‘अचेल जे पनि पैसामै नापिन्छ’

शनिबार, २५ कार्तिक २०७४, १२ : २४ शुक्रवार
‘अचेल जे पनि पैसामै नापिन्छ’

विद्या बालन पछिल्लो समय राम्रा विषयवस्तु भएका फिल्ममा दमदार अभिनय गर्ने अभिनेत्रीका रुपमा परिचित छन् । प्रशंसक र दर्शकहरुबाट निकै रुचाइएकी सुन्दर अभिनेत्रीको खोटबिनाको अभिनयले सबैको वाहवाही पाउँदै आइरहेको छ । उनले खेलेका राम्रा फिल्म ‘कहानी’, ‘बेगम जान’ र ‘कहानी–२’ हुन् । विद्या अर्को शुक्रबारबाट कमेडी विधाको फिल्म ‘तुम्हारी सुलु’ मार्फत पुनः फिल्मी पर्दामा छाउँदै छिन् । यहाँ प्रस्तुत छ, उनै विद्यासँग एक भारतीय मिडियाले गरेको रमाइलो अन्तरंग कुराकानी :

पछिल्ला दुई फिल्म (कहानी–२ र बेगम जान)मा भावनात्मक रुपमा निकै कठिन पात्रहरु गर्नुभएकी तपाईं ‘तुम्हारी सुलु’मा निकै हल्का देखिनुहुन्छ । यो पटकको अनुभव कस्तो रह्यो त ?
तपाईंलाई थाहा छ, यो हल्का फिल्म हुँदै होइन । यो खुसीले भरिपूर्ण फिल्म हो । यो फिल्म गर्दा मलाई निकै रिफ्रेसिङ भयो । तपाईंले भनेजस्तै मैले भावनात्मक रुपले गहन र गम्भीर फिल्म गर्दै आइरहकी छु । यो फिल्मको स्क्रिप्ट हात लाग्दै मैले यो फिल्मको कथा मेरै हो जस्तो लागेको थियो । म व्यक्तिगत रुपमा समेत निकै मुस्कुराउँछु, हाँस्छु पनि । कसैले यो फिल्म कुन विधाको हो भन्यो भने म यसलाई खुसी फिल्म भन्न रुचाउँछु । कसैले यसलाई जीवनको टुक्रा भन्न सक्लान् । फिल्ममा एक गृहणीको कथा छ तर मलाई यो गृहणी भन्ने शब्द नै मनपर्दैन । म महिलाहरुलाई घर बनाउनेका रुपमा हेर्छु । मेरो फिल्मकी पात्र घरगृहस्थी छाडेर बेलुका अबेरतिर रेडियो जक्कीको काम गर्छे । तपाईंले आजसम्म माइकको छेउमा बसेर ‘हेलो’ भन्दै अपरिचितसँग रमाइलो कुरा गर्ने गृहणी देख्नुभएको छैन होला । त्यस्तो गृहणी बन्ने सौभाग्य पाउँदा मलाई निकै रमाइलो लाग्यो । मेरो पात्रका दुइटा व्यक्तित्व छन् । अनि उसका लागि केही कुरा पनि असम्भव भन्ने छैन । ऊ नयाँ नयाँ काम गर्न निकै उत्साहित छे । उसलाई कुनै पनि काम गर्न नाइँनास्ती हुँदैन । उसले आफ्ना पुरुष कलरहरुलाई रिझाउँदै अन्तरंग कुराकानी गर्छे । उसका यस्तै कुराहरुले मलाई निकै छोयो ।
तपाईंले सुलुलाई घर बनाउने भन्नुभयो । साँच्चिकै घर बनाउने महिलाहरुलाई दिनुपर्ने जति सम्मान दिइएको छैन । उनीहरुलाई गम्भीर रुपमा लिईदैन । यसबारे तपाईंको विचार के छ ?
म पनि यस्तै सोच्छु । सबैले यसबारे सोच्छन् जस्तो पनि लाग्दैन । मैले धेरै महिलाहरुले भनेको सुनेकी छु, ‘म गृहणी मात्र हुँ ।’ गृहिणी मात्रको मतलब के ? म चार कक्षा पढ्दै गर्दा मेरो कक्षा शिक्षकले मलाई आ–आफ्नो आमालाई सधैं धन्यवाद भन्न, खाना खाइसकेपछि मीठो रहेको प्रतिक्रिया दिन सिकाउनुभएको थियो । तपाईंलाई थाहै छ आमालाई कसैले सम्मान दिँदैन र घरमा बस्नेलाई कसैले गन्दैन । घरमा काम गरे बापत पैसा नकमाइने हुँदा महिलाहरुलाई हेपिन्छ । पैसा नकमाउनेहरुको महत्व नै छैन । अचेल महत्व भनेकै पैसाको छ । जे पनि पैसामै नापिन्छ । घरमा बसेर पैसा नकमाउने भएकैले उनीहरुलाई हेपिएको हो । यस्तो थाहा पाएपछि म बाल्यकालमा आमालाई सधैं धन्यावद र सरी भन्थें । मैले त्यसो गरिरहँदा आमाले ‘तैँले के गरेकी’ भन्नुहुन्थ्यो । मलाई शिक्षकले सिकाएका कारण यस्तो गरेकी हुँ भनें । पछि ठूली भएपछि  पो थाहा पाएँ शिक्षकले भनेका कुरा । गृहणीहरुलाई कसैले वास्ता गर्दैन । यसैकारण उनीहरु पनि आफूलाई महत्व दिँदैनन् ।
सुलु र तपाईंबीच समानता के छ ? पर्दामा सुलुलाई उतार्दा सजिलो थियो त ?
मध्यम वर्गीय परिवारकी भएकै कारण मलाई सुलुबारे काम गर्न सजिलो भयो । आफूलाई बाहिर काम गर्ने इच्छा हुँदाहुँदै मेरी आमा घरमै बस्नु परेको थियो । मेरी आमा पनि नयाँ कुरा सिक्न सदैव तत्पर रहनुहुन्थ्यो । सुलुजस्ती महिलाबारेको मेरो बुझाइ र काम गराई नौलो पक्कै हो । यर्थाथमा आधारित साना र मिहिन विषय र पात्रबारे काम गर्न निकै अप्ठ्यारो त अवश्य नै हुन्छ । अझ भन्नुपर्दा सानातिना कुरा नै च्यालेन्जिङ हुन्छन् ।
तपाईं ‘लगे रहो मुन्नाभाई’मा पनि रेडियो जक्कीका रुपमा प्रस्तुत भइसक्नुभएको थियो । फेरि आरजेका रुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । यसपालि फरक के छ ?
‘मुन्नाभाई’मा जान्वीले मर्निङ सो गर्थी भने सुलुले नाइट सो गर्छे । जान्भी र सुलुको काम गर्ने तरिकै बेग्लै छ । उनीहरु दुवै जीवनको फरक मोडका पात्र हुन् । जान्भी निकै ऊर्जावान थिई । सुलु पाकी छे । कसरी बोल्ने, के गर्ने सबै उसको बसमा छ । ऊबेला मलाई आफू जान्वी जस्तो छु लाग्थ्यो अहिले एघार वर्षपछि आफूलाई सुलुका रुपमा पाएकी छु ।
सुलुका केही गुण आफूमा सार्न पाए के रोज्नुहुन्थ्यो ?
मलाई सुलुको जागरुकपन निकै मनपर्छ । ‘म सबैकुरा गर्न तयार छु’  भन्ने कुरा मसँग मेल पनि खान्छ तर उसको ‘म गर्नसक्छु’ भन्ने कुरा मसँग छैन । यही कुरा ममा सरोस् जस्तो लाग्छ ।
विषयवस्तु राम्रो हुँदाहुँदै तपाईंका पछिल्ला दुई फिल्मले बक्स अफिसमा खासै राम्रो गर्न सकेनन् । बक्स अफिसको असफलताले तपाईंलाई कुँड्याउँदैन ?
यस्तो कुराले सबैको मन कुँडिहाल्छ नि ! आफूले ज्यान फालेर गरेको कामले राम्रो प्रतिफल नदिँदा मन बहकिन्छ । तर ‘बेगम जान’ पछि मैले यसबारे मात्रै सोच्दै बस्न थालिनँ । ‘बेगम जान’ आएको १२ दिन पछि ‘तुम्हारी सुलु’को सुटिङ थियो । बक्स अफिसबारे धेरै सोच्यो भने रुन मात्र मन लाग्छ ।
फिल्मले बक्स अफिसमा राम्रो प्रतिफल नदिनु पछाडिका कारण के होलान् ? विषयवस्तु राम्रा हुने फिल्मले बक्स अफिसमा राम्रै पकड लिँदैछन् । अर्को कुरा स्टार पावर पनि पछिल्लो समय शून्यजस्तै हुँदै गइरहेको अवस्था छ । बेगम जानको असफलता के होला ? कि मानिसहरुले यसलाई महिला केन्द्रित फिल्मको ट्याग भिराइदिए ?
मैले त्यस्तो पटक्कै सोच्दिनँ । यो फिल्मलाई लगाइएको ट्याग हैन, फिल्मको कथाकै दोष हो । फिल्मको कन्टेन्टले नै मानिसहरुलाई तान्न सकेन । कसैले यसलाई अतिको संज्ञासमेत दिए । यसैकारण फिल्मले राम्रो गर्न सकेन । महिला केन्द्रित फिल्मको ट्याग लागेर यो नचलेको भन्ने हैन । महिला केन्द्रित अन्य फिल्म राम्ररी चलेका पनि छन् ।
फिल्मलाई महिला केन्द्रित भनेर लेबल लगाउनु कत्तिको मनासिब छ ?
मलाई यो ठीकै लाग्छ । किनभने लामो समयसम्म हाम्रोमा महिला केन्द्र पात्र भएको फिल्म आएका थिएनन् ।
तपाईं अहिले केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सेन्सर बोर्ड)मा सदस्य समेत हुनुहुन्छ । पहलाज निहलानीले छोडेपछि सेन्सर बोर्डबाट परिवर्तनको कस्तो अपेक्षा गर्न सकिन्छ ?
म यसबारे व्यक्तिगत हुन चाहन्नँ तर सामान्य रुपमा भन्नुपर्दा म निकै खुसी छु । पहिलो बोर्ड मिटिङबाटै म निकै खुसी भएकी थिएँ । एउटै विचार भएका मानिसहरुसँग काम गर्न निकै मज्जा हुन्छ । हामी सबै एउटै पृष्ठमा छौं । त्यो पृष्ठमा के लेखेको छ भन्ने कुरा आगामी तीन वर्षले बताउला ।
इन्डस्ट्रीमा लामो समय अनुभव संगालेकी तपाईंलाई अहिले पनि बक्स अफिसको अंक गणित महत्वपूर्ण लाग्छ त ?
पक्कै । मेरा फिल्म सफल भएमा म निकै खुसी हुन्छु । तर पनि फिल्मले सय करोड कमाउनु मात्र सबैथोक होइन । भिन्न फिल्मले भिन्नै किसिमको कमाइ गर्छन् । तर यतिभन्दा भन्दै पनि बक्स अफिस र हाम्रो काम एकअर्काका परिपूरक हुन् । धेरै मानिसहरुले फिल्म हेरेको थाहा पाउँदा जो कलाकार पनि खुसी हुन्छ । धेरैभन्दा धेरै मानिसहरुले फिल्म हेर्नु भनेको फिल्म सफल हुनु हो ।
तपाईंले पहिलोपटक क्यामेरा फेस गर्दा र अहिलेको समयको बलिउडमा कत्तिको अन्तर पाउनुहुन्छ ? तपाईंसँग यदि शक्ति हुँदो हो भने बलिउडको कुन  कुरा परिवर्तन गर्नुहुन्थ्यो ?
पछिल्लो समयको परिवर्तन भनेकै सबैजना व्यावसायिक भइसके । मलाई यो कुरा निकै मनपर्छ । परिवर्तन भन्ने कुरा सबैले ‘भोलि हैन अहिले नै गर’ भन्छन् । मलाई यो कुरा मनपर्दैन । परिवर्तन भन्ने कुरा बिस्तारै हुने हो जस्तो लाग्छ ।

Leave A Comment