पहिलो संस्करणमा फ्लप

आइतबार, ०३ मङि्सर २०७४, ०१ : ३७ शुक्रवार
पहिलो संस्करणमा फ्लप

सुरज खड्का
कतिपय गायक–गायिकाका गीत सार्वजनिक भएको पहिलो चरणमा हिट नभएका थुप्रै उद्धाहरण पाइन्छन् । यस्तै एउटा गीत हो ‘सायद तिम्रो बाटोमा’ । मंगोलियन हार्टका लागि गायक राजु लामाले गाएको यो गीत पहिलो पटक सार्वजनिक हुँदा श्रोताले रुचाएका थिएनन् । सुपरहिट हुन्छ भन्ने ठानेको गीत यसरी गुमनाम भएपछि चिन्तित बनेको मंगोलियन हार्टले पछि यसलाई रिमिक्स भर्सनमा पुनः सार्वजनिक गर्यो । रिमिक्स भर्सनमा आएपछि भने यो गीत चर्चित मात्रै बनेन, मंगोलियन हार्ट र राजु लामासमेत सांगीतिक क्षेत्रमा स्थापित बने ।
नेपाली भाषाको पहिलो गायक
आफ्नो स्व्रमा गीत रेकर्ड गराउने पहिलो नेपाली गायक सेतुराम श्रेष्ठ हुन् । मोतिराम भट्टको गजललाई आफ्नो स्वरमा रेकर्ड गराउँदै उनले पहिलो गीत रेकर्ड गर्ने गायकको इतिहास आफ्नो नाममा लेखाएका हुन् । ‘यता हेर्यो मेरा नजरमा राम प्यारा छन्, उता हे¥यो मेरा नजरमा राम प्यारा छन्’ बोलको गीत सेतुरामको स्वरमा रेकर्ड भएको गीत हो । अर्को चर्चित नेवारी गीत ‘राजमती कुमती’ पनि पहिलोपटक उनकै स्वरमा रेकर्ड भएको थियो ।
संगीतका लागि संघर्ष
संघर्षको समय प्राय सबै कलाकारले केही न केही चूनौति भोगेका हुन्छन् । संगीतकार तथा गायक अम्बर गुरुङ पनि यसको अपवाद बन्न सकेनन् । २३ वर्षको उमेरमा उनले पहिलो गीत ‘नौ लाख तारा उदाए’ रेकर्ड गराउँदा केही सास्ती भोग्नु परेको थियो । सन् १९५८ मा संगीत गरेको यो गीत सन् १९६१ मा कलकत्ताको हिन्दुस्तान रेकर्ड कम्पनीमा रेकर्ड गरिएको थियो । त्यतिबेलाको चर्चित रेकर्डिङ कम्पनी हिन्दुस्तान रेकर्ड कम्पनीले गुरुङको स्वरमा रेकर्ड गर्न नमाने पछि ५०० प्रति आफैँले किन्ने सर्त राखे पछि मात्रै रेकर्ड भएको थियो । ५०० प्रति किन्दा लाग्ने सबै खर्च संगीतपारखी सचिन्द्रमणि नामका व्यक्तिले तिरेका थिए ।
बोलचाल बन्द भएका चर्चित गायक–गायिका
चर्चित गायक–गायिका नारायण गोपाल र तारादेवीबीच कुनै कार्यक्रममा भएको विवादका कारण लामो समय बोलचाल बन्द भएको थियो । बोलचाल बन्द भए पनि गायन पेसा अँगालेका उनीहरुले व्यक्तिगत झगडा र मनमुटावको छायाँ आफ्नो सिर्जनामा पर्न दिएनन् । नबोलेकै अवस्थामा उनीहरुले ‘ए कान्छा ठट्टैमा वैश जान लाग्यो’ र ‘मालती मंगले’ गीति नाटकमा एकसाथ स्वर दिए । प्रसिद्ध संगीतकार नातिकाजीसँग समेत तारादेवीको केही समय बोलचाल बन्द भएको थियो । बोलचाल बन्द भएपछि नातिकाजीले उनलाई नयाँ सिर्जना गाउन दिने कुरै भएन । त्यसैले नातिकाजीलाई देखाउनकै लागि तारादेवीले आफैँ संगीत सिर्जना गर्न थालिन् ।
पहिलो गायिका मेलवादेवी
पहिलो गीत रेकर्ड गर्ने गायक सेतुराम श्रेष्ठ भए जस्तै आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराउने गायिका भने मेलवादेवी गुरुङ हुन् । उनले आफ्नै शब्द, संगीत र स्वरमा ‘सवारी मेरो रेलैमा’ बोलको गीत भारतको कलकत्ता गएर रेकर्ड गराएकी थिइन् । चन्द्र शमसेरको दरबारमा गायिकाको रुपमा कार्यरत रहेकी मेलवादेवीलाई कलकत्ता गएर गीत रेकर्ड गर्न चन्द्र शमसेरले नै पैसा दिएका थिए ।
रेडियो नेपालकी पहिलो गायिका
बिराटनगरमा रहेको रेडियो प्रजातन्त्र २००७ सालमा काठमाडौँ स्थानान्तरण गरे पछि रेडियो नेपाल भयो । रेडियो नेपालमा पहिलो पटक गीत गाउने गायिकाको इतिहास भने कोइलीदेवीको नाममा रहेको छ । उनले आफ्नै शव्द, संगीत र स्वरमा २००७ साल चैत २६ गते गीत रेकर्ड गराएकी थिइन् । रेडियो नेपालमा पहिलो महिला संगीतकारको श्रेय पनि कोइलीदेवीलाई नै जान्छ तर विराटनगरमा रेडियो प्रजातन्त्रको रुपमा रेडियो स्थापना हुँदा भने त्यहाँ पहिलोपटक गीत गाउने गायिका रानुदेवी अधिकारी थिइन् ।

 

Leave A Comment