गाउँबाट गीत गाउन सहरमा

शनिबार, २५ कार्तिक २०७४, ०२ : २० राेहित रार्इ , Kathmandu
गाउँबाट गीत गाउन सहरमा

गायन रियालिटी शो ‘नेपाल आइडल’ले सनसनी मच्चाएको धेरै समय बितेको छैन । पहिलो नेपाल आइडल बनेका पोखराका बुद्ध लामाको गायकीका फ्यानहरु थुप्रै छन् । तिनै अनगिन्ती फ्यानहरुमध्ये एक हुन्, तेह्रथुम जिल्लाको मेन्छ्याम गाउँपालिका २, पौठाकका १० वर्षीय जोसेफ शंकर । भविष्यमा बुद्ध लामाझैँ गायक बन्ने उनको सपना छ । त्यही सपना बोकेर उनी सानो उमेरमै प्रदेश नं १ स्तरीय पूर्वाञ्चल सिंगिङ स्टारको सिजन ५ मा गए ।
पहिलो, दोस्रो र तेस्रो चरण पार गरेका उनी आइतबार(कार्तिक १९ गते) धरानमा चौथो चरणको अडिसन भने उनी पार हुन सकेनन् । हजुरबा भक्तबहादुरसँग अडिसनमा सहभागी हुन धरान आएका उनी अघिल्लो चरणमा पुग्न नसके पनि उनलाई धेरै हौसला मिल्यो । हुन पनि निर्णायक रहेका वरिष्ठ गायक, संगीतकारको अघि माइक पक्रेर क्यामेराको सामु गाउन जो कोहीलाई सकस हुन्छ । तर, उनले हिम्मत गरेर चौथो चरणसम्म पुगेका थिए । बीचमा गाउ फर्कनु परे पनि धेरै हौसला मिलेको उनी सुनाउछन् । नातीमा सानै उमेरदेखि गायनमा रुचि भए पनि गाउँघरमा गुरु(प्रशिक्षक)को अभावले गीत, संगीत सिकाउन नसकिएको हजुरबाको गुनासो छ । उनी भन्छन्, ‘टिभी–रेडियोमा गाएको सुनेको, हेरेको भरमा उसले पनि गाउन सिकेको छ, सहर बजारमा जस्तो अवसर गाउँघरमा कहाँ हुन्छ र ?’
तेह्रथुमको गाउँबाट आएका पौठाकका बालकसँगै चौथो चरण अडिसनमा सहभागी थिइन्, मोरङ उर्लाबारी ७ की फरक क्षमता भएकी २६ वर्षीया सावित्रा शर्मा । उनी जन्मदै दृष्टिविहीन हुन् । स्कुल र कलेजको विभिन्न कार्यक्रममा गीत गाइरहेकी उनी विगत दुई वर्षदेखि भने उर्लाबारीकै बिहानी कला केन्द्रमा गायन प्रशिक्षण लिइरहेकी छन् । उर्लाबारी बहुमुखी क्याम्पसमा बि.एड.दोस्रो वर्षमा अध्ययनरत सावित्रा भविष्यमा शिक्षिका बन्ने र गायनलाई पनि निरन्तरता दिने योजना छ । उनी भन्छिन्, ‘मेरा सानै उमेरदेखि गाउने इच्छा हो । स्कुल, कलेजमा गाउँथे, आफ्नो प्रतिभा देखाउने अवसर हो भनेर सिङिङ स्टारमा सहभागी भएकी हुँ ।’
तेह्रथुमका १० वर्षीय जोसेफ तथा उर्लाबारीकी सावित्रा मात्र होइनन्, गएको भदौ अन्तिम सातादेखि प्रदेश नं १ का विभिन्न १४ जिल्लाबाट प्रतिभाहरु गायकीमा आफ्नो भविष्य खोज्दै सहर(धरान)मा अड्डा जमाइरहेका छन् । विगत ५ वर्षदेखि गायन प्रतिभाको खोजी गर्दै आएको सिङिङ स्टारको पाँचौँ संस्करण चलिरहेको छ । जसमा १४ जिल्लाका सहभागीहरुमध्ये हाल १३ जिल्लाका ६१ जना पाँचौँ चरणको अडिसनसम्म छनोट भएर पुगेका छन् । बेलाहा नगरपालिका २, उदयपुरका १७ वर्षीय कृष्ण परियार भन्छन्, ‘पुरस्कार जित्न भन्दा पनि आफ्नो कला देखाउने मौका हो भनेर सहभागी भएको छु ।’
गायन प्रतिभाहरुको खोजी गर्ने यो कार्यक्रम धरानस्थित पूर्वाञ्चल बागीना कला केन्द्रले बर्सेनि आयोजना गरिरहेको छ । कार्यक्रमको नारा नै युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान भएको र त्यसैबमोजिम बर्सेनि नयाँ प्रतिभा पहिचान गर्न सफल भएको कार्यक्रम संयोजक एवं बागिनाका अध्यक्ष भक्तिराज राई बताउँछन् । ‘गाउँघरमा घास दाउरा गर्दै गीत गाइरहेका थुप्रै प्रतिभाहरु छन्, तर अवसर नपाएर ओझेलमा छन्,’ गायकसमेत रहेका उनी भन्छन्, ‘अवसर र प्रशिक्षणको कमीले सुर ताल थाह नपाएको भएपनि त्यस्ता प्रतिभाहरुको खोजी गर्ने र सबैको सामु प्रस्तुत गर्ने हाम्रो उद्देश्य हो । अहिलेसम्म सफल भएका छौं ।’
चौथो संस्करणसम्मका विजेताहरु पनि पहाडी जिल्लाबाट भएकोले लुकेका प्रतिभाहरुलाई कार्यक्रम ठूलो अवसर भएको उनको दाबी छ । सिङिङ स्टारको पहिलो संस्करणमा तेह्रथुमको संगम चोङवाङ विजेता भएका थिए भने दोस्रो संस्करणमा ताप्लेजुङकी प्रकृति थलङ, तेस्रो संस्करणमा भोजपुरकी सृजना तामाङ र चौथो संस्करणमा तेह्रथुमका दिलेनबाबु लिम्बू प्रथम भएका थिए ।
आयोजक संस्थाका अनुसार भदौ ३० गते ताप्लेजुङबाट सुरु भएको पहिलो चरणको अडिसन पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी हुदै प्रदेश १ को सबै जिल्लामा असोज ३१ गतेसम्म अडिसन सम्पन्न भएको थियो । पहिलो चरणको अडिशनमा ७ सय बढी प्रतिभाहरुले सहभागिता जनाएका थिए भने २ सय ३० जना प्रतियोगीहरु छनौट भएका थिए । ती मध्येबाट कार्तिक ११ गते धरानमा भएको दोस्रो चरणको अडिशनबाट १ सय १८ प्रतियोगी छनौट भएका थिए भने तेस्रो चरणको अडिशनबाट ८२ जना प्रतियोगीहरु छनौट भएका थिए । जसमा सोलुखुम्बुबाहेक प्रदेश १ का सबै जिल्लाका प्रतियोगीहरु छन् ।
प्रतियोगिताको फाइनल आगामी माघ दोस्रो साता धरान सभागृहमा हुनेछ । फाइनलका विजेताले ट्रफीसहित नगद ५० हजार पाउनेछन् भने २ वटा गीत रेकर्ड गर्ने, १ बर्षको संगीत कोर्ष र १ वटा म्युजिक भिडियो बनाउने अवसर पनि पाउनेछन् । साथै, १ थान गिटार र प्लस टु वा बिबिएस अध्ययनको छात्रवृत्ति पाउने पाउने संयोजक राईले जानकारी दिए । यस्तै, दोस्रो हुनेले ट्रफी, नगद २५ हजारसँगै १ वटा गीत रेडर्क र ६ महिना संगीत कोर्षको अवसर पाउनेछ भने १ वटा गिटार र छात्रवृत्ति पाउनेछ । तेस्रो हुनेले ट्रफी, नगद २५ हजार, १ वटा गीत रेकर्ड, गिटार र छात्रवृत्ति पाउने आयोजक बागिनाले जनाएको छ । यसबाहेक, वेष्ट भोइस, बेष्ट डिसिप्लिन, बेस्ट पब्लिक चोइस र बेस्ट पर्फमेन्सको पुरस्कार पनि प्रतियोगीहरुले पाउनेछन् ।

Leave A Comment