व्यवसायमा विश्वास जित्नुपर्छ

आइतबार, २६ कार्तिक २०७४, १२ : ५० दिलीप पौडेल
व्यवसायमा विश्वास जित्नुपर्छ

तालिम लिँदालिँदै भारतीय सेनाको जागिर छाडेर व्यवसायमा आएका बागलुङका कृष्ण भण्डारी सफल व्यवसायीको रुपमा स्थापित छन् । विगत आठ वर्षदेखि काठमाडौंमा हेल्दी होममार्फत् भण्डारीले शरीरको मोटोपन हटाउका लागि प्राकृतिक उपचार पद्यति सञ्चालन गर्दै आएका छन् । हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर सेन्टर प्रालिका प्रमुख कार्यकारी अधिकृत भण्डारीसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी :
हेल्दी होममा के सेवा दिनहुन्छ ?
अहिले धेरै मानिस मोटोपनको समस्याबाट आजित छन् । यो समस्याबाट छुटकारा दिलाउन शरीरको मोटोपन घटाउने काम गरिरहेका छौं । यहाँ कोरियन अल्ट्रासोनिक थेरापी प्रविधिको प्रयोगको माध्यमबाट बाक्लो मोटोपन (फ्याट)लाई पगालेर दिसा पिसाबको माध्यमबाट जान्छ । शरीरमा ताप दिइन्छ । त्यसले फ्याटको लेयरलाई पगाल्छ । मुख्यगरी जापान, कोरिया, इन्डिया  लगायतका मुलुकमा यो प्रविधिको निकै लोकप्रिय रहेको छ । विदेशमा जिम, स्पामा पनि यो राखेको पाइन्छ ।
यसबाट शरीरलाई के फाइदा हुन्छ ?
मोटोपन धेरै मान्छेलाई बोझ, भारी भएको अवस्थामा त्यसबाट मुक्ति दिलाउने काम गर्छौं । व्यक्तिको शारीरिक बनोटअनुसार परामर्श दिएर उसको आवस्यकता अनुसार हप्ता, महिनामा तालिका बनाएर थेरापी गराइन्छ । यो सुरु गरेपछि थेरापी नगर्दाको बीचमा समेत फ्याट पग्लिएर क्रमशः तौल घट्ने भएकाले शरीर स्वस्थ्य राख्न टेवा पुग्छ ।
यो एक प्रकारको उपचार पद्यति हो ?
यो पद्यति थेरापीबाट गरिने एक प्रकारको प्राकृतिक उपचार पद्यति जस्तै हो । रोगको उपचारभन्दा पनि रोग लाग्न नदिने एक उपाय पनि हो । मोटोपनको असरले विभिन्न रोग निम्त्याएको छ । ब्लड प्रेसर, सुगर, थाइराइड, महिनामा महिनाबारी नहुने यावत समस्या आउँछन् । ब्याकपेन हुने, महिनाबारी नहुने, जोर्नी दुख्ने, हड्डी खिइनेजस्ता समस्याको निदान भएको छ । नियमित थेरापी गर्ने हो भने यी रोगबाट बच्न सकिन्छ । हरेक व्यक्तिको तौल नापेर कति घटाउनुपर्ने हो समय तालिका बनाएर थेरापी गर्छौं ।
साइड इफेक्ट हुन्छ कि हुँदैन ?
स्पेसल डिभाइसले मसाज गरेर मोटोपन क्रमशः घट्ने भएकाले यसमा सबैको आकर्षण बढेको छ । औषधिको प्रयोग भन्दा पनि मोटोपन घटाउने प्राकृतिक उपचारजस्तै भएकाले अहिलेसम्म साइड इफेक्टको अनुभव छैन । यहाँ आउने सत प्रतिशत सन्तुष्ट छन् । हामीसँग प्राविधिक जनशक्ति भएकाले पनि सन्तुष्टि दिन सफल भएका छौं ।
यहाँले प्रदान गर्ने अन्य सेवा ?
हामीले मोटोपन घटाउनुको अतिरिक्त फेसियलको काम पनि गर्छौं । मोटो हुँदा भद्दा भएकाले क्लिजिङ गर्ने गरेका छन् । कोरियन नेचुरल क्रिम प्रयोग गरेर पार्लरको काम पनि गर्छौं । महिला राम्रो हुन चाहन्छन् । छालालाई गोरो र मुलायम बनाउने गरिन्छ । हामीकहाँ धेरैजसो महिलाले नै सेवा लिने गर्छन् । जागिर गर्ने, मोडलिङ, सेलिब्रेटीहरु आउने गरेका छन् ।
कहाँ—कहाँबाट सेवा दिनुहुन्छ ?
काठमाडौंको जमल र नयाँ बानेश्वरबाट सेवा लिन सकिन्छ । उपत्यका बाहिर पोखरा, बुटवल, भैरहवा, धरानमा फ्रेन्चाइज दिएर सञ्चालन भैरहेको छ । काठमाडौंमा मात्र करिब २५ जनालाई रोजगारी दिएको छु । कानुनी रुपमा पनि स्वाथ्य मन्त्रालय अन्तर्गतका निकायबाट वैधानिकता पाएका छौं ।
यो व्यवसायमा कसरी आउनु भयो ?
मेरा पिता भारतीय सेनामा कार्यरत भएकाले सेनामा नै काम गर्न भर्ती भएँ । त्यो काम चित्त नबुझेपछि तालिम छाडेर भारतमै नेचुरोप्याथीको व्यवसायमा आबद्ध हुँदा जापान जाने अवसर मिल्यो । जापानमा धेरै काम गर्ने, उनीहरु लामो आयु बाँच्ने, हेल्दी खाना खाने गरेको देखेँ । शरीर स्वस्थ्य र फुर्तिलो रहने कसरी हुन सक्छ भनेर हेल्दी जीवनशैलीको बारेमा तालिम लिएपछि स्वदेश फर्किएपछि यो व्यवसाय सुरु गरेको हुँ ।
सफलताको लागि के गर्नुपर्छ ?
जुनुसुकै व्यवसायमा गुणस्तरीय सेवा दिन सक्नुपर्छ । व्यवसायमा सेवाग्राहीको विश्वास जितेर क्षणिक लाभ नलिई दीर्घकालीन सोच राखेर अघि बढ्नुपर्छ । जुन पेसा गरेको हो, त्यसको गहिराईमा पुगेर सन्तुष्टि सहितको सेवा दिएमा सफलता मिल्छ ।

अन्य क्षेत्रमा रुचि ?
मान्छेलाई सेवा गर्न मनपर्छ । सेवा दिँदा आनन्द र सन्तुष्टि मिल्छ । त्यसले सफलता पनि दिलाउँछ ।

 

Leave A Comment