सपनाको विश्वास

सोमबार, ०४ मङि्सर २०७४, ०४ : ४६ अच्युत काेइराला
सपनाको विश्वास

हेर्दैको अनाकर्षक एउटा ठिटो हलिउडमा छिर्ने कोसिसमा थिए, नाम थियो सिल्भेस्टार स्टालोन । छिर्ने कोसिस गर्दा उनी सपना देख्ने गर्थे र साथीभाइलाई सुनाउँथे, म एक दिन विख्यात अभिनेता भएर निस्कनेछु । तर जुन बेला साथीहरुलाई उनी यो सपना सुनाउँथे, त्यो बेला उनी लगभग कंगाल थिए । उनको संघर्षकै बेला आफूसँग भएको सञ्चिती रकम त सकिएको थियो नै, साथीभाइले पनि उनलाई उधारो पत्याउन छाडेका थिए । उनलाई यति धेरै कंगाली लागिसकेको थियो कि दैनन्दिनी चलाउन पनि श्रीमतीको गहना चोर्नु पर्यो र त्यसलाई बेचेर जीविकोपार्जन गर्नुपर्ने भयो । जसका कारण श्रीमती निकै रिसाइन् र उनलाई छाडिदिइन् । अचानक उनी घरबारविहीन हुन पुगे । उनीसँग आफ्नो भन्नु मात्र एउटा प्यारो कुकुर थियो । त्यही कुकुर लिएर उनी न्युयोर्कको बस बिसौनीमा कुर्लिङ परेर कुकुरसँग सुत्थे । आफ्नो संघर्षसँगै कुकुरले पनि दुःख पाएकोमा उनी ज्यादै दुःखी भए र उसलाई भरपेट खुवाउने पैसा नभएकोमा एउटा पसलेलाई २५ डलरमा कुकुर बेचिदिए । र, हात परेको पैसाले उनले भरपेट खाना खाए । खाना त खाए तर झल्झली त्यही कुकुरको यादले उनी असह्य भएर ग्वाँ ग्वाँ रोए । आफ्नो पेट पूजाका लागि प्यारो कुकुर बेचेर पेट भर्नु पर्दाको पीडा आँखाबाट छचल्किनु स्वाभाविक थियो ।
यसको दुई सातापछि उनले एउटा समाचार पढे । त्यो समाचारमा महान् बक्सिङ खेलाडी मोहम्मद अली र चक वेप्नरबीचको बहुचर्चित बक्सिङ खेल हुँदाको विवरण र मोहम्मद अलीले जितेको खबर थियो । यो समाचार पढ्नेबित्तिकै उनलाई बडो मज्जाको फिल्म स्क्रिप्ट फु¥यो र लेख्न थाले । लेख्दै जाँदा २० घण्टा लगातार लेखिरहेको उनैलाई पत्तो भएन ! जब स्क्रिप्ट तयार भयो, उनले त्यसलाई बेच्न चाहे । हलिउडको एउटा स्टुडियोले उनको यो स्क्रिप्ट मन पनि परायो र १ लाख २५ हजार डलरमा किन्ने प्रस्ताव पनि राख्यो ।
सिल्भेस्टारले स्टुडियोलाई एउटै मात्र आग्रह गरे, फिल्मको मूल चरित्र आफैँले खेल्न पाउनु पर्ने । उनी मुख्य अभिनेता भएर खेल्न चाहन्थे । स्टुडियोका कर्मचारीहरुले भने, ‘तिमीले आफ्नो अनुहार हेरेका छौ ? हामीलाई यसका लागि वास्तविक हिरो चाहिन्छ, चिन्दै नचिनेको वाहियात अभिनेता होइन ।’
‘तिमी त हेर्दाका पनि हाँस उठ्दो छौ, बोल्ने ढङ्ग पनि छैन’, कम्पनीका कर्मचारीहरुले उनलाई हाँसो उडाएर पठाइदिए । उनीहरुले फिल्मको स्क्रिप्ट पनि लिन मानेनन्, झन् अभिनेताका रुपमा लिने त उनीहरु सपनामा पनि सोच्न सक्तैनथे । तर आफू अभिनेता बने बेगर नै फिल्मको स्क्रिप्ट बेच्न चाहँदैन थिए । त्यसैले स्टुडियोलाई स्क्रिप्ट बेच्न चाहेनन् र बाहिरिए । पछि स्टुडियोले फिल्मको स्क्रिप्टका लागि मात्र २ लाख ५० हजारको प्रस्ताव पठायो । उनले अस्वीकार गरे । फेरि स्टुडियोले ३ लाख ५० हजारको लोभ देखायो, उनले त्यसलाई पनि अस्वीकार गरे । उनको जिरीह एउटै थियो, ‘म यो फिल्मको हिरो बन्न पाउनु पर्छ ।’ हलिउडको स्टुडियोले उनको यो हठ मान्ने कुरै थिएन, झन् उनीजस्तो बेकुप केटालाई अँगाल्ने त कुरै भएन ! साढे तीन लाख डलर, एउटा फिल्मको स्क्रिप्टका लागि निकै ठूलो रकम थियो तर पनि उनले त्यसलाई अस्वीकार गरे । स्टुडियो उनको फिल्म चाहन्थ्यो तर उनलाई चाहँदैनथे । आफूलाई अस्वीकार गर्ने कम्पनीलाई उनी स्वीकार्ने पक्षमा थिएनन् । उनको एउटै इच्छा थियो, फिल्मको मूल चरित्र उनी आफैँ हुन चाहने । बरु त्यसका लागि कुर्ने, बरु त्यसका लागि संघर्ष गरिरहने, बरु त्यसका लागि जस्तोसुकै अप्ठेरोलाई पनि सहिरहने !
पछि स्टुडियोले उनलाई एउटा प्रस्ताव राख्यो, ‘म तिम्रो स्क्रिप्ट किन्छु तर ३५ हजार डलरमा मात्रै !’
सिल्भेस्टारले भने, ‘अनि म नि ?’
‘फिल्ममा तिमी पनि हुन्छौ’, स्टुडियोको प्रस्ताव थियो, ‘यसमा राजी छौ ?’
‘म पैसाका लागि यहाँ आएको होइन’, सिल्भेस्टारले भने, ‘म त आफू अभिनेता हुन आएको हो । पैसा भनेको त पछि आउँछ ।’
जुन स्क्रिप्ट साढे तीन लाख डलरमा उनले दिन मानेका थिएनन्, आफू हिरो हुने लोभमा उनले मात्र ३५ हजार डलरमा बेचे र आफू पनि हिरो भए । फिल्मको नाउँ थियो, रकी । जब फिल्म बन्यो र रिलिज भयो, यसले एउटा इतिहास बनायो । त्यो वर्षको ओस्कार अवार्डमा यस फिल्मले सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट निर्देशन र फिल्म सम्पादनको अवार्ड हात पा¥यो । उनी ओस्कारमा सर्वोत्कृष्ट अभिनेताका रुपमा समेत मनोनित भए ! ‘रकी’ फिल्मलाई अमेरिकन नेसनल फिल्म रजिस्ट्रीले महानतम् फिल्ममध्ये एक भनेर विभूषित समेत गरेको छ ।
जुन ३५ हजार उनले फिल्मको स्क्रिप्ट बेचेर पाएका थिए, त्यो पैसाले सबैभन्दा पहिला के गरे थाहा छ ? उनले त्यही कुकुर किने, जुन कुकुरलाई बाध्यताका कारण बेच्नु परेको थियो । कुकुर फिर्ता लिनका लागि, जुन व्यक्तिलाई बेचेको थियो, त्यसलाई भेट्न उनी तीन दिनसम्म लगातार त्यहीँ कुरिरहे, जहाँ उनले कुकुर बेचेका थिए । त्यो ठाउँ एउटा रक्सी पिउने ठाउँ थियो ।
कुकुर किन्न कुरेको तेस्रो दिन त्यही व्यक्ति उनको कुकुर लिएर रक्सी खान आइपुग्यो । स्टालोनले त्यस व्यक्तिलाई भने, ‘महाशय, तपाईं यो कुकुर मलाई बेच्नुहोस् ।’
कुकुर धनीले भन्यो, ‘माफ गर, म यो कुकुर बेच्न सक्तिनँ ।’
‘मैले यो कुकुर आफू ज्यादै दुःखको बेलामा यसलाई ख्वाउने पैसा नभएकाले तपाईंलाई २५ डलरमा बेचेको थिएँ । तर मसँग यतिबेला उसलाई प्रशस्त खुवाउने पैसा कमाएको छु । त्यसैले यसलाई मेरो जिम्मा लगाउनुस् ।’
‘यो कुकुरप्रति मलाई प्रेम पलाउन थाल्यो’, कुकुर धनीले भन्यो, ‘त्यसैले म यसलाई बेच्न सक्तिनँ ।’
स्टालोन रुन मात्र सकेनन् । उनले हात जोड्दै भने, ‘बरु तपाईंलाई यो कुकुरका लागि एक सय डलर तिर्न तयार छु ।’
तर कुकुर धनीले आँखा पनि उठाएन । स्टालोनले ५ सय डलर दिने घोषणा गरे र पछि एक हजार डलरको प्रस्ताव राखे तापनि कुकुर धनी लोभिएन ।
स्टालोन झनक्क रिसाए, ‘ल भन्नुस्, तपाईं यस कुकुरलाई कति हजार डलरमा बेच्न चाहनुहुन्छ, म किन्न तयार छु ।’
कुकुर धनीलाई कुकुर बेच्न मन थिएन । त्यसैले भन्यो, ‘दिने भए १५ हजार डलर देऊ ।’
स्टालोनले उसलाई तत्काल १५ हजार डलर दिएर कुकुर फिर्ता लिए । यो त्यही कुकुर थियो, जसलाई उनले जम्माजम्मी २५ डलरमा एक दिनको भोक मेटाउन बेचेका थिए । कैयौं महिनाको भोक मेटाउन मिल्ने पैसा हालेर उनले कुकुर फिर्ता लिए ।
अनि, जुन कुकुरलाई खुवाउन नसकेर बेच्नु परेको र बस बिसौनीको खाली ठाउँमा सुत्ने स्टालोन यतिबेला संसारकै सबैभन्दा राम्रो हलिउड कलाकारका रुपमा ख्यात छन् ।
कंगाल हुनु ज्यादै दुःखको कुरा हो, साह्रै नराम्रो कुरा हो । तर सशक्त सपना नहुनु चाहिँ त्योभन्दा पनि दुःखको कुरा हो । तपाईंले मग्न बनाउने सपना पाल्नु र हुर्काउनु आवश्यक छ । अनि सपना पाल्न पनि कंगाल हुनुहुन्छ ? सपनालाई हुर्काउन पनि तपाईंले ठूलो संघर्ष गरिरहनु परेको छ ? यस्तो अवस्था त सफल मानिसले कैयौं पटक बेहोरेका हुन्छन् । स्वयं स्टालोनले पनि आफ्नी श्रीमतीले छाडिन्, घरबारविहीन हुनु प¥यो, प्यारो कुकुरलाई जाबो २५ डलरमा बेच्नु प¥यो !
जिन्दगी हामीले सोचेजस्तो सहज छैन र हुँदैन पनि । कैयौं अवस्थामा अवसरहरु तपाईंको छेउबाटै फुत्किरहेका हुन्छन् किनभने तपाईंको मूल्य माटोबराबर पनि हुँदैन । मानिस तपाईंको ‘प्रोडक्ट’ चाहन्छन् तर तपाईंलाई चाहँदैनन् । तपाईं पहिले नै धनी, प्रख्यात र ठूला मान्छेहरुले पत्याउने हुनुहुन्न भने तपाईंलाई यति नराम्रो व्यवहार गर्छन् कि आफैँलाई कति पटक धिक्कार्नु हुन्छ ।
कैयौं राम्रा अवसरका ढोका तपाईं मूल्यहीन हुनुभएकै कारण बन्द हुन्छन् । मानिसहरुले तपाईंको प्रख्याति र तपाईंको आशा नराम्रोसँग चोरिदिन्छन् । तपाईंलाई धकेलेको धकेल्यै रिङबाट बाहिरै पछारिदिन खोज्छन् । तपाईंलाई आफ्नो सपना परै तुहिएको महसुस हुन थाल्छ । तपाईं यति कंगाल र मानसिक रुपमा यति विदीर्ण हुनुहुन्छ, बाँच्नैका लागि के मात्र गर्नुहुन्न ! तपाईं आफ्नो पेट भर्नकै लागि पनि अचम्म अचम्मका र सोच्दै नसोचेका काम गर्न थाल्नु हुन्छ । अन्ततः खातेजस्तो जीवन बाँच्दै सडकमै दिन बिताउन पुग्नुहुन्छ !
तापनि तपाईं दुःखी मानिस चाहिँ होइन । दुःखी मानिस त त्यो हो, जोसँग सपना छैन । भएको सपना पनि त्यागिसकेको छ । आफ्नो क्षमतालाई उसैले पत्याउन छाडेको छ । मानिसले तपाईंको सपनालाई कुल्चिए पनि सपना देख्न नछाड्नुस् । तिनले तपाईंको आशाको ढोका बन्द गरिदिए पनि सपना देख्न नछाड्नुस् । किन थाहा छ ? तपाईंलाई जति अरु कसलाई थाहा होला, तपाईंभित्र कति असीमित क्षमता छ ! मानिसहरुले तपाईंलाई तपाईंको बाहिरी आवरण हेरेर मूल्याङ्कन गर्छन्, तपाईंको क्षमता कहिल्यै हेर्दैनन् । तर आफ्नो क्षमताका लागि सधैँ लडिरहनुस्, सानो कुरामा सम्झौता कहिल्यै नगर्नुस् । आफ्नो मूल्य नचिन्ने ठूलो रकम आए पनि त्यसलाई महङ्खव नदिनुस् तर तपाईंको महङ्खव बुझ्ने सानै मूल्य पाए पनि त्यसलाई आत्मसात गर्नुस् ।
कुकुरसँगै सुत्नु परे पनि ठीक छ किनभने जबसम्म तपाईं ज्यूँदो हुनुहुन्छ, तपाईंको सम्भावना अझै मरेको हुँदैन ।

Leave A Comment