संसारका सबैभन्दा धनीका पाँच बानी

आइतबार, २६ कार्तिक २०७४, ११ : ४८ शुक्रवार
संसारका सबैभन्दा धनीका पाँच बानी

ल्यारी किम
जब हामी संसारकै सबैभन्दा धनीका गज्जबको सफलता कथा पढ्छौं, त्यो बेला हामी पनि उनीहरुजस्तै हुन पाए हुन्थ्यो भनेर कल्पन्छौं । हुन त पैसा नै सफलताको कसी होइन तर हामीलाई के पनि थाहा छ भने तिनले आफ्नो जीवनमा जुन अरबौं रकम जम्मा गरेका छन्, तिनले अनुभव पनि उति नै हासिल गरेका हुन्छन्, निजी जीवनमा पनि र जागिरको मामिलामा पनि ।
उनीहरुले पनि त जीवनमा सफलता पाउन निश्चित कुरा त गर्नैपर्छ, हैन त ? उनीहरु लक्ष्य हासिल गर्ने कुरामा अरुभन्दा निकै अघि हुन्छन् । उनीहरुको जीवनशैली स्वस्थकर हुन्छ । उनीहरुले अरुभन्दा राम्रोसँग तनाव व्यवस्थापन गरेका हुन्छन् । उनीहरु साँच्चिकै प्रभावशाली व्यक्तित्वका धनी हुन्छन् । उनीहरुले केही कुरा भनेपछि हम्मेसी काट्न गाह्रो हुन्छ ।
अरबपति पनि त मानिस नै हुन् तर पनि उनीहरुको बानी चाहिँ छक्कै पार्ने किसिमका हुन्छन् । हुनलाई ती अरबपति हुन्छन् तर उनीहरुको जीवनशैली बडो सादा हुन्छ ।
संसारका अरबपतिहरुका केही साझा बानी छन् । आज यहाँ हामी तिनै साझा बानीका बारेमा चर्चा गरौंः
१. छालविरुद्ध पौडिने साहस
१० जनाले कुनै कुरामा सहमति जनाइरहेका छन् भने अरबपतिहरु उनीहरुका विरुद्धमा काम गरिरहेका हुन्छन् । अर्थात्, छाल आयो भनेर डराएर भाग्नेहरुका कुरामा लागेर टाप कस्नुभन्दा बरु त्यही बेला भ्mवाम्म समुद्रमा हाम्फालेर आएको छालमा पौडिन थाल्छन् ।
साह्रै सफल मानिसहरुले जे गरिरहेका हुन्छन्, अरुले गर्नै सक्तैनन् भन्ने होइन । बरु उनीहरु पनि अन्य सामान्य मानिसले जस्तै काम गर्ने हुन् । बरु उनीहरुले त जे कुरा गर्न चाहँदैनन्, त्यही काम सुरु गर्छन् ।
उदाहरणका लागिः वारेन बफेटले धेरैजसो कम्पनीको सेयर त्यो बेला किने, जुन बेला कसैले पनि ती सेयर किन्न चाहेका थिएनन् । बिल गेट्सले सबैले काम गरिरहेको सफ्टवेयर बनाउन चाहँदैनथिए बरु कसैले नसोचेको वा अरु असफल भइसकेको काम गर्न चाहन्थे ।
सबैभन्दा ठूलो पुरस्कार सबैभन्दा खतरनाक काममा हुन्छ भन्ने अरबपतिहरुलाई थाहा हुन्छ । त्यसैले उनीहरु अप्ठेरो काम गर्न रुचाउँछन् । यदि अरुले तपाईंको दृष्टिकोण बुझेनन् भने त्यसको अर्थ तपाईंसँग दृष्टिकोण नै छैन भन्ने होइन ।
२. थोत्रैबाट काम चलाउँछन्
धेरैलाई लाग्छ, अरबपतिले त सबैथोक नयाँ किन्छन्, नयाँ लाउँछन्, महँगो ठाउँमा खान्छन्, महँगोमा किन्छन् । यो त बिल्कुलै होइन । ३३ अर्ब डलर सम्पत्ति भएका फेसबुक कम्पनीमा मालिक मार्क जुकरबर्गको गाडी भोक्सवागनको मूल्य जम्मा ३३ हजार डलरको छ । गुगलका सहसंस्थापक सर्जेइ ब्रिनले कुनै सामान किन्नु पर्यो भने सबैभन्दा सस्तो सामान पाइने कस्टको कम्पनीमा गएर किन्छन् । भारतीय सूचनाप्रविधिका अरबपति अजिम प्रेमजी विप्रो लिमिटेडका अध्यक्ष हुन् र १२ अर्ब २० करोड डलरको सम्पत्ति छ र पनि रिक्साबाट एयरपोर्ट आउजाउ गर्छन् । धेरैले कन्जुस पनि भन्लान् ! अरबपतिहरु पैसा कमाउने कुरामा त जोड दिन्छन्, सँगै बचाउने कुरामा पनि उत्तिकै ध्यान दिन्छन् ।
३. उनीहरु आफ्ना लागि काम गर्छन्
फिल्ममा के देखिन्छ भने अरबपतिका नोकरचाकर हुन्छन्, तिनका सक्रेटरी, कुकुर हिँडाइदिने नोकर, सवारी चालक आदि हुन्छन् तर वास्तविक जीवनमा भने त्यस्तो हुँदैन । वास्तविक अरबपतिहरु आफ्नो काम आफैँ गर्छन् । १६ अर्ब डलर सम्पत्तिका मालिक तथा डिस नेटवर्क कम्पनीका अध्यक्ष चार्ली एर्गन आफ्नो खाना आफैँ बनाउँछन् र घरैबाट पकाएर लैजान्छन् ।
यो पक्का हो, अर्बपतिहरु सबै काम आफैँले गर्न भ्याउँदैनन् तर आफ्ना लागि, आफैँलाई सहयोग गर्ने कुरामा चाहिँ ध्यान दिन्छन् । उनीहरु अल्छ्याहा हुँदैनन् । काम गर्ने मामिलामा उनीहरु अन्यभन्दा कम हुँदैनन् ।
४. बारम्बार असफल हुन्छन्
एक्कै पटकमा अरबपति हुने कोही छ ? एउटै काममा सफल भएर अरबपति हुने भेट्टाउने मानिस त अहिलेसम्म जन्मिएकै छैन । जति पनि सफल मानिसहरु छन्, तिनीहरु पटक पटक असफल भएका छन् । सबैको जीवनमा सफलता र विफलता गाँसिएर आउँछ । अर्बपतिहरु त कीर्तिमानीस्तरमा असफल भएका हुन्छन् । असफलताबाट उनीहरु डराउँदैनन् र प्रयास जारी राख्छन् । उनीहरुलाई थाहा छ, थेचारिएपछि अर्को उफ्राइ भनेको अर्को मानक बनाउने नै हो ।
होटल व्यवसायी किर्क केर्कोरियन अहिले ९७ वर्षको भए । उनको सम्पत्ति ४ अर्ब ४० करोड डलर छ । उनले सन् २००८ मा फोर्ड कम्पनीमा लगाएको ठूलो रकम गुमाए । उनी अझै पनि जोखिम मोल्न तयार देखिन्छन् ।
५. आफ्नो ख्याल राख्छन्
तपाईं अकूत सम्पत्तिको मालिक हुनुहुन्छ भने आफूले चाहेजस्तो, चाहे जति खान सक्नुहुन्छ । हामीले सपनामा पनि नकल्पेका चौरासी व्यञ्जन उनीहरुले खालान् भन्ने कल्पना गर्नु होला । त्यस्तो चाहिँ फिल्महरुमा मात्रै हुन्छ । उनीहरु आफ्नो स्वास्थ्यको ख्याल यति राख्छन् कि आफ्नो शरीरलाई चाहिने चिज मात्र उनीहरुको घरमा पाक्छ । आफ्नो शरीरलाई चाहिने आवश्यक चिज, आवश्यक मात्रामा खान्छन् । छाद्ने गरी, अपच हुने गरी, शरीर सुन्निने गरी उनीहरु खाँदैनन् ।
डोल फुड्स कम्पनीका अध्यक्ष डेभिड मुर्डोक यतिबेला ९० वर्षका भए । उनी आफू १ सय २५ वर्षसम्म बाँच्छु भनेर दाबी गरिरहेका छन् । उनले ६० वर्षको उमेरदेखि माछामासु खान छाडिदिए । उनी यतिबेला पनि ६० वर्षभन्दा बढीजस्तो देखिँदैनन् । उनको सुझाव छ, दैनिक शारीरिक कसरत गर्नुस्, घोडा चढ्नुस्, योग गर्नुस् र वजन घटाउने अन्य क्रियाकलाप गर्नुस् ।
अर्बपतिहरु अरु जस्तै सामान्य मानिस भए पनि उनीहरुमा इच्छाशक्ति चाहिँ दह्रो हुन्छ । यो चाहिँ पक्का हो !

 

Leave A Comment