‘गीत लेखेर बाँच्न सम्भव छैन’

सोमबार, २७ कार्तिक २०७४, १२ : ४६ शुक्रवार
‘गीत लेखेर बाँच्न सम्भव छैन’

राजकुमार बगर, नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि उदाएको नाम हो । २०५५ देखि बगर निरन्तर लोक तथा आधुनिक संगीत क्षेत्रमा छन् । उनले लेखेका ‘उडेर जुन छुन्छु भन्थे, मिर्मिरेको घाम, आमा रातो सारी चुरा पोते किन नलाको, तिमी छौ र पो हाँसेको छु म’ लगायत दर्जनौँ लोकदोहोरी तथा आधुनिक गीत श्रोता–दर्शकको जिब्रोमा कण्ठस्थ छन् । पछिल्लो समय संगीतकारको परिचय पनि बनाएका बगरको एकल संगीतमा मात्रै १२ वटा एल्बम सार्वजनिक भइसकेका छन् । २०६९ देखि लगातार ६ पटक उनले उत्कृष्ट संगीतकारका रूपमा म्युजिक अवार्ड पनि जितेका छन् । उनै बगरसँग मनोज घर्तीमगरले गरेको अन्तरंग कुराकानी ।

तपाईंको गीत लेखनमा कुन प्राथमिकता दिनुहुन्छ ?

प्रेम गीतहरु नै मेरो छनोटमा पर्दछन् । सायद सबै भन्दा बढीलाई मन पर्ने विधा भएर होला ।

गीत लेखकमा हुनै पर्र्ने गुण ?

–वास्तविकताको गहिराईमा पुग्ने कोसिस गर्नु । पीडा र खुसीको गहिराईमा पुग्ने लक्ष्य राख्नु । सृजना, रचना गर्नुभन्दा संकलनतिर लाग्नु गीत लेखकमा हुनैपर्ने गुणभित्र पर्छन् ।

आफ्नो कुन गीतबाट बढि सन्तुष्ट हुनुहुन्छ ?

–कुनै पनि श्रष्टालाई आफ्ना सबै रचना उत्तिकै प्यारो लाग्छन् । तर, पनि ‘तिमीलाई आफ्नो भन्ने मेरो अधिकार गुमे पनि...’ भन्ने गीत मलाई बढी मन पर्छ । जुन गीत मेरो पहिलो संगीत पनि हो । अर्को मनपर्ने गीत हो ‘उडेर जून छुन्छु भन्थेँ’ मैले लेखेकामध्ये सबैभन्दा पहिले रेकर्ड भएको गीत हो । रेडियो नेपालको २०५५ को देशव्यापी राष्ट्रिय गीत सम्मेलनमा शब्द र स्वरतर्फ यो गीत पहिलो भयो । २०५४ सालमा यो गीत लेखेको हुँ । स्नातक तहको परीक्षा दिन पोखरामा बसेको समयमा कोठाभित्र टोलाइरहँदा यो गीत फुरेको थियो ।

पहिले र अहिलेको गीत लेखनमा के फरक पाउनु भा छ ?

– पहिलाको भाव प्रधान हुन्थ्यो अहिले बढी व्यावसायिक गीत लेखिन्छ ।

अब नेपालमा फुलटाइम गीत लेखेर बाँच्न सकिएला ?

–नेपालको संगीत बजार सानो छ । पछिल्लो सयम विकास भएको प्रविधिले संगीत बजारलाई धरापमा पनि पारेको छ । त्यसैले व्यवस्थित संगीत बजार नबनेसम्म फुलटाइम गीत लेखेर बाँच्न असम्भव छ ।

नेपाली गीत संगीतमा कस्ता प्रकारका गीतहरु बढी लेखिन्छन्  ?

–प्रेम विछोडकै गीत बढी लेखिन्छन्, संगीत भरिन्छन्, गाइन्छन् र मन पराइन्छन् पनि...।

गीत सृजना, रचना वा संकलन के गरिन्छ ?

–पहिले गीत संकलन गरिन्थ्यो । तर, हिजोआज गीत निश्चित रुपमा सिर्जना गरिन्छ तर केही गीतहरु उखान– टुक्काबाट पनि जन्मिएका छन् ।

विश्व संगीतमा नेपाली गीत संगीतको स्थान स्थान के छ ?

–नेपाली संगीत बजार अव्यवस्थित भएकाले विश्व संगीतबजारमा स्थान बनाउन सकिरहेको छैन । कुनै दिन राम्रो स्थान बन्छ भन्ने आशा छ ।
 
‘उडेर जून छुन्छु भन्थे तर, आज पिजडाको चरी भा’छ जीवन’ गीत राजकुमारको प्रतिरुप हो भन्छन्, तपाई के भन्नु हुन्छ ?

–हो पनि, हैन पनि । हैन पनि, हो पनि । मेरो डायरीमा सीमित हुँदा मेरो प्रतिरुप थियो होला । अब सम्पूर्ण प्रेम–वियोगीहरुको....प्रतिरुप हो, जो जसले मन पराइदिनु भएको छ, उहाँहरु सबैको प्रतिरुप हो ।

प्रेम विछोडले तपाईँलाई गीतकार बनाएको भन्छन्, हो ?

–म भित्रको गीतकार मसँगै जन्मिएको हो जस्तो लाग्छ मलाई । हैन भने त सबै प्रेमवियोगीहरु गीतकार बन्दा हुन् । ट्रेजेडी गीतहरु बढी लेख्ने भएकाले पनि मलाई यसो भनिएको होला । ट्रेजेडी गीतहरु बढी लेख्ने एक गीतकार भनेर बुझिदिनु भए न्यायोचित होला...।

कुनै एक बेजोड नेपाली महिला गीतकार र गायिकाको नाम लिनु पर्दा ?

–अन्य विधामा भन्दा गीत विधामा महिला सर्जकको उपस्थिति कम छ । गीति लेखनमा उल्लेख्य नाम छैन । गायिकामा त पछिल्लो समयमा अञ्जु पन्त विकल्पहीन नाम हो ।
 
कतिको रोमान्टिक हुनुहुन्छ ?

–थिए“ कुनैबेला तर कुन कालखण्डमा गुमाए“ त्यो पनि, थाहा पत्तै पाइन ।
भावुक छस् भन्छन् धेरैले...।
 
प्रेम के हो ?

–प्रेम समर्पण हो, त्याग हो, प्राप्ति हैन ।

प्रेममा लाभहानिको कुरा आउँछ कि आउँदैन ?

–प्रेम प्राप्ति हैन । व्यापारमा जस्तो लाभ र हानिको कुरा नै हुँदैन प्रेममा, यो मेरो व्यक्तिगत मान्यता हो ।

पहिलो प्रेमलाई कसरी सम्झनु हुन्छ ?

–मानव जीवनमा हरेक पहिलो कुरा यादगार हुन्छ सायद । चाहेर पनि भुल्न सक्दिनँ होला, अरुहरुले जस्तै.....।

जीवन के हो ?

–रहर, सपना र भ्रमहरुको सिलसिला...।

Leave A Comment