कोरियाको कहर

आइतबार, ०३ मङि्सर २०७४, ०१ : २३ शुक्रवार
कोरियाको कहर

सहरका सडकहरूमा देखिने स्थायी सूचना हो, कामदार चाहियो । राजधानीको नयाँ सडकका सुनचाँदी पसलेलाई कारिगर चाहिएको सूचना हुन्छन् । सुन्धारामा होटलहरूले कामदार चाहिएको सूचना टाँसेका हुन्छन् । डिपार्टमेन्टल स्टोर वा मलहरूमा सेल्स ब्याई/गर्लको आवश्कताको नोटिस हुन्छ । विराटनगरमा उद्यमीहरू, वीरगंजका व्यापारीहरू जो कोही कामदारकै खोजीमा हुन्छन् । कृषिलाई उद्यम बनाउने योजना बनाउनेहरूका कुरा सुन्ने हो भने उनीहरूको प्रमुख समस्या हुन्छ, कृषि मजदुर कसरी जुटाउने । सडकमा गाडी चलाउनेदेखि मुलुकको नीतिनिर्माणको तहमा जताततै दक्ष कामदारको अभाव खड्किएको छ मुलुकमा । मुलुकको वास्तविकता जनशक्तिको अभाव हो तर व्यवहारमा दैनिक हजारौँ मानिस कामका लागि अन्य देश उड्दै छन्  । कुन देशमा कति नेपाली मजदुरको रुपमा कार्यरत छन्, त्यसको यकिन रिपोर्ट हामीकहाँ छैन । वैधानिक र अवैधानिक दुवै तरिकाबाट विदेशिने भएकाले यकिन तथ्यांक राख्न र अद्यावधिक गर्न समस्या छन् ।
नेपालमा कामदारको अभाव छ तर हामीकहाँबाट किन ठूलो संख्या दैनिक विदेशिन्छन् ? प्रश्नको  उत्तर खोजिदैन । नेपालको राजनीतिक अस्थिरता, न्यून आर्थिक कारोबार प्रमुख कारण हो त जनशक्ति विदेशिनुका पछाडि ? निश्चय पनि हाम्रो राजनीति, आर्थिक प्रमुख कारण हुनसक्छ तर हामीले हाम्रो सामाजिक अवस्था र सामाजिक कारणको लेखाजोखा गर्दैनौं । लामो समयदेखि ठूलो सानोको भेद, जातपात, छुवाछुतका जस्ता प्रथाले जड्किएको नेपाली समाजमा आफ्नो काम गर्न, आफ्नो गाउँसहरमा काम गर्न लाज लाग्ने र विदेशमा जस्तोसुकै काम गर्न पछि नपर्ने मनोविज्ञानले काम गरेको देखिन्छ । वैदैशिक रोजगारीमा जानु पर्नाका कारण हामीकहाँको सीमित श्रम बजार, पारिश्रमिक, सेवा, सुविधाका कुरा पनि छन् । दिनभरि उद्यममा काम गर्ने मजदुरले विहान बेलुकाको छाक टार्न पनि मुस्किल हुने खालको पारिश्रमिक व्यवस्थामा अब परिवर्तन आवश्यक छ । काम लगाउने उद्यमीले नेपालमा जनशक्ति अभाव छ भनेर चिन्ता गर्ने भन्दा कामदारलाई कसरी अड्याउने भन्ने नीति अख्तियार गर्न आवश्यक छ । अर्को कारण नेपालमा अवैधानिक पैसाको ठूलो चलखेल हुन्छ । तस्करी, भ्रष्टाचार, कालोबजारीजस्ता कामबाट आर्जन हुने पैसाका कारण नेपालमा इमान्दारीका साथ उद्यम, व्यापार गर्नेहरू निरुत्साहित भएको हामी पाउँछौं । छिटो र सजिलो किसिमले पैसा कमाउनु पर्छ भन्ने चाहनाले पनि हजारौँ युवा अर्काको देशमा हातपाखुरा चलाउन बाध्य छन् ।
निश्चय पनि विदेशमा काम गर्न गएकाहरूले पठाएको पैसा जसलाई अर्थशास्त्रीहरू रेमिटेन्स भन्छन्, रेमिटेन्सले घरघरको अर्थतन्त्र धानेको छ । सामान्यभन्दा सामान्य मानिसले राम्रो खान, लाउन पाएका छन् । सामान्यभन्दा सामान्य परिवारको सदस्य, जो विदेश गएका छन्, तिनका लालाबालाले ‘बोर्डिङ स्कुल’ पढ्न पाएका छन् । मानवीय विकासका दृष्टिकोणले यो सकारात्मक पक्ष हो । नागरिकले राम्रो खान, लाउन तथा शिक्षा, स्वास्थ्यजस्ता सेवा प्राप्त गर्नुपर्छ तर यसले पार्ने सामाजिक, आर्थिक असरहरूबारे हाम्रो समाजमा खासै छलफल भएको र राज्यले नीति निर्माण गरेको पाइँदैन । राज्य सकेसम्म नेपाली विदेश जाऊन् र कमाएर ल्याऊन् भन्ने मनोविज्ञानबाट ग्रसित भएको देखिन्छ । वैदेशिक रोजगारीलाई कतिपय अर्थविद्हरू खहरे खोला झैँ भन्छन् । खहरे खोलाको क्षणिक गर्जनजस्तै अवस्था हो भने नीतिनिर्र्माण गर्नेहरूले वैदेशिक रोजगारीबारे बैलैमा व्यवहारिक नीति बनाउन आवश्यक छ । २० देखि ४० वर्ष उमेर समूहका पुरुष विदेशमा काम गर्न गएको अवस्था, उनीहरूले पठाउने पैसाले ल्याउने खुसीका साथसाथै त्यो उमेर समूहका महिला पुरुषहरू लामो समय बेग्लाबेग्लै बस्नुपर्ने अवस्थाले निम्त्याउने शारीरिक, मनोवैज्ञानिक असरहरूको विश्लेषण आवश्यक छ । पैसा भएपछि मानिसका सबै चाहना–आकांक्षा पूरा हुन्छन् भन्ने होइन ।
सरकारी तथ्यांकअनुसार मजदुरी गर्न विदेश जान चाहनेहरु जस–जसले श्रम स्वीकृति लिएका छन्, तिनको संख्या करिब ४५ लाख मानिन्छ । जसमध्ये आधाजसो विदेशमा छन् । यो तथ्यांक मजदुरी गर्न जाने खाडी मुलुक, जापान, कोरियाको हो । युरोप, अमेरिका जहाँ मजदुरी गर्ने उद्देश्यले जान पाइँदैन, त्यहाँ विद्यार्थीको रुपमा जाने र काममा घोटिनेको संख्या त्यत्तिकै छ ।
वैदेशिक रोजगारीले सुखद् परिणाम मात्र ल्याउँदैन भन्ने उदाहरण दक्षिण कोरिया बन्न गएको छ । पछिल्लो समय कोरिया काम गर्न जानेहरूमा राति सुतेकै अवस्थामा मृत्यु हुने र आत्महत्या गर्ने संख्या अन्य देशको तुलनामा धेरै देखिएको छ । र, यो अवस्थाबाट कोरिया सरकार झस्किएको देखिन्छ । अन्य देशको तुलनामा ६ गुणा कमाई हुने कोरियामा जाने नेपाली कमाईको तुलनामा धेरै सन्तुष्ट हुनुपर्ने हो तर परिणाम उल्टो  छ । आत्महत्या बढेर गएको छ । सन् २००७ यता कोरिया गएकामध्ये एक सय ३० जनाको निधन हुँदा ३६ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका युवायुवती रहेको बताइएको छ ।
कोरिया एउटा कारण हुनसक्छ, त्यस्तै कतिपय मुलुकबाट फर्किएकाहरूमा मृगौला फेल हुने लगायतका कडा रोगको सिकार भएको समाचारहरू बेलाबेला आउँछन् । सरकार, राजनीतिक पार्टीहरू, नीति निर्माताहरू र ठूलो संख्यामा रोजगारी दिने हैसियत राख्ने निजी क्षेत्रको मुख्य उदेश्य कामका लागि विदेशिने नेपालीहरूले मुलुकभित्रै रोजगार पाउने नीति र कार्यक्रम आवश्यक भइसकेको छ । कामका लागि विदेशिने नेपाली युवाहरूभन्दा युवा शक्ति प्रयोग गर्न नसक्ने सरकार बढी जिम्मेवार हुन्छ ।

Leave A Comment