लागि मात्र नभएर आफ्नो लागि पनि त बाँच्ने हो । म यस्तो छु कि मैले दुई दिन प्रेसरमा काम गरेँ भने अर्कोदिन आराम चाहिन्छ । अघि नै भनिसकेँ ‘म मेरो मनकी रानी हुँ’ ।

गायन क्षेत्रमा तपाईंको प्रवेश कसरी भएको हो ?  
गाउने सोख सानैदेखि थियो, स्वर पनि राम्रै थियो तर फिल्ममा गाउने अवसर भने गायक प्रमोद खरेलमार्फत जुरेको हो । उहाँले नै ‘बिदाई’ फिल्ममा मलाई गीत गाउने अवसर दिलाउनुभएको हो । प्रमोद दाइलाई पनि झापाका एकजना दाइ उमेश राउतले चिनाउनुभएको हो । म त्यतिबेला बानेश्वरमा जब गर्थे । गीत रेकर्ड गर्ने भनेपछि निकै नै उत्साहित थिएँ । यसरी मेरो बाटो खुलेको हो नत्र त मैले गायिका बन्छु भन्ने एकरति पनि सोचेको थिइनँ । गाह्रो पनि त थियो !

भनेपछि प्रयत्न गरिरहनुभएको थियो ?  
थिइनँ । मलाई सिंगर बन्न गाह्रो होला भन्ने लाग्थ्यो । मेरो पहुँचको विषय हो भन्ने त लाग्दैनथ्यो । त्यतिबेला अहिलेको जस्तो माध्यम पनि त थिएन । अहिले त सामाजिक संजालमार्फत संगीतकारहरुसँग कुरा राख्न पाइन्छ, युट्युबमा सिधै आफ्नो प्रतिभा अपलोड गर्न पाइन्छ । त्यस्तो कहाँ थियो त पहिले ? त्यसैले म गाउँथेँ तर गायिका बन्नतिर लागेको थिइनँ । सायद आफ्नो प्रतिभालाई चिनेकी थिइनँ । मैल कक्षा–११ मा पढ्दाखेरी ख्यालख्यालमै एउटा ब्यान्ड प्रतियोगितामा भाग लिएकी थिएँ । त्यहाँ गाउने र बजाउनेहरुको बेग्लाबेग्लै प्रतिस्पर्धा थियो। म फाइनलसम्म पुगेकी थिएँ । बिरामी भएर घाँटीमा समस्या आएपछि फाइनलबाटै बिदा लिनुपरेको थियो । त्यतिवेला संगीतकार जेम्स प्रधानले स्टेजबाटै मलाई एउटा गीत गाउन दिने घोषणा गर्नुभएको थियो । तर के–के नमिलेर हो, अहिलेसम्म गाउने संयोग जुरेको छैन (हाँस्दै) ।

भनेपछि तपाईं झापा (घर) बाट काठमाडौं गायिका बन्नका लागि आएको होइन ?
होइन । म त पढ्नका लागि आएकी हुँ । पढेर बौद्धिक मान्छे बन्ने मेरो धोको थियो । गायनलाई प्रोफेसन बनाउने त मैले सोचेकै थिइनँ ।

गीत त सानैदेखि गाउनुहुन्थ्यो होला ?
नढाँटी भन्नुपर्दा मैले सानोमा मान्छेहरुको छेउमा खुलेर गीतै गाइनँ । बरु ६–७ कक्षातिर पुगेपछि स्कुलका कार्यक्रममा डान्स गरेँ तर गीत कहिल्यै गाइनँ । खासमा मलाई अरुका अगाडि गाउन भनेपछि डर लाग्थ्यो । कसरी गाउने होला सबैका अगाडि भन्ने लाग्थ्यो । सायद त्यतिबेला मेरो ‘कन्फिडेन्स लेभल’ एकदमै कमजोर थियो ।

ग्ल्यामर इन्डस्ट्रीमा सुन्दरता र प्रतिभा दुवै कुरा भएको मान्छेलाई जम्न गाह्रो हुँदैन भन्छन्, तपाईंसँग दुवै छ, त्यही पनि किन गाह्रो भइरा’ त ?
मैले अघि नै भने नि, म हतारिएको छैन । मैले धेरै आर्टिस्ट स्टारडमको पछि कुदेको देखेको छु । मलाई त्यो चिजमा हतार कहिल्यै भएन । देशविदेश घुम्ने, व्यस्त हुने भन्ने हतार पनि कहिल्यै भएन । विस्तारै गरौँला भन्ने मात्र भयो । मैले छिटो माथि पुगेर तल झर्नेहरु धेरै देखेको छु । मलाई त्यस्तो हुन मन छैन । म जे छु, त्यसमा एकदमै खुसी छु । अरु पनि धेरैले ‘तपार्इं त माथि आउन पर्ने मान्छे’ भन्छन् तर म ‘ठीकै छ, त्यसको पनि टाइम आउला’ मात्र भन्ने गर्छु ।   

परिवारबाट कुनै समस्या भएर त होइन नि ?  
परिवारबाट त पूरै सपोर्ट छ । मेरो प्रतिभालाई सबैभन्दा पहिला चिनेकै मेरो बाआमाले हो । म सपोर्ट नभएर म खुम्चिएको होइन के ! म धपेडी गरेर काम गर्न सक्दिनँ । म आफ्नो हिसाबले स्वतन्त्र भएर काम गर्न रुचाउँछु । मान्छेलाई जीवनमा खुसीले अर्थ राख्छ, होइन र ? त्यसोभए त एकदमै खुसी छु नि ! खुसी भएपछि अरु के चाहियो ?

तपाईं त कुनैबेला गायन छाडेर विदेश जाने सोचमा पनि हुनुहुन्थ्यो रे ?
हो । मैले ‘बिदाइ’, ‘हिफाजत’ लगायत दुई तीनवटा फिल्ममा गीत गाइसकेपछि एक वर्ष विश्राम लिएँ । मिडियामा धेरै नआउने, अब गीत नगाउने भन्ने खालको सोच बनाएकी थिएँ । मोबाइल नम्बर पनि चेन्ज गरेर विदेश जाने सोच बनाइसकेकी थिएँ ।

फिल्ममा गाउन पाइरहनुभएकै थियो, उत्साहित हुनुपर्नेमा किन टाढिन मन लाग्यो ?
‘अनेस्ट्ली’ भन्नुपर्दा मलाई मिडियासँग एक किसिमको डर थियो। मिडियामा आउने गसिप र गलत समाचारहरु धेरै टाढा रहन चाहन्थेँ। म अर्कै स्वभावकी केटी थिएँ। धेरै लाइमलाइटमा आउने मनै थिएन। धेरै चर्चामा आइयो भने उतै हराउने हो कि, मेरो पढाइ पो बिग्रिने हो कि भन्ने डर थियो।

त्यसोभए फेरि मन कसरी बदलियो ?
एक वर्षपछि संगीतकार बसन्त सापकोटाले फोन गरेर ‘तिमी जहाँ छौ’ गीतका लागि अफर गर्नुभयो । त्यो गीत सुनेँ । राम्रो लाग्यो । दुई पल्टमा गरेर गीत रेकर्डिङ फाइनल भयो । पछि एकदमै हिट पनि भयो । रेकर्डिङका हिसाबले थुप्रै गीत अगाडि गरिसकेको भए पनि रिलिजका हिसाबले यो नै मेरो पहिलो गीत भयो । गीत हिट भयो । रमाइलो लाग्दै गयो । कसैबाट नराम्रो व्यवहार भएन, सबैजनाको माया पाएँ । मलाई जुन विषयमा मलाई डर थियो त्यो डर हट्दै गयो । यसरी हेर्दाहेर्दै तीन सय बढी गीत रेकर्ड गराइसकेँ । कति रिलिज भए, कति भएनन्, कति हुँदै होलान् । अब त यही क्षेत्रमा भविष्य बनाउने सोच छ ।

अहिले त युट्युब च्यानल पनि खोल्नुभएछ ?
हो नि । अघि नै भने नि– अब चाहिँ चिनिने हो क्या ! केही कभर सङ अपलोड गरेकी छु । धेरै दर्शकलाई नयाँ कभर सिंगर भन्ने लाग्छ । ‘तपाईं यस्तो राम्रो गाउनुहुँदोरहेछ, चाँडै  राइज गर्नुहुन्छ’ भन्दै मेरो फ्यान पेजमा कमेन्ट गर्नुहुन्छ । रमाइलो लाग्छ, त्यसैले म केही भन्दिनँ । पछि फेरि मेरो  इन्टरभ्युहरु हेरेपछि ‘तपाईं त पुरानै हुनुहुँदो रहेछ’ भन्नुहुन्छ (हाँस्दै) ।

म्युजिक सिक्नुभएको छ ?
गुरुदेव कामतसँग दुई वर्ष सिकेँ ।
 
आफूलाई कस्तो गायिकाका रुपमा चिनाउन मन छ ?

पब्लिकमा त्यति नचिनिए पनि इन्डस्ट्रीमा त प्लेब्याक सिंगरका रुपमा धेरैले चिन्नुभएको छ । मैले धेरै लभ सङ गाएकी छु । सबैले मेरो स्वीट भ्वाइस  छ, लभ सङमा सुट गर्छ भन्ने गर्छन् । मुभीमा गाउन पाएकोमा म एकदमै गर्व गर्छु । अहिले एल्बम त जसले पनि निकाल्छ । प्रविधिले यति सजिलो बनाएको छ कि जो पनि सिंगर हुनसक्छ तर फिल्ममा अवसर पाउन सजिलो छैन । आर्टिस्टसँग भ्वाइस म्याच हुनुपर्छ, म्युजिसियनले भनेअनुसार गाउनुपर्छ, आफूअनुसार गाउन खोजेको हुँदैन ।

दोस्रो गीत गाउने अवसर कसरी जुर्यो ?
दोस्रो गीत ‘हिफाजत’फिल्ममा रेखा थापाका लागि गाएकी थिएँ ।  यो गीतका लागि संगीतकार महेश खड्कालाई विल्सन विक्रम राईले सिफारिस गर्नुभएको थियो । उहाँको भान्जा मेरो साथी भएकाले मलाई भान्जी भन्नुहुन्छ । गीतको बोल थियो ‘स्टाइल छ आफ्नै’ । बच्चैमा गाएको भएर त्यो गीत अहिले सुन्दा पनि बच्चैजस्तो लाग्छ ।

अहिले त परिपक्व भइयो है ?
हो नि ! स्वर पनि परिपक्व भयो, समय पनि त १० वर्ष भइसक्यो नि । उमेर पनि ३० तिर लागिसक्यो (हाँस्दै) ।

त्यसोभए त बिहे गर्ने बेला पनि भयो होला ?
बित्नै लागिसक्यो नि ! दुई तीन वर्षपछि गर्ने हो ।

भनेपछि अफेयरमा हुनुहुन्छ ?
छैन (हाँस्दै ) ।

बिहेचाहिँ प्रेम कि भागी गर्ने कि एरेन्ज गर्ने ?  
लभ म्यारिज नै गर्ने हो ।

समय पनि फिक्स्ड भइसक्यो, लभ म्यारिज गर्ने पनि भइसक्नुभएछ । अफेयरको कुराचाहिँ लुकाउन खोजेको हो ?
त्यस्तो होइन । ६ महिनाअघि लभ गरेर बिहे गरे भइगो नि ! म कुल मान्छे भएकाले मलाई गाली गर्ने, छिटो रिसाउन टाइपको मान्छे मन पर्दैन । ‘हाइ लेभल अन्डस्ट्यान्डिङ’ भएको केटा श्रीमान होस् भन्ने लाग्छ । एकअर्कामा विश्वास होस्, स्वार्थी नहोस्, अरुलाई चोट पु¥याउने नहोस् भन्ने लाग्छ ।
यो ग्ल्यामर क्षेत्रको के कुराले तपाईंलाई चित्त दुख्छ ?
कहिलेकाहीँ कलाकारको भ्यालु हुँदैन । कुनैकुनै माहोलमा कुनैकुनै मान्छेले कलाकारलाई गन्नुहुन्न । यो तीतो यथार्थ हो । यस्तो देख्दा एकदमै नरमाइलो लाग्छ । आफूले नभोगे पनि म्युजिसियनले नयाँ कलाकारलाई दुव्र्यवहार गरेको पनि धेरै सुनेको छु, त्यस्तो सुन्दा नरमाइलो लाग्छ ।  

तपाईले अहिलेसम्म आफ्नै एल्बम किन नल्याएको?
आवश्यकता महसुस नभएर नै हो । गीत पाइरहेकी थिएँ । त्यसैले आफैँ निकाल्नुपर्छ भन्ने महसुस नै भएन । अब चाँडै निकाल्दैछु ।

तपाईंलाई सुन्दर गायिका पनि भन्छन् । गीत गाउँदा–गाउँदै हिरोइनको पनि अफर आयो कि ?
हिरोइनको अफर त थुप्रै आ’को थियो । यतिसम्मकी ‘तपाईलाई सेक्युरिटी प्रोब्लम भएको हो भने परिवारसँग कुरा गर्छु’ भन्ने निर्माता पनि हुनुहुन्थ्यो । तर सबैले सबै क्षेत्रमा हात हालेर हुँदैन भन्ने लाग्यो । मिल्यो भने आफ्नो एल्बमको गीतमा आफैँ अभिनय गर्ने सोच छ ।

 

Leave A Comment