घरदैलोमा घाउँदै आकांक्षी

शनिबार, २५ कार्तिक २०७४, १२ : ०८ शुक्रवार
घरदैलोमा घाउँदै आकांक्षी

निर्वाचनको माहौल छ मुलुकमा । राजनीतिक दलका उम्मेदवार जनताको घरदैलोमा घाउँदै छन् । प्रचारमा जुटेका छन् उनीहरू । जनताका मनहरूको बलमा नेता हुने, मन्त्री, प्रधानमन्त्री हुने वा सभासद्को गरिमामय भूमिका निर्वाह गर्ने अवसर छ अहिले । त्यसैले उम्मेदवारहरू साम–दाम–दण्ड–भेदका सबै अस्त्र प्रयोग गर्दैछन् । जीत र हारको यो राजनीतिक अभ्यासमा लागेकाहरूले पैसाको खोलो बगाउने संकेत देखिएको छ । हिजोका निर्वाचनको अनुभवले निर्वाचनका नाममा ठूलो रकम खर्च हुन्छ र सबैभन्दा महत्वपूर्ण कुरा त्यस्तो खर्च वैधानिक स्रोत भन्दा अवैधानिक तबरबाट जुटाइन्छ । अर्थतन्त्रका जानकारहरू मुलुकमा वैध र अवैध पैसाको कारोबार बराबरी रहेको बताउँछन् । अर्थात्, जुन परिणाममा वैधानिक कारोबार हुन्छ, त्यत्ति नै मात्रामा अवैध पैसा नेपालको बजारमा चलनचल्तीमा छ । निर्वाचनका बेला अवैध पैसाको प्रयोग अझ धेरै हुने हुने गरेको छ ।
आर्थिक दृष्टिबाट पैसाको चलनचल्ती हुनु राम्रो कुरा हो । यसले अर्थतन्त्रलाई ऊर्जा दिन्छ । आर्थिक वृद्धिदरको आँकडा उकालो लाग्दछन् तर निर्वाचनले जनताको घरमा के–के ल्याउँछ त्यसको लेखाजोखा अहिले नगरौं । निश्चय नै निर्वाचनको नाममा हुनै ठूलो परिणामको पैसाको खेलोले दुवै खाले परिणाम ल्याउँछ । पैसाको चलनचल्तीले मुलुकको आर्थिक वृद्धि हुने सकारात्मक पाटोबाहेक आयात बढ्ने, उपभोक्ता सामानको मूल्य चर्कने खतरा हुन्छ ।
अर्थतन्त्र र राजनीतिसँग जोडिएको यस्तो सम्बन्धका कारण गुण्डागर्दी, ठगी सबै खाले प्रवृत्तिले उन्मुक्ति मात्र होइन, प्रोत्साहित हुन्छ । त्यसैले हुनसक्छ, प्रहरीसँग अपराधका फेहरिस्त भएकाहरू र कहलिएका गुण्डाहरू निर्वाचनमा उम्मेदवार बनेका छन्, बनाइएका छन् । ठूला भनिने र मुलुकको शासन सत्ता चलाउने दलहरू नै आपराधिक प्रवृत्तिका पेशेवरहरूलाई उम्मेदवार बनाइरहेको अवस्था छ । आम जनताको नजरमा अपराधी, प्रहरीको फाइलमा अपराधका सूचीहरूमा रहेका गुण्डासमेत मतदातासामू नेता बनेर उभिएका छन् । उनीहरू दल विशेषको आवरणमा जनतासामू छन् र पर्दापछाडि अपराधका फाइल धुलो जम्ने अवस्था देखिँदैछ । अपराध गर्नेहरू हिजोसम्म नेता वरिपरि हुन्थे, उनीहरू बाहुबल र पैसाका स्रोत बनेका हुन्थे । अहिले परिस्थिति बद्लिएको छ । बाम गठबन्धनका दीपकहरू, लोकतान्त्रिक गठबन्धनका गणेशहरू सबै राजनीतिको खोल ओढेर निर्वाचन प्रतिस्पर्धामा छन् । यसले देखाउँछ, हाम्रो राजनीतिमा अपराध मनोवृत्तिको प्रवेश कति गहन छ र यसले प्रत्येक निर्वाचनमा कसरी फराकिलो दायरा बनाउँदैछ । आम मतदाता र जनताले गम्भीर भएर सोच्ने बेला हो यो । प्रश्न गर्ने बेला हो, किन समाजवाद, साम्यवाद, उदारवाद जताततै अपराध प्रवृत्तिले प्रोत्साहन पाइरहेको छ ?
नेपाली समाज राजनीतिक हिसावले ध्रुवीकृत छ । राजनीति गर्नेहरूभन्दा तल जनस्तरसम्म राजनीतिक कित्ताकाट छ । पेसाकर्मीहरू, व्यवसायीहरू जो कोही राजनीतिक हिसाबले विभाजित मानसिकतामा छन् । त्यसैले हुनसक्छ, दलका नेताहरू विभाजित अवस्थामा रहेका जनताबीच राजनीतिक शास्त्रका गफ गर्छन्, वादका सपना देखाउँछन् र सँगसँगै गुण्डासामू बिक्री हुन्छन्, भैरहेका छन् । हामी देख्दैछौं, राजनीतिक दलहरू अहिले घोषणापत्र प्रकाशित गर्दैछन् र सपना बाँडदै छन् उनीहरू । कुन पार्टीले कस्ता सपना देखाइरहेका छन् घोषणापत्रमा, त्यसको चर्चा आवश्यक छैन । कारण, हाम्रो अर्थतन्त्रको आकार यति सानो छ कि आन्तरिक स्रोतबाट मुलुकको प्रशासनिक खर्च पनि पुग्दैन । त्यसैले घोषणापत्र भनेका ढाँटका पुलिन्दा हुन्, दलहरूले घोषणपत्र प्रकाशन गरेर कागज नास नगरेको भए राम्रो हुन्थ्यो ।
दलहरूलाई सत्तामा पु¥याउने र गिराउने दुवै भूमिकामा हुन्छ आम नागरिक । अहिले आम नागरिकमा आफ्नो जिम्मेवारीबोध हुन आवश्यक छ । राम्रा मान्छेलाई आफ्नो मत दिएर पठाउने, विचारमा स्पष्टता र व्यवहारमा निष्पक्ष र सिद्धान्तनिष्ठ पनि चुनावी मैदानमा । निश्चयले राजनीतिक दलसँगको आवद्धता र कतिपय अवस्थामा आफैँले गरेर समर्पण र त्यागका क्षणहरू भूलेर आफूखुसी मतदान गर्न सहज छैन नागरिकलाई तर दलका नेताहरूले अति गर्दै जान्छन् भने तिनलाई ठेगान लगाउने काम पनि जनताकै हो । सत्ता राजनीतिलाई ध्यानमा राखेर गरिएका अहिलेका गठबन्धनहरू भत्काइनुपर्छ, जनतासँग त्यस्तो अधिकार छ । जनताको स्वविवेकीय अधिकारलाई बन्देज गर्दै केन्द्रबाट गरिएका उद्घोषलाई जनताले स्वीकार्ने नस्वीकार्ने अधिकार उनीहरूसँग हुनुपर्छ । आफ्नो विवेक प्रयोग गर्दै जनताले आफ्नो मत दिन सक्नुपर्छ ।  
आम नागरिकसामू अहिले एकै साथ दुइटा वृहत्तर दायित्व छन् । एउटा आपराधिक बन्दै गएको राजनीति सच्याउने र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जाने । कारण, हामी लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने अभ्यासमा छौं अहिले । यो लोकतन्त्रले जरा गाड्न सकेन भने मुलुक अर्को राजनीतिक अस्थिरतातर्फ धकेलिने खतराहरू सामुन्ने छन्  ।

Leave A Comment