न्युयोर्कः मुस्कान हराएका मानिसको सहर

सोमबार, २७ कार्तिक २०७४, १२ : ०५ शुक्रवार
न्युयोर्कः मुस्कान हराएका मानिसको सहर

सच्ची मैनाली

विश्वको सांस्कृतिक, आर्थिक र सञ्चारको राजधानी हो, न्युयोर्क सहर ! अन्तर्राष्ट्रिय कूटनीतिको महत्वपूर्ण केन्द्र पनि हो न्युयोर्क सहर !
न्युयोर्क अमेरिकाकै अत्यन्त बाक्लो जनघनत्व भएको प्रमुख सहर हो । यहाँ जताततै भीड सल्बलाइरहेको देखिनु यहाँका मानिसहरुलाई सामान्य हुँदो हो, तर नवआगन्तुक भने भीडमा अलमलमा परेका भेटिन्छन् । हतारहतार अफिस जानेहरुका पाइतालालाई ट्रेनमा राख्ने ठाउँ हुँदैन । फर्कदा पनि स्थिति उही हो तर कामको थकानले झन् भारी भएका हुन्छन् पाइताला । यस्तो मान्छेको भीड ठूला सहरमा कहाँ हुँदैन होला र ! काठमाडौंमै पनि बसमा कोचाकोच मात्र होइन एक हातले समातेर झुण्डिदै बस, मिनी बस, टेम्पो लगायतमा यात्रा गरेको नदेखेको, नभोगेको होइन । जुलुसमा ट्रक र बसका छतभरि मान्छेको झुन्ड प्रसस्त हुन्थे तर यहाँको भीड नितान्त फरक छ । त्यहाँ भीडमा पर्नासाथ विशेष गरी महिलाहरु अभद्र व्यवहारको सिकार हुन्छन् तर यहाँको भीडमा त्यो अभद्रता छैन ।
भीडका कारण पाइला राख्ने ठाउँ नपाएर अफिस जाने बेलामा कति पटक त्यो ट्रेन छोडेर अर्को ट्रेन कुर्नु पर्ने अवस्था पनि भोग्नुपर्छ । एउटा प्लेटफर्मबाट अर्कोमा जाने बेलामा कहिलेकाहीं त भीडको कारण सुस्त सुस्त ‘पञ्चमी पाइला’ चाल्नुपर्ने बाध्यता हुन्छ ।
तर यस्तो भीडभाडमा ट्रेनभित्र देखिने दृश्य भने निकै रोचक हुन्छन् ।
प्रायः यात्रु आँखा चिम्लिएर बसेका हुन्छन् । बसेकाको त कुरै छाडौं उभिएकाहरु पनि आँखा बन्द नै गरेर उभिएका हुन्छन् । कोही त मस्त निद्रामा झुलिरहेका पनि देखिन्छन्, त्यो पनि उभिएरै । कोही भने कानमा हेडफोन लगाएका हुन्छन् या ट्याब्लेट वा किन्डलमा केही पढिरहेका हुन्छन् या फोनमा फोटो हेरिरहेका हुन्छन् ।
यतिमात्र होइन, भीडमभीडका बीच ट्रेनमा उभिएरै किताब पढ्नेहरु पनि मनग्य देखिन्छन् । त्यसमध्ये थोरैले भने बेलाबेलामा ट्रेनमै खुल्लमखुल्ला चुम्बन पनि गरिरहेका हुन्छन् । कतिपय बेलामा त यस्तो सार्वजनिक स्थानमा गरेको त्यो हर्कत हेर्न नसकी आफैंले मुण्टो फर्काउनु पर्ने अवस्था पनि हुन्छ ।
कोही भने पल्याकपुलुक स्टेसनतर्फ हेरिरहेका हुन्छन् भने कोही ओर्लने तयारीमा हुन्छन् । यिनैमध्ये कोही भने जिपिएसबाट गन्तव्यको रुट खोजिरहेका हुन्छन् । केहीले यो ट्रेन कहाँ जान्छ भनेर सोधिरहेका हुन्छन् ।
जतिसुकै भीड भए पनि जबरजस्ती ट्रेनमा घुस्न खोज्ने कोही त ट्रेनभित्र पस्दापस्दै च्यापिने पनि हुन्छन् । यस्ता किसिमका घटनाहरु पनि यदाकदा भइनैरहन्छन् ।
बिहान काममा जाने बेलाभन्दा बेलुका फर्कने बेलाको त्यो भीडमभीड ट्रेन अनि थाके÷गलेका अनुहारले नै बताउँछ न्युयोर्कको जीवन कति संघर्षशील छ भनेर ।
साधारणतः ८ घण्टा काम गर्नेहरुले काममा जान आउन नै धेरैजसो ३–४ घण्टा त आवतजावतमै बिताउनुपर्ने बाध्यता न्युयोर्कको जीवनको नियमित आकस्मिकता हो । धेरैभन्दा धेरै अवसरहरुको खानी भन्छन् न्युयोर्कलाई । त्यही भएर होला भीड पनि यहीँ बढी देखिने । त्यसमाथि अमेरिकामा नवान्तुकहरुले पनि सहजै पाउने काम र रेल सुविधा २४ घण्टै हुने भएर पनि यो सहरमा अरु सबै दुःख बिर्सेर बस्न रुचाउँछन् । अझ कागजपत्र नहुनेहरुका लागि त न्युयोर्क स्वर्ग नै हो । कति त कागज नबनुञ्जेल बस्ने र कागज बनेपछि अन्य राज्यतर्फ बसाईं सर्ने गर्छन् । जे जति र जस्तो कारणले होस्, न्युयोर्क ब्यस्त सहर हो, घुइँचोको सहर हो र भीडभाडको सहर हो र यो भीडभाडलाई न्युयोर्कको ट्रेनले व्यावस्थापन गर्न सहज बनाइदिएको छ ।
यहाँ आफ्नै गाडी हुनेहरु पनि नभएका हैनन् तर प्रायः सबै गाडीवालहरु ट्राफिक र पार्किङ समस्याले हैरान छन् । पार्किङका महँगो टिकट र महँगै शुल्कले दिक्क छन् । त्यसैले आफ्नै गाडी भए पनि गाडीमा जागिर खान जाने अवस्था सबैको हुँदैन ।
हुन त न्युयोर्क सहरमा ४६ प्रतिशतको निजी गाडी छ भनिन्छ तर आफ्नो काममा निःशुल्क पार्किङ हुने भाग्यमानीहरु र पार्किङको विशेष सुविधा पाउनेहरुले बाहेक प्रायः काममा गाडी लिएर जाने अवस्था न्युयोर्कमा देखिन्न ।
यो कलमकारले पनि पार्किङका लागि घण्टौं अनेकन स्ट्रिट घुम्दै बिताएको तथा रातै बिताएका अविस्मरणीय घटना छन् ।
गत साल भ्यालेन्टाइन डेको पार्टी सकेर फर्कंदाको घटना साँच्चै भुल्न नसकिने, अविश्मरणीय छ ।
पार्टी सकिएपछि साहित्यकार कमला प्रसाईं र एनआरएन आइसिसी सदस्य सुनिता शर्मासहित गाडी लिएर निक्लिएका थियौं । साहित्यकार प्रसाईंको घर पुग्दा निक्कै ढिलो भैसकेको थियो । पार्किङ खोज्दै हिँडियो तर कतै पार्किङ पाइएन । पार्किङ खोज्दाखोज्दै आधा रात बित्यो तर पनि पाइएन । सुरुमा कमलाजी र सुनिताजीलाई घर छाडेर म आफ्नो ठाउँमा जाने सोच थियो तर धेरै रात बितिसकेकाले उहाँहरुले साथ छाड्न मान्नु भएन । कुरा सही थियो, ठीक थियो तर सबै बेठीक पार्किङले पारिरहेको थियो ।
अन्ततः पार्किङ त पाइयो तर समय भोलिपल्ट बिहानको ७ बजिसकेको थियो ।
त्यसरी हामी तीन महिलाले पार्किङ खोज्दाखोज्दै गाडीमा गुड्दागुड्दै पूरै रात बिताउनु प¥यो । यस घटनाले पनि न्युयोर्कको यो पाटोको तस्बिर हेर्न सकिन्छ ।
न्युयोर्क सहरको अर्को रमाइलो र उदेकलाग्ने भीडभाडको अर्को पक्ष छ । जतिसुकै भीडभाड भए पनि रेल स्टेसनमा देखिने ऐच्छिक सांगीतिक मनोरञ्जन । चाहे म्यानहाटनको मारामार भीडमा होस् वा अन्य कुनै पनि स्टेसनको परिसरमा गीतार बजाउँदै, कतै माइक राखेर गीत गाउँदै त कतै नाचगान गरेर नेपाल–भारतमा चटकीले चटक देखाएझैं रमाइला दृश्य प्रस्तुत गरेर जीविकोपार्जनका लागि माग्ने काम पनि गरिरहेका देखिन्छन् । यो आफ्नो कला कौशल देखाएर पेट पाल्ने मेलोमेसो हो । माग्ने भनेर हात फैलाउँदै आउँदैनन् न त मुखले नै भन्छन् । त्यहाँ रुमाल या कुनै कपडा बिछ्याएर राखिएका हुन्छन् र मन हुनेहरुले त्यहाँ पैसा राखिदिन्छन् । माग्नुको यो सभ्यता पनि धेरैका लागि रोचक, अनौठो र छक्क पर्ने खालको हुन्छ ।  
यत्रो भीडभाडमा पनि यौटा अनौठो कुरा के भने प्रायः कसैको अनुहार पनि हँसिलो, फूर्तिलो र रमाइलो देखिँदैन । कामले थाकेको शरीरलाई ट्रेनको हल्लाइले डेडी काम गरे जति थकाई थपिदिने भएर पो हो कि ?
भनिन्छ, गलेको र थाकेको मान्छेको नाकमा झिँगा बस्न आयो भने पनि त्यो मान्छेले झिँगा धपाउने साहस नभएर ए झिँगा, नाकमा नबस जा न जा भन्छ रे ! त्यस्तो अवस्थाको मान्छेवाट के अपेक्षा गर्न सकिन्छ र ? लगभग त्यही हालतमा देखिन्छन्, न्युयोर्क सहरका सर्वसाधारण ।
न्युयोर्कको जीवनको संघर्षमय जीवनको सजीव तस्वीर जस्तो लाग्छ यो थकित, गलित, भीडमा मुस्कान हराएका मानिसहरुको अनुहार !
(प्रो पब्लिक (जनहित संरक्षण मञ्च) सँग सम्बन्धित असल शासनका लागि भ्रष्टाचार विरुद्धको पत्रकारिता गर्नु भएकी मैनाली असल शासन रेडियो कार्यक्रमका युनिट प्रमुखर रिपोर्टरर र प्रोड्युसर पनि हुनुहुन्थ्यो ।)

 

Leave A Comment