धरानमा पनि ‘पर्फमेन्स आर्ट’

शनिबार, ०२ मङि्सर २०७४, ०१ : ३७ शुक्रवार
धरानमा पनि ‘पर्फमेन्स आर्ट’

धरानको व्यस्त भानुचोक । भानुभक्तको सालिक नजिक ट्राफिक प्रहरी बिटसँगै मान्छेभन्दा अग्लो मोबाइलको सेट छ । कालो पहिरन, कालो मास्कमा युट्युब, फेसबुक, मेसेन्जर, गेमको रुपमा कलाकारहरु आफ्नो अभियोग सहितको प्लेकार्ड बोकेर मोबाइल सेटभित्र पस्छन् । युट्युबमाथि मानहानी (चरित्रहत्या)को अभियोग छ, फेसबुकमा दुव्र्यसन, गेममाथि समयको बर्बादी र मेसेन्जरमा ठगी अभियोगमा मुद्दा छ । उनीहरु पालैपालो सेटभित्र घुमिरहन्छन् ।
मोबाइल सेटबाहिर सडकमा सेतो मास्क र पहिरनमा विभिन्न आकृतिको पेन्टिङ गरिरहेका हुन्छन् । आकर्षक चित्र कोरिसकेपछि सेतो पहिरनका कलाकारहरुले मोबाइलभित्रका चारै जनाको अनुहार(मास्क)मा आधा सेतो रंग पोतिदिन्छन्, र पालैपालो बाहिर निकाल्छन् । प्रविधिको उच्चतम एवं तीव्र विकासले नेपालजस्तो अल्प विकसित मुलुकमा पनि कुना काप्चामा मोबाइल, इन्टरनेटको पहुँच पुगेको छ । मानिसहरु बिस्तारै त्यही प्रविधिमा पूर्ण निर्भर हुँदै गइरहेका छन् र मानिसहरु प्रविधिभित्रै जकडिदै गइरहेका छन् । विश्वको यही समस्यालाई कलाकारहरुले पर्फमेन्स आर्टमार्फत भानुचोकमा प्रस्तुत गरेका थिए । जसलाई गएको सोमबार धरानका दर्शकहरुले बुझ्ने प्रयत्न गरे ।
फाइन आर्टको एउटा विधा हो, पर्फमेन्स आर्ट । फाइन आर्टका विद्यार्थीहरु देशभर छरिएका छन् । तर,यो आर्ट राजधानीमा मात्र सिमित छ । कलाकारहरु देशभर भएपनि मोफसलसम्म विस्तार हुन सकेको छैन । राजधानीमा मात्र सिमित रहेको पर्फमेन्स आर्टलाई धरानका युवा कलाकारहरुले पुर्वमा विस्तार गर्ने प्रयास गरिरहेका छन् । ‘टेक्नोलोजीले मान्छेलाई कसरी काबुमा राख्दैछ, र सृर्जनशीलता कमजोर बनाउदैछ भन्ने सन्देश दिन खोजेका हौं,’कलाकार आइस्था राईले भनिन्,‘पर्फसेन्स आर्ट फाइन आर्टकै एउटा विधा हो, तर यो काठमाण्डौंमा मात्र सिमित छ । हामी बाहिर पनि यसलाई पुर्याउन खोज्दैछौं ।’
पर्फसेन्स आर्टलाई मोफसलमा पुर्याउन कलाकारहरु आइस्था राई, हेमन्त थापा, बिक्रम वनेम, सोनी राई, युमेनहाङ राई, जीवन पौडेल र शशी किरणलगायतले प्रयास गरिरहेका छन् । उनीहरुलाई कलरव नामको संस्थाले प्रेरणा दिइरहेको छ । उपत्यका बाहिर पर्फमेन्स आर्ट प्रस्तुत भएको यो दोस्रो पटक हो । यसअघि २०७२ सालमा महाभुकम्पपछि कलरवले ‘पुननिर्माणमा क्यानभास’ शिर्षकमा चित्रकला प्रर्दशनी गरेको थियो । उक्त कार्यत्रमको शुरुवातमा कलाकार आइस्थाले पर्फसेन्स आर्ट प्रस्तुत गरेकी थिइन् । कलाकार महेन्द्र राईका अनुसार पर्फमेन्स आर्ट नयाँ शैली र अवधारणा हो । यो प्रस्तुत हुदै धेरैजसो सिम्बोलिकरुपमा वस्तु वा चिजहरु प्रयोग गरिने भएकोले सहजै बुझ्न गाह्रो हुन्छ । ‘पर्फमेन्स आर्ट नयाँ शैली र अवधारणा हो, त्यसैले धेरैले त बुझ्दैनन् । यसलाई बुझ्नको लागि शुरुदेखि अन्त्यसम्म हेर्नुपर्छ,’कलाकार राई भन्छन् ।

 

Leave A Comment