पैसावाला नेताका भरौटे बढी

शनिबार, ०२ मङि्सर २०७४, ०१ : ०७ शुक्रवार
पैसावाला नेताका भरौटे बढी

शिवहरि घिमिरे
काठमाडौंको क्षेत्र नं १ मा चुनावी प्रतिस्पर्धा चर्को छ । लोकतान्त्रिक गठबन्धनका प्रकाशमान सिंह, विवेकशील साझाका रवीन्द्र मिश्र र बाम गठबन्धनका अनिलकुमार शर्माबीच चुनावी भिडन्त हुँदैछ । तीनै जना नेता आफूले चुनाव जसरी पनि जित्ने र चुनावी खर्च पनि कम गरेर जित्ने दाबी गर्छन् तर चुनावी प्रचार–प्रसारको यथार्थ भने बेग्लै छ ।
नेतासँग चुनावी प्रचार–प्रसारमा हिँड्ने कार्यकर्ता काठमाडौं बाहिरका छन् । उनीहरु देशका विभिन्न ठाउँबाट काठमाडौं आएका हुन् । कार्यकर्तालाई काठमाडौं ल्याउने र खाने बस्नेको व्यवस्था पार्टीले नै गरेका छन् । चन्दा उठाएरै भए पनि उम्मेदवारलाई भोट माग्ने कार्यकर्ता पनि कतैकतै भेटिन्छन् । उम्मेदवारहरु पनि कार्यकर्तामाथि नै बढी भरोसा राखेका छन् । नेताहरु पुग्न नसक्ने ठाउँमा कार्यकर्ता नै पुगेर भोट मागिदिने गरेको छन् । आफ्नो समर्थक वा नेताले जित्यो भने केही गर्ला भन्ने आसमा नेताको पछि लाग्ने गरेको कार्यकर्ता स्वयं बताउँछन् । यसको ज्वलन्त उदाहरण हुन्, काठमाडौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंहलाई चुनाव जिताउन लागिपरेका श्याम पौडेल । ‘हामीलाई रोजगार चाहिएको छ, देशको विकास पनि होला भन्ने आस छ,’ सोमबार शुक्रबारसँग उनले भने, ‘त्यसैले नेताको पछि हिँडेको हुँ ।’ उनको घर गुल्मी हो ।  उनी गुल्मी तम्घासमा क्याफे सञ्चालन गर्छन् । चुनाव लागेयता भने उनी काठमाडौंमै छन् । साथीहरुले चुनावी प्रचार–प्रसारका लागि बोलाएका कारण काठमाडौं आएको उनको भनाइ छ । ‘क्याफे खोल्दा दिनमा ५ सय फाइदा हुन्छ, यता हिँड्दा आफ्नो मान्छेलाई समर्थन पनि हुने र पैसा पनि आउँछ ।’ उनले चुनावमा हिँड्दा खानपिन र पारिश्रमिक पनि आउने गरेको पनि बताए ।  
उनी मात्रै होइन अहिले उपत्यकामा चर्चित नेताका पछि उपत्यका बाहिरबाट आएका धेरैै कार्यकर्ताहरु छन् । उनीहरु आफ्नो पक्षको नेतालाई जिताउन अनेकौं तवरले प्रचारप्रसारमा हिँडेका छन् ।  देशका हामी जनताले धेरै दुःख पायौं, अब त केही होला भन्यो सधैं उस्तै विवेकशील साझा पार्टीको प्रचार–प्रसारमा लागेका महोत्तरीका उदय शाहले भने, ‘मैले कुनै फाइदाको लागि पार्टीलाई सहयोग गरेको होइन, राम्रो नेताले जितोस् र यो देशको विकास गरोस् भन्नका लागि यहाँ आएको हुँ ।’ उनले महोत्तरीबाट काठमाडौं आउन लाग्ने खर्च भने पार्टीले व्यहोरेको सुनाए ।
अहिले देशैभर कार्यकर्ता र उम्मेदवार प्रदेशसभा र प्रतिनिधिसभा चुनावको चटारो बढेको छ । नेताहरु कार्यकर्ता बोकेर आफ्नै क्षेत्रमा भोट माग्न व्यस्त छन् । ठूलादेखि साना पार्टीसम्मका नेताहरुले कार्यकर्तालाई टेको बनाएर चुनाव जित्ने दौडमा छन् । यस्तै दौडमा छन् काठमाठौं क्षेत्र नं १ का उम्मेदवार प्रकाशमान सिंह । उनी दैनिक दुईपटक जनताको घरदैलोमा पुग्ने गरेको बताए । ‘हामी बिहान र बेलुकीको समय जनताको घरदैलोमा पुगेका छौं,’ उनले भने, ‘अहिले दैनिक सयदेखि डेढ सय कार्यकर्ता मसँगै चुनावी प्रचार–प्रसारमा हिड्ने गरेका छन् ।’
चुनावमा होमिएका उम्मेदवारलाई जिताउन उपत्यका बाहिरका कार्यकर्ता तल्लिन छन् । कार्यकर्तालाई अहिले नेतालाई भन्दा बढी चुनावले छोएको छ । उनीहरु दिनभर नेताकै अघिपछि थपडी मार्दै घरदैलो कार्यक्रममा व्यस्त छन् । क्षेत्र नं १ का तीनै नेताको अघिपछि डेढ सयदेखि २ सयसम्म कार्यकर्ता हुन्छन् । तीमध्ये झन्डै एक तिहाई कार्यकर्ता उपत्यका बाहिरका रहेको उम्मेदवार स्वयं स्वीकार्छन् । ‘हामीले कार्यकर्तामाथि खर्च गरेका छैनौं, समर्थकहरु आएर सहयोग गर्नुहुन्छ,’ काठमाडौं क्षेत्र नं १ कै वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मा भन्छन्, ‘बरु चियापानको व्यवस्था पार्टीले गरेको छ ।’ उनले उपत्यका बाहिरबाट आएका कार्यकर्ताले पनि घरदैलो कार्यक्रममा सहयोग गर्ने गरेको सुनाए । ‘आफूलाई मनपर्ने उम्मेदवारलाई भोट माग्न उपत्यका भित्रकै कार्यकता हुनुपर्छ भन्ने छैन,’ शर्माले भने, ‘मतदाता नामावलीमा नाम नभएका कार्यकता पनि हामीसँगै घरदैलोमा हिँड्नुभएको छ ।’
त्यसो त यो समयलाई उम्मेदवारहरु जतिसक्दो जनता भेट्ने, भोट माग्ने, नयाँ–नयाँ आशा देखाउने, जनताकै घरमा पुगेर चियापान गर्ने, घुलमिल हुनेमै व्यतित गर्न थालिसकेको छन् । कतिपय नेताहरु गफले भए पनि जनताको मन जितेर चुनाव जित्ने कसरतमा छन् । उनीहरु जनतामाझ पुगेर पैसा बाँड्ने, खेतबारीमा काम गरिदिने, सँगै गोठालो हिँड्ने लगायतका अनौठा गतिविधि गरेको पनि देखिन्छ । चुनावको बेला उम्मेदवारहरुमा देखिने यी कुनै नौला प्रवृत्ति भने होइनन् । यसभन्दा अघिल्ला चुनावहरुमा यस्ता क्रियाकलाप भएका थिए ।
चुनाव जित्न कार्यकर्ताकै भर
एउटा चुनावी मैदान उत्रिएको नेतालाई चुनाव जित्न एक्लो बलले पुग्दैन । उसलाई कार्यकर्ता र सहपाठीहरुको साथ अति आवश्यक हुन्छ । चुवानी प्रचार प्रसारमा भोट माग्दै हिड्ने नेताहरुमध्ये सबैभन्दा बढी गगन थापा, रवीन्द्र मिश्र, प्रकाशमान सिंह, माधवकुमार नेपाल, राजन भट्टराई लगायत नेताका बढी कार्यकर्ता घरदैलो कार्यक्रममा देखिन्छन् । शुक्रबार साप्ताहिकका लागि मंगलबार बिहान ८ बजे उम्मेदवारसँगै काठमाडौं क्षेत्र नम्बर १ र २ का मतदाताहरुको घरमा पुग्दा उनीहरुका कार्यकर्ता धेरै देखिन्थे । चुनावमा हिड्ने कार्यककर्ताहरु उनीहरुभन्दा बढी सक्रिय हुँदै भोट माग्दै गरेको देखिन्थ्योे । उनीहरु आफ्नो नजिकको नेताले जितोस् भन्ने भावनामा दिनको दुईपटक यसरी नै उम्मेदवारहरुको घर–घरमा पुग्ने गरेका छन् । विहान ७ बजेदेखि १०  र बेलुकी ४ देखि ६ बजेसम्म उम्मेद्वारसँगै मतदाताको घरदैलोमा पुग्ने गरेको नुवाकोटबाट चुनावी प्रचार–प्रसारको लागि भन्दै काठमाडौं आएका हरि पोख्रेल बताउँछन् । उनी युवा नेताको समर्थनमा भोट माग्दै थिए । ‘हामीलाई सफल नेतृत्व चाहिएको छ,’ प्रचार–प्रसारमा भेटिएका उनले भने, ‘युवा नेताले जस्तो अन्य नेताले युवाको पीरमर्का बुझ्न सक्दैनन् त्यसैले मलाई युवा नेतासँगै हिँड्न मन लाग्यो ।’
उनले आफूले भोट हाल्न नपाए पनि भोट मागेर सहयोग गर्न उम्मेदवारसँगै स्थानीयको घरदैलोमा पुगेको बताए । उनी आफू यसभन्दा पहिले विदेश जाने आउने गरेको र अब भने नेपालमै केही रोजगार पाइन्छ कि भनेर भौतारिँदै हिँडेको सुनाए ।
युवालाई आफ्नै भविष्यको चिन्ता
ठूला नेताहरुको प्रचार–प्रसारमा हिड्ने कतिपय कार्यकर्ताहरु आफ्नै भविष्य अन्योलमा परेको बताउँछन् । नेताहरुकै पछि लागेर हिँड्दा आफ्नो ऊर्जावान शक्ति खेर गइरहेको उनीहरुको गुनासो छ । ‘बेरोजगार युवा, अब त केही होला भनेर यसरी पार्टीको पछि हिड्न लागेको पनि धेरै वर्ष भयो,’ ललितपुर इमाडोलका आयुष भण्डारीले भने, ‘तर आफ्नो जीवनस्तर उस्तै रह्यो, चुनाव जित्नेहरुले आफ्ना मान्छे मात्रै भर्ती गरे ।’
उनले पहिले–पहिले मुख्य नेताहरुको पछि हिँड्दा आफ्नै भविष्य अन्योलमा पर्ने भएपछि नेताको पछि चाकडी घस्दै हिँड्न छाडेको सुनाए । उनीजस्तै मुख्य राजनीतिक नेताहरुको समर्थन गर्दै भोट माग्न हिँडेका कैयौं युवाहरु आफ्नो भविष्य के हुने हो भन्ने दुविधामा देखिन्छन् । यस्तै दुविधामा छन् काभ्रेका श्रीकृष्ण ढकाल । उनी राजनीति नेताको पछि लाग्दा कैयौं युवाहरुको भविष्य बिग्रिएको बताउँछन् । उनी भन्छन्, ‘राम्रो र सक्षम नेतृत्वले जितोस् भन्ने भावनामा चुनावी प्रचार–प्रसारमा हिँडेका युवाहरुलाई आफ्नै भविष्य प्रतिको चिन्ताले पिरोलिरहेको हुन्छ ।’
पार्टी समर्थनमा लामो समयदेखि हिँडेका युवाहरु नत पार्टीको कुनै रोजगार पाउँछन् न देशको विकास नै । आउँदै गरेको निर्वाचनमा सक्षम नेतृत्वकर्ताले चुनाव जितोस् भन्ने मनसायले नेताहरुकै पछि हिडेका युवाहरु आफ्नो चुनाव जितेपछि नेताले बाचा पूरा गर्लान् भन्नेमा ढुक्क नरहेको बताउँछन् ।
चन्दा उठाउँदै प्रचार गर्दै
ठूला पार्टीले चुनावी खर्चसमेत जुटाउन नसक्दा उनीहरु अहिले चन्दा उठाउँदै प्रचार–प्रसारमा लागेका छन् । लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन, विवेकशील साझा, राप्रपा, नेपाल मजदुर किसान पार्टी लगायतको प्रचार–प्रसारमा लागेका कार्यकर्ताहरु चन्दा उठाउँदै प्रचार गर्ने दौडमा छन् । उनीहरु आफ्नो पक्षको नेतालाई जिताउन चोक–चोकमा चन्दा उठाएका प्रचार सामग्री किन्ने, विभिन्न खालका शिविर सञ्चालन गर्ने र आफ्नो दैनिक गुजार्ने गरेको सुनाउँछन् । ‘सक्षम र जिम्मेवार नेताले चुनाव जिते भने मात्रै समाज र देशको विकास हुनसक्छ,’ वाम गठबन्धनको चुनावी प्रचारप्रसारमा लागेका अर्घाखाँची ढाड मैदानका हेमन्त घिमिरेले भने, ‘काठमाडौंमै बसेर चन्दा उठाउँदै प्रचार–प्रसार गरेका छौं ।’ उनले पछिल्लो समय पैसा हुने नेताले भोज–भतेर गर्ने, कार्यकर्तालाई पैसा बाड्ने जस्ता गतिविधि भइरहेकोले त्यसो गर्नु गलत रहेको बताए । ‘नेताबाट पैसा खाएर प्रचारप्रसारमा लाग्दा त्यसले समाजलाई नै बिगार्छ,’ उनले भने, ‘बरु स्वच्छ मनले आफूसक्दो चन्दा उठाएर सहयोग गर्दा अति नै राम्रो हुन्छ ।’
उनीजस्तै चन्दा उठाउँदै प्रचार–प्रसारमा लाग्ने अर्का युवा हुन् नवीन बुढाथोकी । उनको घर सिन्धुली हो । आफ्नो पक्षको नेताले चुवानी प्रचारप्रसार गर्न काठमाडौं बोलाएका कारण यहाँ आएको सुनाए । ‘हामीले पार्टीबाट त्यस्तो कुने फाइदा लिएका छैनौं, बरु चन्दा उठाएरै भएपनि सक्दो प्रचार–प्रसार गर्दै हिँडेका छौं,’ उनी  पार्टीको आस्थाले पनि आफू चुनावी कार्यक्रममा हिडेको बताए । त्यसो त नेताहरुले पनि पर्याप्त पैसा नभएकोले चन्दा उठाउनु परेको स्वीकार्छन् । ‘हामीलाई यो देशको विकास गर्नुछ, पैसा खन्याएर चुनाव जित्ने जमाना गए,’ काठमाडौं क्षेत्र नं १ का विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले भने, ‘हामीसँग पैसा नभएकाले नै जनतासँग सहयोग माग्दै प्रचार–प्रसारमा हिडेका छौं ।’
भोट नहाल्ने कार्यकर्ता
धादिङ गजुरीका २६ बर्षीय श्याम श्रेष्ठ भोट हाल्न पाउँदैनन् । मतदाता नामावलीमा नाम दर्ता भएकोले उनी अहिलेसम्मका कुनै पनि मत दिन पाएका छैनन् । तर, आफूलाई मनपर्ने नेताले चुनाव जितोस् भन्ने भावनाका साथ उनी ढुक्कले प्रसार प्रसारमा लागेका छन् । उनी भन्छन्, ‘५ वर्ष विदेश बसेँ, त्यसैले पनि नामावलीमा नाम छुट्यो । अब नेपालमै केही गर्ने सोच बनाएको छु ।’ उनी लोकतान्त्रिक गठबन्धनको समर्थनमा काठमाडौंमा भोट माग्दै हिँडेका छन् । ‘चुनावी प्रचारमा हामीले पार्टीबाट त्यस्तो कुनै फाइदा लिएका छैनौं,’ उनले सुनाए, ‘सक्षम नेतृत्वले चुनाव जितोस् भनेर प्रचारमा लागेका हुँ ।’
बिहानैदेखि बुलुकीसम्म चुनावी प्रचार–प्रसारमा हिँड्ने कतिपय कार्यकर्ताहरुको मतदाता नामावलीमा नाम छैन । उनीहरु  आफूले भोट हाल्न नपाए पनि ढुक्कले चुनाव प्रचारमा जुटेका छन् ।
पैसावाला नेताकै पछि
चुनावमा फजुल खर्च गर्ने परम्परा अझै कायम छ । ठूला नेताहरु आफूले चुनावमा खासै खर्च नगरेको दाबी गरे पनि भित्रभित्रै भने पैसाले भोट किनिरहेका हुन्छन् । कतिपय पैसावाला नेताहरुले आफ्नो चुनावी प्रचारमा हिँडेका कार्यकर्ता पैसा बाँड्ने, भोजभतेर गर्ने, मोटरसाइकलमा तेल हालिदिनेलगायत सुविधा दिएर प्रचार–प्रसारमा हिँडाउने नगरेका होइनन् । अहिले पनि मुख्य पार्टीका ठूला नेताहरुले फजुल खर्च गरेरै भए पनि चुनाव जित्ने प्रपञ्च रच्दै अघि बढिरहेका छन् । कतिपय नेताहरुको यस्तो प्रवृत्तिले गर्दा सक्षम र जिम्मेवार व्यक्तिले चुनाव हार्न सक्ने बताउँछन् काठमाडौं तीनकुनेका घनश्याम अधिकारी । उनी भन्छन्, ‘पैसा हुनेले भोज भतेर गर्ने, पैसा बाँड्ने जस्ता नकारात्मक क्रियाकलाप गर्नेले राजनीतिमा विकृति ल्याएका हुन्, तटस्थ रुपमा चुनाव लड्ने र फजुल खर्च नगर्ने हो भने सक्षम व्यक्ति नेतृत्वमा पुग्न सक्छ ।’

Leave A Comment