राजको फ्रि स्टाइल कला

बिहिबार, ३० कार्तिक २०७४, ०१ : ११ शुक्रवार
राजको फ्रि स्टाइल कला

घरी निधार र टाउकोमा वल अड्याएर राख्छन्, घरि दुवै हात र जिउमा बल कुदाउँछन् । खुट्टाले पनि भुइँमा नझारी बल हावामा खेलाइरहन्छन् । उनको यो जादुयी कला देख्नेहरु त छक्कै पर्छन् । हुन त युट्युब तथा सामाजिक सञ्जालहरुमा युरोपका सडक किनारमा जादु यस्ता ट्रिक एवं कला देखाएको भिडियोहरु भाइरल छन् तर आफ्नै आँखा अघि त्यो पनि नेपाली युवाले त्यस्तै गरी वल खेलाउदा को मोहित नहोला र !
फुटबललाई घरी हातमा, घरी टाउको र जिउमा निरन्तर खेलाउने यो कला ‘फ्रि स्टाइल फुटबल’ हो । हाम्रो जस्तो मुलुकमा दुई टिमबीच मैदानमा घम्सा घम्सी गर्ने र पोष्टमा गोल गर्ने खेल मात्र फुटबल हो भन्ने छ । तर, युरोप, अमेरिकातिर भने फ्रि स्टाईल फुटबलको कला व्यावसायिक भइसकेको यसका पारखीहरु बताउछन् । यही फ्रिस्टाइल कलालाई धरानका युवाहरु प्रर्वद्धन गर्ने अभियानमा छन् । फ्रिस्टाइल कला देखाउने युवा हुन्, धरान ११ का २७ बर्षीय राज राई । उनी सानैदेखि फुटबल खेलाडी हुन् । राजधानीमा ब्रिगेड ब्वाईजबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । लिग हुन नसकेर खेलाडीहरु बेरोजगार भइरहदा राज भने आफुमा भएको फ्रिस्टाइल स्किललाई तिखार्न तिर लागे । साथीभाईको हौसला पाएर अहिले भने उनी यो कलाको प्रर्वद्धनमा जुटेका छन् । ‘यो हेर्दा सजिलो र रमाइलो जस्तो लाग्छ, तर एकदमै गाह्रो स्किल हो । टाउकोमा वल अडाउनु, जिउ र दुवै हातमा वल कुदाउनु, नियन्त्रणमा राख्नु, खुट्टाले भुईमा नझारी खेलाई रहनु सजिलो हुदैन,’राजले भने,‘निरन्तर अभ्यास गर्नुपर्छ । ज्यान गल्छ, आफैसँग रिसपनि उठ्छ ।’
युरोप, अमेरिकातिर फ्रि स्टाइल फेशन बनिसकेको छ । साथै, व्यावसायिकता पनि छ । नेपालमा केही बर्षअघि राजधानीतिर फ्रिस्टाइल शो भएपनि त्यसले निरन्तरता भने पाउन सकेन । सबै फुटबल खेलाडीमा फ्रिस्टाइल कला पनि हुदैन । राज भने सहयोग र मौका पाउदा आफ्नो कलालाई नलुकाई निरन्तरता दिन चाहन्छन् । ‘यो कलालाई म निरन्तरता दिन चाहन्छु । कतै कसैले शो गर्न बोलायो भने मलाई पनि खुशी लाग्छ,’उनी भन्छन् । बुबा भारतीय सेनामा कार्यरत हुदा नै राज उतै जन्मिएका थिए । प्रारम्भिक शिक्षा भारतमा आर्जन गरेका उनी सानैदेखि फुटबल खेल्न भनेपछि हुरुक्कै हुन्थे । पछिल्लो समय भने उनी मैदानमा फुटबल म्याच भन्दा पनि फ्रि स्टाइल स्किलतर्फ केन्द्रीत छन् ।
फुटबल खेलाडी धिरेन लिम्बूका अनुसार २ टिमबीच मैदानमा गोल हान्ने र जित्ने खेल मात्र फुटबल हो भन्ने आमधारणालाई हटाउन आफुहरु पनि फ्रिस्टाइल शो गर्न लागिपरेको बताउछन । ‘फुटबल खेल मात्र नभई एउटा कला पनि हो, यो कला देखाएर पनि व्यावसायिक हुनसकिन्छ भन्ने  सन्देश दिन जरुरी छ,’उनी भन्छन्,‘राजमा फ्रिस्टाइल कला छ, धरानमा धेरै स्कुलहरु छ, उनलाई कोच राख्न सकियो भने व्यावसायिक पनि हुन्छ र उनको कला अरुले पनि सिक्न पाउछन् ।’

 

Leave A Comment