कमल खत्रीका प्रिय १० सुर

सोमबार, ०४ मङि्सर २०७४, ०४ : ५१ शुक्रवार
कमल खत्रीका प्रिय १० सुर

युवा पुस्तामा लोकप्रिय छन्– गायक कमल खत्री । उनले आफूलाई प्रिय लाग्ने आफ्ना पाँच र अरुका पाँच गीतबारे शुक्रबारलाई यसरी बताए ।
 
आफ्ना  पाँच
जाउँला रेलैमा

यो गीतमा शब्द संगीत र स्वर मेरो आफ्नै रहेको छ । मायालुलाई घुमाउनका लागि रेलमा चढेर कतै जाउँ भन्न खोजेको छ । गीतका शब्दले एकदमै मन छोएर रेकर्ड गराएको थिएँ । स्रोता दर्शकले पनि यो गीत अत्यन्त मन पराइदिनु भएको छ । त्यसैले पनि यो गीत मलाई पछिल्लो समयमा एकदमै मन पर्छ ।
 
आत्मामा आत्मामा

यो गीतमा पनि शब्द संगीत र स्वर मेरै रहेको छ । सुरुमा यो गीत राम्रो लागेको थिएन । बिस्तारै आम दर्शकले यो गीतलाई यति मन पराइदिनु भयो कि खुसीको सीमा नै रहेन । कन्सर्टमा यो गीतको माग अत्यन्तै छ ।

बोल्दैन तिम्रो तस्बिर/कुर्दा कुर्दै रात बित्यो
यो गीतको रचना चाहिँ अभिषेक नगरकोटीको छ । उहाँले शब्द मलाई ल्याएर दिनु भयो । शब्दहरु एकदमै मन छुने खालका थिए र मैले कम्पोज गरेँ र गाएँ । गीत अत्यन्तै मन छुने खालको भयो । म धेरैजसो कार्यक्रम यो गीत गाइरहेको हुन्छु । यो गीत गाइदिनुप¥यो भनेर हुटिङ नै आउँछ । यस्तो सुन्दा मेरो खुसीको सीमा नै हुँदैन । त्यसैले पनि यो गीत मेरा लागि प्रिय छ ।

म गीत हुँ तिम्रो
यो गीतको शब्द, संगीत र स्वर मेरै हो । म आफैँ गीत लेख्छु र गाउने गर्छु । आफ्नी मायालुलाई गीतमार्फत म तिम्रो गीत हुँ म गाएर तिम्रो सम्झना गर्छु भनिएको छ । हरेक पल तिमीलाई नै सम्झन्छु भन्ने यसको आशय छ । आम प्रेमीहरुको मन बोलेको छ । म यो गीत गुन्गुनाइरहेको हुन्छु ।

चोखो माया दिए पुग्छ, चाहिँदैन तिम्रो सुन चाँदी
स्रोता दर्शकले मलाई माया गरिदिएको अर्को गीत हो यो । मन परेको मान्छेसँग सुनचाँदी भन्दा महँगो हुन्छ । अन्तर्जातीय प्रेमको कुरा गीतले बोलेको छ । यो गीत पनि म आफैँले लेखेको, कम्पोज गरेको र गाएको गीत मन छुने गीतमध्ये एक हो । आफ्नी मायालुलाई कसैले छोएको मन पर्दैन भन्ने भाव पोखेको छ ।

अरुका पाँच

मलाई नसोध, कहाँ दुख्छ घाउ
 यो गीत म बच्चाबेलादेखि गुन्गुनाउने गीत हो । यस गीतको शब्द, संगीत स्वर अत्यन्तै मन पर्छ मलाई । बाहिर लागेको घाउ देखिन्छ । मनभित्रका चोटहरु कहाँ दुख्छ त्यसैले नसोध भनेर आफ्ना वेदना पोखिएको गीत हो ।  यस गीतमा स्वर्गीय नारायण गोपालको स्वर संगीत रहेको छ ।

साउने झरीमा त्यो गाउँको गोरेटो  
अत्यन्तै लोकप्रिय गायिका आशा भोसलेले गाएको यो गीत मलाई अत्यन्तै मन पर्छ किनभने काठमाडौँ आउँदाताका मज्जाले झरीका बेला मलाई गाउँको सम्झना दिलाउँछ । यस गीतले मलाई आफ्नो घरको याद झल्याँस्स गराउँछ । यो गीतले मेरै वेदना बोलेजस्तो लाग्छ । त्यसैले पनि यो गीत मेरालागि प्रिय छ । यस गीतलाई कुसुम गजमेरले लेखेकी हुन् भने उनका पति रञ्जीत गजमेरले संगीतबद्ध गरेका हुन् ।

हजार सपनाहरुको माया लागेर आउँछ
भजन शिरोमणि भक्तराज आचार्यद्वारा स्वर र संगीतबद्ध यो गीत पनि मलाई असाध्य मन पर्छ । मलाई यो गीत प्रिय लाग्नुको कारण के हो भने यो गीतले मेरै कुरा मलाई नै सुनाइरहेको अनुभूति हुन्छ । यो गीत ईश्वर बल्लभले लेख्नु भएको हो ।  

तिम्रो मेरो सम्बन्धको, अर्थ खोज्न मन लाग्यो
कर्णदासले गाएको यो गीत कसलाई मन पर्दैन होला र ? आफ्नी प्रेमिकासँग तिम्रो र मेरो सम्बन्ध के छ, यो खोज्न आफूलाई मन लागेको कुरा छ । यो गीतको संगीत पनि कर्णदासकै रहेको छ । यो गीतका शब्द, संगीत र स्वरले मेरो मन छोएका कारण मलाई अत्यन्तै मन परेको हो । यसको शब्द भूपेन्द्र खड्काले लेख्नुभएको हो ।

ऋतुहरुमा तिमी, हरियाली वसन्त हौ
अरुण थापाले गाएको यो गीतले प्रेमिकालाई वसन्तसँग दाँजेको छ । सुन्दर तरिकाले मायालुको बयान गरेको छ । अरुण थापाकै शब्द संगीतको गीत हामी अन्तक्षरी खेल्दा खुव गाउने गीत पनि हो । त्यसैले पनि यो गीत मन परेका हो ।

Leave A Comment