पपमा २५ वर्ष

आइतबार, २६ कार्तिक २०७४, १२ : ०० शुक्रवार
पपमा २५ वर्ष

१६ औँ एल्बम ‘लभ ब्यालेट्स’ बजारमा ल्याएसँगै गायक धीरज राईले आफ्नो गायकीको २५ वर्ष पूरा गरेका छन् । यत्तिका वर्षमा उनले आफूलाई स्थापित मात्र गरेनन्, सफलताको उचाइलाई निरन्तर व्यवस्थापनसमेत गरे । सफल गायकका रुपमा दरिन एक समय गाह्रो हुन्छ तर सफल भइसकेपछि सफल रहिरहन झन् बढी साह्रो हुन्छ । धीरज आफूले त्यो उचाइलाई ‘मेन्टेन’ गर्न सकेकोमा खुसी छन् । उनको पछिल्लो एल्बम ‘लभ ब्यालेट्स’को प्रकाशनको मूल उद्देश्य पनि आफ्नो गायकी कम नदेखियोस् भन्ने नै हो ।
‘यी २५ वर्षमा मैले धेरै उतारचढाव देखेँ,’ अनामनगरस्थित एउटा रेस्टुराँमा भेटिएका धीरजले भने, ‘ती उतारचढावले मलाई के सिकायो भने अर्थपूर्ण गीत मात्र बाँच्छन् । म अहिलेसम्म मञ्चमा टिक्नुको रहस्य नै त्यही हो ।’


विदेशमा जाँदा बुद्धलाई भारतीय बनाएको देखेपछि उनलाई भाउन्न भएर ‘बुद्ध वाज बर्न इन नेपाल’ शीर्षकमा विश्व भ्रमण गरे । ३६ वटा मुलुकमा आफूले सफलतापूर्वक अभियान सम्पन्न गर्न सकेकामा उनलाई सन्तोष छ । यो अभियान छेड्नु पछाडिको कारण के थियो त ?

‘म सन् २००६ ताका मास्टर्स पढ्दा त्यसमा दोस्रो वर्षमा १०० पूर्णांकको चाल्र्स भ्यान डोरेनको ‘हिस्ट्री अफ नलेज’ पुस्तकमा सिद्धार्थ गौतम भारतको उत्तरी भेगमा जन्मिएको भनी लेखिएको पाएँ,’ धीरज भन्छन्, ‘हामीभन्दा कैयौँ अघि यो पुस्तक पढ्ने विद्यार्थी थिए, तिनले यसको विरोध गरेको पाइनँ, म पछिका अब आउने कैयौँ पुस्ताले पनि सोही कुरा पढ्ने छन् र पनि विरोध गर्ने छैनन् भन्ने लागेपछि म आफैँले केही गर्नुपर्यो भन्ने सोचेर साथीहरु मिलेर एउटा समूह बनायौँ र क्याम्पस प्रमुखलाई यसबारेमा जानकारी दियौँ ।’
यसरी जानकारी दिएर पनि केही लागेन किनभने एउटा क्याम्पस प्रमुखले पुस्तकमा भएको गल्ती सुधार्न सक्ने थिएनन् । कुरा त्रिभुवन विश्वविद्यालयसम्म पुग्यो । अन्ततः पुस्तकको पठनपाठन बन्द भयो । ‘नेपालमा पो यो पुस्तकको पठनपाठन बन्द भयो तर संसारभर यही पुस्तक पढेर गौतम बुद्धलाई इन्डियन मान्नेको कुनै कमी छैन,’ धीरजले भने, ‘तसर्थ मैले बुद्ध वाज बर्न इन नेपाल भन्ने अभियानै सुरु गर्ने र विदेशीमाझ यसबारे प्रचार गर्ने निधो गरेँ ।’
उनले यसबीचमा भएको आफ्नो परिवर्तनलाई यसरी टिप्पणी गरे, ‘पहिले हामीलाई गाउनु ठूलो कुरा लाग्थ्यो, पछि चेतनाको स्तर बढ्दै जाँदा केही गतिलो कुरा गाउनुमा अर्थ देखिँदोरहेछ । पहिला म ‘लुकीलुकी’ गीत गाउनुमा गर्व गर्थें तर मेरो चेतनाको स्तर बढेपछि हाम्रो पहिचान पो ठूलो कुरा रहेछ भन्ने थाहा भयो ।’
त्यसैको परिणामस्वरुप नै ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान जन्मिएको थियो । उनले यसै अभियान स्वरुप जापान र कोरियाजस्ता मुलुकबाट राम्रो प्रतिक्रिया पाएको बताए ।
नेपाली गीतसंगीत नेपाल र नेपाली डायस्पोराभन्दा अझै फराकिलो हुनुपर्ने उनको मान्यता छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा नै आफ्ना सिर्जनालाई पस्कने बाटो खुलाउनुपर्ने उनले देखेका छन् ।  त्यसो त यो बाटो उति सहज भने छैन । उनी भन्छन्, ‘यसका लागि हाम्रा दुई वटा अप्ठेरा छन् । पहिलो, हाम्रो भाषा अन्तर्राष्ट्रिय रुपमा प्रख्यात छैन । भाषाको अप्ठेराका कारण हामी अन्तर्राष्ट्रिय बजारमा पहुँच पाउन सक्तैनौँ । दोस्रो, कहिलेकाहीँ भाषा नभए पनि हाम्रो सिर्जनाले बजार पाउन सक्थ्यो तर हाम्रा राम्रा कुरालाई पनि हामीले बेच्न जानेनौँ ।’
यी दुई अप्ठेराका बीच पनि ससाना कम्पनीमार्फत युरोपमा आफ्ना सिर्जना छिराउने बाटो नेपाली सर्जकले खोज्नुपर्ने उनले देखेका छन् । यसको सुरुवात आफूले बेल्जियमको एउटा रेकर्ड कम्पनी बिभिबिएसँग कुराको थालनी गरेको र सम्भव भएसम्म आफ्ना सिर्जना त्यहाँ बेच्ने बाटो खुलाउने पक्षमा काम सुरु गरेको उनले बताए । यदि यो अभियान पनि सफल भयो भने नेपाली संगीतले युरोप छिर्ने बाटो पाउने उनको विश्वास छ ।
के उसो भए उनको यो नयाँ एल्बमले युरोपमा स्थान पाउला त ? ‘मैले ‘लभ ब्यालेड’मा संग्रहित गरेका ८ वटा गीतमध्ये ६ वटा गीत हाम्रै संस्कृतिमा आधारित गीत छन्,’ उनी भन्छन्, ‘यो प्रयोग सफल भयो भने अन्तर्राष्ट्रिय बजार खुलाउने एउटा पाटोमा सफलता हात पर्नेछ ।’
अहिलेसम्म आफूले आफ्ना चर्चित र लोकप्रिय २० वटा गीतको ब्याज मात्रै खाइरहेको बताउँदै उनले अबका दिनमा लामो दौडको गायक बन्न संस्कृतितर्फ फर्केको बताए । ‘संगीतमा स्वार्थ राख्नेहरु आज हिट हुन्छन्, भोलि हराउँछन्,’ उनी भन्छन्, ‘मैले कहिल्यै यसमा स्वार्थ राखिनँ न त पलायन हुनेबारे नै मैले सोचेँ ।’ उनलाई गाउनु थियो, गाएका कारणले दर्शकश्रोताले एउटा उचाइमा पु¥याइदिएका कारण उनीहरुलाई घात गर्दै त्यसको अनुचित फाइदा लिन नहुने उनको धारणा छ ।
यतिबेला एल्बम बिक्री हुँदैन र पनि नयाँ एल्बम किन निकाले त धीरजले ? ‘बिक्री हुने कारणले मात्र एल्बम निकाल्नु बेइमानी हो,’ उनी भन्छन्, ‘एउटा सच्चा सर्जकले गीत बिक्री भए पनि नभए पनि एल्बम निकाल्नु पर्छ । आफ्ना सिर्जनालाई बजारमा ल्याउनु पर्छ ।’

Leave A Comment