संस्कृति जोगाउन ‘रुङरीमा’

बिहिबार, २३ कार्तिक २०७४, १२ : ४९ शुक्रवार
संस्कृति जोगाउन ‘रुङरीमा’

किरात राई जातिमा कसैको विवाह हुँदा जन्त गएपछि बेहुलातर्फको सायबा(सोल्टी) र बेहुलीतर्फको साइमा(सोल्टिनी)हरुबीच रातभर गीत गाउदै रमाइलो गर्ने चलन छ । घरभित्र विवाहको संस्कार एवं कार्य भइरहँदा बाहिर भने सायबा र साइमाहरु लयात्मक गीत गाइरहेका हुन्छन् । विवाहको बेला गाइएको त्यो लयात्मक गीतलाई हियारी भनिन्छ ।
त्यसबेला सोल्टिनीहरुले सोल्टीहरुको टोपी र जुत्ता लुकाइदिने, सिस्नो राखिदिने जस्ता उट्पट्याङ कामहरु गर्छन् । सोल्टिनीहरुको यस्ता सबै व्यावहारहरु सोल्टीहरुले सहनुपर्छ । सोल्टिनीहरुले बेहुला पक्ष कति सहनशील एवं धैर्यवान छ भनेर यी कुराको परीक्षण गर्ने गरेको भन्ने मान्यता छ । हिजोआज भने विवाहको यो सांस्कृतिक पक्ष एवं मौलिकता राई जातिमा पनि देख्न पाइँदैन । युवा पुस्ताहरु आधुनिकताको नाममा आफ्नो मौलिक संस्कार, संस्कृतिलाई भुल्दै गइरहेका छन् । ‘हियारी’ जस्तै राई जातिको मौलिक संस्कार, संस्कृति लोप हुने अवस्थामा पुगेपछि संरक्षणसँगै अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले किरात राई सांस्कृतिक कलाका संघको केन्द्रीय कार्यसमितिले ‘रुङरीमा’ नामको सांस्कृतिक, सांगीतिक भिडियो संग्रह तयार गरेको छ । किराती मौलिक लय एवं धुनहरु संकलन भएको सोही भिडियो संग्रहको हालै धरानस्थित गणेश सिनेमा हलमा विशेष प्रदर्शनी गरियो । ‘हियारी लोप हुनै लागेको छ, यस्ता संस्कृति जोगाउन हामी जुटेका छौं,’ किरात राई सांस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष जनक राई भन्छन् ।
‘रुङरीमा’ शब्दले संस्कृति झल्काउने भन्ने अर्थ बुझाउँछ । यो भिडियो संग्रहमा लोप हुन लागेको हियारी मात्र संग्रहित छैन, धनकुटाको खाल्सा क्षेत्रमा मात्र नाचिने ‘वाढाङमी’को पनि समेटिएको छ । खाल्सा क्षेत्रका राई जातिले बुढाहाङ मुन्धुमविदको स्मृतिमा उधौलीको बेला विशेष यो नाच नाच्छन् । यस्तै, राई जातिको मौलिक, संस्कारगत काम गर्दा नाक्छोङ(धामी) र मुन्धुमी(संस्कार गर्ने समाजका अगुवा)ले लयात्मकरुपमा वचन गर्छन् । त्यही लयलाई ‘रिसिया’ भनिन्छ । यो संस्कारलाई पनि भिडियो संग्रहमा समेटिएको छ । यस्तै, वैशाख पूर्णिमा र मंसिरे पूर्णिमामा उभौली एवं उधौलीको बेला नाचिने साकेला÷साकेवा पनि भिडियो संग्रहमा संग्रहित छ । ‘हाम्रो लोप हुँदै गएको संस्कार, संस्कृति संरक्षण गर्नको लागि मात्र होइन, मौलिक लय र धुनहरुमा पनि गीत बन्छ र अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ भन्ने सन्देश दिनलाई पनि भिडियो संग्रह बनाएका हौं,’ अध्यक्ष राईले भने ।
भिडियोको निर्देशन संघका अध्यक्ष राई, भूपेन्द्र पुमा राई, सालिक सतासक र रोशन राईले गरेका हुन् । साकेला र हियारीको लय संकलन जितेन राईले गरेका छन् भने रिसिया र वाढाङमीको लय संकलन राजन राईले गरेका हुन् । चर्चित गायक गायिकाहरु जीतेन राई, पार्वती राई, आभा मुकारुङ, सरला राई, राजेन राई, राई नवीन, मण्डल साम्पाङलगायतले स्वर दिएका छन् । किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष तिलक राई भिडियो संग्रहले मौलिक संस्कार, सांस्कृतिलाई लोप हुनबाट जोगाउने धारणा राखे ।

Leave A Comment