‘पैसा होइन आन्नद कमाएँ’

आइतबार, २६ कार्तिक २०७४, १२ : ४७ रेणु त्वानाबासु
‘पैसा होइन आन्नद कमाएँ’

भक्तपुरको मुटु टौमढीको दायाँपट्टि मोडिएर जाँदा एउटा ढुङ्गे धारा आउँछ । त्यही ढुङ्गे धारा तल जानेतिर एउटा पसल छ । त्यस पसलमा चाडपर्व अनुसारको सामान किनबेच हुन्छ । यो पसलको विशेषता भन्नु नै कहिल्यै पनि एउटै सामान बेचिदैन ।
यो ५४ वर्षीया पुण्येश्वरी सिन्ताकको पसल हो । भक्तपुरको चासुखेल निवासी उनी बिहान ६ बजेदेखि १० बजेसम्म पसल राख्छिन् । त्यसपछि खेती किसानी गर्छिन् । फेरि बेलुकी ४ बजेदेखि ७ बजेसम्म त्यहीँ पसल थाप्छिन् । पुण्येश्वरीको दिनचर्या यसरी नै चलिआएको छ ।
उनले ४ वर्षदेखि यहीँ पसल थापेको बताइन् । ‘मैले यो पसल पैसा कमाउने उद्देश्यले राखेको होइन,’ उनले भनिन्, ‘एक्लोपन हटाउन राखेकी हुँ ।’ अहिले भने एक्लोपनको साथसाथै आम्दानीको माध्यम पनि बन्न पुगेको उनले बताइन् ।
चार वर्षअघि उनलाई नशासम्बन्धी रोग लाग्यो । घरमा बस्दा उनलाई नानाथरीका विचार आउँथे । उपचारका क्रममा उनी अस्पताल गइन् । भक्तपुर अस्पतालमा उनले आफ्नो सबै समस्या चिकित्सकलाई सुनाइन् । डाक्टरले उनलाई दिनको एकचोटि सिद्धपोखरी घुम्न जानुस् भनी सल्लाह दिए । यो उनका लागि गाह्रो थियो किनभने उनको नशासम्बन्धी समस्याका कारण हिँड्नै नसक्ने अवस्थामा थिइन् । उनले भनिन्, ‘म हिँड्न सक्तिनँ कसरी सिद्धपोखरीसम्म हिँडू ?’
चिकित्सकले भने, ‘तपाईं घरैमा यसरी बस्नु भयो भने अझै बढी थला पर्नु हुन्छ ।’
चिकित्सकले एउटा सानो घटना पनि सुनाएका थिए । एक जना महिला पुण्येश्वरीजस्तै बिरामी भएर आएकी थिइन् । गाउँबाट सहर आएकी ती महिलाले गाउँमा जस्तो खेतीपातीका लागि न ठाउँ पाइन् न त काम नै । सक्रिय जीवन बाँचिरहेकी ती महिला सहर आएपछि कामविहीन हुन पुग्दा निराश मात्र भइनन्, उनलाई नशासम्बन्धी रोगले अँठ्याउन थाल्यो ।
ती महिलालाई चिकित्सकले गाउँमा जेजस्तो काम गर्नुहुन्थ्यो, सहरमा पनि त्यस्तै काम नियमित गरेका खण्डमा नशासम्बन्धी रोग क्रमशः हराउँदै जाने आश्वासन दिएको थियो । नभन्दै तिनले सहरको बीचमा गाई पालन गरिन्, वरपरका खाली ठाउँमा तरकारी खेती गरिन् । यस किसिमको सक्रियताका कारण उनलाई नशासम्बन्धी रोगले क्रमशः छाड्दै गयो ।
यस किसिमको चमत्कार पुण्येश्वरीको जीवनमा पनि आउन सक्ने चिकित्सकले बताएका थिए । त्यसपछि पुण्येश्वरीले कामै नगरी घरैमा कुँजिएर बस्यो भने पागलै होइएला भन्ने ठानिन् । त्यसपछि उनले पसल राख्नेबारे सोचेकी थिइन् ।
सुरुताका उनले आफैँले खेतबारीमा उत्पादन गरेका लसुन बेच्न थालिन् । किनबेचको कुनै अनुभव नभई पसल थालेकी उनलाई सुरु–सुरुमा अप्ठ्यारो भयो । पछि बिस्तारै उनी बानी पर्न थालिन् । ठूलो लगानी गर्न आफूसँग पैसा अभाव भएका कारणले पनि उनले आफ्नै खेतबारीमा उत्पादन भएका सामग्री बेच्न थालेकी थिइन् । बेच्दै जाँदा जे पनि बिक्छ भन्ने लाग्न थालेपछि उनले आफैँले घरमा पूजाका सामग्रीहरु बनाउन थालिन् र त्यसलाई बेच्न पनि सुरु गरिन् ।
चाडपर्वमा बेच्ने सामान धेरैजसो आफ्नो खेतमा नै उब्जाउने तथा आफैँले बनाउने गरेको उनी बताउँछिन् ।
मासिक रुपमा उनले पसलबाट ३० हजारको व्यापार गर्ने गरेको पुण्येश्वरी बताउँछिन् । ‘अहिलेका मान्छेहरु जागिर गर्ने भएपछि पूजाका सामग्री र अन्य आवश्यक चिजबिज बनाउन गाह्रो मान्ने गर्छन्,’ आफ्नो व्यापार चम्कनुको कारण खुलाउँदै उनले भनिन्, ‘यसकारण मेरोजस्तो काममा प्रतिस्पर्धा कम छ ।’
खेती किसानीबाहेक उनका पति अन्य केही काम गर्दैनन् । त्यसैले पनि घर खर्चका लागि उनको यो पसल जीवन धान्ने श्रोत बनेको छ ।
पसल थाप्दाका सुरुवाती दिनमा छिमेक र चिनजानकाले हियाउने गर्थे । ‘हाम्रो समाज मिहिनेत र काम गरी खानेलाई राम्रो नजरले हेर्ने समाज होइन,’ उनले भनिन्, ‘यो काम थालेपछि सबैले हेला गरे । म पनि बडो अटेरी, कसैका कुरा सुनिनँ । लुट्नु चोर्नु पो हुँदैन त । जानेको काम गर्न के को लाज ?’
आफ्नै मिहिनेतको कमाई हुन थालेपछि उनलाई आत्मिक आनन्द र शरीरलाई पनि सञ्चो हुन थालेको छ । ‘पसल राख्न थालेपछि मनमा कुरा खेल्न छाडेको छ,’ उनी सुनाउँछिन्, ‘यो काम गरेर पैसाभन्दा पनि मैले आनन्द कमाएको महसुुस गरेकी छु ।’

Leave A Comment